नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


केट चोपेँ
(संयुक्त राज्य अमेरिका)

डिजाइरीको छोरो (कथा)

केट चोपेँको जन्म सन् १८५१ मा सेन्ट लुईमा भएको थियो । उनी चार वर्षकी हुँदा उनका बुवाको निधन भयो र उनी मावलमा हुर्किइन । १८७० मा उनले एकजना कपास व्यापारीसँग विवाह गरिन् । १ ८८२ मा उनको पनि निधन भएपछि ६ जना छोराछोरीको पालन–पोषणको अभिभारा उनका काँधमा आइपर्‍यो । उनी जीविकोपार्जनका लागि लेखनतिर लागिन् । सन् १८९० मा “भूलमा” नामक उपन्यास प्रकाशित भयो । सेन्च्युरी र हार्पर जस्ता पत्रपत्रिकाहरूमा उनका कथाहरू छापि न थाले । १८९४ र १८९९ मा दुईवटा कथास ङ्ग्रहहरू प्रकाशित भए । “दि अवेकनिङ्” अर्थात् जागरण नामक उपनयास उनको सर्वश्रेष्ठ रचना हो ।
चोपिनको साहित्यको विशेषता भन्नु पर्दा उनी पुरुषसँगको यौन सम्बन्धमा महिलाका विचार, भावना र अनुभूतिहरूलाई निर्वाध रूपले व्यक्त गर्ने नारीवादी श्रष्टा हुन् । रङ्गभेदले जन्माएको विसङ्गति उनको लेखको अर्को आयाम हो । प्रस्तुत कथा रङ्भेदले निर्माण गरेको पारिवारिक विघटनको विषयमा लेखिएको एक उत्कृष्ट कथा हो ।

दिन निकै रमाइलो भएकोले मेडम भाल्मोन्ड आफ्नो गाडीमा चढेर डिजाइरी र उनको नवजात छोरालाई भेट्न लाब्रीतिर लागिन् । डिजाइरीलाई बच्चासहित सम्झँदा उनलाई हल्का हाँसो पनि लागेर आयो । हिजोमात्रै जस्तो लाग्थ्यो— डिजाइरी आफैँ सानी बच्चीभन्दा थोरै ठूलीमात्रै देखिन्थी, जब उनका श्रीमान्ले आफ्नो प्रवेशद्वारबाट गाडी हाँक्दैगर्दा कुनै ठूलो ढुङ्गाको पिल्लरको छायामा सुतिरहेको भेट्टाएका थिए डिजाइरीलार्य । पछि, त्यो सानी बच्ची उनकै काखमा ब्यूँझिई र “दादा” खोज्दै रुन थाली । उसले गर्न वा बोल्न सक्ने त्यति नै मात्र थियो । कतिपयले भने ऊ आफैँ त्यस्तो ठाउँमा अल्मलिन पुगेकी हुन सक्ने पनि बताए, किनकि ऊ टुटुक टुटुक हिँड्ने सक्ने उमेरकी थिई । तर धेरैजसो मानिसहरू सोच्थे— टेक्ससका मानिसहरूले जानीजानी उसलाई त्यहाँ छोडेका हुन्, जब साँझपख कपडाले छोपिएका उनीहरूको मालगाडी बगानको तल्लो भागनिर कोटोन माइसले छोडेको डुङ्गाको छेउबाट गज्रियो । हालका लागि मेडम भाल्मोन्डले यस्तो सबै अनुमानहरूलाई खारेज गरेकी थिइन् । उनको एउटा विश्वास भने कायम थियो — दयालु भगवान्ले उनलाई सन्तान नभएकी देखेर डिजाइरीलाई उनकी प्यारी छोरी बन्न पठाएका थिए ।
केटी एक सुन्दर, सुशील, प्यारी र इमान्दार बनेर हुर्किई — भाल्मोन्डकै नमुनाजस्ती । यो कुनै आश्चर्यको कुरा भएन जब एक दिन, आफू अठार वर्षअगाडि भेटिएको ठाउँमा रहेको ढुङ्गाको पिल्लरको छायामा ऊ पुनः उभिएकी थिई, र उसलाई देखेर त्यही बाटो गाडीमा आउँदैगरेका अर्मन्ड औबिग्नी उनको प्रेममा पर्‍यो । पिस्तोलको गोलीले लागेजस्तो यस्तै यस्तै तरिकाले त हो औबिग्नीहरू प्रेममा पर्ने गरेको ।
आश्चर्यको कुरा त के थियो भने उसले डिजाइरीलाई यसअघि कहिल्यै पनि प्रेम गरेका थिएन । उसलाई आफ्नी आमाको मृत्युपछि उसका पिताले आठ वर्षकै उमेरमा पेरिसबाट यहाँ ल्याएकै बेलादेखि उनी डिराइरीलाई जान्दथ्यो । तर त्यसदिन प्रवेशद्वारमै डिजाइरीलाई देख्दा ऊभित्र उठेको भावको आवेग हिमपहिरोजस्तो फैलियो, गौचरनमा लागेको आगोजस्तो अथवा अगाडिका सबै बाधालाई परास्त गरेर कुद्ने कुनै आँधीजस्तो । तर श्रमान् भोल्मोन्ड भने व्यवाहारिक बन्दै यो परिस्थितिको सही आकलन गर्नुपर्ने पक्षमा थिए विशेष गरी केटीको अज्ञात उद्भवका सम्भन्धमा । तर अर्मन्डले भने डिजाइरीका आँखामा हेर्‍यो, र अन्य कुराको वेवास्ता गरिदियो । यसलाई भनियो — केटीको कुनै नाम छैन । नाम नभएर के भयो, जब ऊ लुइजियानाको एउटा सबैभन्दा पुरानो र प्रतिष्ठित परिवारको नाम दिन राजी थियो?
केही दिनमै उसले पेरिसबाट पुष्पगुच्छ र फलफूल मगायो । ती आइपुगुञ्जेल आफूलाई धैर्यवान् बनाएर राख्यो, र जब आइपुगे, उनीहरूको बिहे भयो ।

मेडम भोल्मोन्डले डिजाइरी र उसको छोरालाई नदेखेको पनि चार हप्ता भइसकेको थियो । जब उनी लाब्री पुगिन्, देख्नेबित्तिकै, सधैँ झैँ छक्क परिन् । ठाउँ नै ठिटलाग्दो थियो, जसमा वर्षौंदेखि कुनै महिलाको उपस्थिति नरहेको प्रस्टै देखिन्थ्यो । बूढा औबिग्नीको बिहे पनि फ्रान्समै भएको र श्रीमती बितेपछि उनको शवलाई गाडेको पनि फ्रानसमै, किनकि जमिनप्रति उनको अगाध प्रेम थियो र उनमा त्यसलाई छोड्ने चाहना कहिल्यै पनि थिएन । पहेँलो प्लास्टरको घर, भिरालो र कालो छानोको छपनी, अलि बाहिरसम्म आएर कोठाचोटा छोपेको । यसको छेउमा सालका ठूला र शान्त रुख देखिन्थे, र तिनका बाक्ला पात र परपरसम्म फैलिएका हाँगाले घरलाई त्रिपालले झैँ ढाकेर छायामा पारेका थिए । जवान औबिग्नीको नियम भने कडा थियो । यति कडा नियममा रहेका उसका अन्य निग्रो सहयोगीहरूले मानौँ उनका बबुका पालामाजस्तो सहज र मनमौजी भएर खुसी हुनै बिर्सिसकेको थिए ।
सुत्केरी डिजाइरी भने बिस्तारै तन्दुरुस्त हुँदै थिई । कोमल, सफेद रेशम र कपालसका लुगा ओछ्याइएको खाटमा ढल्केकी थिई । बच्चो उसैसँगै थियो, छातीमा निदाइरहेको । एकजना पहेँलो अनुहारकी सेविका नजिकैको झ्यालनेर बसेर आफैँलाई हम्का लगाइरहेकी थिई ।
मेडम भाल्मोन्डले आफ्नो कुप्रो परेको शरीर डिजाइरीतिर झुकाइन् र प्रेमले अँगालो हाँल्दै चुम्बन गरिदिइन् । अनि बच्चातिर फर्केर विष्यमयका साथ भनिन्, “यो बच्चो त तेरो होइन त ।”
त्यसताका भाल्मोन्डको परिवारमा बोलिने भाषा फ्रान्सेली थियो ।
डिजाइरीले हाँसेर भनी, “ऊ हुर्केको देखेर तपार्इं चकित पर्नुहुन्छ भन्ने मलाई थाहा थियो । सानो घोर्ले सुँगुर, होइन त? उसका हात हेर्नू त आमा । हात र औँला पनि हेर्नू त — साँच्चैका नङ छन् । जेन्ड्रिनले आज बिहानमात्रै काटिदिएकी । हो कि होइन, जेन्ड्रिन?”
त्यस महिलाले कपडाले ढाकेको टाउको झुकाई र भनी, “हो नि, मेम ।”
फेरि डिजाइरीले थपी, “कस्तरी रुन्छ ! कानै खाने गरी । अस्ति अर्मन्डले पर, ब्लान्चेको घरबाटै सुनेको अरे ।”
यसैबीच मेडम भाल्मोन्डले आफ्ना आँखा त्यस बालकको अनुहारबाट एक निमेष पनि हटाएकी थिइनन् । उनले बच्चो उठाइन् र साथमा लिएर नजिकै, सबैभन्दा उज्यालो झ्यालतिर गइन्, र ध्यानपूर्वक हेरिन् । केही सोधेजस्तो गरेर जेन्ड्रिनतिर फर्किइन् । तर जेन्ड्रिनका आँखा परका खेतहरूमा केन्द्रित थिए ।
मेडम भाल्मोन्डले भनिन्, “हो त । बढ्यो पनि, र फेरियो पनि ।” यति भनेर बालकलाई बिस्तारै उसकी आमाको छेउमा राखिदिइन् । अनि सोधिन्, “अर्मन्ड के भन्छ?”
डिजाइरीको अनुहार भने खुसीको एक प्रकारको आभाले धपक्कै उज्यालियो ।
“के भन्नु? मलाई लाग्छ, यस भेगमा अर्मान्ड सबैभन्दा गौरवशाली बाबु हो, किनकि बच्चो पनि छोरो पर्‍यो — उसको परिवारको नाम राख्ने । भन्नलाई छोरी नै भए पनि उत्तिनै माया गर्थें भन्छ । तर मलाई थाहा छ, त्यो होइन । मलाई खुसी पार्नका लागि मात्रै त्यसो भनेको हो । अनि आमा,” उसले अगाडि थपी र मेडम भाल्मोन्डको ध्यान आफूतिर तान्दै, साउतीको शैलीमा भनी, “यो बच्चो जन्मेपछि त उसले यी कसैलाई एक शब्द गाली गरेको छैन । यहाँसम्म कि आराम गर्न पाइन्छ भनेर खुट्टो भाँचिएको स्वाङ पार्ने नेग्रिलोनलाई पनि । हाँस्यो मात्रै र भन्यो— छुच्छो नग्रिलोनले पनि हँसाउँछ । आमा, म धेरै खुसी छु । यति खुसी कि...आफैँ डराउँछु पनि ।”
डिजाइरीले जे भनी, त्यो सत्य थियो । उसको बिहे र पछि बालकको जन्मले अर्मन्ड औबिग्नीको घमण्डी र हठी स्वभावमा परिवर्तन ल्याएको थियो । यसै कुरामा सोझी डिजाइरी ज्यादै खुसी थिई । ऊ आफ्नो लोग्नेलाई ज्यादै माया गर्थी । ऊ रिसाएको बेला थुर्थुरी हुन्थी, तर माया भने धेरै नै गर्थी । ऊ मुस्कुराएको बेला भगवान्सँग यो भन्दा अर्को कुनै आशीर्वाद चाहिँदैन भन्थी । र डिजाइरीसँगको प्रेममा परेकै दिनदेखि अर्मन्डको श्यामल, सुन्दर अनुहारमा आक्रोश देखिन छोडेको थियो ।
बच्चौ करिब तीन महिनाको भएपछि डिजाइरीलाई वातावरणमा आफ्नो शान्ति भङ्ग गर्ने केही छ भन्ने कुराको बोध भयो । सुरुमा त्यो के हो भनेर बुझ्नै कठिन भयो उसलाई ।
यो एउटा निराशाजनक सङ्केत थियो — कालाहरूका बीच विद्यमान एउटा आश्चर्यको सङ्केत, कुनै पूर्वसूचनाबिनै अलि टाढाका आफन्त एक्कासि आएजस्तो अप्रत्याशित । यो उसका श्रीमान्मा आएको अनौठो तर भयावह परिवर्तन थियो, जसबारे कुनै स्पष्टीकरण सोध्न ऊ असमर्थ थिई ।
अर्मन्ड जब डिजाइरीसँग कुरा गथ्र्यो, आँखा टेढा पारेर बोल्थ्यो, र तिनमा पहिले पहिले देखिने प्रेम गायब भएजस्तो देखिन्थ्यो । ऊ अक्सर घरमा अनुपस्थित रहन्थ्यो, र घरै आए पनि अकारण डिजाइरी र छोराको उपस्थितिबाट आफैँलाई टाढा राख्ने गर्न थालेको थियो । उता नौकरहरूसँगको व्यवहारमा पनि ऊमाथि सैतान सवार भएजस्तो देखिन थालेको थियो ।
डिजाइरी अपार पीडाले मर्णान्त थिई । एकदिन अपराह्न आफ्नै कोठामा ऊ नाइटी लगाएर बसेकी थिई र हातले आफ्नो काँधसम्म लर्किएको लामो, मुलायम खैरो कपाल सुम्सुम्याइरहेकी थिई । उसको अर्धनग्न छोरो भने साटनले आधा ढाकेको छत भएको, ठूलो, विलासी सिंहासनजस्तो लाग्ने महोगनी काठको ओछयानमा लडिरहेको थियो । ब्लाँचेकै, कालो वर्णको अर्को एउटा अर्धनग्न बालक भने मयुरको प्वाँँखको हम्को हातमा लिएर बालकको छेउमा बसी हम्का लगाइरहेको थियो । डिजाइरीका भावशून्य र उदास आँखा भने बालकमै केन्द्रित थिए । जबकि, ऊ आफूभने आफूलाई छोप्न लागेजस्तो भयावह तुवाँलोे चिर्ने कोसिसमा देखिन्थी । उसले आफ्नो छोरालाई हेरी, फेरि उसको छेउको अर्को बालकलाई हेरी र पुनः फेरि आफ्नै बालकलाई हेरी । यही प्रक्रिया जारी रह्यो ।
“ओहो !” यो उसका ओठबाट अनायासै निस्केको आवाज थियो, जसलाई उसले रोक्न सकिनँ । यस्तो आवाज निस्कियो भन्ने हेक्का पनि उसलाई भएन । उसका नलीहरूमा रगत बरफझैँ चिसियो, र उसको अनुहाभरि चिसो आद्रता फैलियो ।
उसले अर्को सानो कालो बालकसँग कुरा गर्न खोजी । सुरुमा उसको मुखबाट आवाजै निस्केन । बालकले, आफ्नो नाम बोलाइएको सुनेपछि पुलुक्क हेर्‍यो । उसकी मालिक्नी उसलाई ढोकातिर जान इशारा गरिरहेकी थिई । यसले हातमा रखेको ठूलो, नरम पङ्खा एकातिर राख्यो र बिस्तारै ढोकातिर गयो, र खाली खुट्टा चिल्लो भुइँमा टेक्दै बाहिरियो । डिजाइरी आफूभने निश्चल बनेर बसिरही । उसको दृष्टि उसको बालकमाथि केन्द्रित थियो, र उसको अनुहारमा भयको भाव देखिन्थ्यो ।
यसैबेला, उसको लोग्ने कोठाभित्र पस्यो, र उसलाई देख्दै नदेखी सरासर कोठामा भएको टेबलतिर गएर त्यहाँ राखिएका कागजका बीच केही खोज्न थाल्यो । डिजाइरीले उसलाई बोलाउँदै भनी, “अर्मन्ड,” ।
उसको आवाज यति चर्को थियो कि ऊ समान्य मान्छे हुँदोहो त उसलाई छिनालिसकेको हुने थियो । तर यसले वास्तै गरेन ।
डिजाइरीले फेरि बोलाई, “अर्मान्ड !” यसपालि भने ऊ उठेर अर्मन्डको नजिक गई र उसलाई च्याप्पै समातेर स्याँस्या गर्दै भनी, “अर्मन्ड, हाम्रो बच्चालाई हेर । यो सब के हो? मलाई बताऊ ।” अर्मन्डले बिस्तारै, तर आक्रोशका साथ आफ्नो हात उसको हातबाट छुटायो र आफ्नो समिपबाट पर हुत्याइदियो ।
डिजाइरीले फेरि चिच्याउँदै भनी, “भन । यो सब के हो?”
उसले हल्कासँग लिँदै जवाफमा भन्यो, “यसको अर्थ हो— बालक श्वेत छैन । अर्थात्, तिमी श्वोत होेइनौ ।”
यस गम्भीर आरोपको आशयलाई झटपट बुझेकी डिजाइरी भित्रैबाट स्तब्ध भई । तर उसलाई यस कुराको तत्काल खण्डन गर्ने साहस जुट्यो, र भनी, “त्यो झुट हो । यो सत्य होइन । म श्वेत हुँ । मेरो कपाल हेर । यो खैरो छ । हेर, मेरा आँखा कैला छन । अर्मान्ड, तिमीलाई पनि त थाह छ यी कैला छन् । र मेरो त्वचा गोरो छ ।”
अर्मान्डको नाडी समाउँदै फेरि भनी, “मेरा हात हेर । तिम्राभन्दा सेता छन्, अर्मान्ड!” र अट्टहासपूर्ण तरिकाले हाँसी ।
“हो, ब्लान्चेजत्तिकै सेता ।” उसले क्रूरतापूर्ण जवाफ फर्कायो र डिजाइरीलाई बालकसँग त्यहीँ छोडेर बाहिरियो ।
जब उसले कलम भेट्टाई डिजाइरीले आमा भाल्मोन्डलाई एउटा नैराश्यपूर्ण चिठी लेखी— “आमा, यिनीहरू मलाई श्वेत होइनस् भन्छन् । अर्मन्डले पनि मलाई श्वेत होइनस् भन्यो । आमा, भगवान् भाकेर भन्नुस् — यो सत्य होइन नि, है? तपाईंलाई त पक्कै थाहा छ यो सत्य होइन भनेर । म मर्छु आमा, म मर्छु । म यति दुःखी भएर बाँचिरहन सक्दिनँ ।”
उताबाट जुन जवाफ आयो, त्यो संक्षिप्त थियो— “मेरी छोरी, तिमी घर आऊ — भाल्मोन्ड । तिमीलाई माया गर्ने आफ्नै आमाकहाँ आऊ । बच्चा पनि लिएरै आऊ ।”
चिठी हात पर्नासाथ डिजाइरी, त्यसलाई लिएर उसको श्रीमान्को अध्ययनकक्षमा पुगी र ऊ बसेको मेचको अगाडिको टेबलमा खोलेर राखिदिई । ऊ आफू भने ढुङ्गाको मूर्तीजस्ती भएकी थिई —निःशब्द, गोरी, निश्चल ।

निःशब्दतामै अर्मन्डले आफ्ना भावहीन आँखा त्यस चिठीमा लेखिएका शब्दमाथि दौडायो, तर केही पनि भनेन ।
“अर्मन्ड, म जाऊँ?” डिजाइरीले तीक्ष्ण र कहरपूर्ण कौतुहलले भरिएको आवाजमा भनी ।
“हुन्छ, जाऊ ।”
“तिमी जाओस् भन्ने चाहन्छौ?”
“हो, जाऊ भन्ने नै चाहन्छु ।”
उसले सोच्यो — सर्वशक्तिमान ईश्वरले उसमाथि ज्यादती र अन्याय गरेका छन् । लाग्यो, यसरी उसकी श्रीमतीको आत्ममाथि प्रहार गरेर ऊ ईश्वसँगै बदला लिइरहेछ त्यस बखत । ऊभित्र अब डिजाइरीका लागि कुनै प्रेम बाँकी थिएन, किनकि उसले उसको घर र नाममा अप्रत्यासित घाउ निम्त्याएकी थिई ।
डिजाइरी भने कुनै तीव्र प्रहार छल्न पन्छिएजस्तो ढोकातिर पन्छिई, र उसले बोलाउँछ कि भन्ने आशा राख्दै अगाडि बढी ।
“बिदा पाऊँ, अर्मन्ड,” यसले वेदनापूर्ण स्वरमा भनी । तर अर्मन्डसले कुनै जवाफ दिएन ।
नियतिमाथि यो नै अर्मान्डको अन्तिम प्रहार थियो । डिजाइरी बच्चाको खोजीमा अन्यत्रै गई । बाहिर, शीतल कोशीमा जेन्ड्रिन डिजाइरीको बच्चालाई हिँडाइरहेकी थिई । डिजाइरीले कुनै कारण नखुलाई सेविकाको हातबाट बच्चो लिई र भर्‍याङ ओर्लिएर पर पर जान थाली, सालका हरिया हाँगामुन्तिर ।
अक्टूबरको अपराह्न — घाम अस्ताउनै लागेका थिए । पर, शान्त खेतहरूमा निग्रोहरू कपास टिपिरहेका थिए । डिजाइरीले आफूले लगाएको पतलो सेतो लुगा वा चप्पल, केही पनि फेरिन ।
उसको कपालमाथि कुनै घुम्टो थिएन, र उसका खैरा केशराशीमाथि परेका घामका किरणहरूले एउटा स्वर्णीम चकम दिइरहेका थिए । उसले पर, भाल्मोन्डको बगानतिर जाने, सबैले हिँड्नेगरेको चौडा सडक समातिन । बरू खासै नहिँडिने बाटो समानी, जहाँ काँडाहरूले जुत्ताको पातलो सोल छेडेर उसका कलिला पाउ घोचे, र उसले लगाएको पातलो लुगा च्यातेर धुजा धुजा परिदिए ।
ऊ झाडी र विलोका झ्याङभित्र हराई। जुन ऊ हिँडिरहेको गहिरो तर धीमा गतिको नालीको छेउछाउ उम्रिएका थिए । यसरी हिँडेपछि ऊ फेरि फर्केर आइन ।
केही सातापछि लाब्रीमा एउटा कौतुहलपूर्ण प्रहसन भयो । घरको पछाडिपट्टि, मज्जाले बढारिएको आँगनको बीचमा एक रास सामान थुपारेर निकै ठूलो आगो बालियो । चौडा सिकुवामा, यो दृश्य देख्न सकिने ठाउँमा उभियो अर्मन्ड, र त्यस आगोमा हाल्ने सामग्री ल्याउँदै हाल्दै गर्न करिब आधा दर्जन निग्रोहरूलाई निर्देशित गरिरह्यो । विलोको काठले बनेको एउटा सुन्दर कोक्रो पनि यसै आगोमा हालियो । बच्चाका लागि किनिएका महँगा लुगा र अन्य सरमामान पहिल्यै हालिसकिएको थियो ।
यसमाथि रेशमका गाउन, कखमल र साटनका कपडा, छेउछाउका तुना, बुट्टा, टेपी, पन्जा आदि राखिएको थियो । यी सब कुरा राख्ने बाकस नै दुर्लभ प्रकारको थियो ।

फालिनेमध्यको अन्तिम वस्तु थियो चिठीको एउटा पोको — साना, निर्दोष अक्षरहरू जुन डिजाइरीले उनीहरूले प्रेम गर्दाताका उसलाई पठाएकी थिई । एउटा भने अझै बाँकी थियो ड्रवरमा, जुन उसले गएर निकाल्यो । तर यो डिजाइरीले लेखेको पत्र थिएन । यो उसकी आमाले उसका बालाई लेखेको कुनै पुरानो चिठीको अंश थियो । उसले उक्त चिठी पढ्यो । पत्रमा उसकी आमाले आफ्नो लोग्नेको अहुदी माया दिलाएकोमा भगावन्लाई धन्यवाद दिएकी रहछिन् । भनिएको थियो, “तर सबैभन्दा माथि, रातदिन म भगवान्लाई यस कुराका लागि धन्यवाद दिन्छु कि हाम्रो प्यारो छोरा अर्मन्डले आफूलाई माया गर्ने उसकी आमा दासत्वको कलङ्क बोकेको नश्लबाट आएकी थिइन् भन्ने कहिल्यै थाहा पाउने छैन ।”

अनुवादः महेश पौड्याल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :