नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

नाटक:


केशव सिग्देल

मुखुन्डोभित्रको मन

सबथोक नाटक हो । वस्तीका धेरैजसो मान्छेहरू मुखुन्डो लगाउँछन् । सायद आज कुनै उत्सव हुँदैछ गाउँमा । मान्छेहरू मुखुन्डो किन्न लाम लागिरहेका छन् नजिकैको हाट बजारमा । घरेलु मुखुन्डाहरू छन्, बजारिया मुखुन्डाहरू छन्। मुखुन्डैपिच्छेका फरक भाउहरू छन् । क्रेताको मनमा उब्जाउन सक्ने भय र त्रासको घनत्वको आधारमा मुखुन्डोको भाउ अक्कासिँदै जाँदो रहेछ । स्वयम् मुखुन्डो लगाएर मुखुन्डोकै व्यापार गर्नेहरूको मनभित्र के छ, वस्तीमा कसैले जानेको छैन ।

मुखुन्डोधारी १: (वरिपरि सबैजनाको ध्यान आकृष्ट गर्ने शैलीमा) म मुखुन्डोको अविच्छिन्न इतिहासको प्रतिनिधित्व गर्छु । मेरो आफ्नै इतिहास थियो, तर त्यो विगत आज पुनरावृत हुने अवस्था छैन । आज मुखुन्डोको मनले गालिएर इतिहासको शालिक बनेर बाँचिरहेछु ।

(अलिक पर नकाब नलगाएका मान्छेहरू छन् । बहुसङ्ख्यक मान्छेहरू ती अल्पसङ्यकप्रति चनाखो हुँदै अचम्मको भावमा हेरिरहेछन्, र आश्चर्य प्रकट गरिरहेछन् । मुखुन्डो नलगाइकनै उनीहरू कस्तो नाटक गर्लान् भनेर अप्रकट चिन्ता त्यसमा मिसिएको प्रतीत हुन्छ । तर यो मुखुन्डोबाहिरको मन हो । मुखुन्डोभित्रको मन वस्तीमा अझ कसैले जानेको छैन ।)

गैरमुखुन्डोधारी १: (चिन्ता हो या व्यग्रताको भावमा) मुखुन्डोको इतिहास? मुखुन्डो हुनु जीवन हुनुको भाव होइन । मुखुन्डोबाहिरको याचना वास्तवमा भित्रको मनसँग कुनै तादम्यता नराख्न सक्छ । मुखुन्डोको कुनै इतिहास छैन । मुखुन्डो स्वयम् निर्माण प्रक्रियाको बिम्ब हो । जहिलेसम्म मुखुन्डोले दर्शकहरूलाई भयभित र त्रसित तुल्याइरहन सक्छ, त्यो निर्माणको प्रक्रियामा सक्षम सावित भएको मानिन्छ र दर्शकहरू त्यो मुकुखुन्डोसँग अभ्यस्त हुँदै जाँदा क्रमश: मुखुन्डोको भय उत्पन्न गर्ने क्षमतामा ह्रास हुँदै जान्छ । र विनिर्माणको प्रक्रियामा त्यही मुखुन्डो अक्षम हुन्छ । खोइ कहाँनेर छ मुखुन्डोको इतिहास?

(सबैतिर खासखुस भएको सुनिन्छ ।)

गैरमुकुण्डोधारी २: मुखुन्डो लगाएर बाँचेकाहरूको संसार भत्काउन नखोज । म बाजी ठोकेर भन्न सक्छु, तिमी स्वयम् पनि त्यही मुखुन्डोको खोजीमा थियौ । पुराना मुुखुन्डाहरू, त्यसको कुनै अर्थ भएन । घरेलु मुखुन्डाहरू सहरिया मुखुन्डाका तुलनामा आकर्षक एवं त्रासपूर्ण हुन सकेनन् । र सहरिया मुखुन्डो किन्न सक्ने तिम्रो औकात भएन । त्यसैले तिमि मुखुन्डो बिनानै वस्तीभरि डुलिरहेका छौ । तिमीलाई थाहा छ, आजकाल मुखुन्डो लगाउनेहरू मुखुन्डो नलगाउनेहरूसँग सशङ्कित हुन्छन्, डराउँछन् । तिमी अब मुखुन्डो बिनाको नव मुखुन्डोधारी बनेका छौ । वस्तीलाई तिमीले तिम्रो ठुल्ठुलो आवाज सुनाएर के भयो, मनभरि त तिमी मुखुन्डो नै बनाइरहेका छौ ।

गैरमुखुन्डोधारी १: (आक्रोशित देखिन्छ तर पनि शालीनतापूर्वक जवाफ दिन्छ ।) एउटा गैरमुखुन्डोधारीले अर्को गैरमुखुन्डोधारीको खोइरो खन्नु वर्गीयहितका दृष्टिले उपयुक्त कुरा होइन । हाम्रो लडाइँ मुखुन्डोधारीसँगको हो भन्ने देखाउन जरुरी छ । तपाईंका अभिव्यक्तिहरूले इतिहासको सङ्क्रमणलाई रोक्ने पनि होइन । मुखुन्डोधारीहरूसँगको युद्धले हामीलाई नयाँ मुखुन्डाहरू प्राप्त हुन पनि सक्छन् । त्यसैले हामी अब उप्रान्त यो घोषणा गर्छौँ— मुखुन्डोधारीहरूप्रति हाम्रो विरोध रहेपनि मुखुन्डोप्रतिको हाम्रो आस्था घटेको छैन । किनकि मुखुन्डोबिना नाटक न कहिले सम्भव भएको थियो, न कहिले हुनेछ । नाटकका पात्रहरूले यसलाई हार्दिकतापूर्वक ग्रहण गर्नु बाहेकको कुनै विकल्प छैन ।

मुखुन्डोधारी १: इतिहास जित्नेहरूले स्वच्छन्दतापूर्वक हाँक्न सक्ने घोडा हो । र प्रत्येक चोटि यहाँ मुखुन्डाहरू नै विजयी भएका छन् । तिमी राष्ट्रियताको मुखुन्डो लगाऊ, लोकतन्त्रको मुखुन्डो लगाऊ, जनवादको मुखुन्डो लगाऊ, र विजयको लाममा लाग । इतिहास तिमीलाई सवार गराउन तयार छ । तर फरक पार्ने कुरा तिम्रो छनौट हो । तिम्रो छनौटका मुखुन्डाहरू आकर्षक र त्रासदपूर्ण हुन सके सकेनन्, त्यसले नै तिम्रो पालो निर्धारण गर्दछ । म मुखुन्डोको अजेय तागत पढ्न खोजिरहेछु ।

मुखुन्डोधारी २: (अकस्मात् गर्जिएको आकाश जस्तो) महाशय, अतिशयोक्तिपूर्ण सरसताले मानिसहरूलाई दिग्भ्रमित तुल्याएको छ । मुखुन्डाहरूमा यसरी तागत कहाँबाट सञ्चार हुन्छ भनी तपाईंले कहिल्यै सोच्न भ्याउनुभयो ? जीवनभरि मुखुन्डो लगाएर पनि मुखुन्डो लगाउनुको गहनता कहिल्यै अनुभव हुन पाएन मलाई । कमजोरहरूमाथि सामथ्र्यवान्हरूले शासन गरेको विगत, वर्तमान र आगतमा तात्विक भेद कहिल्यै हुने छैन । मुखन्डाहरू त्रासदीको प्रतीक बनेर किन उभिरहेछन् जबकि एउटा मुखुन्डोसँग अर्को मुखुन्डो डराएको घटना कतै सुनिएको छैन । डराउँछन् त केवल मुखुन्डोभित्रका मनहरू । त्यसैले त्रासदीको स्रोत मुखुन्डो होइन, मन नै हो । के तिमी मुखुन्डोसँग आजित भएका छौ ?

मुखुन्डोधारी १: यो त कुनै प्रश्नै भएन । मुखुन्डो लगाउँदा लगाउँदै म आँफै मुखुन्डो भएको छु । म नै मुखुन्डो हो, मुखुन्डो नै म हो । म कहिल्यै पनि मुखुन्डो खोलेर हिँड्ने कल्पना गर्न सक्दिन । किनकी मेरो परिचय, मेरो सम्पूर्ण अस्तित्व यसैमा निर्भर गर्छ ।

(झट्ट केही सम्झना भए जसरी) तर तपाईंलाई कुनै भ्रम नरहोस्, मुखुन्डोको मुखुन्डासँग कहिल्यै लडाइँ भएको छैन । हो, प्रत्येक युद्धको नायकत्व मुखुन्डाहरूले नै ग्रहण गरिरहेका छन् । तर ती मुखुन्डाहरूले तपसिलका बाँकी मुखुन्डाहरूमाथि कुनै राग वा द्वेष राखेका छैनन् । उनीहरू उद्यत छन् त केवल मुखुन्डाभित्रका मनहरूलाई आतङ्कित पार्न, मनहरूलाई क्षतविक्षत तुल्याउन । मुखुन्डाहरू मनहरूमाथि एकछत्र शासन गर्न खोजिरहेछन् । त्यसैले जुनसुकै रङ र आकारका मुखुन्डाहरूको ध्येय एउटै हो, उदेश्य एउटै हो— कमला मनहरूलाई तर्साउने ।

गैरमुखुन्डोधारी १: (असामन्जस्यताको स्थिति देखिन्छ) अब थाहा भो, इतिहासको सङ्क्रमणको बेला कथित इतिहासहरू कसरी पाप्रै पाप्रा भएर उप्किंदै जाँदा रहेछन् । इतिहास भनेको पराधीन जगत्लाई सेतो कागजमा ल्याप्चे ठोकाएर मुखुन्डाहरूले कोरेको भ्रमको खेती रहेछ ।
(एक्लै) स्वयम् मुखुन्डाधारीहरू मुखुन्डाको भूमिकाप्रति सन्तुष्ट छैनन् । यसको अर्थ यही हुन्छ कि मुखुन्डा लगाउनेहरू आफ्नो इच्छाभन्दा पनि बाध्यतामा मुखुन्डा लगाउँछन् र बुख्याँचा बनेर अरूलाई तर्साइरहन्छन् ।

गैरमुखुन्डोधारी २: गैरमुखुन्डोधारी महोदय, होसियार ! तपाईं कति छिट्टै मुखुन्डाधारीप्रति सहानुभूति राख्ने हुनुभयो ? मुखुन्डो लगाउनु आफैमा नाटक हो । र तपाईंलाई आफूहरूप्रति आकर्षित एवं विश्वस्त बनाउनु नाटककर्मीको धर्म र सफलता दुवै हो । मलाई शङ्का छ, तपाईं मुखुन्डो नलगाईकनै मतियार बनिरहनुभएको छ ।

वातावरणमा अलिक तनाव थपिन्छ । पाश्र्व स्वरमा केही नाराहरू लागेको सुनिन्छ । मुखुन्डाहरू— मुर्दावाद ! मुकुन्डाका मतियारहरू— मुर्दावाद ! मुर्दावाद ! विस्तारै एउटा भीड सामुन्नेमा देखिन्छ । गैरमुखुन्डाधारी र मुखुन्डाधारी दुवै छन् । गैरमुखुन्डाधारी झन सशङ्कित छन् र मलिनो स्वरमा मुर्दावाद भनिरहेका छन् । मुखुन्डोधारीहरूले सेतो कपडाले मुखुन्डा छोपेका छन् र ठुल्ठुला स्वरमा नारा लगाइरहेका छन् ।
मुखुन्डाहरू— मुर्दावाद ! मुखुन्डाका मतियारहरू— मुर्दावाद ! मुर्दावाद !
फेरि एकाएक हूल आफ्नो बाटो लाग्छ र खाली स्थानमा सूत्राधारको प्रवेश हुन्छ ।

सूत्राधार: आदरणीय दर्शक महानुभावहरू ! म सूत्राधार हुँ । हामी ‘ मुखुन्डाभित्रको मन’ भन्ने नाटकको अन्तिम रिहर्सल गरिरहेका छौँ । तर हामीलाई खेद छ कि हामीले नाटकको तयारी पूरा गर्न सकेनौँ । किनकि हामीले गर्न खोजेको नाटक अब नाटक जस्तो रहेन । मान्छेहरू यो वास्तविक जीवनसँग पूरै मेल खान गयो भनेर गुनासो गरिरहेका छन् । हामीलाई यसर्थ निकै समस्या परिरहेको छ । नाटकमा प्रयोग गरिने मुखुन्डाहरू वास्तविक जीवनमा पनि प्रयोग भइरहेकाले निर्देशक, कलाकारहरू झुक्किएका छन् । नाटक र जीवनबीच भेद खुट्याउन सकिएको छैन । हामी यो नाटक सम्पन्न गर्न निरन्तर जुटिरहेका छौँ । तपाईंहरूको धैर्यको लागि धन्यवाद ।

(होहल्ला बढ्छ । मानिसहरू क्रुद्ध भए जस्ता देखिन्छन् र के गर्ने नगर्नेको किंकर्तव्यविमूढताको स्थितिमा वातावरण शान्त हुन्छ । केही क्षणमै भीडबाट वातावरणको स्तब्धतालाई चिर्दै विरोधको स्वरमा एक जना मानिस बोल्न थाल्छ ।)

दर्शक १: सूत्राधार महोदय, तपाईंको कुरा हामीलाई मान्य छैन । तपाईं कसरी हाम्रो भूमिकालाई एकाएक गौण बनाउन सक्नुहुन्छ ? हामीले कहिल्यै पनि रमिते दर्शकको रूपमा आफूहरूलाई स्वीकार गर्न सक्दैनौँ । चलचित्रका पर्दामा देखिने दर्शकहरू पनि स्वयम्मा कलाकार हुन्छन् भने हामी त झन् जीवन्त अभिनय गरिरहेका छौँ । हामीले धारण गरेको दर्शक— मुखुन्डाको के साँच्चै अर्थ नभएको हो ? नाटक मञ्चनका क्रममा हामीले बजाएका तालीहरूको हिसाब खोइ ? पुराना मुखुन्डाहरूप्रति गरेको उपहासको उत्तर खोइ ? अभिनेता/अभिनेतृहरू खलपात्रहरूद्वारा प्रताडित हुँदा हामीले बगाएको आँसुको मूल्य खोइ ? सुन्दर सपनाहरू बाँड्दै गर्दा हामीले पुलकित भइदिएको क्षणका लागि कृतज्ञता खोइ ?

(सूत्राधार त्यहाँ देखिँदैनन् । दर्शक दीर्घाका सबैजना अवाक् छन् र स्थितिको गाम्भीर्यतालाई बुझ्न खोजिरहेछन् । अहिले सबैजनाले मुखुन्डा खोलेर हातहातमा लिएका छन् ।)

मुखुन्डाधारी १: साथीहरू, पख्नुहोस् ! सर्वप्रथम म तपाईंहरूसँग मुखुन्डा लगाएरै बोल्ने अनुमति लिन्छु किनकि मुखुन्डा नलगाईकन बोल्नुको कुनै अर्थ छैन । मुखुन्डाको शासनभित्र मुखुन्डो लगाएर बाँच्नुको राहत बेग्लै हुन्छ । यी सूत्राधार स्वयम् पनि मुखुन्डाधारी नै हुन् । पर्दाबाहिर यिनीहरू अरू मुखुन्डाहरूलाई सूत्रमा बाँध्न खोज्छन् । तर पर्दाभित्र यिनिहरू स्वयम्लाई अरूले निर्देशित गरिरहेको हुन्छ । तपाईंहरूले मुखुन्डो उतार्नुको प्रयोजन विरोध गर्नुको हदसम्म ठीक हुन सक्ला । तर त्यो मुखुन्डो तपाईंको हातबाट उम्क्यो भने तपाईं इतिहासको निर्घात सजाय भोगिरहनुहुने छ । किनकि मुखुन्डो नलगाईकन बाँच्नुको पीडा तपाईं छिचोलेरै सक्नुहुन्न । मुखुन्डोमा अन्तर्निहित शक्तिका कारण मात्र उनीहरू तपाईंप्रति श्रद्धाभाव देखाएको भान गरिरहेका छन् ।

दर्शक २: (अरू पनि सँगै मिसिएर बोल्छन्) त्यसो हो भने हामी अब न मुखुन्डो लगाउँछौँ, न हाम्रो हातबाट उम्कन दिन्छौँ । मुखुन्डो हातमा लिएर शक्ति देखाइरहनु र विरोध जनाइरहनुको दोहोरो भूमिकालाई हामीले इतिहासको यो कालखण्डमा महत्वपूर्ण र लाभकारी देखिरहेका छौँ ।

मुखुन्डोधारी २: (मुखुन्डोधारी १ नजिक गएर) सम्भवत यस विषयमा मैले पनि केही बोल्नु उपयुक्त हुन्छ । मुखुन्डोधारीहरूको वर्गचरित्र एउटै हुन्छ भन्ने आरोप नलागोस् । हामी मुखुन्डोबाट पीडित तर मुखुन्डोविना बाँच्न नसक्ने इतिहासका अभिशप्त पात्र हौँ। त्यसैले मैले बोलेका कुराहरूले सधैँ मुखुन्डोको प्रतिनिधित्व गर्छ भन्ने सोच्नु एउटा गम्भीर भूल हो । मैले बुझेको के हो भने समयको कुनै चेष्टा हुँदैन । समयको व्यूहमा सुपात्रहरू अभिमन्यूको नियति भोगिरहेका उदाहरणहरू पनि छन्, र खलपात्रहरू स्वस्थानी कथाका नवराज भएका दृष्टान्तहरू पनि छन् । तर समय जस्तो हात्ती भने चेष्टारहित हुँदैन । यो समयमा नवराज छान्ने हात्तीको आफ्नै अष्ट छ ।

दर्शक २: हात्तीहरूलाई नवराज छान्ने भूमिका कसले दियो?

मुखुन्डोधारी २: यो त सबै परम्पराबाट ग्रहण गरिएका विधिहरू हुन् । यहाँ अझै हात्तीको सरल परिभाषा भेटिएको छैन । के गुणले हात्तीहरूलाई नवराज छान्ने अवसर प्राप्त हुन्छ भन्ने पनि कसैलाई थाहा छैन । स्वस्थानीको युगमा हात्तीभित्र ईश्वरको चैतन्य हुन्थ्यो । नित्सेले ईश्वरको अन्त्यको घोषणा गरे । त्यसपछिको पशुवत युगमा माउतेको खटनपटनमा हात्ती चल्थ्यो । अहिले त्यसको रोबोटीकरण गरिएको छ । कम्प्युटर चिप्स जोडिएका रोबोट हात्तीहरू अहिले अदृश्य अपरेटरबाट सञ्चालित भएर नयाँ नवराजहरू छानिरहेका हुन्छन् । हात्तीको पहिचान र परिभाषा अझ पनि अस्पष्ट छ ।

दर्शक १: त्यसो भए समय र हात्तीको मुखुन्डोसँग के सम्बन्ध छ त ?

मुखुन्डोधारी २: (आफ्नो कुराले अरूमा प्रभाव छोड्न सकेको अनुभव गर्दै प्रसन्न हुन्छ ।) म यही कुरा भन्न खोजिरहेथेँ । समयको चेष्टा हुँदैन तर पनि सकारण/अकारण पात्रहरू पुरस्कृत र दण्डित हुने चक्र निरन्तर चलिरहेको हुन्छ । मुखुन्डोको आफैमा कुनै चेष्टा हुँदैन । मुखुन्डो लगाएर समय त्रासद बनेकाहरू अहिले धर्तीमा शासन गरिरहेका छन्, हामी भने मुखुन्डो लगाएर पनि केवल समयको प्रताडना खेपिरहेछौँ अकारण । तर मुखुन्डोभित्रको मन चेष्टारहित हुँदैन । हात्तीको जस्तो ती मनहरूको अभीष्ट हुन्छ, र त्यही अभीष्ट पूरा गर्न मुखुन्डोहरूलाई थप त्रासदपूर्ण बनाउने उद्योगमा जुटेका हुन्छन् उनीहरू ।

दर्शक २: त्यसो भए ?

मुखुन्डोधारी २: मुखुन्डोको चेष्टा हुँदैन र पनि यो शक्तिको द्योतक हो । प्रयोजनहीनता शक्ति हुनुको भाव होइन । मुखुन्डाहरूलाई प्रयोजनहीन तुल्याइरहनु बुद्धिमानी होइन । तपाईंहरू या त्यसलाई अनुकूलता मिलाएर धारण गर्नुहोस्, होइन भने मुखुन्डोहरूको बिसर्जन गरेर गैर मुखुन्डोधारी भएर बाँच्नुको भवितव्यका लागि तयार हुनुहोस् ।

(अहिलेसम्म कसैले मुखुन्डो फ्याँक्ने हिम्मत गरेका छैनन् । मुखुन्डो लगाऊँ वा के गरूँको भावमा सबैजना अलमलिँदै एक अर्कातिर हेरिरहेका छन् ।)

गैर मुखुन्डोधारी २: मुखुन्डोहरूको खेल निमित्त नाटक अथवा नाटकको रिहर्सल होइन । यो आफैमा ‘ग्रयाण्ड फाइनल’ हो । तर यही हाम्रो दुर्भाग्य रह्यो कि खेलाडीहरू प्रारम्भिक चरणका खेलहरू नखेलीकनै फाइनलमा उत्रिन्छन् । कुन टिम र कुन खेलाडीले कहिले ‘बाउ’ पाउँछ र निर्णयक खेलिरहेकाहरूलाई चुनौती दिन्छ भनेर ठम्याउन अथवा अनुमान गर्न गाह्रो छ । केही मुखुन्डोधारीहरू खेल समयमा गरेको ’फाउल’का लागि पेनाल्टी भोगिरहेका छन् । गोलपोस्टमा गोलकिपरलाई बस्न अनुमति छैन । र रेफ्री स्वयम् त्यो गोल हान्न आतुर भएर पेनाल्टी एरियातिर हुर्रिएको छ । अङ्क थपिने पक्षका खेलाडीहरू मौन वा अव्यक्त सहमति जनाइरहेका छन् र हार्ने पक्षले त्यसको प्रतिवाद गरिरहेको छ । तर यो खेल फेरि रद्द हुन्छ वा ड्रमा टुङ्गिन्छ भन्न सकिन्न किनकि निर्णायक खेलहरूको नतिजा त्यति सजिलै आएको इतिहास छैन । रोमाञ्चकताका दृष्टिले पनि त्यो निर्णायक समय लम्बिनु पर्छ नै ।

गैर मुखुन्डोधारी १: मुखुन्डो लगाए । खेल्ने खेल अर्कै हो । तपाईं सम्भवत: फुटबल खेलको कुरा गरिरहनुभएको छ जसमा खेलाडीहरू जर्सी लगाएर खेल्छन् । जर्सी लगाउनेहरूको अनुहार उदाङ्गो हुन्छ । जर्सी लाउनु मु मुखुन्डो लगाउनु होइन । जर्सी लाउनेहरूको एउटै खेल निर्णायक हुन्छ र पदक वा तक्माको छिनोफानो हुन्छ । तर मुखुन्डो लगाउनेहरूको सबै खेल निर्णायक जस्ता देखिए पनि तक्माको छिनोफानो हुँदैन । त्यहाँ विजय हुनेहरू एकथरी र तक्मा भिर्नेहरू अर्कैथरी हुन पनि सक्छन् ।

(यत्तिकैमा एक अपरिचित मान्छे प्रश्न तेस्र्याउन खोज्छ । वास्तवमा दुईजना अपरिचित मानिसहरू केही अगाडिदेखि नै गैरमुखुन्डोधारीहरूको संवाद सुनिरहेका हुन्छन् ।)

अपरिचित १: तर मानिसको अनुहार आपैmमा एउटा मुखुन्डो होइन र ! के हामीले मानिसका मनमा भएका भावहरू कहिल्यै उसको अनुहारमा पढ्न सक्यौँ ? मुखमा रामराम जपेर हिँड्नेहरूको मनभरि कति पाप भरिएको हुन्छ भन्ने कुरा अब कसैलाई बताइरहनु पर्ला र ! मलाई लाग्छ बाहिरी मुखुन्डो नलगाउनेहरूसँगबाट हामीलाई बढी डर छ ।

गैर मुखुन्डोधारी २: तिमीहरू को हौ ? र किन यसरी मुखुन्डोको पक्षमा वकालत गरिरहेछौ ?

अपरिचित २: हामीहरूको कुनै परिचय छैन । हामी अपरिचितहरू हौँ र हाम्रो परिचय यही हो । तिमीहरू व्यर्थको युद्ध लडिरहेछौ । मुखुन्डो र गैर मुखुन्डोमा अब कुनै भेद छैन । जसका निम्ति मुखुन्डो अब परिचय बनेको छ, उसका निम्ति त्यो मुखुन्डो मुखुन्डो होइन, अनुहार हो । र जसको अनुहारमा तिमी उसको मन पढ्न सक्दैनौ, त्यो अनुहार अनुहार होइन, त्यो मुखुन्डोहो । अब कहाँ रहे मुखुन्डोहरू? कहाँ रहे गैर मुखुन्डो अनुहारहरू?

अपरिचित १: हामीसँग कुनै मुखुन्डाहरू छैनन् र अनुहारबाट हाम्रो मन पढ्न पनि सकिरहेका छैनौ तिमीहरू । यो बाहिरी मुखुन्डो नहुनुले हाम्रो परिचय हराएको छ अथवा अनुहार आफै मुखुन्डो बन्नुले हामी परिचयहीन भएका छौँ । त्यसैले हामी कुनै परिचयदायक मुखुन्डाहरू खोजिरहेछौँ । भेटिन्छ भने त हामी त्यो निर्मलता खोजिरहेछौँ, त्यो निष्कपटता खोजिरहेछौँ; जहाँ अनुहारमा परिचय स्पष्ट झल्कन सकोस् । परिचयविहीन भएर कतिन्जेल रहने ? हामी यो सङ्कटबाट मुक्ति चाहान्छौँ ।

(मुखुन्डोधारी १ को प्रवेश)

मुखुन्डोधारी १: म त केवल मुखुन्डोको कुनै खास इतिहास हुँदैन भनिरहेथेँ । जसले जे स्वार्थको निम्ति त्यसको प्रयोग गर्छ त्यसको इतिहास त्यसरी नै बनिन्छ र समयचक्रमा त्यो भत्किँदै पुरानै स्वरूपमा आउँछ । इतिहासको पनि आफ्नो इतिहास हुन्छ तर मुखुन्डोाहरूको इतिहास भन्नु त भविष्य मात्र हो । मलाई शङ्का लागिरहेछ कि यहाँ कुनै पक्ष मुखुन्डो र गैर मुखुन्डाहरूकोबीचमा खेलिरहेको छ । यहाँ कतै हामीलाई लडाउने षडयन्त्र भएको छ । यी अपरिचितहरू शङ्कास्पद व्यवहार गरिरहेछन् ।

मुखुन्डोधारी २: शङ्कास्पद..........?

मुखुन्डोधारी १: हो, शङ्कास्पद । मान्छेहरू यति झट्ट स्पष्ट कुरा गर्दैनन् । मुखुन्डोबाहिर सुनिएका कुराहरू मुखुन्डोभित्रको मनसँग मिल्दै मिल्दैन । भित्र जलन हुन्छ र पनि हाँसेका अभिनय गर्छ । मान्छे हाडैदेखि हाँस्छ र पनि विलौना गरेको नाटक गर्छ । सबै अरूका निम्ति, देखाउनका निम्ति । हो तिनै हुन् मान्छेहरू । गाउँ भरिएको छ मान्छेहरूले, सहर पनि भरिएको छ । यी अस्वाभाविक र शङ्कास्पद चरित्रहरू कसरी मान्छेको नियन्त्रण क्षेत्रभित्र आइपुगे ?

अपरिचित १: (त्रास छ, चिन्ता छ र अनुनयको भावमा बोल्छ) हामीलाई अमान्छे रहिरहने कुनै रहर बाँकी छैन । हामी मुखुन्डो लगाउन चाहान्छौँ । हो, हाम्रो युगिन लामो इतिहास छ, सङ्घर्षमय जीवनका स्वर्णिम गाथाहरू छन् । तर यो हाम्रो अनुनय हो—ती सबै इतिहास बन्धक राख्नुपर्छ भने पनि हाम्रो मञ्जुरी छ । हामीलाई मान्छे बन्नबाट नरोकियोस्, मुखुन्डो लगाउनबाट बञ्चित नगराइयोस् ।

अपरिचित २: (लगातार याचना गर्दै) र मुखुन्डो सम्भव छैन भने हामीलाई शान्तिका पक्षमा केही संवादहरू बोल्न सहयोग गर्न सक्छौ ?
गैरमुखुन्डोधारी १: अचानक तिमीहरू बेप्रसङ्गको कुरा गरिरहेछौ । सक्न त हामी शान्तिका लागि सयौँ प्रार्थनासभाहरू चलाउन सक्छौँ । शान्तिका प्रतीक मुखुन्डाहरू बनाउन सक्छौँ । शान्तिका पक्षमा फेरि अर्को युद्धको उद्घोष गर्न सक्छौँ । हामी जे पनि गर्न सक्छौँ । तर तिमीहरू हामीसँग लगातार यस्तो माग किन गरिरहेछौ ?

(एकाएक सूत्राधारको प्रवेश हुन्छ । र आक्रोशित मुद्रामा कुनै निर्णय सुनाएजसरी बोल्न थाल्छ । )

सूत्राधार: तपाईंहरूको संवाद बन्द गर्नुहोस् । म आजित भइसकेँ । यी अपरिचितहरू अरू कोही होइनन् । भोकाएका मान्छेहरू हुन्, खान चाहन्छन् । नाङ्गा मान्छेहरू, लगाउन चाहन्छन् । अनिदा मान्छेहरू हुन्, सुत्न चाहन्छन् । शान्तिका लागि कुनै प्रार्थनासभा गर्ने कुरा नाटकका संवादहरू हुन् । तर यी अपरिचित मान्छे भने कलाकार होइनन् । त्यसैले यिनीहरूले भनेका कुरा नाटकका संवाद होइनन् । यिनीहरूले खोजेको शान्ति एक टुक्रा रोटीमा पनि भेटिन्छ, एकसरो लुगामा पनि भेटिन्छ, एक घडी निदमा पनि भेटिन्छ । हामी प्रार्थना सभा गर्न सक्छौँ । तर दुर्भाग्य उनीहरूका लागि खानेकुरा खरिद गर्न सक्दैनौँ । नाटक मञ्चन गर्ने क्षेत्राधिकारभित्र त्यसो गर्ने अनुमति छैन । अहिलेलाई अब नाटक अगाडि बढाउने अवस्था रहेन । यहाँ नाटक जीवनमा मिसियो अथवा नाटक हुबहु जीवन जस्तो भयो । नाटक र जीवनबीच अन्तर हराएकाले निर्देशक र कलाकारहरूलाई पनि अलमल हुन गएको छ । त्यसैले ‘मुखुन्डोभित्रको मन’ नाटकको मञ्चन स्थगित गरिएको छ । यसबाट दर्शकमहानुभावहरूमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौँ ।

पर्दा खस्छ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु