नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


कृष्ण प्रसाई

म रोएको दिन

संसारभर खुशीको माहोल छाएको थियो
धेरैले पटका पट्काएर उन्मुक्त उत्सव मनाइरहँदा
म भने बेचैन भएर सन्तापले सुस्ताइरहेको थिएँ
म रोएको त्यो दिन,
अर्थात् दुई हजार दस, वैशाख सत्रगते बुधबार ।

न्युजिल्याण्डको एउटा मान्छेले मेरो शिर कुल्चियो
आफ्नै देशको टाउको टेक्ने अर्को
मेरै देशको भरिया थियो
कालान्तरमा ऊ पनि विदेशी नै भयो ।

मैले जानेको सत्य एउटै छ
हामी भन्दा माथि हिमाल छ
हिमालभन्दा माथि देश
हिमाल र देश भएकैले हामी छौँ ।

तर जुनदिन हिलारीले राख्यो पैंताला सगरमाथामा
र तेञ्जिङले टेक्यो आफ्नै टोपीलाई
देशभन्दा माथि अरू नै भए !

देउता मानेको सगरमाथा सर्माएको त्यो दिन
संसारले मुकुट ठानेको
हिमाल हारेको त्यो दिन
महान्ता मुर्झाएको त्यो दिन ।

हो,त्यसै दिन म रोएँ
मेरो कद सानो भएकोमा म रोएँ
पराइ पदचाप परेकोमा म रोएँ
मेरो टाउको टेक्नेलाई नै तिमीले महान बनाएकोमा म रोएँ ।

टाउको कुल्चनेलाई म कसरी महान भनुँ ?
अहिले पनि कुल्चिरहेछन्
र जुठाका पिरामिडहरु थुपारिरहेछन् ।

मेरो प्रश्न छ तिमीसित देश !
मन्दिरको मूर्ति माथि पाइला टेकेर
मन्दिरमा चढाएको भेटीले
तिम्रा कुन ईश्वर खुशी होलान् र ?

तिमी जे सुकै भन
म मान्दै मान्दिनँ तिम्रो पुरानो संविधान
भन, संसारको कुन कानुनमा शुल्क बुझाएपछि
शरीरको शिर टेक्न पाइन्छ?

कुन नियममा पैसा असुलेपछि
गजुर कुल्चन पाइन्छ?
भन, कुन कानुनले
तिरो तिर्दैमा
छाती छेड्न पाइन्छ ?

म अहिले क्षोभ र घृणाले आक्रान्त भिजेको छु
तिम्रो देशको विधानसित ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु