नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


कृष्ण प्रसाई

फूलको समाधि

कसरी सम्झौता गरौँ तिमीसँग
जो दुःशासन सप्काले
दुर्लभ फूलका भृकुटी मनहरु निमोठ्दै
सहर खाएर गाउँखोस्न खोज्दैछौ

सुन, ए सहरिया साहेब सुन !
मेरो सर्वोत्तम सञ्जीवनी नगरी
सत्ताभन्दा सत्यको नजिक रहेको
चरैवेति चौतारो
अदीतिको उज्यालो गर्भझैँ
सर्वथाईश्वर मात्र जन्माउँछ
जहाँ कहिल्यै नसुक्ने
सृष्टिका जमदग्नि जलाशयहरू
युधिष्ठिर हावा छोएर बहने गर्छन्
शालीन शिखरको त्यो परिश्रमी पाखामा
यौवनको पारिलो मादकता छर्दै
वासनामा फूल मुस्कुराएको हुन्छ ।

जहाँका कोपिला फक्रन
जूनको अश्विनीअनुमति लिने गर्छन्
र घामको चक्रवर्तीआदेशले मात्र
मुर्र्झाएर झर्छन् फूलहरू ।

आदिमानवको पहिलो पदचाप भेटिने
अनादि यो भेगमा
सिर्जनाहरू कसरी मुस्कुराउने गर्छन् !
त्यसको तिमीले कल्पनासमेत गर्न सक्दैनौ
सहर सभ्यताका
देवता बेच्ने मायावी मान्छेले
सद्दामी सलाम ठोकेर पुस्तौं परेड बजारे पनि
म रम्न सक्दिनँ तिम्रो कस्मेटिक कुरुपतासँग ।

भन्न रत्तिपनि कठिन छैन मलाई
मैले खेल्ने रङ्गहरूको उत्सवमा
पानीको पखेटाले भिजाउन नसकेका
निर्वस्त्र शिखरका सुकुमार चट्टानहरू छन्

उर्वशी नृत्यमा बेफिक्री बैँस भिजाइरहेका
कामाग्नि कोरली नदीहरू छन् ।

मेरो भागवत भूगोलको वक्षस्थलमा
परीक्षित पिरामिड पहाडहरू पनि छन् ।

उन्मुक्तिको अमर गीत गुञ्जिरहने
प्रत्यञ्चा चढेका धनञ्जय धूनसँगै
शाण्डिल्य संहिता सुसाइरहने
झरनामा निमग्न भिजेका सङ्गीतहरू समेत छन् ।

अहिले यो आर्यवर्तमा
लाक्ष्यगृह रचाउने
दुर्योधन पसिनाको गन्ध आइरहेछ माटामा
जो यो व्रह्मर्षि बाटो बिगारेर
यहाँको वामियानी बस्ती नै
विकृत पार्न खोज्दैछ ।

हो, म पूरै तिरस्कार बोलिरहेँछु
डिजिटल प्रेम पालेर,
व्यसनी तिर्खाहरूमा रमेको
तिम्रो शकुनी षड्यन्त्रलाई
निर्विवाद निषेध छ
यो अर्ग्यानिकआगन प्रवेशमा,
जहाँको सञ्जीवनी साउनसँग भिजेर अहिले म
अक्षय उमङ्गको कामधेनु उत्सव मनाइरहेँछु ।

र भन्न रत्तिभर सड्ढोच छैन मलाई
अरु कसैले सिकार गर्न खोजिरहेको
अगम उँचाइको यो सघन सरोवरमा
मैले असाध्यै मन पराउने
फूलको समाधि छ ।

हो, त्यही समाधिको शिविरमा बसेर मैले
मृत्युको मौन स्वीकृतिलाई तिरस्कार गर्नु छ
र निकाल्नु छ धूमिल मौसमबाट
अनादि उज्यालोको इन्द्रेणी उत्साह ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु