नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मदन रेग्मी

हामी फेरि फेरि जन्मने छौँ

चित्त नदुखाऊ !
तिम्रो मात्र हुनु सत्य होइन
यो नश्वर अस्त्विको आकाङ्क्षा र आकाश पनि होइन
जसको निलो सेतो र कालो क्षितिजमा
हामी चराचुरुङ्गी भएर टासिन्थ्यौँ नाच्थ्यौँ
चट्याङको उज्यालो र मेघ गर्जनमा झन एउटै हुन पुग्थ्यौँ
कहिले नछुट्टिने प्रतिज्ञा र वाचामा विलाउथ्यौँ
र झन सजीव बन्न पुग्थ्यौँ
आफनो सुरिला स्वरमा व्रह्माण्डलाई नै गीत बनाउँथ्यौँ
प्रेम नै प्रेम बनाउथ्यौँ र सिँगार्थ्यौँ ।

साँच्चै हो विश्वास छैन होला
फेरि फेरि जन्मिन्छौँ भन्ने
अप्ठ्यारो लाग्छ होला र अचम्म पनि
मानिस बम गोला र शस्त्र अस्त्र अणु परमाणु कै सृष्टि जस्तै
संसार हाँक्न तम्सिरहेछ
हुनसक्छ हामी सवै एकै चिहान होऔँ, एउटै विध्वंश होऔँ
र कोही बाँकी नहोस्
यस्तो पनि हुन सक्छ
हाम्रा पूर्वजहरूले अनेकौँ सृष्टि गरेर गए
त्यो मात्र पनि होइन
मेरा बाजेले भन्थे उनको पनि बाजे थिए र बजैहरू थिए
उनीहरूभन्दा अगाडि धेरै आए गए
आज हामी यसरी नै आएका छौँ
आएपछि जान, गएपछि आउन
यसलाई तिमी सत्य असत्य जे पनि भन्न सक्छौ
ढुङ्गाले मुटुलाई हिर्कायौ , मुटुले ढुङ्गालाई
त्यसरी नै तिमीलाई थाहै होला—
यही पानीमा हुल का हुल चराहरूले आत्माहत्या गरे
माटोको हलचलमा ज्वालामुखीहरू फुटे
भुइँचालो र भयङ्कर आँधीबेहरी आए
त्यस विषमताले सबै निम्ट्यो
विश्वास गर
जति जति युग गए पनि आए पनि
म, म नै तिमी, तिमी नै रहने छौ
हाम्रा शरीरका ताता रापहरूले
मरुभूमिलाई पनि बगैँचा बनाइ रहने छ
हाम्रा शरीरका ताता रापहरूका उत्तेजना यसरी नै आइरहने छन्
एक अर्कामा टाँसिने छन्
विश्वास गर
म फेरि फेरि जन्मने छु
त्यसरी नै तिमी पनि यही माटोमा र
यसरी नै एक अर्काका पछि पछि
तिमीले मलाई त्यसरी नै आफूमा राख्ने छौ
र म फेरि फेरि तिम्रै पछि पछि लाग्ने छु ,
तिम्रा माछा को सुवास बोकेका, छरिएका
कपालका टुक्रा त्यसरी नै एउटा बट्टामा राख्ने छु
र कुरिरहने छु
लुकामारी गर्दै एक अर्कालाई भेट्टाउँदै
सुनसानबाट सुनसानमा एक अर्कालाई लैजाने छु ,
समागममा दुवै लिप्त हुने छौँ ।
विश्वास गर
माया यति विशाल र फराकिलो छ
यसले कयौँ युगहरू
कयौँ ब्रह्माण्ड
कयौँ जीवन
कयौँ कल्प बाँचिसकेको छ

बिश्वास गर
म फेरि तिमीमै फर्किने छु
हाम्रो यो संसारमा मृत्युको कुनै हक हुने छैन
तिमी र म निस्फिक्री आइरहने र गइरहने छौँ
हिजो, आज र भोलि यसरी नै
आइरहने छौँ र गईरहने छौँ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु