नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


महेश पौड्याल

बूढो रुख र जुरेली

“प्रिय जून, अझै केही बेर नअस्ताउनू ल,” जुरेलीले भनी, “किनकि, यहाँ उज्यालोको अरु कुनै श्रोत छैन, र आजको बासको टुङ्गो मैले अझै लगाइसकेकी छैनँ ।”
मौसम असाध्यै चिसो थियो, यद्यपि आकाश निकै सफा देखिन्थ्यो । गोधुलीको अलिअलि उज्यालो बाँकी थियो र चन्द्रमा, पश्चिमी पहाडमाथिको आकाशमा राखिएको हिराको एउटा अर्धगोलजस्तो मात्रै देखिन्थ्यो ।
जुरेलीले अघिल्लो रातको कहर सम्झी र काँप्न थाली । कठै, कस्तो अत्यासपूर्ण अनुभव थियो त्यो ! दक्षिणतिर, कसैले पूरा जङ्गल जल्ने गरी आगो झोसिदिएको थियो, र जुरेलीले सानो गुँड बनाएको कट्टुसको रूख डढेलोमा पर्दा, त्यहाँभित्र रहेका उसका ससाना दुई बचेरा जलेर मरेका थिए ।
जुरेलीले आफ्ना सन्तानको सन्तापमा दुई थोपा आँसु खसाली, र त्यहाँबाट उडी । पर, मान्छेको बस्तीको छेउ, फलामका पोस्टहरूबीच बाँधिएका बिजुलीका नाङ्गा तारहरूमा झुण्डिएर उसको रात कट्यो । उसलाई लागेको थियो, यस्ता तारहरूमा आगो सल्किँदैन । तर यसरी, तामाका तारमा रातभरि झुन्डिएर रात काट्नु कम कहरपूर्ण थिएन ।
सबेरै त्यहाँबाट उडेर ऊ अलि पर खुला, नाङ्गो र सपाट मैदानको बीचमा एक्लै उभिएको एउटा बूढो सिसौको रुखमा गएर एउटा हाँगामा बसी । केहीबोरमा भनी, “प्रिय वृक्ष, आजको रात मलाई बास बस्न देऊ न ल? आखिर, हामी दुवै छिटै मर्दैछौँ ।”
“त्यो तिमी कसरी भन्न सक्छ्यौ?” रुखले सोध्यो ।
“तिम्रा गोडा जमिनमा गाडिएका छन् । तिमी हिँड्डुल गर्न सक्दैनौ । त्यसैले, दनियाँमा के भइरहेको छ, तिमीलाई थाहै हुँदैन । म त उडिरहन्छु, र सबै कुरा देख्छु । कुन मूर्दाले दक्षिणको सारा जङ्गलमा आगो लगाइदिएको छ । ऊ छिटै यहाँ पनि आइपुग्छ,” जुरेलीले भनी ।
“अहो, कस्तो अशुभ समाचार !” रुखले भन्यो, र आँसुका दुई ठूला दाना झार्‍यो । अनि भन्यो, “प्रिय जुरेली, मेरो जीउमा एउटा छिद्र छ, तर मैले त्यहाँ एउटा लोखर्केलाई वास दिएको छु । आजको रातका लागि तिमीले त्यसलाई आश्रय बनाउन सक्छ्यौ । भोलि बिहानै जानू । मेरो लोखर्के मानसरोवर गएको छ । भोलि त पक्कै आइपुग्छ ।”
“प्रिय वृक्ष, तिम्रो दयाका लागि धेरै धन्यवाद । बिहान म तिम्रो लागि मैले जानेको सबैभन्दा मिठो गीत गाइदिएर विदा हुन्छु ।”
यस बेलासम्म चन्द्रमा सुदूरको पहाडबाट पनि घर्किसकेको थियो । “पर्खी,” जुरेलीले चन्द्रमातिर फर्केर फेरि भनी । “म ओछ्यानमा नपुग्दासम्म मलाई उज्यालो दे । भोलि सवेरै, म तेरो लागि पनि मैले जानेको सबैभन्दा मिठो गीत गाइदिने छु ।”
जुरेलीले रुखको न्यानो छिद्रमा आफ्ना लागि सुरक्षित स्थान नभेट्दासम्म चन्द्रमाले पनि पर्खियो । जुरेलीले बढो होसियारीका साथ छिद्रभित्र हेरी । कुनै छापामार सर्प छैन भन्ने थाहा भएपछि ढुक्कसँग भित्र पसेर विश्राम लिई । ऊ सुरक्षित भित्र पसेर बसिकेपछि चन्द्रमाले विदाइको अन्तिम दृष्टि दियो, र आँखा झिम्क्याएर विदा भयो । रातको कालो पर्दाले रुखलाई चारैतिरबाट घेरा हाल्यो ।
आहा, कति न्यानो थियो त्यो रात ! छिटै जुरेली गरिहो निद्रामा परी र टाढा, श्लेष्मान्तक वनको सपना देख्न थाली । उसको सपनाको वनमा फलले लटरम्म थिए रुखहरू । माथि आकाशमा, बादलको जहाज चढेर मलया जान लागेकी राजकुमारीको सम्मानमा उसले मिठो गीत गाई । त्यस स्वप्नवनमा कहिल्यै, कुनै व्याधा आउँदैनथ्यो, र उसलाई आश्रय दिने रुखमाथि कुनै दाउरेले बन्चारो प्रहार गर्दैनथ्यो ।
उज्यालो भइसकेपछि जुरेलीले “सिऽऽऽऽऽ सिट!” गरेर आवाज गरी, र निदाएको रुखलाई ब्यूँझाई । चन्द्रमा, फुटेको चुराको अंशजत्रो मात्रै देखियो, आकाशमा । त्यसलाई पनि जुरेलीले “सिऽऽऽऽऽ सिट!” गरेर गीत गाइदिई, र उसको गुनको मोल चुक्ता गरी ।
घाम निकै माथि आइसकेपछि जुरेलीले बूढो रुखलाई धन्यवाद दिई र आफ्नो बाटो लागी ।
ऊ उड्दै बागमती नदीमाथिको आकाशमा पुगी । तल, नदीको पानीमा नग्न बालकहरू दहमा हाम्फाल्दै भक्तहरूले फालेका सिक्का बटुल्न व्यस्त देखिन्थे । ऊ जल्दै गरेका मानवशरीरको माथिबाट पनि उडी । तिनलाई देख्दा, उसले जलेर मरेका आफ्ना अबोध बचेरका निष्प्राण शरीर सम्झी । उसलाई भित्रैबाट भक्कानो फुटेर आयो । सोची, “चरा र मान्छे उस्तै रहेछन्” र उत्तरतर्फ बेग्गिई ।
माथि, उत्तरतिर मनसुन तुफानको बुई चढेर प्रलय मच्चाइरहेको थियो । मुस्लाधार परिरहेको पानीले जुरेलीलाई निथ्रुक्क भिजायो । अविरल वर्षाले त्यहाँको भिरालो भूगोलमा पहिरो लडाइरहेको थियो, र त्यसमा परेर घरदेखि रुखसम्म, कट्टुसदेखि सल्लासम्म, सबै सबै बगिरहेका थिए । मानिसहरू भगावन् इन्द्रलाई गाली गर्दै जताततै कुदिरहेका थिए । उनीहरू सायद ठान्थे— इन्द्रले सारा नीलसागर ल्याएर त्यहाँको भूगोलमाथि खन्याइरहेका छन् ।
“यो पहिरो रोक्न एउटा पनि रुख छैन,” एकजना बृद्ध मानिसले भने । “कुन चैँ मूर्दाले सारा वन फँडानी गरिसकेछ । यै बाढीले लैजाओस् तेल्लाई,” उनले थपे ।
“दुःखद्,” त्यस जुरेलीले सोची, र आफ्नो पुच्छर फुत्त घुमाएर दिशा परिवर्तन गरी । “यो ठाउँभन्दा त म हिजो वास बसेको रुख नै जाती । जान्छु उतै । सायद अब एक रात बस्न पाउँछु ।”
रुखमा पुगेपछि जुरेलीले भनी, “प्रिय वृक्ष, तिम्रो हाँगाबाहेक अरु कतै पनि मेरो मन अडिएन । जहाँ पुग्छु, मेरा बचेराकै लाश सम्झन्छु । भक्कानिन्छु । मलाई थप एक रातका लागि वास देऊ न । आखिर, हामी दुवै चाँडै मर्दैछौँ क्यारे ।”
“तिमी त्यस्तो कसरी भन्न सक्छ्यौ?” रुखले भन्यो ।
“माथि, उत्तरतिर, भगवान् रिसाएर सारा नीलसागर धरतीमाथि खन्याइरहेका छन् । जताततै पहिरो गएर ठूला साना सबै रुख बगाइरहको छ, भीरैभीर । नदीहरू भरिएर आकाश छुन थालिसकेको छन् । सारा स्रष्टि सकिन्छ जस्तो छ । तिमी मर्‍यौ भने, प्रिय वृक्ष, म ज्यादै दुःखी हुनेछु ।”
“ओहो, कस्तो दुःखद्,” रुखले भन्यो, र आँसुका दुई ढिक्का जमिनमा झार्‍यो । अनि भन्यो, “आजको रात यहीँ बस, प्रिय चरी । बिहान उज्यालो भएपछि, मेरो शरीरबाट भैँ झरेका मेरा प्रिय पातहरूको नाममा एउटा गीत गाइदेऊ ल । तिनलाई सम्झेर मेरो मन कति रुन्छ ।”
“तिमी कति दयालु छौ, प्रिय वृक्ष । तिमीलाई धेरै धन्यवाद । बिहान म तिम्रो लागि, आफूले जानेको सबैभन्दा मिठो गीत गाइदिने छु ।”
यसरी, दोस्रो रातका लागि पनि जुरेली त्यसै रुखमा बास बसी । भोलिपल्ट बिहान, सवेरै उसले रुखबाट झरेका पातका नाममा एउटा कारुणिक गीत गाई र भनी, “प्रिय वृक्ष, छिटै तिमी पनि आफ्ना झरेका पातसँगै हुन्छौ – मेरो प्यारो वृक्ष!”
“कसरी?” भर्खरै ब्यूझँदैगरेको रुखले झस्कँदै भन्यो ।
“किन भने, तिमी पनि मूर्दा भएर तिनै पातहरूमाथि ठल्नेछौ । वर्षात् तिमीमाथि बर्सने छ, र तिमी उभिएको जमिन भासिने छ ।”
रुखले फेरि आँसुका ढिक्का खसाल्यो । बाढीले ध्वस्त पार्नुभन्दा अगाडिको जीवन सुखद रहोस् भन्ने कामना गरेर जुरेली विदा भई । उसले सुनेकी थिई— पश्चिममा सबै भन्दा मिठा खन्यूँ फल्ने रुखहरू छन् । ऊ त्यतैतिर उड्यो ।
रातभरिको अविरल रोदनपछि आकाश खुलेको थियो, र घामका चम्किला किरणहरूले धरती पुलकित देखिन्थ्यो । जुरेली दिनभरि उडी । अबेर दिउँसो, घामका सीधा किरणहरू आएर उसका ससाना आँखाहरूमा ठेक्किए । जुरेलीले आकाशमा तैरिरहेका धेरै रङहरू देखी — रातो, नीलो, हरियो र बैजनी ।
अलि पर कतै उसले पहेँलो टोप लगाएको एउटा मोटो मान्छे, एउटा विशालकाय पहेँलो यन्त्र चलाइरहेको देखी जङ्गलको बीचैबीच । त्यस यन्त्रले आफ्नो अघिल्तिरका सारा रुख काटिरहेको थियो, र जमिनलाई सम्म बनाइरहेको थियो ।
यसरी त्यो ठूलो यन्त्रले रुख ढाल्न र जमिन सम्याउन लागेको देखेर नजिकैको गाउँमा मान्छे भेला भए । किन र केका लागि भनेर प्रश्नहरू गरिए ।
“हामी यहाँ महानगर बनाउँछौँ,” राजनेताले भने ।
केटाहरू भन्यो, “हाम्रा लागि एउटा खेल मैदान पनि है, नेताज्यू ।”
“स्विमिङ पुल,” भनेर बालबालिका कह्राए ।
महिलाहरू देशकै सबैभन्दा ठूलो सिनेमा घरको पक्षमा थिए ।
इँटाका व्यापरी भन्दैथिए, “यहाँको माटो इँटा बनाउलाई उत्कृष्ट छ । यहाँ एउटा इँटाभट्टा बनाउनुपर्छ ।”
“यहाँभन्दा त बूढो रुख नै ठिक,” जुरेलीले सोची, र फनक्क फर्किई । लोखर्के फर्केर आइपुग्यो कि, र रुखले वास नदिने पो हो कि भन्ने डर पनि मनमा नभएको होइन । तर पनि ऊ फर्किई ।
ऊ साँझको घुर्मैलको आकाशमा, धुवाँ र दुर्गन्धको पर्दा चिरेर उडिरही । कहरपूर्ण हावाले उसका आँखा झन्डै दृष्टिविहीन बनाइदियो ।
“प्रिय विृक्ष । म फेरि आइपुगेँ । मलाई तिम्रो धेरै नै माया छ । आज पनि मलाई वास देऊ न, अब केवल एक रातको लागि हो । आखिर, छिटै हामी दुवैको मृत्यु हुँदैछ ।”
“यस्तो तिमीले कसरी भन्न सक्छ्यौ?” रुखले सोध्यो ।
“उता, पश्चिममा, एउटा पहेँलो मान्छेले, पहेँलै यन्त्रले सबै वन फाँडिरहेको छ । महानगर बनाउने आरे । सबै रुख काटिरहेको छ, र मलाई लाग्छ, ऊ छिटै यहाँ पनि आइपुग्ने छ ।”
“कस्तो भयानक !” रुखले भन्यो, र आँसुका दुई ठूल्ठूला थोपा खसाल्यो । फेरि भन्यो, “प्रिय चरी । तिमी एकदिन अझैँ वास बस, मसँग । भोलि, उज्यालो भएपछि, पश्चिममा त्यो पहेँलो मान्छेले काटेर मारेका मेरा आफन्तको नाममा एउटा गीत गाइदेऊ । अनि जानू, ल?”
“अवश्य,” त्यस जुरेलीले भनी, र त्यस बूढो रुखको मूल हाँगोको टुप्पोमा चुम्बन गरिदिई । अनि आफूले वास बस्ने गरेको छिद्रमा आएर लुसुक्क पसी । धन्न लोखर्के फर्केको रहेनछ ।
“उत्तरमा आएको बाढीले सायद त्यस लेखर्केलाई मारिदियो,” जुरेलीले बूढो रुखलाई भनी ।
“त्यसो नभन, प्रिय चरी,” रुखले भन्यो । “ऊ मसँग यत्तिका दिनदेखि बसिरहेको छ । म उसलाई मेरो जीउबाट झरिगएका कुनै पातलाई भन्दा पनि बढी माया गर्छु । ऊ मर्‍यो भने त म पनि मर्छु ।”
“प्रिय वृक्ष । तिम्रो आयु लामो होस्,” जुरेलीले भनी । तर एकप्रकारको चिसो भाव उसको हृदयमा प्रवेश गरिसकेको थियो ।
रुखले आफ्नो जीउमा बचेका थोरै पातहरूलाई सुस्तरी हल्लाउन आइपुगेको साँझको चिसो बतासलाई साउती गरेर केही भन्यो । अनि फेरि चरीतिर फर्केर भन्यो, “शुभरात्रि ।”
भोलिपल्ट बिहान सवेरै जुरेलीले आफूले जानेको सबैभन्दा कर्णप्रिय गीत गाई, र टाढा, पश्चिममा मारिएका रुखहरूको नाममा शोक–सन्देश सुनाई । यो गीत सुनेर बूढो रुख पनि ब्यूँझियो । आजसम्म उसले सुनेका गीतहरूमा यो नै सबैभन्द कारुणिक गीत थियो ।
“अब विदा पाऊँ,” जुरेलीले भनी । “राम्ररी बस्नू ल । अनि, मलाई नबिर्सनू नि,” उसले थपी ।
“बिर्सन्नँ । सायद आज राति त मेरो लोखर्के पनि आइपुग्छ होला । ऊ गएको पनि धेरै दिन भइसक्यो । कस्तो निष्ठूरी, अलि छिटै घर फर्कने त नामै पो लिँदैन । ऊ नहुँदा कस्तो न्यास्रो लाग्छ आफूलाई ।”
“प्रिय वृक्ष । उत्तरतिरको बाढीमा परेर मरिसकेको पनि हुन सक्छ,” जुरेलीले भनी ।
“कृपया, भगावन्नका नाममा त्यसो नभन । उसलाई केही भइहाल्यो भने त म पनि मुटु फुटेर मर्छु ।”
“त्यस्तो त नहोस्,” जुरेली ले उदास भावमा भनी । अनि एकछिन् पछि फेरि थपी, “तर तिमीलाई केही भइहाल्यो भने म तिम्रा लागि प्रार्थना गरिदिन्छु । अहिले म जान्छु, प्रिय वृक्ष ।”
जुरेलीले तीव्र गतिमा उडान भरी र पूर्वतिर लागी । उसले सुनेकी थिई पूर्वमा स्रृष्टिको सुरुकै दिनदेखि बग्दै आएका लामा लामा नदीका किनारमा, फाँटैभरि बयर पाकेका भेटिन्छन् ।
पूर्वमा, धेरै नै पर पुगेपछि उसले आकाशैभरि उडिरहेका ठूला ठूला चरा देखिी । ती यति ठूला थिए कि उसले यस्ता भीमकाय चरा एकै ठाउँ उडेको त कहिल्यै कल्पनासम्म पनि गरेकी थिइनँ । कहिलेकाहीँ फाट्टफुट्ट यस्ता चरा नदेखेकी भने होइन, तर यत्तिको सङ्ख्यामा, यसरी हल्ला गर्दै उड्ने चरा उसले आजसम्म देखेकी थिइन । ऊ सबै पात पहेँलिएर ओइलाउन लागेको कट्टुसको एउटा सानो हाँगोमा बसी र ती बडेमानका चराको उडान र खेल हेर्न थाली । अहो, कस्तो भयङ्कर खेल तिनको ! बेलाबेला दुई चरा आपसमा ठोक्किन्थे, फुट्थे, र धुलोपिट्ठो भएर भुइँमा खस्थे ।
लामो पर्खाइपछि, जुरेलीले आफूले बुझ्नै नसक्ने एउटा दृश्य देखी । आफूले देखेकामध्ये सबै भन्दा तीव्र गतिमा उड्ने एउटा कालो चरोले आकाशमा उड्दाउड्दै एउटा बडेमानको अण्डा पार्‍यो । त्यो अण्डा तीव्र गतिमा भुइँमा झर्‍यो र प्रलयङ्कारी आवाजसहित फुट्यो । एकैछिनमा त्यहाँबाट धुवाँ उठ्यो र आकाशै ढाक्न थाल्यो । हेर्दाहेर्दै पूर्वको त्यस भूगोलभरि चारैतिर आगाका लप्का दौडन थाले ।
यो दृश्य हेर्न नसकेर जुरेली त्यहाँबाट भागी । आकाशभरि फैलिएको जहरिलो धुवाँले झण्डै उसका कलिला फोक्सा फुटाएर ज्यान नलिएको ।
उड्दाउड्दै बाटोमा रिँगटा लागेर उसको टाउको हल्लियो । आफूले जान खोजेको बूढो रुखको दिशा पैल्याउन उसले सकिन । रात छिपिँदै जाँदा ऊ एउटा ढलभित्र पसी जहाँको फोहोर र दुर्गन्धले ऊ झण्डै निसास्सिई । उसका साना खुट्टामुनि बगिरहेको थियो ढल, जसमा महानगरका अनेक किसिमका फोहोरहरू विद्यमान थिए । बेलाबेला उसका खुट्टाले छुन्थे त्यो लेदो, र भुइँको हिलो । ढलमाथि भने, रातैभरि खै केका हुन् गोडाहरू अचम्मको आवाज गर्दै कुदेको सुनिन्थ्यो । फोहोरको पानी वा लेदोमा खसेर मर्छु कि भन्ने डरले रातैभरि निदाउन सकिन जुरेली ।
जब त्यो कहरपूर्ण रात बित्यो र घाम उदायो, ऊ ढलभित्रबाट बाहिर आई र एउटा रुखमा बसी । भर्खरै झुल्किएको शिशु घामको स्वागतमा ऊ एउटा मिठो गीत गाउन चाहन्थी, तर त्यसदिन उसको गलाबाट एउटा मधुरो, र कष्टपूर्ण क्रन्दनबाहेक केही पनि निस्केन । जीवनमा पहिलेपल्ट उसलाई बोध भयो — कहिलेकाहीँ उसको गलाको गीत पनि रोकिँदो रहेछ ।
तर उसको दृष्टि भने हिजोको भन्दा अहिले अलि बढी स्पष्ट भएको थियो । उसले चारैतिर आँखा डुलाई र हेरी । पर, डाँडामा एउटा गुम्बाका लुङ्दरहरू हावामा हल्लिरहेका देखियो । “गुम्बाबाट पश्चिमतिर पर्छ मेरो बूढो रुख” उसले सोची, र ढिलो नगरी त्यस दयालु रुखको एउटा हाँगामा दाखिल भई ।
ऊ धेरैबेर त्यसै हाँगामा बसिरही तर केही बोलिन । रुखलाई सुनाउनलाई ऊसँग धेरै कुरा थिए, तर उसको मुखबाट कुनै शब्द निस्कन सकिरहेको थिएन । ऊ आफूले बास बस्ने गरेको छिद्रको बाहिर, रुखका हाँगामा बसिरही । उसको शिर झुकेको थियो, र आँखा, तल भुइँतिर केन्द्रित थिए ।
“ओहो,” जुरेलीले एक्कासि भनी । उसको आवाजको, उसले यसअघि गाउने गरेको गीतसँग कुनै पनि समानता थिएन ।
“तिमी फर्कियौ? राम्रो भयो । हिजो राति साह्रै न्यास्रो लागेको थियो,” रुखले भन्यो ।
“तर, प्रिय वृक्ष, अब त तिम्रो मृत्यु हुने निश्चित छ, र तिमीसँगै म पनि मर्ने छु ।”
“फेरि के भयो? कसरी यस्तो भन्न सक्यौ?” रुखले सोध्यो ।
धेरैबेर सम्म जुरेली शिर झुकाएर हाँगामा बसिरही । उसका आँखा आँसुले भरिएर आए । ती आँसु, उसका साना आँखाबाट टप्किएर भुइँमा खसे, बर्षातको पानीका थोपाजस्तै ।
“तिम्रो लोखर्के तिम्रै फेदमा मृत बनेर लडेको छ । उः, तल हेर त, ऐँसेलुको बोटमुनि, झाडीमा । त्यहीँ छ — मरिसकेको । उसको जीउ पनि अह्ररिसकेको छ ।”
“नाइँ, यो हुन सक्दैन,” रुख चिच्यायो । तर उसको शिरतिर अलिअलि पात जो बचेको थिए, तिनले आफूमा रहेका छिद्रबाट त्यस लेखर्केको मृत शरीर देखिसकेका थिए ।
“गइसक्यो,” जुरेलीले भनी र लामो सुस्केरा हाली । अनि एकछिन पछि फेरि भनी “म एकपल्ट तल जान्छु र कसरी मरेछ हेर्छु ल?”
हाँगाबाट तल ओर्लिई जुरेली । लोखर्केको छेउमा गई र उसको मृत शरीरलाई नियालेर हेरी । माथि, रुखको आँखाबाट भने तप्प तप्प बर्सिरहे आँसुका ढिक्का र जुरेलीका प्वाँखमाथि खसिरहे । हो, कसैले गुलेलीले हानेको रहेछ लोखर्केलाई । मट्याङ्ग्राले उसको सानो शिरको बीच भागमै लागेको रहेछ । शिरमा, मट्याङ्ग्राले लागेको ठाउँमा भएको प्वालबाहिर अलिकति रगत पनि सुकेर टाटो बसेको देखिन्थ्यो ।
उदास र एक्लो रुखले भन्यो, “अब म पनि मर्छु ।”
“म पनि,” जुरेलीले हत्तपत्त भनी र भक्कानिई ।
यसपछि भुइँबाट भुर्र उडेर ऊ रुखको मूल हाँगोमा गएर बसी ।
“अब त सबै सकियो ! अब म तिम्रो नाममा अन्तिम गीत गाउँछु ल?” जुरेलीले भनी, र जीवनको करुणतम गीत गाउन थाली । उसले दक्षिणको आगलागी, उत्तरको बाढीपहिरो, पश्चिममा देखेका ठूलो पहेँलो यन्त्र तथा पूर्वमा देखेको आगोको अण्डाको कथा सुनाई । उसले जीवन, सन्तान र मृत्युको गीत पनि गाउन खोजी, तर भक्कानोले दिएन । आवाज पनि निस्कन सकेन । दुवैजनाले यति आँसु झारे, रुखको फेदमा मृत लढेको लोखर्केको जीउ पूरै आँसुमा भिज्यो ।
“बिदा पाऊँ, प्रिय वृक्ष,” जुरेलीले भनी, र हाँगाबाट एक्कासि भुइँमा झरी । ऊ, रुखको फेदमा रहेको लोखर्केको मृत शरीरमाथि नै खसी ।
“यो तर सिसौ हो । यसको काठ सिनेमाघरका सिट बनाउन सबैभन्दा राम्रो,” भन्दै एउटा अग्लो, मोटो मान्छेले त्यसैदिन अपराह्नतिर भन्यो, र आरा लगाएर रुख ढाल्यो ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :