नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


महेश पौड्याल

भुवन

“म पनि स्कुल जाने,” भुवनले एकदिन आफ्नो मालिकलाई भन्यो ।
“स्कुलमा के हुन्छ र त्यस्तो? ब्यान–बेल्की मेरो सुर्ती माड्, दिउँसो भेडा चराउन जा । म तँलाई मन्त्रीकी छोरीसँग बिहे गरिदिउँला । ती स्कुल जाने ठिटाहरू रक्स्याहाका छोरी टिपेर भाग्छन्,” मालिक वीरबहादुरले भन्यो ।
दिमागको सोझो र मनको इमानदार भुवनले मालिकको कुरा पत्यायो । उसको मालिक वीरबहादुरबाहेक संसारमा भुवनको कोही पनि थिएन । उसका बा क्षयरोगले बितेपछि र आमा कोशीतिर माछा मार्ने एउटा माझी केटो टिपेर हिँडेपछि नै वीरहबादुरले उसलाई यहाँ ल्याएको हो । त्यो बेला भुवन फगत तीन वर्षको थियो ।
दिनभरि भुवन भेडाका बथानसँग हिँड्थ्यो । भेडा कुनै पनि खर्कमा अडिन्नथे । बालीभरि कुद्थे, र तिनीहरूलाई भेला पार्नु उसका लागि निकै ठूलो हैरानीको विषय बन्थ्यो । किसानहरू वीरबहादुरकहाँ गएर गुनासो गर्थे । हुन पनि, उनीहरूको फापरबारी ध्वस्त पारेका थिए भेडाले । बाटाको दायाँबायाँको बारीमा फापरका कलिला मुन्टा सब चुँडेर खाइसकेका थिए भेडाले ।
ती सबै उजुरीकर्तालाई वीरबहादुर एउटै कुरा भन्थे, “म भुवनको बिहे मन्त्रीकी छोरीसँग गरिदिन्छु । उसले ठेकापट्टा मिलाइदिन मन्त्रीलाई भन्दिन्छ ।”
“मन्त्रीकी छोरी कस्ती छे, बुवा?” भुवनले आफ्नो मालिकलाई एकदिन सोध्यो ।
“अप्सराजस्ती छे,” वीरबहादुरले भन्यो । उसले थप्यो, “सुनकेस्रा छे । उसका कानबाट घाम र जून झुण्डिन्छन्, र उनको केशराशिबाट संसारकै सबैभन्दा सुगन्धित अत्तरको बास्ना आउँछ ।”
एघार वर्षको भुवनलाई सुन्दरता के हो भन्ने अलिअलि त थाह थियो, तर वीरबहादुरले गरेको वर्णन भने उसको कलिलो मगजका लागि अति नै अमूर्त हुनपुग्यो । दिउँसो, भेडाका बथानका पछि जाँदा ऊ कुनै रुखको सियाँलमा बस्थ्यो, कटुसका पात टिप्थ्यो, र आफ्नो मालिकले दिएको बलपेनले आफ्नो कल्पनाकी दुलहीको चित्र कोथ्र्याे । वीरबहादुरले नै उसलाई कखरा सिकाएको थियो, र रातिराति कनिकुथी मुलुकी ऐन पढ्न लगाउँथ्यो ।
उसले चित्र कोरिरहँदा भेडा भने दायाँबायाँका खेतमा पस्थे र बालीको टुप्पो चुँडेर खान्थे । भुवन भने, आरोले बाँसमा किरिङ्मिरिङ् धर्साधर्सी लेख्थ्यो, र तिनै भेडालाई सुनाउँथ्यो । भेडा पनि टाउको तलमाथि हल्लाउँथे, मानौँ उसका कुराको सौन्दर्यले उनीहरू छोइएका छन् ।
“मन्त्रीकी छोरी कत्री छिन्?” भुवनले एकदिन वीरबहादुरलाई सोध्यो ।
“तँ कति वर्षको भइस्?”
“थाह छैन । सोध्नलाई बुवाआमा हुनुहुन्न । हजुरले मलाई कहिल्यै बर्थडे केक किन्दिनुभाको छैन । म कति वर्ष पुगेँ, थाहै छैन ।”
गोठालाहरू बेलाबेला जन्मदिनको कुरा गर्थे, र केक काट्ने कुरा पनि आफूहरूले सुनेको बताउँथे । भुवनले उनीहरूबाटै सुनेको थियो यी सब कुरा ।
“एघार भइस् होला । त्यसो हुँदा, मन्त्रीकी छोरी दश ।”
दश ! पच्चीस भेडाको उसको बथानमा पाठा दशवटै त थिए । उसले बाँसमा लेखेको उसको पछिल्लो कवितामा दश हरफ नै थिए । दश सारै भाग्यमानी अङ्क हो भन्ने उसलाई लाग्यो । ‘तर अर्को साल ऊ एघार वर्ष पुग्छे, र मजस्तै भेडी गोठालो हुन्छे,’ उसले सोच्यो ।
“अर्को साल त ऊ भेडी गोठालो हुने रैछ,” उसले मालिकलाई भन्यो ।
“मूर्ख ! ऊ मन्त्रीकी छोरी हो । तँजस्ती अभागिनी हो र? बरु ऊ एक महान गायिका हुन सक्छे ।”
“गायिका?” भुवन चिच्यायो, र उँचो स्वरमा एउटा गीत गाउन थाल्यो । भेडाले छिमेकीको बाली चुँडिरहँदा ऊ उत्तिसका रुखमा माथिसम्म चढ्थ्यो र उसले जानेकाहरूमध्ये सबैभन्दा मीठो गीत गाउँथ्यो, “सानु, कसको आँगन कुरेर बसौली, त्यै लाग्छ पिरलो ।”
“मन्त्रीकी छोरी पनि यसरी नै गाउँदी हो,” साँझ घर फर्कँदै गरेका भेडाका बथानलाई ऊ भन्थ्यो । उसको गीतमा भेडाका घाँटीमा झुण्डिएका घण्टीको आवाज मिसिन्थ्यो, र त्यो बथान सङ्गीतकै चालमा घर फर्कन्थ्यो ।
वीरबहादुरले भुवनका लागि भनेर एउटा छुट्टै कटेरो बनाइदिएको थियो, गोठनजिकै । आफू भने ठूलो घरको माथिल्लो तलामा सुत्थ्यो । रातभरि भेडाहरू नानाथरि आवाज गरेर कराइरहन्थे, र भुवनको निद्रा पटकपटक टुटिरहन्थ्यो । एकदिन त हद भएपछि उसले मालिकलाई भन्यो, “म पनि हजुरसँगै, माथि सुत्छु ।”
“मन्त्रीकी छोरीलाई भेडाका गलाको घण्टीको धुन मनपर्छ । तँ माथि सुत्न थालिस् भने उसले तँसँग बिहे गर्दिन,” वीरबहादुरले भन्यो ।
“घण्टीको धुन !” भुवनले दोहोर्‍यायो र आफ्नै कटेरोमा फर्कियो । ऊ रातभरि जागा नै बस्यो, घण्टीको धुन सुन्दै र आफ्नी कल्पनाकी दुलही सम्झदै ।
‘भोलि म लुहारकहाँ जान्छु र संसारकै राम्रो घण्टी बनाउन लाउँछु,’ उसले निद्रामा झकाउँदै सोच्यो ।
अर्को दिन बिहान निद्रा खुल्दासम्म उसले घण्टी बिर्सिसकेको थियो । ऊ भेडाका बथानसँगै गयो वनतिर । भेडाका घाँटीमा टिङ्टिङ बज्ने घण्टीको धुनमा उसले आफ्नो आवाज मिसायो, र मन्त्रीकी छोरीलाई अप्सराजस्तै हावामा उड्दै उड्दै आएको सम्झियो, र ऊसँगै गौचरनमा दगुर्दै दगुर्दै आफू उत्तरतिर हान्निएको कल्पना गर्‍यो । दिनभरि नै ऊ गाइरह्यो, र घण्टीको धुनको नकल गर्ने कोसिस गरि नै रह्यो । आफ्नो आवाज त्यस्तै खाले भएको कल्पना गर्नासाथ ऊ खुसी भयो र सोच्यो, यस्तो आवाजबाट खुसी भएर उसकी दुलहीले उसका लागि वीरबहादुरले खाने गरेको जस्तै भोजन बनाउने छेः खसीको मासु, बन्दाको सूप, भुटेको आलु र कागतीको अचार ।
“म पनि हजुरको जस्तै खाना खाने,” भुवनले एक साँझ वीरबहादुरलाई भन्यो ।
“त्यसो भनिस् भने मन्त्रीकी छोरीले तँलाई मनपराउँदिन । ऊ शाकाहारी हो, मासु नखाने । ऊ त मकैको पिठो उमलेर पानीसँग खान्छे । त्योभन्दा बढी खायो भने रोग लाग्छ भन्छे,” वीरबहादुरले जवाफ दियो ।
“थोरै मासु र अलिकति साग त उसलाई पनि मनपर्छ होला,” भुवनले भन्यो ।
“हैट, लठ्वा । ऊ त हावामा तैरेर उड्ने अप्सरा हो । मासु खायो भने उसको वजन बढ्छ, र उड्न नसक्ने हुन्छे । साग खायो भने जीउ सारै हलुङ्गो हुन्छ, र हावाले उडाउन सक्छ ।”
“अनि दूध?”
“मनपर्छ, तर भेडाको मात्र ।”
“भेडाको दूध,” भन्दै भुवन खुसीले उफ्रियो र कुदेर भेडाको खोरतिर गयो, र भेडाका फाँचा हेर्न थाल्यो । दशवटा माउ भेडा भर्खरै ब्याएका थिए, र फाँचा निकै ठूला थिए । उसले एउटा बाल्टी लाग्यो र दूध दुहुने कोसिस गर्‍यो । बडो मुस्किलसँग दुई कान दूध उसले बाल्टीमा जम्मा पार्‍यो ।
दिउँसो, चरनमा पनि ऊ दूध दुहुने प्रयास गर्न थाल्यो । बाटो हिँड्नेहरू उभिएर उसको यो चाला हेर्थे र दिउँसै, त्यो पनि चरनमै किन भेडा दोएको होला भनेर छक्क पर्थे । सोध्नेहरूलाई ऊ भन्थ्यो, “मन्त्रीकी छोरीलाई भेडाको दूध मनपर्छ क्या ।”
“पागल !” भन्थे बटुवाहरू, र आफ्नो बाटो लाग्थे । तिनीहरूको कुरा सुन्दा उसलाई दुःख लाग्थ्यो ।
भेडाको सङ्ख्या सालैपिच्छे बढिरहन्थ्यो । पाठाहरू माउ भेडा अथवा थुँबा बन्थे । नयाँ नयाँ पाठा जन्मिरहन्थे । भुवनको काम बढेकोबढ्यै हुन्थ्यो ।
तरै पनि, उसले गनगन नगरी आफ्नो काम गरिरह्यो । उसलाई पूर्ण विश्वास थियो, मन्त्रीकी छोरी एकदिन जरुर आउनेछे, र उनीहरूको बिहे हुनेछ ।
एकदिन, त्यसै खर्कमा ऊसँगै गाईवस्तु चराउने एक जना किसानले सोधे, “भुवन, तिमी कति वर्षका भयौ?”
“थाहै छैन, काका । बूढोले कहिल्यै केक किनिदिएको छैन । मन्त्रीकी छोरी दश भनेपछि म त एघार हुनुपर्ने हो ।”
किसानलाई हाँसो उठ्यो । करिब पन्ध्र वर्षअगाडि यसै गरी, यही प्रश्न सोध्दा पनि भुवनले यही जवाफ दिएको थियो ।
“तिमी पच्चीस वर्षका भयौँ, बाबु । तिम्री आमाले तिमीलाई पाउँदा म त्यहीँ थिएँ । अब तिम्रो बिहे गर्ने बेला भयो ।”
“हो र, काका? म बूढोलाई भन्छु ।”
साँझ घरमा भुवनले वीरबहादुरलाई तुरन्तै मन्त्रीकी छोरी खोजेर ल्याउन करकर गर्‍यो । तर वीरबहादुरले भन्यो, दुई सय भन्दा पनि कम भेडा भएको बथान देखेर मन्त्रीकी छोरी दुःखी हुनेछे ।
दिक्क भएको भुवन उसलाई सल्लाह दिने तिनै किसानकहाँ गयो र गुनासो गर्‍यो । आफ्नो मालिकलाई भेटेर कुरा सम्झाइदिन पनि उसले अनुरोध गर्‍यो ।
“हौ दाइ, भुवन त भर्खर दश वर्षको भएँ पो भन्छ त,” किसानले वीरबहादुरलाई भने । “उसको मगज पो ठीक छैन कि?” उनले शङ्का व्यक्त गरे ।
“मलाई पनि त्यस्तै लाग्छ । अस्ति, गाउँलेहरूले सुनाए, चरनमै भेडा दुहुँदैथियो रे ।”
“दाइ, डाक्टरकहाँ लगेर जँचाउनुपर्‍यो एकदिन,” उनले सल्लाह दिए । फेरि थपे, “तपाईंबाहेक संसारमा अर्को कोही पनि त छैन ।”
“सही हो । तर, उसलाई डाक्टरकहाँ लाँदा भेडा कसले हेर्छ?”
हुन त यो एउटा समस्यै थियो । वीरबहादुर यति मोटाएको थियो कि उसलाई आफैँ भेडाका पछाडि कुद्न सम्भव नै थिएन ।
धेरैबेर सोचेपछि ती किसानले भने, “एकदिनका लागि म हेर्दिन्छु तपाईंका भेडा । यस टुहुरोलाई एकबाजी चाहिँ डाक्टरकहाँ लानैपर्‍यो ।”
अर्को शनिबार, वीरबहादुरलाई भुवनसँगै बजारतिर जाँदैगरेको धेरैले देखे । गाउँलेहरूले, भुवन र वीरबहादुरलाई सँगै हिडेको देखेको यो नै पहिलो घटना थियो ।
साँझ घर फर्कंदैगर्दा वीरबहादुरले ती भेडा हेरिदिने किसानलाई भन्यो, “सामान्य छ रे । टेसफेस सब गरेर हेर्‍यो ।”
ती किसान पनि ढुक्क मानेर घर गए । किन दिनभरि लागेछ भन्ने कुरो उनले बुझे ।
भुवन आफ्नै लयमा भेडा चराइरह्यो । मन्त्रीकी छोरीका लागि गीत गाइरह्यो । बाँसमाथि लेखेको उसको किरिङ्मिरिङ गीत दिनदिन दुर्बोध्य हुँदै गयो । घण्टीको धुनसँग पनि एकाकार हुन छोड्यो उसको आवाज । भेडाका पछाडि कुद्दा कैयौँपल्ट ऊ आलिबाट लड्न थाल्यो, र सधैँ छातीभित्र कतै केही दुखिरहने कुरो आफ्ना साथी गोठालाहरूलाई सुनाउन थाल्यो । एकपल्ट जब रगतै छाद्यो, त्यस बेलादेखि उसका साथीहरू उसलाई बढी नै दया गर्न थाले ।
उता घरमा, ऊ पुग्दा वीरबहादुर बिरलै घरमा हुन्थ्यो । ऊ अघि नै कता गाउँतिर डुल्न निस्किसकेको हुन्थ्यो । राति धेरै अबेरमात्र फर्कन्थ्यो, र माथिल्लो तलामा गएर सुतिहाल्थ्यो । भुवनको खोजखबर गर्ने त कुरै थिएन ।
तर, एकदिन बिहान वीरबहादुरले भन्यो, “भुवन, तयारी गर् । हामी आज कतै जाने ।”
“कहाँ जाने, बुवा?”
“मन्त्रीकी छोरी भेट्न ।”
कल्पनाको सुन्दरतम संसार छातीमा झरेजस्तो अनुभव भयो भुवनलाई । ऊ आँगनमा उफ्रियो खुसीले, र एकछिनमै तयार भएर आयो । उसले आफूसँग भएका सबैभन्दा राम्रा लुगा लगायो, जसमा एउटा जडाउरी सर्ट, कटनको एउटा पैन्ट, प्लास्टिकका एक जोडी जुत्ता सामेल थिए । यसरी रम्रिएपिछ भावनाको अतिशय उच्छलनसहित ऊ मालिकको नगिचै आएर उभियो । मालिकले आफूले लाएको कोट खोलेर उसलाई दियो । भुवनले अविश्वासको दृष्टिले उसका आँखामा हेरिरह्यो । वीरबहादुरले लगा भनेपछि मात्रै उसले लगायो ।
वीरबहादुरले भेडा हेर्न भनेर तिनै बूढा किसानलाई अहर्‍याइसकेको थियो । ऊ र भुवन त्यहाँबाट निस्किए । साँझ पर्दासम्म उनीहरू कोशी नदीको किनारसम्म पुगिसकेका थिए ।
कोशी नदीमा अलि पर तैरिरहेको एउटा डुङ्गा देखाउँदै वीरबहादुरले भन्यो, “उः त्यहाँ एउटा डुङ्गा देखिस्?”
भुवनले “देखेँ” त भन्यो, तर उसको भनाइमा खासै आत्मविश्वास चाहिँ देखिएन ।
“मन्त्रीकी छोरी त्यसै डुङ्गामा छे । ऊ तँलाई भेट्न यतै आउँदैछे । ऊ यहाँ नआइपुग्दासम्म यहीँ बसिरहनू । ऊ नजिक आएपछि घण्टीको आवाज गर्नू, अनि आफूले जानेको सबैभन्दा मीठो गीत गाउनू । उसले तुरन्तै तँसँग बिहे गर्छे । साँझ उसलाई लिएर घर फर्कनू । बाटोभरि फेरि घण्टीकै आवाज निकालिरहनू ।”
आँखामा पौडिँदैगरेको असीमित खुसीसहित भुवनले विशाल नदीमा उँधोतिर हेर्‍यो । उसको दिमागले भ्याउनेभन्दा धेरै चौडाइ भएको विशाल नदी शान्त बगिरहेको थियो ।
“भेडा घर आइपुगे होला । म थान्कोमुन्को गर्दैगर्छु । तिमीहरू पछि आउनू,” भन्दै वीरबहादुर हिँड्यो ।
भुवन पर्खिरह्यो, तर मन्त्रीकी छोरी आइन । घाम अस्ताए । आआफ्ना डुङ्गा किनार लगाएर माझीहरू घर फर्किए । आकाशमा तारा टिम्टिमाउन थाले, र एक्लो जून झुलुक्क झुल्कियो । जूनको छाया तल कोशीका विशाल छातीमा नाचिरहेका जलतरङ्गमा ढलपल हल्लिएको देखियो ।
रात गहिरिँदै गयो । पुषको चिसो दिन, नदीको आँत छोएर बगेको सिरेटोले भुवनको रगत नै जमाएजस्तो लाग्यो । तरै पनि, उसका आँखाले दक्षिण ताकिरहे, ताकिरहे । निकै पर, कालो एउटा आकृति चल्मलाएको देख्यो उसले । उसले केही उज्यालो पनि देख्यो, नदीमाथि चम्किरहेको, बगिरहेको, फैलिरहेको । ऊ अझै मन्त्रीकी छोरीको प्रतीक्षा गरिरह्यो, र बिर्सन्छु कि भन्ने डरले भेडाका घाँटीको घण्टीको आवाज दोहोर्‍याइरह्यो ।
मध्यरातमा पर देखिएको त्यो कालो छाया ऊतिरै आएको देखियो । त्यसमा बत्तीजस्तो केही उज्यालो चाहिँ थियो, र हिउँदको चिसो रातमा त्यो झिल्मिलाइरहेको थियो । ऊ अधीर भयो, किनकि, मध्यरातको प्रहरमा, जब आधा संसार मस्त निद्रामा सुतिरहको थियो, कुनै मन्त्रीकी छोरी नजिक आइरहेकी थिई ।
तर एउटा दूरीमा आइसकेपछि भने त्यो कालो आकृति चल्मलाउन छोड्यो । आफूतिर अगाडि बढ्छ कि, बढ्छ कि भनेर हेरिरहेको भुवनको मनमा अधैर्य र निराशाले डेरा जमाउन थाल्यो । ऊ हातले “यता, यता, छिटो, छिटो” भनेर इशारा गरिह्यो । तर स्थिर आकृति, अहँ, अलिकति पनि हल्लिएन ।
उसको मुटु ढुकढुक गर्न थाल्यो । छाती यति ढुक्ढुकाइरहेको थियो कि उसको मुटु करङ्हरूको पिँजडा तोडेर बाहिरै पोखिन खोजिरहेको थियो । उसले आफूलाई नियन्त्रण नै गर्न सकिरहेको थिएन ।
भुवन आफू बसेको ठाउँबाट जुरुक्क उठ्यो । नदी किनारमा माझीहरूले बाँधेर छोडेका अनेक डुङ्गामध्ये एउटालाई किलोबाट फुकायो, र पस्यो कोशी नदीको विशाल गर्तमा, अँध्यारो र उज्यालोमिश्रित कुनै अज्ञात छायातिर ।
रगत जमाउने हिउँदको चिसोमा कठ्याङ्ग्रिएको भुवनका अरर्रिएका हातले आग्लो ठेल्न मानेनन् । नदीको एउटा बलिष्ट भँगालोले उसको हातबाट आग्लो फुत्काएर लग्यो, र उसको डुङ्गा कोशीको मझधारमै पल्टियो । पर देखिएको कालो छाया अब कतै देखिन छोडेको थियो । त्यो उज्यलो पनि अब चम्कन छोडेको थियो ।
माझीहरूले भोलिपल्ट भुवनको मृत शरीर नदी किनारमा फेलापारे । पुलिसले लाशको निरीक्षण गर्‍यो । उसले लाएको, उसको मालिकको कोटको भित्री खल्तीमा, प्लास्टिकले बेरेर सुरक्षित राखिएको, डाक्टरको कागज थियो । त्यसमा लेखिएको थियो, ‘सुस्त मनस्थिति, कुपोषणका कारणले लागेको हुनसक्ने क्षयरोग र निमोनियाले ग्रस्त ।’
मानिसहरू नदी किनारमा भेला भएर अज्ञात मान्छेको त्यो मृत शरीर हेरिरहँदा तीनवटा भारतीय ट्रकहरू सेता, बलिया भेडा लिएर महेन्द्र राजमार्गबाट भारतीय सिमानातिर हान्निँदैगरेका सबैले देखे ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :