नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


मनप्रसाद सुब्बा

ऊ आउँदैछ

ऊ आउँदैछ … आउँदैछ …
आफ्नो स्पेस, आफ्नो आकाश दाबी गर्न
दुवै हातको मुट्ठी कस्सेर
उसका आफ्नै सपनाहरू चिम्म आँखामा चेपेर
आउँदैछ ऊ

हामी उसको स्वागतको तयारीमा तयार रहौं

ऊ आउँदैछ
थुप्रै साइनोहरूको शक्ति लिएर
यौटी उर्वर तरूनीलाई आमाको साक्षात् स्वरूप दिन
अनि उसले चिनाएको उनै आमाबाट
फैलिन्छन् अरू थुप्रै साइनोका सडक र गोरेटाहरू

ओ जनगणना अधिकारी,
तयार बस तिम्रो जनगणनाको लेटेस्ट हिसाब मिलाउन
ऐलेसम्मको हिसाब सच्याउन तिमीलाई वाध्य गर्नेछ उसको आउनुले
ओ खाद्य अधिकारी,
यौटा नयाँ रासिन कार्ड इस्यु गर्न कलम समातेर तयार बस

त्यसो त
गर्भको अभिमन्युले जस्तो चक्रव्यूहबारे
त्यो अधुरो ज्ञान पनि पाएको छैन उसले
किनभने उसको अज्ञानी बाउ आफै नै
कुन्नि कहिलेदेखि हो चक्रव्यूहमा फँसेर
लडेको लडेकै छ ... लडेको लडेकै छ ...
कहिल्यै नतोडिएको चक्रव्यूह छ यहाँ मान्छे जन्मेदेखि नै !
तर यसो भनेर ऊ यहाँ आउन डराएको नै पो कहाँ छ र !

ऊ आउँदैछ
कस्सेर दुवै मुट्ठी जसभित्र छ उसको निज अस्तित्व
चिम्म गरेर आँखा
जसभित्र छ उसको आफ्नै दृष्टि
ऊ आउँदैछ लिएर आफ्नो छुट्टै अनुहार
जसमा प्रतिबिम्बित हुनेछ उसको निज व्यक्तित्व
ओ पूर्वका तीन ज्ञानी मान्छेहरू !
तिमीहरूले थाह पाएका छैनौ ऊ चाँडै आउने कुरा
किनभने ऊ जिजस होइन भर्जिन मेरीबाट जन्मिने
ऊ त मान्छे नै हो यौटा मीठो सम्भोगपछि फुलेको सेकमुरी फूल !
ज्ञानी तिमीहरूले ऊ आउने कुरा थाह नपाए तापनि
गर्भवासी र गर्भधारिणी दुवैको सुरक्षाको लागि
उत्तरतिरबाट आइसके तीन फेदाङमाहरू सापोक चोमेन*को मुन्धुम फलाक्दै ...

ओ ज्योतिषी !
के ऊ जन्मिँदाको साइत र ग्रहदशा लेख्न तयार छौ तिमी ?
त्यसो त ऊ जन्मिँदाको साइत भनेको यै वर्तमान न हो
तिमीहामीले निर्माण गरेको यो वर्तमान—
द्वैध विपरितहरूको बजार !
र यस बजारबाट ऊ कत्तिसम्म बच्न सक्ला !
उसको जन्मकुण्डली लेखेर भन्नसक्छौ ज्योतिषी ?
उसको मूल ग्रह भनेको यै पृथ्वी नै हुनेछ
यसभन्दा टाढा ऊ कतै जानेछैन
यै ग्रहबाट उसले पाउनेछ सबथोक
तर पछि पृथ्वीले चैं उबाट केके पाउने हो कुन्नि !
क्यै दिन सक्ने हुनलाई ऊ यो वर्तमानसित लड्नसक्छ कि सक्दैन !
भविष्यवाणी गरिदेऊ है ज्योतिषी !

जे होस्,
ऊ आउँदैछ ... आउँदैछ ...
आफ्नो स्पेस दाबी गर्न— यो ब्रह्माण्डमा
(आशा गरौँ उसले ओगटेको स्पेस प्रदुषित हुनेछैन !)

र अहिलेलाई हामी
उसको स्वागतको तयारीमा तयार रहौं !

सापोक चोमेन — लिम्बु परम्परानुसार गर्भको शिशु र गर्भधारिणी आमाको सुस्वास्थ्यको निम्ति गरिने एक किसिमको अनुष्ठान







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु