नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


माया एन्जलो

असाधारण स्वास्नीमानिस

सुन्दर महिलाहरु मेरो रहस्य के हो भनेर सोच्छदन् ।
म राम्री छैन वा फेशन मोडल हुन ठीक्क हुने मेरो बनोट छैन
तर जब म उनीहरुलाई भन्न शुरु गर्छु
उनीहरुलाई मैले झुटो बोलिरहे झैं लाग्छ ।
म भन्छु—
त्यो रहस्य मेरो पाखुराको पहुँचमा छ
मेरो नितम्बको विस्तारभित्र छ
मेरो पाइलाको लम्बाइभित्र छ
मेरो ओंठको घेराभित्र छ
म स्वास्नीमानिस हुँ
असाधारण रुपले ।
असाधारण स्वास्नीमानिस,
म त्यही हुँ ।

म एउटा कोठाभित्र प्रवेश गर्छु
त्यसरी नै जसरी तिमी चाहान्छौ
र एउटा लोग्नेमानिसका नजरमा
केही मानिसहरु उभिन्छन्
अथवा घुँडाले टेकेर बस्छन्
र मेरो वरिपरि झुम्मिन्छन्
मौरीको गोलो जस्तो
म भन्छु—
त्यो रहस्य मेरो आँखाको आगो हो
मेरो दाँतको टलक
मेरो कम्मरको लचकता
र मेरो पाइतलाको खुशी हो ।
म स्वास्नीमानिस हुँ
असाधारण रुपले ।
असाधारण स्वास्नीमानिस,
म त्यही हुँ ।

ममा जे देख्छन् त्यसले
लोग्नेमानिसहरु आफैं अचम्मित भएका छन्
उनीहरु कति कोशिस गर्छन्
तर छुन सक्दैनन्
मेरो भित्री रहस्य ।
जब म उनीहरुलाई देखाउन खोज्छु
तब पनि उनीहरु भन्छन् उनीहरु देख्न सक्दैनन् ।
म भन्छु—
त्यो रहस्य मेरो पिठ्युँको वृतखण्डमा छ
मेरो हाँसोको उज्यालो घेरामा छ
मेरो स्तनको चालक्षेत्र भित्र छ
मेरो शैलीको विशिष्टतामा छ
म स्वास्नीमानिस हुँ
असाधारण रुपले ।
असाधारण स्वास्नीमानिस,
म त्यही हुँ ।

अब तिमी बुझ्छौ होला
किन मेरो शिर निहुरेको छैन
म चिच्याउँदिन वा उफ्रिँदिन
अथवा साँच्चै जोडले बोल्नु पर्ने पनि छैन ।
जब तिमी मलाई हिँडिरहेको देख्ने छौ
त्यसले तिमीलाई गर्व लाग्ने छ ।
म भन्छु—
त्यो मेरो कुरकुच्चाको एउटा चापभित्र छ
मेरो कपालको झुकाइमा छ
हातको हत्केलामा छ
र मेरो मायाको आवश्यकतामा छ
किनकी म स्वास्नीमानिस हुँ
असाधारण रुपले ।
असाधारण स्वास्नीमानिस,
म त्यही हुँ ।

(अङ्ग्रेजीबाट अनुवादः केशव सिग्देल)







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु