नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


माया ठकुरी

पिशाचिनी

आजभन्दा झन्डै चवालीस–पैँतालीस वर्षअघिको कुरो हो, त्यसबेला म एघार वर्षकी थिएँ । म आमाको गर्भमा छँदै मेरो बुबाको मृत्यु भएको कुरो मैले आमाको मुखबाट सुनेकी थिएँ । हाम्रो तीनओटा ससाना कोठा भएको एउटा घर थियो जसमा म, मेरी आमा र दाजु कर्णवीर बस्ने गर्दथ्यौँ । एउटा कोठामा म र आमा सुत्दथ्यौँ भने सँगैको अर्को कोठामा दाजु सुत्ने गर्दथे ।

म र मेरी आमा सुत्ने कोठामा पूर्वपट्टिको भित्तामा काठको फलेक ठोकेर त्यसमा शिवपार्वतीको सानो फोटो राखिएको थियो । मेरी आमा हरेक साँझबिहान त्यस फोटोका अघि चोखो पानी, फूल राखेर दियोबत्ती बाल्ने गर्नुहुन्थ्यो । त्यतिमात्र होइन, उहाँ धुपौरोमा बलेको कोइला राखेर त्यसमा धूपको धुलो छर्कंदै सबै कोठामा डुलाउने गर्नुहुन्थ्यो ।

धूपको सुगन्धित वासना घरभरि फैलिन्थ्यो ।

मेरा दाजुले बल्लतल्ल प्रवेशिका उत्तीर्ण गरेर एउटा प्रेसमा कम्पोजिटरको जागिर खान थाल्नुभएको थियो । त्यस समयमा दस कक्षा उत्तीर्ण गरेको मानिसलाई पढेलेखेको मानिस भनेर सबैले आदर गर्दथे । एउटा दाजुको कमाइले हामीलाई राम्रैसँग खानलाउन पुग्ने भए तापनि हाम्री आमाले पहिलेदेखि आफूले गर्दै आएको ज्यालामा स्विटर बुन्ने काम छोड्नुभएको थिएन ।

मेरी एउटी दिदी पनि थिइन्, उनको विवह भएको करिब दुई वर्षजति भएको थियो । मेरी दिदीको जिउडाल र रूपरङ खुबै राम्रो थियो । उमेर पनि उनको यस्तै अठारउन्नाइस वर्षको हुँदो हो । कहिलेकाहीँ दिदी माइत बस्न आउँदा उहाँ भिनाजुको विषयमा अनेक थरीका कुरा सुनाएर मलाई चकित पार्ने गर्नुहुन्थ्यो ।

“तेरो भिनाजु मलाई असाध्यै माया गर्नुहुन्छ, मसँग एकछिन पनि छुट्टिन मन गर्नुहुन्न । बिहेअघि त मलाई अर्काको घरमा चिन्दै नचिनेको मानिससँग कसरी जीवन बिताउन सकुँला भनेर असाध्यै पीर लाग्दथ्यो तर अहिले मैले तेरो भिनाजुको माया पाएर आफूलाई समेत बिर्सेकी छु ।”

दिदीले भिनाजुको विषयमा कुरा गर्दा उहाँका गाला राता हुन्थे र उहाँको अनुहार नै उज्यालो हुने गर्दथ्यो ।

“दिदी, तपाईंलाई कसरी थाहा भयो भिनाजुले तपाईंलाई धेरै माया गर्नुहुन्छ भनेर ?’ म जिज्ञासा राख्दथेँ ।

“धत् लाटी ! कस्तो कुरो सोधेकी ? ल ल, भोलिपर्सि तँ पनि ठूली भएर बिहे भएपछि थाहा पाउलिस् नि पोइले आफूलाई माया गरेको कुरो कसरी थाहा पाइन्छ भनेर ।” दिदी मतिर हेरेर हाँस्दै भन्ने गर्नुहुन्थ्यो ।

भन्छन्, ‘मानिसको जीवनमा दुःखको पहाड खस्नु छ भने कुनै पूर्वसंकेत नदिएर पनि खस्न सक्दछ जसले गर्दा मानिसको जीवन तहसनहस हुन्छ ।’

मेरी दिदीको जीवनमा पनि त्यस्तै भएको थियो । भिनाजु असमयमै बित्नुभएको थियो ।

भिनाजुको असामयिक मृत्युको कारणले मेरी दिदीको जीवनमा अकल्पनीय आँधीबेरी आएको थियो ।

जवान पतिको असामयिक मृत्युले गर्दा मेरी दिदी विक्षिप्तजस्ती भएकी थिइन् ।

भिनाजुको मृत्युपश्चात् उनका सासूससुराले उनलाई ‘पोइटोकुई’ भनेर घरबाट निकालिदिएका थिए । त्यसैकारण दिदी माइतमा आएर हामीसँगै बस्न लागेकी थिइन् ।

दिदीको श्रृङ्गारविहीन रूप र उनका उदास आँखा देखेर हाम्री आमा र दाजुलाई मात्र होइन, मलाईसमेत साह्रै नै नराम्रो लाग्दथ्यो ।

दिदीको अवस्था देखेर आमा रोएको बेला आमालाई सान्त्वना दिँदै दाजु भन्ने गर्नुहुन्थ्यो, “आमा ! तपाईं किन पीर गर्नुहुन्छ ? मेरी बहिनीलाई म जीवनभरि मसँगै राख्नेछु । उसलाई कुनै प्रकारको दुःख हुन दिनेछैनँ ।”

मेरी दिदी माइत बस्न लागेको करिब दुई वर्षजति भएको थियो । घरमा दाजुको बिहेको कुरो चल्न लागेको थियो ।

दाजुलाई केटी रोजाएपछि आमाले भन्नुभएको थियो, “म त बुहारी भित्र्याएपछि घरमा उपरखुट्टी लाएर बस्नेछु ।”

दाजुको बिहे साधारण किसिमले भएको थियो तापनि मलाई भने बिहेको चहलपहल निकै रमाइलो लागेको थियो ।

मलाई अझ पनि प्रस्टसँग सम्झना छ— दाजुले बिहे गरेर दुलही भित्र्याएको राति करिब आधीरातमा एक्कासि मेरी दिदी रुने, चिच्याउने, छट्पटाउने र डग्डग काम्ने गरेकी थिइन् ।

दाह्रा किट्दै राता बल्ढ्याङ्ग्रे आँखा चारैतिर घुमाउँदै डग्डग कामिरहेकी दिदीतिर हेरेर “दिदीलाई के भएको हो आमा ?” भनी मैले सोधेकी थिएँ ।

“खोइ के भएको हो कुन्नि । भुत लागेको जस्तो छ । बिजुवालाई डाकेर देखाउनुपर्छ अनि मात्र थाहा हुन्छ ।” आमाले भन्नुभएको थियो । दाजु साथी लिएर अर्को गाउँमा गई बिजुवालाई लिएर आएका थिए । बिजुवासँगै उसको एउटो चेलो पनि आएको थियो ।

त्यो बिजुवा बलिष्ठ शरीर भएको एउटा अधबैँसे मानिस थियो ।

बिजुवाले आउनेबित्तिकै दिदीको नाडी छामेको थियो ।

बिजुवाले दिदीको नाडी समाउनासाथ दिदी आँखा चिम्म पारी अघिपछि गर्दै झुम्न लागेकी थिइन् ।

“अहो ! मैयाँलाई त पिशाचिनीले छोएकोजस्तो छ । खै, अक्षता र धूप दिनुहोस् । अँ, एउटा अम्खोरामा चोखो पानी पनि ल्याउनुहोस् ।” बिजुवाले मेरी आमालाई अह्राएको थियो ।

त्यसपछि बिजुवाले केके मन्त्र जप्दै अक्षताले दिदीको शरीरमा हान्न थाल्यो । बेलाबेलामा उसले अँजुलीभरि पानी लिएर दिदीको शरीरमा छर्किने काम पनि गर्न थाल्यो ।

बिजुवा जतिजति चामल र पानी दिदीको शरीरमा छर्किन्थ्यो, उतिउति दिदी अझ बढी वेगसँग काम्ने गरेकी थिइन् ।

“हुँ... हुँ... मलाई अझ चिनेको छैनस्, म पिशाचिनी हुँ, पिशाचिनी । मैले यो केटीको शरीरमा प्रवेश गरिसकेकी छु । यसर्थ मलाई भगाउने प्रयास गर्नु व्यर्थ छ, बरु मलाई पूजा गरेर राख् । मलाई सन्तुष्ट पार् । मेरो कुरो मानिनस् भने म यो घरको सबै प्राणीको रगत चुसेर मार्नेछु ... हुँ... हुँ... ।”

आँखा चिम्म गरेर अघिपछि झुम्दै गरेकी मेरी दिदीको मुखबाट बरबराहट निस्केको थियो ।

त्यसपछि त्यो आधीरातमा गाउँबाट कालो कुखुरो खोजेर ल्याई त्यसलाई काटेपछि त्यसको रगतमा चामल मुछेर दिदीको शरीरमा जताततै छर्किंदै मन्त्र पढ्यो बिजुवाले ।

त्यसपछिका दिनहरूमा पनि दिदीको अवस्था बल्झिरह्यो । प्रायः आधीरातमा दिदी काम्ने र चिच्याउने गर्दा आमाले त्यही बिजुवालाई डाक्न पठाउने गर्नुहुन्थ्यो । हामी आमा त्यो बिजुवा आएपछि उही कुखुरो काट्ने, अक्षता छर्ने, थाल ठटाउने काम हुन्थ्यो ।

कहिलेकाहीँ त त्यस्तो बलिष्ठ शरीर भएको बिजुवालाई समेत दिदीलाई नियन्त्रणमा ल्याउन धौधौ पर्दथ्यो, कारण बिजुवाले दिदीको नाडी समाउनासाथ उहाँ बिजुवामाथि झम्टिन पुग्नुहुन्थ्यो र कहिलेकाहीँ त उसको हात समातेर आफ्नो मुखमा लगी टोक्ने प्रयास पनि गर्नुहुन्थ्यो ।

यो क्रम लामै समयसम्म चल्यो । यसबाट दाइलाई पनि दिक्क लाग्न थालेको थियो ।

पछिपछि त दाइलाई उठाउन खोज्दा उहाँ ढोका खोलेर झर्किंदै “सधैँभरिको के चाला हो यस्तो ! राम्रोसँग निदाउन पनि नपाइने” भन्न लाग्नुभएको थियो ।

एक रात दिदीलाई त्यस्तै रोगले च्याप्दा म र आमाले उहाँलाई सम्हाल्न सकेनौँ र दाइभाउजू सुतेको कोठाको दैलो निकै बेरसम्म ढक्ढक्याएपछि बल्ल ढोका खोलेका थिए दाइले ।

“यहाँ बहिनी भने पिशाचिनीले अँठ्याएर छट्पटिइरहेकी छ, तिमीहरूचाहिँ सुनेर पनि नसुनेको झैँ गरी दैलो थुनेर बस्ने ?” भनेर आमाले दाइभाउजूलाई निकै झपार्नुभएको थियो ।

“यो सधैँभरिको के नाटक हो कुन्नि” एकदिन त दिदीलाई बिजुवाले मन्त्रतन्त्र गर्दै गरेको बेला भाउजूको मुखबाट अनायासै कुरो फुस्केको थियो ।

“मेरै छोरीलाई बिरामी परेको बेला तैँले नाटक गरेकी हो भन्ने ठानेकी रहिछेस् । लाज पचेकी राँड ! तँलाई लोग्ने भए पुग्ने रहेछ । तैँले यो घरमा पाइला टेकेकै दिनबाट मेरी छोरीको यो दुर्गति भएको छ । अलच्छिनी !” भाउजूलाई निकै रिसाएर गाली गर्नुभएको थियो मेरी आमाले ।

आमाले गाली गरेको भोलिपल्टै भाउजू माइत गएर बस्नुभएको थियो ।

भाउजू माइत गएपछि दाजु पनि कुनै न कुनै निहुँ पारेर आफ्नो ससुरालीतिर गई रात बिताउन थाल्नुभएको थियो ।

एक रातको कुरो हो । दिदी पहिलेपहिलेझैँ जगल्टा फिँजाएर बल्ढ्याङ्ग्रे आँखा चारैतिर घुमाउँदै डग्डग कामिरहेका बेला त्यस बिजुवाले दिदीको दुवै कुममा आफ्नो दुवै हातले समातेर उहाँलाई थुम्थुम्याउने प्रयास गरिरहेको थियो । त्यत्तिकैमा दिदीले काम्दै भन्नुभएको थियो “ल, रातो अक्षता लिएर मेरो ढाड माडिदे ! ढाड माडिदे... ! हुँ... हुँ... हुँ... !”

त्यसपछि त्यस बिजुवाले पछिल्तिरबाट दिदीको चोलो अलिक माथि सारेर अक्षताले दिदीको ढाड माडिदिन लागेको थियो ।

“हे परमेश्वर ! हामीले केही गल्ती गरेका छौँ भने हामीलाई अज्ञानी सम्झेर माफ गरिदिनुहोस् र यो केटीको शरीरबाट निस्केर अन्तै गएर विलीन हुनुहोस्, बिन्ती छ ।” दिदीको ढाडमा रातो अक्षता दल्दै बिजुवाले भनेको थियो ।

“हा.. हाहा... ! हा.. हाहा... !!” बिजुवाको कुरो सुनेर दिदी अट्टहास गर्दै हाँसेकी थिइन् ।

कहिलेकाहीँ ता दिदी काम्दाकाम्दै दाँत बाँधेर भुर्ईंमा लडीबुडी गर्न लाग्नुहुन्थ्यो । त्यस्तो बेला बिजुवाले आफ्ना औँलाले दिदीको मुख खोल्ने प्रयास गर्दथ्यो । मलाई त कतै दिदीले बिजुवाको औँलो टोकिदिने हो कि भनेर डर लाग्दथ्यो तर अचम्म ! उनले बिजुवाको औँलो कहिल्यै पनि टोकिनन् ।

पहिलेपहिले म दिदीले अनौठो क्रियाकलाप गर्दा राति अबेरसम्म चकित भएर उनलाई हेर्ने गर्दथेँ तर पछिपछि मलाई दिदीको रुवाइ, छटपटी र अन्य क्रियाकलापमा चाख लाग्न छोडेको हुनाले घरमा जस्तोसुकै होहल्ला भए तापनि मस्तसँग निदाउन थालेँ ।

कुनैकुनै दिन म बिहान उठ्दा त्यो बिजुवालाई भान्साकोठामा भएको सानो खटियामा सुतिराखेको देख्दथेँ ।

“के गर्ने, हिजो राति तेरी दिदीले आधीरात बित्दासम्म बेस्सरी दुःख पाई । बिजुवा नानी नभएको भए मलाई साह्रै पर्ने थियो । धन्य बेलाबेला यसो सोध्न आउँछन् र मात्रै, नत्र घरमा तेरो दाजु पनि नभएको बेला मेरो के गति हुने थियो । त्यसै कारण ‘राति यतै सुते हुन्छ । भोलि बिहानै जानू’ भनेर राखेकी हुँ मैले ।” बिजुवाको विषयमा भन्नुहुन्थ्यो अमा ।

बिजुवाले दिदीको उपचार गर्न थालेपछि बिस्तारैबिस्तारै मेरी दिदीको स्वभावमा परिवर्तन आउन थालेको थियो ।

उनी पहिलेजस्तै हाँसेर बोल्ने, एक्ली हुँदा गुन्गुनाउने र कोरीबाटी गरेर सफासुग्घर बस्न थालेकी थिइन् । पकाइतुल्याइ गर्नमा पनि दिदीको रुचि बढ्न थालेको थियो ।

“अबदेखि त्यस बिजुवालाई म मेरो घरमा खुट्टा राख्नै दिन्नँ । दुनियाँले नानाथरीका कुरा गर्न लागिसकेका छन् । तपाईं भने आँखा बन्द गरेर बस्नुहुन्छ ।” एकदिन अचानक दाजु घरमा आएर आमासँग कराउँदै भनेका थिए ।

“यो कस्तो कुरो गर्दै छस् बाबु ! उसले त तेरी बहिनीलाई जीवनदान दिएको छ । अरूको कुरो सुनेर यसरी बिनासित्तिमा रिसाउनु हुन्छ ?” दाजुको कुरो सुनेपछि आमाले दाजुसँग भन्नुभएको थियो ।

“त्यो सब म केही जान्दिनँ । त्यो नआएर मेरी बहिनी मर्छे भने मरोस् तर म त्यसलाई मेरो घरमा पाइला राख्न पनि दिन्नँ ।” दाजुले दृढ स्वरमा भनेका थिए ।

“आफूहरू लोग्नेस्वास्नी सल्लाह गरेर मलाई यस घरबाट निकाल्न खोजेका होलान् नि ... ।”

दाजुले आमासँग भनेको कुरो मैले दिदीलाई सुनाउँदा उनले भनेकी थिइन् तर केही समयको अन्तरालमा नै एकरात मेरी दिदी कसैलाई थाहा नदिई घर छोडेर हिँडिन् ।

“मलाई त पहिल्यै थाहा थियो त्यसलाई पिशाचिनी लागेको होइन, बैँस लागको हो भनेर ।” दिदी त्यही बिजुवासँगै बस्न थालेपछि भाउजूले आफ्नो प्रतिक्रिया जनाइन् ।

“मेरी छोरी सबैको हेला भएकी हुनाले त्यस्तो मोरो अशिक्षित बुढोसँग बस्न बाध्य भएकी हो ।” आमाले चित्तमा गाँठो पारेर भन्नुभएको थियो ।

“तिम्री दिदीको शरीरबाट मन्त्रको बलले पिशाचिनी भगाउन त सफल भएँ तर तिम्री दिदीले नै आफू पिशाचिनी भएर मलाई आफ्नो प्रेमजालमा फँसाइन् । अब त म जीवनपर्यन्त यो जालबाट उम्कन सक्दिनँ ।” केही महिनापछि म दिदीलाई भेट्न उनको घरमा जाँदा बिजुवाभिनाजुले हाँस्दै मतिर हेरेर भनेका थिए ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु