नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


गी द मोपासा
(फ्रान्स)

हीराको हार (कथा)

फ्रान्समा मात्र होईन सारा संसारमा गी द मोपासा (१८५०—१८९३) लाई आज पनि सर्वश्रेष्ठ कथाकार मानिन्छ । फ्लाभेयर मुग्ध थिए उनको प्रतिभा देखेर भने ईमेल जोला उनका औधी प्रशंसक थिए । तुर्गनेभ र ताल्स्ताय मोपासाका कथाले रन्थनिन्थे । हुन पनि मोपासा यस्ता शिल्पी थिए जो जीवनका दारुण त्रासदी,विडम्वनापूर्ण असङ्गति,आन्तरिक सौन्दर्य र नाटकीय आकस्मिकता चित्रण गर्नमा खप्पीस थिए ।
फ्रान्सिसी जनताको जीवन र मनोविज्ञानलाई उनले गहिरोसित बुझेका थिए जसले गर्दा उनले त्यहाँका किसान,युवा,घूस्याहा नेता,भ्रष्ट आईमाई तथा निम्न बैतनिक कर्मचारीहरुका पीडा र यथार्थतालाई औधी सटिक रुपमा चित्रण गर्दथे । आडम्बरी बुर्जवा वर्गको पीडक छविलाई उनले निर्ममताका साथ उजागर गरेका छन् । उनको उर्वर कथायात्रा सन् १९७० देखि १९९० सम्म रह्यो जसले गर्दा फ्रान्सेली समग्र जीवन नै यो कालखण्डका उनका कथामा उनिन्थ्यो ।
एउटी स्त्रीको जीवन, मीस हैरियत, क्लेर द ल्यून जस्ता कथा सङ्ग्रहका सार्थक शिल्पी मोपासाका मोन ओरिओल, पीपर एण्ड ज्या तथा वेल अमी जस्ता उपन्यासहरु पनि प्रकाशित छन् । यथार्थका कुशल कालिगढ उनी जीवनका निर्मम सत्यलाई उद्घाटन गर्ने हतियारका रुपमा कलालाई मान्दथे । कलामा वस्तुपरकता,सुस्पष्टता र रुपको परिकल्पनालाई आह्वान गर्ने उनको प्रस्तुत कथामा एउटा निम्न वैतनिक कर्मचारीको जीवनको भयावह यथार्थलाई दारुण रुपमा प्रस्तुत गरिएको छ । सरल र जीवन सापेक्ष विषयवस्तुलाई कथामा उन्ने मोपासाको यो कथा हिन्दीबाट अनुवाद गरिएको हो । —अनुवादक

भाग्यकै कारणले गर्दा भन्नु पर्ला मतिल्दा ल्वाजल जस्ती एउटी सुन्दर रुपवति युवतीले एउटा सरकारी खरिदारको घरमा जन्म लिनुपर्‍यो । उसका बाबुसित न प्रशस्त दाइजो दिन सक्ने सम्पत्ति थियो न कुनै धनाढ्य परिवारले उसको परिवारलाई चिन्दथ्यो । कुनै एउटा धनी युवकले ऊसित प्रेम गर्ने र श्रीमती बनाउने सम्भावना पनि ऊ देख्दिनथी । अन्तत यस्तै परिस्थितिले गर्दा उसले बाबुकै पदको अर्को एउटा खरिदार युवकसित विवाह गर्नुपर्‍यो ।
ल्वाजलसित विवाहपछि घर सजाउने प्रशस्त दाईजो थिएन । साधारण शैलीमा रहने ऊ आफ्ना वर्गका अन्य महिलाहरु जस्तै दुखी थिई किनभने कुनै पनि महिलाको नश्ल तथा जाति उसको पतिसित जोडिएको हुन्छ । हुन त सहज लालित्य, सहज वुद्धि तथा सौन्दर्य भएका केही साधारण परिवारका छोरीहरु कुलिन वर्गका पुरुषहरुसित पनि जोडिएका हुन्छन् तर त्यो संयोग मात्र हो ।
ल्वाजललाई पनि आफू संसारका सारा सुखसुविधाहरु भोग्न मन लाग्थ्यो तर घरको भीषण गरीवीले उसलाई सताउँथ्यो । घरको भान्छामा गरीवीका चिन्हहरु देखिन्थे,मेचहरु पुराना थिए,कुचुक्क परेको पुरानो शैलीको घरको कारण ऊ हमेसा चिन्तित रहन्थी । ऊ त यस्तो सोच्थी शान्त भित्री कोठा होस् जहाँ प्राचीन चित्रकलाका नमूना टाँगिएका हुन्,ठूला ठूला विजुली बत्तीले कोठा चम्किलो होस् र बाहिरी प्रवेश ढोकामा लाठीसहित द्वारपालहरु बसेका हुन् । ऊ हमेसा मनमोहक पर्दा र सुन्दर फर्निचरयुक्त शृङ्गार कक्षका बारेमा सोच्थी जहाँ साँझ आफ्ना अन्तरङ्ग मित्रहरु र आकर्षक पुरुषहरु सहित महफिल गुञ्जेको होस् र सारा स्त्रीहरु गठिलो पुरुषको आँखा आफूतिर परोस् भन्ने चाहिरहेका हुन् ।
पतिसँगै खाना खान मेचमा बस्दा आज खाना धेरै स्वादिलो छ भनेर उसले तारिफ त गरेको थियो तर ल्वाजल पुरानो टेविलमा फाटेको च्यादर ओच्छ्याएको देखेर औधी दुखी भई । ऊ सोच्न थाली यस्तो राजषी भोज होस् जहाँ प्राचीन महापुरुष र अद्भूत जङ्गली जनवारका बडाबडा चित्रहरु भित्तामा सजिएका हुन् । चाँदीको वर्तनमा स्वादिष्ट व्यञ्जन पस्किएको होस् । त्यस्तो व्यञ्जन खाँदै पति पत्नी एक अर्कालाई हेर्दै हाँसिरहेको क्षणलाई ऊ संझन पुगी ।
तर उसित त्यस्तो केही थिएन यथार्थमा, न त राम्रो पहिरन न त सुन्दर गहना । उसलाई यस्तै बस्तुसित माया थियो मानौं तिनीहरु उसकै लागि बनेका हुन् । मान्छेलाई खुशी पार्नु,उनीहरुको आकर्षण बन्नु र पछि लाउन सक्नु नै उसको ईरादा थियो ।
ल्वाजलकी धनी, सुन्दर र सम्पन्न लोग्ने भएकी एउटी साथी थिई फिरोस्ता जो कुनै कलेजमा पढ्थी । आज भोलि त्योसित भेटघाट गर्न ऊ चाहन्नथी किनकि ऊसितको भेटघाट पछि उसमा एउटा भूत सवार हुन्थ्यो,एउटा कालो छायाँ उसका वरिपरि घुम्थ्यो र उदास परिस्थितिले बास गथ्र्यो । फिरोस्ताको वैभवताले गर्दा आफू लज्जित भएको ठान्थी ऊ ।
एक साँझ खुशी हुँदै उसको पति घर फर्कियो । उसका हातमा एउटा सुन्दर खाम थियो ।
“हेर तिम्रा लागि यसका केही राम्रो सन्देश छ ।” पतिले भन्यो ।
ल्वाजलले उत्सुकताका साथ झटपट खाम खोली जहाँ एउटा निम्तोपत्र थियो र त्यसमा यस्तो व्यहोरा लेखिएको थियो —“हाम्रो देशका शिक्षामन्त्रीज्यू र श्रीमतीद्वारा मन्त्रीज्यूकै निवासमा १८ जनवरीको सन्ध्यामा आयोजित शान्त रात्रीभोजमा यहाँहरुको उपस्थितिका लागि सादर आमन्त्रण गरिएको छ ।” पतिलाई लागेको थियो यस्तो व्यहोराको निम्तोपत्र देखेर श्रीमती सारै खुशी हुनेछिन् तर त्यस विपरित उसले त्यो निम्तो पत्र टेवुलमा हुर्‍याउँदै भनी—“मलाई यसको के काम ।” पति छक्क पर्‍यो र भन्यो—“यो के गरेकी प्रिय तिमीले ! मैले त त्यो पत्र पढेर तिमी धेरै खुशी पो हुन्छ्यौ भन्ने सोचेको थिएँ । तिमी धेरैतिर घुम्न पनि जान पाएकी छैनौ र यसका लागि यो एउटा सुन्दर मौका हो । यो पत्र पाउन मैले ठूलो कसरत गरेको छु । हरेक कर्मचारीहरु यसलाई पाउन कति लालायित थिए । त्यो भोजमा कति उच्च वर्गका महिला र पुरुष जोडीहरु आउनेछन् तिमी देख्नेछ्यौ ।”
उसले नराम्रो किसिमले पतिलाई हेरी र निराश भएर बोली—“ तपाईंको बिचारमा मसँग त्यो भोजमा जाँदा लाउने कुरा के छ ?”
पति मूर्तिवत भएर भन्यो—“हामी सिनेमा हेर्न जाँदा लगाउने रातो सारीको सेट त छ नि फेरि त्यो तिमीलाई कस्तो सुहाउँछ पनि ।”
पत्नी ल्वाजल आँशु खसाउन थाली जो देखेर पति पनि धेरै दुखी भयो । केही आँशुका थोपा आँखाबाट गाला हुँदै चिउँडोबाट तल पनि झरे । पतिले दिक्क मान्दै भन्यो—“ के कुरा हो साँचो भनन ।”
ल्वाजलले दुःखले समान्य अवस्थामा आए जसो गरी आँशु पुछ्दै भनी—“केही छैन मसित । मसित त्स्तो भोजमा जाँदा लगाउने लुगा छैन त्यसकारण म त्यो भोजमा जान्न । यो निम्तोपत्र तपाईंका कुनै अन्य सहयोगीलाई दिनुहोस् जसका पत्नीहरुसित सुन्दर कपडा र प्रशस्त गहनाहरु छन् ।”
पतिले धेरै पीडित बनेर भन्यो ठीक छ—“मलाई भन त एउटा सुन्दर, तिमीलाई सुहाउने र हरेक अवसरमा लाउन मिल्ने पोशाक कति रुपियामा तयार होला ?”
ल्वाजल केही सोच्न थाली, कति रकम भन्यो भने आफ्नो मितव्ययी पतिले अस्वीकार गर्दैन होला भनेर । केही क्षणपछि झर्कदै उसले भनी—“यति नै भनेर त पनि भन्न सक्दिन तर चार हजार रुपिया भए काम चल्ला ।”
पतिको अनुहारको रङ उड्यो किनकि उसले एउटा साईकल किन्न भनेर साह्रै मुस्किलले त्यति रकम बँचाएर राखेको थियो । कार्यालय जाँदा आउँदा उसलाई हुने हतारोबाट बच्न उसले साईकल किन्ने चाहना राखेको थियो । उसले आफ्नो मुटुमा ढुङ्गा राखेर भन्यो—“ठीक छ म तिमीलाई चार हजार रुपिया दिन्छु त्यसले एउटा तिमीलाई चित्त बुझ्ने पोशाक बनाऊ ।”

भोजको दिन नजिकै आउँदै थियो तर श्रीमती झन दुखी देखिन थाली जव कि पोशाक भने तयार भईसकेको थियो । एक साँझ मायालु भाकामा पतिले भन्यो—“तिमीलाई फेरि के भयो दुई तीन देखि यता किन निक्कै उदास देखिन्छ्यौ ?”
ल्वाजलले भनी—“शृङ्गार गर्नका लागि मसित एउटा पनि गहना छैन, एउटा औंठी पनि छैन । यो हालतमा भोजमा जाँदा म त कङ्गाल्नी जस्ती देखिन्छु । मलाई माफ गर्नुहोस् म त्यो भोजमा जान सक्दिन ।”
श्रीमान्ले भन्यो—“तिमी सुन्दर फूलहरुलाई किन शृङ्गारमा प्रयोग गर्न सक्दिनौ ? यसबेला शौखिन महिलाहरु समेत फूलहरुले आफूलाई सजाउँछन् । सय रुपियामा त सुन्दर भन्दा सुन्दर गुलावहरु पाईन्छन् त ।”
तर श्रीमती पटक्कै राजी भईन—“हुँदैन उसको छोटो जवाफ थियो सम्पन्न महिलाहरुका अगाडि भिखारीझैँ देखिनु जस्तो अपमानको विषय अरु केही पनि होईन ।”
श्रीमान्ले कराउँदै भन्यो—“म पनि कस्तो मूर्ख ! गएर तिम्री प्रिय साथी फोरिस्तासित भेट र केही गहनाहरु माग न । तिमी त उसकी औधी मिल्ने साथी हौ नि ।”
श्रीमती ल्वाजल खुशीले उठ्दै भनी—“ हो त फोरिस्ता ! मैले त यो कुरा कहिल्यै पनि सोचेकी थिईन त ।”
भोलिपल्ट ऊ फोरिस्ताको घरतर्फ लागि र आफ्नो सारा व्यथा सुनाई । फोरिस्ताले आफ्नो दराजको ढोका खोल्दै गहनाहरुको मञ्जुषा निकालेर उघार्दै अघि सारेर भनी—“ल जे मन लाग्छ छान ।”
उसले केही ब्रासलेट,मोतीको हार,सुनको सिक्री र अन्य गहनाहरु देखी जो कलाका सुन्दर नमूना थिए । उसले हरेक गहना लाउँदै ऐनाको अघि गएर आफ्नो प्रतिविम्ब हेरी । सबै राम्रा राम्रा छन् उसलाई कुन लाउनु र कुन नलाउनु भयो । “अरु पनि गहनाहरु छन् तिमीसित ?” उसको जवाफमा फोरिस्ताले भनी–“ किन छैनन्, तिमी जे चाहन्छ्यौ लाउन सक्छ्यौ ।”
एक्कासी उसले एउटा बाकसमा हीराको सुन्दर हार देखी जसले उसको मुटुको गतिलाई नै बढाईदियो । त्यसको खुव लोभ लाग्यो उसलाई र हात कमाउँदै उसले त्यो हार घाँटीमा लगाई र ऐनामा आफूलाई हेरी । डराउँदै उसले फोरिस्तालाई भनी—“के तिमी मलाई यो हार दिन सक्छ्यौ ? यही मात्र ।”
“हुन्छ नि किन नसक्नु ।”
फोरिस्ताप्रति नतमस्तक हुँदै ऊ हीराको हार बोकेर घर फर्की । भोजको दिन आयो । ऊ आतुर थिई त्यो दिनको किनकि सबै महिलाहरु भन्दा सुन्दर,आकर्षक र फरासिली ठान्थी ऊ आफूलाई । ऊ लगातार मुस्कुराउँथी । सबै पुरुषहरु ऊतिर हेर्थे नाम सोध्थे र फेरि पनि भेट्ने कुरा गर्थे । मन्त्रीमण्डलका सबै सदश्यहरु समेत उसित नाच्न चाहन्थे । स्वयं शिक्षामन्त्री समेत ऊप्रति आशक्त थिए । ।
ऊ आफ्नो सौन्दर्यप्रति मस्त थिई र सबै कुरा भुलेर नाच्न व्यस्त । यस्तो मान मर्यादा पाएर उसका खुट्टा भूईंमा रहेनन् । उसको हालत एउटा पागलप्रेमीको जस्तै भयो ।
पति भने आधारात भएपछि अन्य तीनजना सज्जनहरुसित सँगैको कोठामा उङ्दै बस्न थाल्यो । उनीहरुका श्रीमतीहरु भने संसारै बिर्सेर रङ्गीन महफिलमा झुमिरहेका थिए । उसले जाडोको महसूस गर्दै श्रीमतीलाई एउटा घरमा प्रयोग गर्ने सल ओढाई दियो जो श्रीमतीले आफ्नो हाते व्यागमा बोकेर आएकी थिई राती फर्किंदा ओढ्न काम लाग्छ भनेर । तर त्यो सल भोजमा प्रयोग गरिएका पोशाकहरुका माझमा मलमल कपडाहरुका बीच जूटको बोरा जस्तै लाग्यो श्रीमतीलाई । जवकि अन्य महिलाहरुले महङ्गा सलहरु ओढेको उसले देखी ऊ बाहिर निस्केर घर जान तयार भई ।
श्रीमान्ले भन्यो—“यही पर्ख तिमीलाई सर्दीलाग्ला चीसोले । म गाडी बोलाएर यहीं ल्याउँछु ।”
तर श्रीमती ल्वाजल कुरै नसुनी सिंढी ओर्लन थाली । सडकमा गाडीहरु थिएनन् । गाडी खोज्दै जाडो झेल्दै उनीहरु एउटा नदीका किनारमा पुगे जहाँ एउटा गाडी पाईयो । धेरै थकानपछि उनीहरु घर पुगे । ल्वाजलको त सबै काम तमाम भएको थियो तर पतिले भने दश बजे कार्यालय पुग्नु नै थियो । श्रीमतीले सल हटाएर अन्तिम पटक आफ्नो शृङ्गारयुक्त रुप ऐनामा हर्न चाही तर ऊ एक्कासी चिच्याई किनभने त्यो बहुमूल्य फोरिस्ता कहाँबाट ल्याएको हार उसको घाँटीमा थिएन । पतिले आधा कपडा फेरिसकेको थियो र आश्चर्य मान्दै भन्यो—“के भयो ?”
ल्वाजल आत्तिदै भन्छे—“मबाट...मबाट फोरिस्ताको हार हरायो ...कसैले लग्यो ।”
पति डराउँदै उठ्यो—“धत् यो कसरी हुन सक्छ ? यो सम्भव छैन ।”
दुवैले लुगाको चेपचापमा,हाते व्यागमा र भूईंतिर सबै खोजे तर कतै भेटिएन ।
पतिले सोध्यो—“तिमीलाई पक्का थाहा छ भोजबाट निस्किने बेलामा हार तिम्रै गलामा थियो भनेर ?”
—“हो,बाहिर निस्किदा मैले गलामा हात लगाएर छामेकी थिएँ ।” ल्वाजल भन्छे ।
—“यदि हार सडकमा खसेको भए आवाज अवश्य सुनिन्थ्यो । त्यो पक्कै गाडीमा खसेको हुनु पर्दछ ।”
—“हुन सक्छ,तिमीले त्यसको गाडी नम्बर नोट गरेकी थियौ ?”
—“अहँ, तिमीलाई थाहा छ ?”
—“अहँ !”
उनीहरुलाई आफूले टेकेको जमीन भासिदै गएको महसूस हुन थाल्यो । अवाक भएर एक अर्कालाई हेराहेर गर्न थाले उनीहरु । पुन पति हार खोज्न जानका लागि लुगा लगाउन थाल्यो । हिड्यो ऊ ल्वाजल धुम्धुम्ती बसिरही । सुत्ने आँट पनि आएन उसलाई ।
विहान सात बजे पति खाली हात घर फर्कियो । ऊ प्रहरी चौकी र गाडी कम्पनीसम्म पुगेको थियो,अखवारमा सूचना दिन पनि गएको थियो फिर्ता गर्नेलाई पुरस्कार दिने शर्त पनि राखिएको थियो तर सबै थोक गर्नु पर्ने काम गरे पनि हार पाईएको थिएन । उनीहरुको पूरै दिन भयग्रस्त रह्यो तर कुनै पनि उपलव्धि भएन ।
पतिले भन्यो—“तिमी फिरोस्तालाई खवर गर र हारको अड्काउने भाग चुँडिएकाले मर्मत गरेर मात्र फिर्ता ल्याउँछु भन । यदि यसो भयो भने हामीलाई केही उपाय सुझाउने समय मिल्छ ।”
श्रीमती ल्वाजलले त्यसै गरी ।
हेर्दाहेर्दै हप्ता दिन बित्यो तर कुनै उपाय निस्केन,ऊ चिन्ताले पाँच वर्ष थप बूढी देखिन थाली । अब त्यसको सट्टा अर्को हार किनेर दिने निर्णयमा पुगे उनीहरु आखिरी अन्तिम उपाय पनि त्यही त थियो ।
अर्को दिन उनीहरु हारको बट्टा बोकेर त्यहाँ लेखिएको ठेगाना खोज्दै बाँडाकातिर लागे । बाँडाले आफ्नो बही खातामा हेरेर बाकसको निर्माण मिति देखेपछि भन्यो—“महोदया ! यो हार हामीसित किनिएको होईन तर यो बट्टा भने हाम्रै हो ।” स्वयं बाँडा र उनीहरु समेत यसरी आश्चर्यमा परे । अनेक अन्य बाँडाहरु कहाँ गए उनीहरु तर त्यो बट्टामा रहेको हार कहाँ बनाईएको हो पत्ता लाग्न सकेन । पीडा र थकाईका कारणले उनीहरु बिरामी जस्ता देखिन थाले ।
बजारको चल्तीको सडकको एउटा पसल उनीहरुले संझनाका आधारमा खोज्दै जाँदा एउटा हार पाईयो जो हुबहु फोरिस्ताको हार जस्तै थियो तर त्यहाँ बनेको भने थिएन । चालीस हजार थियो त्यसको मूल्य । मोलतोल पछि छत्तीस हजारमा दिन तयार भयो बाँडा । तर त्यत्रो पैसा उनीहरुसित के हुन्थ्यो ! पाँच शय रुपिया तिरेर त्यो हार उनीहरुले बुक गरे । तीन दिन भित्रमा त्यो हार लिने र एक महिनाभित्र हराएको हार पाईएमा चाँैतीस हजारमा बाँडाले त्यो नयाँ हार फिर्ता लिईदिने शर्तमा कुरा मिल्यो ।
पिताको मृत्यु हुँदा बँचेको उनको पेन्शनको रकम अठाह्र हजार पतिसित बाँकी थियो । बाँकी रकम ऋण गरेर काम चलाउनु पर्ने भयो उनीहरुले । कसैसित पाँच शय,कसैसित एक हजार र कसैसित तीन शय गर्दै ऋण लिए उनीहरुले । अफिसबाट पनि थुप्रै महिनाको पेश्की लियो पतिले । तर त्यतिले पनि नपुगेर चर्काे व्याजमा घरलाई बन्धकी राखे उनीहरुले । अत्यन्त पीडित रहेका उनीहरु त्यो क्षण भविश्यमा कसरी ऋण चुक्ता गर्ने होला भन्ने ध्याउन्नमा थिए । यति भएर पनि उनीहरुले बाँडाबाट छत्तीस हजारमा त्यो हार लिएर आए ,अन्य विकल्प नै थिएन ।
श्रीमती ल्वाजल हार बोकेर फोरिस्ता कहाँ फिर्ता दिन जाँदा उसले रुखो बचन सहनु पर्‍यो । चाँडै फिर्ता नल्याएका कारण उसले थुपै्र अवसरमा त्यो हार लाउन नपाएको गुनासो गरी । तर ल्वाजललाई कतै फोरिस्ताले त्यो बट्टा खोलेर हेरेको भए आफूलाई चोर समेत सम्झने डर थियो किनकि उसको हार हराएर अर्को किनेर तिरेको उसले भनेकै थिईन । धन्न बट्टा चाहिँ पुरानोमा राखेर फिर्ता गरिएको थियो ।
फाल्तु आवश्यकताका कारण जीवनमा आईपरेको बज्रपातले निम्त्यिाएका दुखी दिनहरु अब ल्वाजलका सुरु भए तर परिस्थितिको सामना उसले गर्दै गई । ऋणले थाप्लो थिचिएको थियो । घर धरौटीमा रहेकाले साना भाडाका दुई कोठामा रहन्थे उनीहरु । पैसा र सुत्ने कोठाको अभावमा घरायसी सहयोगीलाई पनि हटाएका थिए ।
डेरामा बस्न थालेपछि उनीहरुलाई थाहा भयो घरको मूल्य के रहेछ भन्ने । सहयोगीलाई हटाए पछि जुठा भाँडा माँझ्न र मैला लुगा धुनु पर्दा उसलाई जीवनको पाटो यस्तो पनि हुँदो रहेछ भन्ने अनुभव हुन थाल्यो । टोकरीमा राखेर घरको फोहोर बाहिर फाल्नु,ईनारबाट पानी ल्याउनु,खाना पकाउनु र किनमेलका लागि बजार जानु त छँदै थियो घरपतिको कर्कश ध्वनि दिनहुँ सुन्नु पनि अब उसको दिनचर्या हुन थाल्यो । अब ल्वाजल साधारण महिलाहरुले झैं कपडा लगाएर बजार जान्थी र साधारण टोकरीमा फलफूल तथा तरकारी किनेर ल्याउँथी । एक एक पैसा बचाउनका लागि ऊ पसलेसित मोलमोलाई गर्थी ।
हरेक महिना उनीहरुले ऋणको किस्ता तिर्नु पथ्र्यो व्याज सहित ।
साँझ पति बजारमा व्यापारीहरुको बहीखातामा लेखा मिलाउने काम गर्न थाल्यो जस वापत प्रतिपृष्ठ पाँच रुपियाका दरले उसले पारिश्रमिक पाउँथ्यो ।
यसरी दश वर्ष बितेछ । ठ्याक्क एघाह्र वर्ष लाग्दा उनीहरुको ऋण चुक्ता भएछ ।
उनीहरु आफ्नो घर फर्किए । यसबेला ल्वाजल बूढी देखिन थालेकी थिई र गरीव महिलाहरु झैं ऊ मेहनती र कामकाजी भएकी थिई । ठूलो आवाजमा बोल्थी र उसका हातखुट्टा पनि सुकिला मुकिला थिएनन् । कहिलेकाहिँ पति अफिस गएका बेला एकान्तमा झ्यालमा बसेर बाहिर हेर्दै शिक्षामन्त्रीको निवासको भोज,त्यो महफिलयुक्त नाच र त्यो कामुक वातावरणको संझना गर्थी र आजको दिनसित तुलना गर्थी । बेलाबेला ऊ सोच्थी यदि त्यो रात त्यो हार नहराएको भए आज के हुन्थ्यो होला ? आज औधी सुखी जीवन हुन्थ्यो होला कि उनीहरु पारपाचुके भईसकेको स्थितिमा हुन्थे होलान् ? कुनै पनि सानो ठूलो घटनाले कसैलाई भत्काउन र कसैलाई सपार्नमा साह्रै ठूलो भूमिका खेल्दोरहेछ ।
एउटा आईतबार विदाको विहान ल्वाजल हप्ताभरिको कडा परिश्रमको थकाई मार्न पेरिसको सुन्दर शहरमा हल्लिदै थिई । अचानक एउटा बच्चासँगै उसले एउटी महिलालाई देखि जो फिरोस्ता थिई । आज पनि फिरोस्ता युवा,सुन्दर र कामुक चालढालयुक्त थिई । ल्वाजलले साची के त्यो हीराको हारको घटना फोरिस्तालाई सुनाईदिउँ ? आखिरी अब त ऋण पनि चुक्ता भईसकेको छ,अझ उसलाई त हप्तै दिनपछि नै अर्काहार किनेर तिरेकै हो । अब के फरक पर्ला र ?
उसले फोरिस्ताको नजिकै गएर भनी—“गुड मर्निङ फोरिस्ता !”
तर फोरिस्ताले उसलाई चिन्न सकिन । उसको शिरदेखि पुछारसम्म हेरेर एउटी साधारण महिलाले यस्तो आत्मीय सम्बोधन गरेको देखेर ऊ छक्क परि । उसले अन्कनाउँदै भनी —“मैले त महाशयालाई चिनन सकिन त ।”
“ए फोरिस्ता ! म मतिल्दा ल्वाजल हुँ मलाई चिनिनस् तैले ।”
उसकी आत्मीय साथी ल्वाजल छक्क परि—“ ए ल्वाजल तिमीले के बेरुप बनाएको आफूलाई ! के भयो तिमीलाई ?”
“हो तिमीसित अन्तिम पटक भेट भए पश्चात मैले साह्रै दर्दनाक दिनहरु भोग्नु पर्‍यो त्यो पनि तिम्रै कारणले ।”
“मेरो कारणले ! कसरी मेरो कारणले यस्तो भयो ? फोरिस्ताले छक्क पर्दै भनी ।
“तिमीलाई मैले एउटा भोजमा जानका लागि एउटा हीराको हार लिएको कुराको सम्झना छ ?”
ल्वाजलको प्रश्नमा फोरिस्ताले भनी—“छ किन नहुनु ?”
—“हो यो मबाट हराएको थियो ।”
ल्वाजलको जवाफ भूर्इंमा खस्न नपाउँदै फोरिस्ताले भनी–“त्यो कसरी भयो ? जवकि तिमीले त हप्ता दिनभित्रै सही सलामत फिर्ता गरेकी थियौ त ?”
ल्वाजल भन्न थाली–“मैले तिमीलाई जुन हार फिर्ता दिएँ त्यो हुबहु तिम्रो जस्तै हार थियो । मैले त्यस्तै अर्को हार किन्दा लागेको ऋण चुकाउन मलाई दश वर्ष लाग्यो । तिमीलाई के थाहा हामी गरीवलाई त्यति ऋण तिर्न कति कठिन पर्छ भनेर । तर अब चुक्ता भईसकेको छ, म खुशी छु ।”
फोरिस्ता अक्क न बक्क परी र भनी–“तिमीले त्यो हारको सट्टा अर्कै हार किन्यौ ?”
“हो त नि तिमीलाई यस बारेमा थाहै भएन किनकि त्यो दुरुस्त तिमै्र जस्तो थियो र बट्टा पनि तिमीले दिएकै त हो ।”
फोरिस्ताले बडो दुख मान्दै भनी –“मेरी प्रीय ल्वाजल त्यो त नक्कली हार पो थियो त । त्यसको मूल्य बढीमा पाँच शय मात्र पर्छ ।”

अनुवादः नीलकमल






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :