नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

पुस्तक - समीक्षा:


पूर्ण इन्फादा

बहुल सांस्कृतिक पहिचान बोकेका अनुभूतिजन्य कथा

गद्यमा लेखिएको आख्यानयुक्त प्रबन्ध–काव्यात्मक छोटो रूपलाई कथा भनिन्छ । कथ्य वस्तुहरू समाजकै वरिपरि हुन्छन् । जसले ती कथ्य वस्तुलाई कथाको रूप दिन सक्छ त्यसैलाई कथाकार भनिन्छ । नेपाली साहित्यको प्राचीन कालदेखि नै कथा लेखिन थाले पनि आधुनिक कालमा आएपछि यसले विविध शैली र रूप लिन थालेको पाइन्छ । कथा नेपाली साहित्यको सशक्त विधाका रूपमा लिइन्छ । कथाका माध्यमबाट सामाजिक वस्तुस्थितिलाई जस्ताको तस्तै बाहिर ल्याएर सामाजिक विकृति र विसङ्गतिलाई नङ्ग्याउने काम गर्न सकिन्छ । जुन कामको सुरुआत नेपाली कथा साहित्यको पहिलो आधुनिक कथाकार गुरुप्रसाद मैनालीले गरेका थिए त्यो परम्परा नेपाली कथा साहित्यमा यद्यपि कायमै छ । कथाका माध्यमबाट कथाकारले सामाजिक जीवन भोगाइका उच्छ्वासहरूलाई सहज र भाव गाम्भीर्यताका साथ प्रस्तुत गर्न सक्छन् । कथाले समाज र समयको आवाजलाई बोक्न सक्ने सामथ्र्य भएकैले विश्वसाहित्यमा लोकप्रिय हुन सफल भएको छ ।

बेलायतमा बस्ने लाहुरे सष्टाहरूले नेपाली साहित्यमा महत्वपूर्ण र विशेष योगदान पुर्याउँदै आएका छन् । प्रवासमा बसेर जीवन गुजारा चलाउनका लागि संघर्षपूर्ण विविध कार्यमा संलग्न हुँदै नेपाली साहित्यको श्रीवृद्धिमा बचेको समयलाई यी स्रष्टाहरूले सिर्जनात्मक कार्यमा लगाएर चानचुने काम गरेरका छैनन् । नेपाली साहित्यमा बेलायतमा बस्ने लाहुरे स्रष्टाहरूको अतुलनीय योगदान रहेको कुरालाई अब कसैले पनि भुल्न सक्तैन र भुल्नु भनेको महाअपराध हो । यही सन्दर्भमा बहु विधाको प्रतिभा भएका टंक वनेम (वि.सं.२०२०) को श्लेष्मान्तकको साम्माङ् (वि.सं.२०७१) कथा कृतिले नेपाली कथा साहित्यमा बेग्लै र विशिष्ट महत्व दर्शाएर आएको छ । कथा, संस्मरण, कविता लेख्नुका साथै खोज–अनुसन्धान जस्तो गहन कार्यसमेत गरिसकेका टंक वनेमको कथागत कृति भने पहिलो हो । यसभनदा पहिले उनका तीनवटा कवितासंग्रह र एउटा खोज–अनुसन्धानात्मक कृति प्रकाशित भइसकेको छ । उनका कथामा विश्वयुद्धको त्रासदीदेखि जनयुद्ध कालीन समयको युद्ध त्रासदी एकातिर छ भने अर्कोतिर लिम्बू संस्कृतिको मिठो उच्छ्वास ग्रामीण बस्तीको यौन जीवनलाई पनि उनका कथामा देखाइएको छ । यस कृतिमा उनका विविध विषयवस्तु समेटिएका एक्काईस थान कथा समेटिएका छन् ।

यस कृतिका कथाहरू पढ्दा बहुल रङ्गको चित्र हेरेझैँ लाग्छ । कथाकार टंक वनेमले कथामा लिम्बू किराती सांस्कृतिक मिथहरूको अधिक मात्रामा खेलाउने काम गरेका छन् कथामा । सांस्कृतिक रङ्गसँगै प्रेमी प्रेमिकाको प्रेम, प्रेमसँगै मौलाएका विकृति विसङ्गतिको हाहाकारलाई पनि कथाकार टंक वनेमले कथमा देखाउने प्रयास गरेका छन् । भिन्नाभिन्नै प्रवृत्ति बोकेका कथामा समाजका विभिन्न प्रवृत्तिलाई उधिन्ने प्रयास गरेका छन् कथाकारले । गाउँघरका दुःखद् भोगाइदेखि प्रवासको कहालीलाग्दो जीवन भोगाइका अनुभूतिलाई कलात्मक सीपले सजाएका छन् । उनले एउटा अन्धो मान्छेको आत्मकथामा अनधो र अशक्त मान्छेको मनोदशा देखाउनुका साथै अपाङ्गहरूले सवालङ्गले भन्दा सुन्दर काम गरेर जीवन बिताउन सब्छन् भन्ने तथ्य चित्र देखाएका छन् ।

कथाकार टंक वनेमको नेपालको द्वन्द्व कालीन कथा प्रतिशोधमा रहरले मात्र द्वन्द्वको बीजारोपण भएको थिएन । त्यहाँभित्र अनाहकमा आफन्तजन  गुमाउनु पर्दाको पीडाको पनि सम्मिश्रण छ भन्ने कुरालाई देखाएका छन् । यस्तै गरेर बबई नदीको बगर र दुःखको यात्रा कथामा द्वन्द्वकालीन समयमा राज्य पक्षले बितन्डा मच्चाएपछि विस्थापित हुनु पर्दाको पीडा र विस्थापितलाई समेत राज्य पक्षले दिएका अनेकन दुःखद् क्षणको मार्मिक समस्याको उजागर गरेका छन् । सोला वनको सिकारी कथामा माओवादी द्वन्द्वले नेपालको ग्रामीण जीवनमा पारेको प्रभावलाई देखाइएको छ भने सँगसँगै शान्ति सम्झौतापछि माओवादी कार्यकर्तामा आएको विचलनलाई देखाइएको छ । यस्तै हर्षको आँसु कथामा पनि माओवादी द्वन्द्वको उजागर गर्नुका साथै कालान्तरमा पुनर्मिलनले परिवार रसमाजमा खुसी आएको देखाएका छन् । रातो झण्डा, आन्दोलन र काठमाडौँको अनुहार कथामा पनि कथाकारले माओवादी द्वन्द्वका कारण बैसट्ठी त्रिसट्ठीको आन्दोलन सफल त भयो तर जनताले आशा गरे अनुसारको आर्थिक, सामाजिक रूपान्तरण हुन नसकेको र परम्परागत रूपमा राजनीतिक परिवर्तन मात्रै भएको दारुण अवस्थालाई देखाउने काम गरेका छन् ।

कथाकार टंक वनेमले चेरीको बोट कथामा दुव्र्यसनीम लागेकी जीवन साथी हुँदा धेरै किसिमका समस्या आउन सक्छन् भन्ने विसंगत पक्षको उद्घाटन गर्ने प्रयास गर्नु साथै छोराछोरीप्रति अभिभावकको कस्तो जिम्मेवारी हुनुपर्छ भन्ने चित्राङ्कन पनि गरेका छन् । भोगीमायाको चोला कथामा एउटी ग्रामीण युवतीको यौन कुण्ठालाई देखाइएको छ । सुन्तले बारीको झुसिल्कीरो कथामा एकातिर आमा हुने रहर वा सन्तान मोह छ भने अर्कोतिर पतिले पत्नीको यौनजन्य समस्या बुझ्न नसकेको कुरालाई देखाइएको छ । ताम्राङ्गे कान्छा कथाबाट कथाकारले ताम्राङ्गे कान्छालाई विसंगत पात्रका रूपमा चित्रण गरेका छन् । यस्ता विसंगत मान्छेले समाजिक सद्भाव मात्रै खलबल्याउने काम गर्छन् भन्ने सन्देश ताम्राङ्गेका माध्यमबाट दिएका छन् कथाकारले । यसै गरी सहरको अन्तर्दाह कथामा कथाकारले आधुनिक सहरकी महिलाले आफ्नो मन परको प्रेमी निधनपछि भोग्नु परेका अनेकन पीडा र दर्दनाहक पीडाको अनुभूतिलाई देखाएका छन् । 
कथाकार टंक वनेमले श्लेष्मान्तकको सम्माङ् कथासंग्रहका कथाका माध्यमबाट लिम्बू किराती संस्कृतिको उजागर बलियो ढंगबाट गरेका छन् । सोघा कथामा अप्राकृतिक मृतात्मालाई लिम्बू संस्कृति र संस्कारअनुसार कसरी दाहसंस्कार गरिन्छ भनेर देखाइएको छ । एक राते तङ्सिङमा फेदाङ्मा र तुम्याङहरूको गफ कथामा लिम्बू धर्म–दर्शन र पर्यावरण बिचको सामिप्यतालाई देखाइएको छ । अर्को हाङ्माको डायरी कथामा यौवनको रस चुसिसकेपछि हाङ्मा जस्ता सोझा–सीधा नारीलाई प्रताडित बनाएर मृत्युको मुखमा पुर्याएको कारुणि अवस्थाको नग्न चित्रण गरिएको छ ।

यस्तै गरेर कथाकार टंक वनेमले मृत्यु जित्ने गोर्खाली योद्धाको दुःख कथा संस्मरणात्मक शैलीमा लेखिएको छ । एउटा गोर्खाली सिपहीले दास्रो विश्वयुद्धमा लड्दा युद्धरत साथीसँग बिछोडिएपछि सात वर्षसम्म कसरी जीवन जिउन सक्यो भन्ने मार्मिक र कारुणिक रूपको संस्मरणात्मक र रोचक ढंगले प्रस्तुत गरेका छन् । उम नूर कथामा इराकी बीभत्स लडाइँलाई देखाएका छन् । लडाइँको चपेटामा परेकी एउटी शरणार्थी महिलाले भोग्नुपरेको यातनामय बीभत्स समयको चित्रण गरेका छन् कथाकारले । शक्ति चक्रको उपासना कथामा कुनै पनि अवसरलाई सही ढंगले उपयोग गर्न सकिएन भने त्यसले भौतिक जीवनमा डरलाग्दो परिणाम तिम्त्याउँछ भनेर देखाइएको छ । जसले खराब आचारण देखाउँछ त्यसको परिणाम पनि नराम्रो नै आउने कुरा नाछिरीको पापी पेटमा कामेको लात कथाले देखाएको छ । बूढी बज्यैको बुद्धि ढुङ्गो कथाले अन्धविश्वासले मानिसलाई गाँजेपछि कस्तो अवस्थामा पुर्याउँछ भनेर देखाइएको छ तर त्यसलाई बुद्धिका माध्यमबाट समाधान गर्नुपर्ने तथ्यलाई पनि उद्बोधन गरेका छन् कथाकारले । त्यस्तै करवीर मसानको भक्ति कथामा आध्यात्मिक र भौतिकता बिचको अन्तर द्वन्द्वलाई उधिन्ने जमर्को गरेका छन् कथाकारले । 

कथाकार टंक वनेमको श्लेष्मान्तकको साम्माङ् कथासंग्रह भित्रका कथामा नेपाली माटो र नेपालीपन बोकेका पात्रदेखि विदेशी पात्र र विदेशीपन संस्कृति बोकेका पात्रहरू छन् । बाहिरी आवरणमा लाहुरेको प्रवासी जीवन जतिसुकै सुन्दर देखिए पनि मृत्यु जित्ने गोर्खाली योद्धाको दुःख र बर्मेली काकाको ङास्यौङ धाराजस्ता कथाले त्यहाँभित्र अनेकन्  दुःख, पीडा, आहात र छटपटी छ भन्ने कुरालाई देखाएका छन् साथै एउटा लाहुरेको स्वच्छ, कारुणिक र बलिदानीपूर्ण प्रेमलाई पनि देखाइएको छ । प्रवृत्तिगत रूपमा विभिन्न शैली र बान्की बोकेका कथाकार टंक वनेमका कथामा परिपक्व कथा लेखनको शैली पाइन्छ । टंक वनेमका कथामा नेपालीपन झल्काउने बहुसांस्कृतिक चेतना त पाइन्छ नै यसका अलवा बेलायती संस्कृति बोकेका कथाहरू समेत समावेश गरेर उनले कथाका पाठकलाई अझ आकर्षित गर्ने जमर्को गरेका छन्।                               

emailM infada1@yahoo.com, infada9@gmail.com
Phone No: 9851183467







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु