नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


साकी
(बेलायत)

खुल्ला झ्याल (कथा)

साकी नामले विश्वसाहित्यमा चर्चित हेक्टर ह्युग मुनरो (१८७०–१९१६) एक बेलायती लेखक थिए जो आफ्नो तीक्ष्ण र रोचक कथाका लागि परिचित छन् । उनी बेलायतको एडवार्डेली समाज र सँस्कृतिलाई व्यँग्य गर्दै लेख्थे । छोटा कथाको मास्टर मानिने उनलाई विश्वसाहित्यमा ओ हेनरी र डोरोथी पार्करसँग तुलना गरेर हेरिने गर्छ । बर्मामा जन्मिएका मुनरोकी आमा उनी दुई वर्षको हुँदा नै बितेकी थिइन् । त्यसपछि बेलायतमा हुर्किएका उनी भारतमा प्रहरी अधिकृतका रूपमा काम गर्न थाले । बर्मा खटाइएका उनी मलेरिया भएपछि सन् १८९५ मा फेरि बेलायत फर्के । पहिलो विश्वयुद्धमा सामेल भएका उनी १९१६ मा जर्मनीसँगको लडाइँमा वीरगति प्राप्त गरेका थिए । मर्ने बेलामा आफ्नो अन्तिम वाक्यका रूपमा उनले त्यो चुरोट निभाऊ भनेका थिए ।

कुर्सीमा बस्दै गर्नुहोस् । काकी चाँडै नै तल झर्नुहुनेछ,’, पन्ध्र वर्षीया जवान युवतीले नट्टेललाई सविनयताका साथ आग्रह गरिन् । ‘त्यति बेलासम्म तपार्ईं र म गफ गर्दै बसौँला ।’
फ्र्यामटन नट्टेलले प्रतीक्षा गरुञ्जेल त्यस्तो कुरा गर्नेबारे सोचे जसले ती भतिजीलाई मख्ख पारोस् र आफूलाई भेट्न तल आउँदै गरेकी काकीलाई पनि वेवास्ता नगरोस् । तर भित्रभित्रै यस्ता पूर्ण रूपमा अपरिचितहरूसँगको औपचारिक भेटघाटले उनलाई आफ्नो स्नायुसम्बन्धी रोग निको पार्छ भन्नेमा सन्देह पैदा भइरहेको थियो ।
‘मलाई थाहा छ त्यहाँ कस्तो हुनेछ’, उनी स्वच्छ हावापानीका लागि भनेर गाउँमा बसाइँसराइको तयारी गर्दै गर्दा उनकी दिदीले भनेकी थिइन् । ‘तिमी त्यहाँ आफैँलाई कैद गर्नेछौ र कसैसँग पनि एक वचन बोल्ने छैनौ । वेदना र छटपटीले गर्दा तिम्रो विमारी झन् खराब हुँदै जानेछ ।’ म त्यहाँ मैले चिनेका सबै मान्छेहरूलाई तिमी मेरो भाइ हौ भनेर चिठी लेखिदिन्छु । मलाई सम्झना भएसम्म तीमध्ये केही मान्छेहरू निकै असल थिए ।’
श्रीमती साप्लेटन जसलाई फ्रामटन दिदीले दिएको परिचयात्मक चिठी प्रस्तुत गर्न गइरहेका थिए, फ्रामटनले उनी ती असल मान्छेको वर्गीकरणमा पर्छिन् कि पर्दिनन् होला भनेर सोचे ।
‘के तपार्ईं यहाँका अरु मान्छेहरूलाई पनि चिन्नुहुन्छ?’ लामो समयदेखि व्याप्त मौनता तोड्नका लागि भतिजीले प्रश्न गरिन् ।
‘अहँ, कसैलाई पनि चिन्दिनँ’, फ्रामटनले भने । ‘चार वर्ष अघि मेरी दिदी यहाँको चर्चमा बस्नुभएको थियो । र मलाई समाजमा घुल्न सजिलो होस् भनेर उहाँले चिन्नुभएका केही मान्छेहरूलाई सम्बोधन गरेर परिचयात्मक चिठी लेखिदिनुभएको छ ।’
यस्तो भनेकोमा उनको पछिल्लो वाक्यमा स्पष्टरूपमा पश्चताप झल्किन्थ्यो ।
‘त्यसो भए तपार्ईंलाई मेरो काकीबारे केही पनि थाहा छैन?’ ती जवान युवतीले सविनयताका साथ सोधिन् ।
‘उहाँको नाम र ठेगाना मात्र थाह छ,’ उनले जवाफ दिए । उनी साप्लेटन श्रीमानसँग बस्लिन् कि एकल महिला होलिन् भनेर कल्पिरहेका थिए । बैठक कोठाको केही अवर्णातीत कुराले भने उनलाई घरमा कोही पुरुष पनि बस्छ भन्ने सँकेत दिइरहेको थियो ।
‘उहाँको जीवनको त्यो सबैभन्दा दुःखद घटना तीन वर्ष अघि घटेको थियो,’ उनले भनिन् । ‘त्यो तपाईंकी दिदी सहर फर्किनुभएपछिको कुरा हो ।’
‘कस्तो दुःखद घटना?’ फ्रामटनले सोधे । उनलाई यस्तो शान्त गाउँमा पनि दुःखद घटनाहरू घट्न सक्लान् भन्ने पूर्वानुमान थिएन ।
‘तपाईंलाई अचम्म लागेको होला, अक्टोबर महिनाको दिउँसो पनि हाम्रो घरमा किन त्यो झ्याल खुल्लै छ भनेर’, आँगनतर्फ फर्किएको एउटा विशाल फ्रेन्च झ्याललाई इङ्गित गर्दै भतिजी केटीले भनिन् ।
‘झन् योपल्ट त निकै गर्मी छ,’ फ्रामटनले भने । ‘तर त्यो दुःखद घटनासँग यो झ्यालको कुनै सम्बन्ध छ र?’
‘तीन वर्षअघि ठीक आजकै दिनमा त्यही झ्यालबाट काकीको श्रीमान् र दुई जवान भाइहरू सिकारका लागि भनेर जानुभएको थियो । तर उहाँहरू त्यसपछि कहिल्यै फर्केर आउनुभएन । उहाँहरू आफूलाई सबैभन्दा मन पर्ने सिकारस्थलमा जाँदै गर्दा तीनै जना सिमसारको दलदलमा फस्नुभयो । अरु समयमा भएको भए केही हुँदैनथ्यो होला तर त्यो वर्षायाममा निकै धेरै पानी परेको थियो र उहाँहरू त्यहाँबाट उम्कन सक्नुभएन । उहाँहरूको लाशसम्म पनि फेला परेन । यही नै हो दुःखद घटना ।’ यति भन्दै गर्दा सानी केटीको नम्र आवाज अब वेदनापूर्ण भइसकेको थियो । ‘विचरी काकीले सधैँ आस गर्नुहुन्छ कि उहाँहरू एकदिन फर्केर घर आउनुहुनेछ । उहाँलाई अझै विश्वास छ कि उहाँहरू र उहाँहरूसँगै हराएको सानो कुकुर एकदिन सधैँजसो गरी त्यो झ्यालबाट भित्र पस्नुहुनेछ । त्यही भएर हरेक साँझ रात नापरुञ्जेलसम्म त्यो झ्याल खुल्लै हुन्छ । विचरा मेरो काकी ! सधैँ उहाँ मलाई उहाँहरू त्यो दिन कसरी बाहिर निस्कनुभएको थियो भनेर सुनाउने गर्नुहुन्छ । काका आफ्नो पानी नपस्ने सेतो कोट लाएर जानुभएको थियो, र उहाँको कान्छो भाइ रोनी ‘बर्टी, ह्वाई डु यु बाउन्ड’ गीत गाउँदै उहाँलाई जिस्काउँदै हुनुहुन्थ्यो किनभने उहाँलाई यो गीत फिटिक्कै मन पर्दैनथ्यो । मलाई पनि यस्तै कुनै शान्त, स्थीर साँझमा उहाँहरू त्यही झ्यालबाट भित्र आउनुहुनेछ भन्ने विश्वास लाग्छ’
बोल्दै गरेकी उनी झसक्क झस्किन् र टक्क रोकिइन् । त्यसपछि काकी आफू तयार हुँदै गर्दा ढिलो भयो भन्दै माफी माग्दै तल कोठामा आइन् र फ्रामटनलाई ठूलो राहत महसुस भयो ।
‘भेराले तपाईंलाई पट्यार त लगाइन् नि?’, उनले सोधिन् ।
‘हैन, उनले निकै रोचक कुरा गरिन् ’, फ्रामटनले भने ।
‘झ्याल खुल्ला भएर असहज महसुस नगर्नुहोला’, साप्लेटनले गाम्भीर्यताका साथ भनिन् । ‘मेरो श्रीमान् र भाइहरू सिकार खेलेर सीधै घर आउनुहुन्छ र उहाँहरू सधैँ यही झ्यालबाटै आउनुहुन्छ । उहाँहरू आज सिमासार क्षेत्रमा सिकार गर्नका लागि जानुभएको छन् र हेर्नुस्, अहिले आएपछि हिलाम्य शरीर ल्याएर सबै कार्पेट नै खराब गरिदिनुहुन्छ ।’
उनले निकै फुर्ती साथ सिकार गर्न जाँदा सितिमिति चराहरू नभेटिने बारेमा गफ लाईन् । फ्रामटनलाई उनको यस्तो कुरा सुनेर उनको अवस्था निकै दइन्ीय लाग्यो । उनले व्यग्रताका साथ बारम्बार त्यो गफलाई अन्तै मोड्ने असफल प्रयास गरिरहे । उनले बुझेका थिए कि ती महिला आफ्नै वेदनामा डुबेकी छिन् र उनलाई उनको उपस्थितिबारे कुनै चासो छैन । यस्तो दुःखदायी वार्षिकीको बेला भेट्न आउनु उनका लागि निकै दुर्भाग्यपूर्ण सँयोग हुन गयो ।
‘डाक्टरहरूले मलाई पूर्ण रूपमा आराम गर्न सल्लाह दिएका छन् । दिमाखी उत्तेजना हुने खालका र शरीरलाई भार पर्ने केही पनि नगर्न सुझाएका छन्’, फ्रामटनले घोषणा गरे ।
‘तर आहार विहारको कुरामा भने उनीहरू के खान ठीक हुन्छ के हुन्न भनेर एकअर्कासँग सहमत हुन सकेनन्’, उनले थपे ।
‘ए, हो र?’, सेप्लेटँनले हाइ काढ्दै उत्सुकताविहीन लवजमा भनिन् । त्यसपछि भने उनी एकाएक निकै सतर्क र ध्यानमग्न देखिइन्, तर त्यो फ्रामटनको कुराप्रति थिएन ।
‘आखिर उनीहरू आइपुगे!’ हर्षले उनी चिच्याइन् । ‘ठ्याक्कै चिया खाने बेला पारेर । हेर त, यिनीहरू त पूरै आँखासम्म डुब्ने गरी हिलैहिलो भएर आएछन् ।’
फ्रामटन हल्का आत्तिए र सहानुभूति दर्शाउनलाई भतिजीतर्फ फर्के । तर ती सानी केटी पनि अवाक् भएर झ्यालबाहिर हेरिरहेकी थिइन् । उनका आँखाहरू त्रास र भयको उत्कर्ष अवस्थामा देखिन्थे । एकखाले वेनामे डरले लपेटिएका फ्रामटन त्यसपछि आफ्नो कुर्सीबाट फर्किएर सोही दिशातर्फ हेरे ।
गाढा बन्दै गइरहेको गोधूलि साँझमा तीन आकृतिहरू आँगन हुँदै झ्यालतर्फ अगाडि बढिरहेका थिए । उनीहरू सबैले आ–आफ्नो पाखुरामा बन्दुक भिरेका थिए र तीमध्ये एक जनाको काँधमा एउटा सेतो कोट झुन्डिएको थियो । स्पानियल जातको एउटा खैरो कुकुर निकै थकित देखिन्थ्यो र ऊ उनीहरूको खुट्टा वरिपरि झुम्मिएको थियो । उनीहरू कुनै आवाज ननिकालिकन घर नजिकै आइपुगे र त्यसपछि एउटा कर्कश जवान आवाजले गाउन थाल्यो, ‘बर्टी, ह्वाई डु यु बाउन्ड?’
त्रासले विक्षिप्त बनेका फ्रामटनले हतारहतार आफ्नो लट्ठी र ह्याट लिए अनि ढोका, आँगन र अगाडिपट्टिको गेट हुँदै त्यहाँबाट फटाफट कुलेलम ठोके । सडकमा साइकलमा आइरहेको एउटा व्यक्ति उनीसँग ठोक्किनबाट बच्नलाई साइकल कुनातर्फ मोड्न खोज्दा लड्न पुग्यो ।
‘हामी आइपुग्यौँ, मेरी प्यारी श्रीमती’, काँधमा सेतो कोट बोकेर आएको व्यक्तिले झ्यालबाट भित्र पस्दै गर्दा भने । ‘अलिअलि हिलो लागे पनि यो ओभानो नै छ । अनि हामी आउनेवित्तिकै टाप ठोक्ने को थियो त्यो?’
‘फ्रामटन नट्टेल नामका एक अचम्मलाग्दा मान्छे आएका थिए’, श्रीमती साप्लेटनले भनिन् । ‘उनले आफ्नो विमारीबारे मात्रै कुरा गरे र जान लागेँ भनेर एक वचन पनि नभनी भागे । उनी त भूत नै देखेजस्तो गरी डराएर टाप कसे ।’
‘मलाई लाग्छ उनी कुकुर देखेर भागेका हुन्,’ भतिजी केटीले सविनयताका साथ भनिन् । ‘उनले मलाई भनेका थिए कि उनी कुकुरहरूसँग त्रसित हुन्छन् । एकपल्ट उनी भारतमा हुँदा गँगाको किनारामा उनलाई नरभक्षी कुकुरको एउटा झुण्डले लखेटेको थियो । उनले त्यो रात त्यहाँको चिहानमा भर्खरै गाढिएको लाशसँग लुकेर बिताउनुपरेको थियो । रातभरि उनीमाथि विभिन्न राक्षसी जन्तुहरू गर्जने, उफ्रने, चिच्याउने र हो–हल्ल
मच्चाउने गरेछन् । यस्तो भोगेपछि त जसको पनि सात्तोपुत्लो जाने भइहाल्यो नि!’
छिनमै नयाँ नयाँ कुराको कल्पना गर्न सक्नु उनको विशेषता थियो ।

अनुवादः अनुप जोशी






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :