नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


शैलेन्द्र साकार

कायाकल्प

झुसिल्किरा जस्तो बिझाउँछ प्रकृति
हेर्दा कापकापमा र औंलाहरूमा चिलाउँछ
वाकवाकी लाग्छ घृणा पलाउँछ
त्यही झुसिल्किरा ... पुतली बन्छ
छिरबिरे मोहक गतिशील र चञ्चल ।

अनि प्रकृति फूलबारीमा निदाउँछ
कहिले सपनामा डाइनासोर बनेर
सुत्ने कोठाभरि घुमिरहन्छ-झम्टिरहन्छ ।

शिवजी हात्तीलाई कायाकल्प गर्नुहुन्छ
पुत्र गणेश बनाएर पुज्न लगाउनुहुन्छ
वंशजको नाताले नागरिक बनाउनुहुन्छ पशुलाई
दक्ष प्रजापति काटिएको बोका हाँस्नुहुन्छ
विष्णु शालिग्राम, पीपल भएर
मन्दिरमा एक्लै मर्नुहुन्छ
जालन्धर भएर बलात्कार गर्नुहुन्छ प्रभु ।

राक्षसहरू भ्यागुतो भएर
गड्यौला भएर, जागिरे भएर
भुसुंनो खाएर बाचिरहन्छ मान्छेभित्र
टेलिभिजन तरुनीहरूको पहाड बोकेर टाउकोमा
भूकम्प जसरी बज्रन्छ
भान्सामा बिरालोको नक्कल गर्दै
मानिस मुसा खोज्दै दौडिरहन्छ
बाघको मुखमा च्यापिएकी सुन्दरी भएर
प्रकृति फेरि झुसिल्किराजस्तो
मेरो मनमा चिलाइरहन्छ ।

मानिस टेलिफोनको रिसिभर कानमा टाँसेर
विश्वको सबैभन्दा अग्लो घरबाट
तल हिँडेको प्रत्येक अर्को मानिसलाई थुकिरहन्छ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु