नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


शशी लुमुम्बू

राजधानी प्रवेश

जिन्दगीजस्तो जिन्दगीको खोजीमा
एक दिन सखारै मैले गाउँ छाडेँ—

बाँधिराखेर गोठमा चौपायहरू
थुनिराखेर खोरमा पन्छीहरू
राखेर बाँझै पाखोबारी
सल्काएर डढेलो खरबारी.....

गुञ्जिँदै कानमा हाक्पारे–पालाम
एकादशीबजार र सङ्गिनी–बालन
रन्किँदै देहात झिझिया–सखिया
झलझली स्मृतिमा ल्होसार–साकेवा
कसरी भुलूँ र सङ्गी ! घाटु–सोरठी.....

चारकुने आँगनीमा छमछमी मारुनी
झङ्कृत भइरहन्छ देउसिरे–भैलेनी
मच्चिँदै आहालडाँडामा रोटे–लिङ्गेपिङ
बसुँला भन्थेँ नि आयो हिँड्ने दिन
घन्किँदै जोरमादल गर्रा–समला
पन्छाउँदै अहो ! बाआमाको ममता
रुवाइराखेर पिँढीमा सानी बहिनीलाई
पर्खाइराखेर डाँडामा छेउघरे ठूलीलाई.....

ओर्लेर ओलाङ्चुङ्गोलाबाट
फाँड्दै भुइँकुहिरोभित्र निगालोघारी
निस्किएर केचना–चेपबाट
पन्छाउँदै औलोको झाडी
झुन्डिएर जिन्दगी तुइनहरूमा
चढेर डुङ्गा अँधेरीघाटहरूमा
पहिल्याउँदै अक्करैअक्कर— स्वप्नमार्ग
दगुरी आएँ ताकेर स्वप्निल सहर.....

जिन्दगीको यात्रा—
घरि अलिकति तेर्सो
घरि अलिकति दम्साइलो
कहिले ओरालैओरालो
कहिले उकालैउकालो
खादिँएर खदार–खोँचमा कहिले
हराइगएर ढोँडेजङ्गलमा जहिल्यै
अलमलिएर गोरेटाहरुको गोरेटो
किनारैकिनार हङ्रायखोलाको
गड्तिरैगड्तिर अरुणनदीको
भासिँदै पाइताला बगरहरुमा
लड्खडाउँदै यात्रा डगरहरुमा.....!

कहिले रापिँदै चैतेघाम लेगुवा–रामरिठ्ठामा
कहिले बाफिँदै भदौ मझुवा–सतिघाटमा
तोडुँला भनेर अभावको कालो घेरो
बलैले छिचोली आएँ माङ्माया फेरो.....!

‘लै लै भारी छ माथि
अप्ठ्यारो बाटो ए, तोक्लाङ छ साथी
पीर कत्रो–कत्रो
आँसुको नदी ए, मजस्तो दुःखी’.....

फ्याँकिराखेर भैँसेमा खकन र तोक्मा
बिसाइराखेर पञ्चेचौतारोमा दुःखको ढाकर
चढाइराखेर देउरालीमा भाकल–पाती
पार गरिआएँ अनेकन साँगुरी भञ्ज्याड
अहो ! बलैले काटिआएँ ढाक्रेको जुनी.....!

बिताइयो नि हौ कति कष्टकर रात
कठ्याङगिँरदै ठिहीमा हिउँको आकाशमुनि
सुतियो कतिपटक एक झप्को निद्रा
लगाएर मूलबाटोमै ढुङ्गाको सिरानी
अरुणको धमिलो पानीमा
मस्काएर दाबिलोले कोदाको ढिँडो
उमालेर भुलुक्क गुन्द्रुक झोल
धानियो नि हौ कतिचोटि एक मुठी प्राण.....!

लागेर आगो म्याङलुङ–वसन्तपुर
फुटेर अनायस विपत्तिको सप्तकोसी
खसेर राजमार्गमै कृष्णभीर
पग्लेर सुङ्देल–जुरेपहाड
जगाउँदै भय प्रलय–कम्पन
छेक्न खोजेकै हो यात्रा मेरो
रोक्न चाहेकै हो गति मेरो.....!

तैपनि, लछारेर हुरी–बतासहरूलाई
झेलेर सहस्र झरी–बादलहरूलाई
छिचोलेर अनकन्टार सिस्नुको झ्याङ
बलैले प्रवेश गरेको छु राजधानी.....!

ए.....नागार्जुन !
सुनाइदेऊ खबर सिंहदरबारहरूलाई
भनिदेऊ —
दुर्गम गाउँबाट एक जना स्वप्नजीवी
जिन्दगीजस्तो जिन्दगी खोज्दै—
भर्खरै राजधानी आइपुगेको छ.....!!!

खेमराज गुरुङ सङ्कलित पूर्वेली लोकलयमा आधारित ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु