नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


शुभलक्ष्मी लम्साल

छोडी जानेलाई

उमङ्गको ध्वजा बोकेर
हिंड्दै थियौँ विजयको परेडमा
बीच लहरबाट कहाँ हरायौ ?

रङ्गीन किरणहरू लिएर
कि नयाँ सिर्जनामा लाग्यौ ?
कि बादलपारिको आकाशमा डुब्यौ ?
क्यानभास रित्तो पारेर
तिमी कहाँ बिलायौ ?

सपनाजस्तै
स्मृति मात्र चटक्क छोडेर
कि बाटो बिराएर
निर्मोही बनी कहाँ बहकियौ ?
दिनमा विलय हुने ताराजस्तै
कहाँ अदृश्य भयौ ?

नूपुरको छमछममा जीवनको झन्कार
सङ्लो ऐनामा अनन्त अनुहार
साक्षी थियो अग्नि, यी वनपाखाहरू
जनम जनम काट्ने
दु:खसुख बाँड्ने चाहनाको ।

प्रतीक्षा गर्न पनि अह्राएनौ
चर्केको ऐनाभित्र शून्य आकृति दिएर
बीच मझधारमा छाडेर तिमी कहाँ हरायौ ।

तिर्खा पनि छैन
तृष्णा पनि कहाँ छ र !
चिराचिरा परेको मुटुसँग
जङ्घारै जङ्घारको कठिन बाटोमा छोडी
क्षितिजको निस्तब्धता जस्तै
भन न शून्यमा कहाँ लुक्यौ ?

सायद ...
यो अपुरो परेड पूरा गर्नु छ
लड्खडाएको गोडाले
जोसिला स्मृतिहरू सङ्गालेर
आँसुको सिञ्चनले
मरुभूमिमा हरियो दुबो उमार्नु छ ।

उभ्याउनु छ, कङ्क्रिटको जीवनमा
निर्भय रूपमा अडिग
अग्ला र सग्ला स्तम्भहरू ।
हिँडाउनु छ, काँडैकाँडाको गोरेटोमा
फक्रन बाँकी फूलहरूलाई
जहाँ अझै मगमगाउनु थियो तिमीले
ती फूलको सुगन्धमा
अझै बात्तिनु थियो तिमीले
मनमोहक हरियालीमा ।

हो, अहिले पनि मसँग छ त्यो उर्वरता
हरदम साथ छौ तिमी
मेरो छाया बनी मलाई पछ्याइरहेको ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु