नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


सुमन पोखरेल

गर्मी

गर्मी आफ्नो उत्कर्षबाट अझ मास्तिर उक्लँदो छ,
मानौँ कसम खाएको छ तमाम थर्मामिटरहरू नफुटाइकन तल नओर्लिने।

हावा यता छिर्न मन गरिरहेको छैन,
बादललाई लिएर गएको छ कतै हनिमुन मनाउन
त्यसैले पानी पनि पर्न सकिरहेको छैन।

सूर्य भएभरको शक्ति लगाएर घाम बर्साइरहेको छ,
लादिरहेछ निर्ममतापूर्वक निरीह जीवनहरूमाथि आफ्नो एकोहोरो शासन।

मान्छेको शरीर र मस्तिष्कको सामञ्जस्यलाई भत्काइदिएको छ गर्मीले।
सिमसार भएको छ मान्छेको शरीर।
बौलाहा बाढीले जस्तो एकछत्त भिजाएको छ सम्पूर्ण शरीरलाई पसिनाले।

उसले छुट्टयाउन सकेको छैन छाला र रौँ,
र मान्छेको विचारलाई टाउकादेखि बगाउँदै पैतालासम्म पुर्‍याइदिएको छ।

पसिनाले तानेर जिउमै लपक्क टाँसिदिएको छ
करैले लगाउनुपरेका लुगाहरू पनि।
आजीवन अभिनयरत मान्छे
गाली गर्दो छ कपडाको आविस्कारकलाई।

झ्यालहरू भएर पनि नभएझैँ छन्
कुनै असफल राष्ट्रको सरकारझैँ।
पर्दाहरू हल्लिऊँ कि नहल्लिऊँ भनेर अलमल्ल छन्।

भित्ताहरू नभएको वैमनष्यको तातो फ्याँक्दै सिँगौरी खेल्दैछन्, आपसमा जुधौँझैँ गरेर।
कोठा आफैँमा बौलाएको छ आफैँभित्रको ताप खप्न नसकेर।
ओछ्यान तावाले झैँ राप फ्याँक्दो छ,
उठ्दैन गरेको मान्छेको जिउमा टाँसिएर भाग्न खोज्दो छ पसिनाले भिजेको तन्ना।

सिलिङ्पङ्खा आजित छ अधिकारविहीन नाम मात्रको कुनै निमित्त हाकिमजस्तै
उँधोमुन्टो झुन्डिएर निरन्तर हप्काइरहँदा पनि गर्मीले टेरपुच्छर नलगाएकामा।
टाउको निहुर्‍याएर अगाडि पर्ने जोसुकैको गाली सुन्दै घुमिरहेछ टेबुल पङ्खा
सरकारी अफिसको कुनै श्रेणीविहीन फाजिल कर्मचारीजस्तै।

बिजुली गएको छ योजनाकारहरूका बैङ्कखातामा लुक्न
र बच्चो रुँदैछ आमाको दूध चुस्न नसकेर गर्मीले।
स्वास्नीमाथि खन्याउँदैछ लोग्ने अनाहक
असफल योजना र गर्मीको पारो फुटेर निस्किएको असरविहीन तातो झोँकलाई।
स्वास्नीको लागि त्यो झोँक उसले भोगिरहेको गर्मीभन्दा ज्यादा तातो छैन।

उन्मत्त उम्लिरहेछ बाटाको पिच
मान्छेको धैर्य चर्काउने गरी थपिरहेछ हावामा तातो।

अस्तव्यस्त गफ्फिइरहेछन्
खेत रोप्न नपाएर फुर्सद पाएका आइमाईहरू रुखमुनि थुप्रिएर।
छेउमा बाँधेको बहर गोरु जान्न उत्सुक छ,
आइमाईहरूलाई जाडोमा मात्र लाज लाग्दोरहेछ कि कसो भनेर।
सम्भ्रान्त भनाउँदा आइमाईहरूका आफ्नै ऐनामा सीमित केही रहस्यहरू पनि
द्रुततर गतिमा सार्वजनिक भइरहेछन् गर्मीको निहूँमा।

पसिनाको चिपचिपाहटमा अल्झिएका छन् सबैका सीप र जाँगरहरू।
प्रेमी(प्रेमिकाहरू एकअर्कालाई टाढैबाट हेरेर चित्त बुझाउँदै छन्,
तमाम मोह र आशक्तिभन्दा ज्यादा शक्तिशाली भएर उभिएको छ
उनीहरूका बीचमा यो प्रचण्ड गर्मीको विकर्षण।

सूर्य आफ्नो वर्चस्व देखाउन तल्लिन छ अझै
र एकोहोरो चढ्दोछ छ गर्मीको घमण्ड।

यति हुँदाहुँदै पनि विश्वस्त छन् यहाँ बाँचिरहेका एकएक कणहरू
गर्मीलाई पछारेर अवश्य आउनेछ शीतलता भनेर।

अनुभव साक्षी छ,
निर्मम शासन गरेर कोही यहाँ धेरैबेर टिक्न सक्दैन।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :