नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


सुरेश हाचेकाली

सुन्दरेका बाउ

सुन्दरेका बाउ !
लिउन झरेको भित्तोजस्तै भइसक्यौँ हामी
हेर त,
छेपारी र नाडीका हरिया नसा,
स्वर्गलोकबाट पितृहरुले बोलाउन थालेजस्तो
सपना बिग्रिन थालेका छन् आजभोलि ।

सुन्दरेका बाउ !
हल्सारो सुनतारी गाईको एक लोहोटा मही
चामल पखालेको चौलानीजस्तै पातलो भएपनि
बचनसरी ल्याएकी छु ठूला मालिकका घरबाट
भुट्छु दुई घान ठेट्ना मकै
सँगिनी गाउँदै पिस्छु जाँतोमा
हुनेहरु त चौरासी व्यञ्जन खालान्
तर मेरो थोते बूढा
एक बटुको मही र सातु दिन्छु तिमीलाई ।

पचास वर्षभन्दा बढी
यही कुटिर उद्योगमा फलाम पिट्यौ
यही आरनले उत्पादन गर्‍यो
गाउँभरिका लागि बञ्चरो, खुर्पा, कोदालो र खुकुरी,
हिउँजस्तो सेतो मनका धनी सुन्दरेका बाउ
आरनको रापिलो आगोले
अँगारजस्तै कालो भयो तिम्रो छाला ।

मेरो मायाको बरगाछीमा सुस्ताऊ तिमी
तिम्रो मायाको बरगाछीमा सुस्ताउँछु म
हामीसँगै हामीजस्तै असक्त भयो यो आरन
तिम्रो श्रम र सीपको खोजीमा
पटक्कै आउन छोडे गाउँलेहरू,
महाभारत लेकभन्दा प...र
सौभाग्यको सुर्जे नउदाएपछि
कुहिरोको दोलाइँभित्र रुइरहेको डाँडाबाट
छोरी–ज्वाइँ माइतीससुरालीको जयकल्याण जप्दा हुन्
मुरीको धोक्रो काँधैमा बोकेर हिँड्न सक्ने
हाम्रो उमेरदारी छोरो
आँखाभरि घरको दुःख टिल्पिलाउदै
बिदेशी वागवानीमा फुलेको
गुलाफको फूल हैन काँडा टिपेर
स्वदेशी पैतालाको खिल कोट्याँउदो हो
र बुहारी माइतीघरमा बाख्रा चराउँछे ।

नातागतले उठ्नै नसक्ने भएका छौ तिमी
सुन्दरेका बाउ !
मालिकका घरमा बेहुली–भतेर छ कानेकोर्सी
एक बटुको तागतिलो झोल मागेर
आधा–आधा बटुको बाँडी खाउँला ।

बषौँ अघि
मभित्रको रुमानी ब्रह्माण्ड हल्लाउने तिम्रा प्रेमिल नजर
आफ्नै जोर हातका हस्तरेखा देख्न नसक्ने गरी
मोतीबिन्दुले कमजोर भएका छन् ।

नब्बे वर्षअघि
दुधिलो गाछीमा हलेसोले डिम्मा पार्दै गर्दा
यही वयोवृद्ध घरको ढिकी छेउ
आमाको कोखबाट तिमी
धर्तीको काखमा हस्तान्तरित भएका थियौ रे,
म पनि पचासीबाट उकालो लागेँ
त्यसैले त सुरु भएको छ
मसानघाटमा गएर टुङ्गिने ओरालोको यात्रा ।

फलामको राणाकालीन ताप्केमा
पाङ्दुरको कालो खोले छड्किरहेको बेला
मेरो मनको कसौंडीमा फत्किरहेको
भूमिगत दुःख
र भविष्यको पिरोलो
निष्ठुरी शासनलाई सुनाऊँ कि बहिरो देउतालाई ?

अम्बाको एउटै हाँगामा फलेका
दुइटा तुलफूलजस्ता हामी
तिमी नखसेकोले म अडिएकी छु
म नखसेकीले तिमी अडिएका छौ
समयको यस्तो हुरीबतास चलोस् कुनै मुहुर्त
र एकै पटक खुत्रुक्क खसौँ हामी
तिमी खसेको मैले चाल नपाऊँ
म खसेको तिमीले चाल नपाऊ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु