नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


टंक उप्रेती

३७२१

चिरिएका पैतालाबाट खसेको एक थोपा रगत
र त्यसले भिजेको एक टुक्रा माटो
लोती छिनेको भुक्के चप्पल जस्तो सपना,
मसान जस्तो घरमा एक्लै सुतिरहेको
खाली खाट,

आफ्नै आँशुको तलाउमा डुबेकी आमा
युवाको छाती जस्तो पत्थरको पहाडमा
दागिएका गोलीका दागहरु,
सम्पदाका भग्नावशेष

कालो बादलभित्र छिरिसक्नैलागेको
कल्पनाको जून

यति नै पर्याप्त छन्
ती दिनहरुको सम्झना गर्न,
कहिँ रहे पनि
कहिँ गए पनि
बिर्सन नसकिने ती कटु ३७२१ दिनहरु

बन्दुक मेरो थिएन
पत्थरको छाती पनि मेरो थिएन
तर दुई बिहान बिचको समय मेरो थियो
र रगतको खोला मेरो थियो

लतपतिएका रक्तरञ्‍जित शब्दहरु मेरा थिए
मसान बन्दै गएको घरबाट उठेका चित्कारहरु
मेरा थिए,
आँशु, रगत र आवाजका खोलाको
त्रिवेणी मेरो थियो
र त्यसबाट शुरु भएको नदी मेरो थियो

मेरा धमनीहरु प्रकम्पित थिए
म नदीबाट समुन्द्रमा हेलिएको थिएँ
नदीपारि लागेको आगो मेरो थियो
र म त्यसबाट भित्रभित्र जलिरहेको थिएँ

म अहिले पनि ती दिनहरुको प्रताडनाबाट
जलिरहेको छु
हातमा बल्छी लिएर बलिदानको हिमाल पछिल्तिर डुब्दै गरेको
सपनाको सूर्य उन्न
म आली आली दगुरिरहेछु
हातमा ढोक्सा बोकेर
थाप्न समाहामा बग्दै गरेको सपनाको सूर्य ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु