कविता:

तारा के.सी.
म बीस बर्षकी भएँ
म बीस बर्षकी भएँ मैलेजीवन बुझिसके नभन छोरी!
किताबको पाना पढेजस्तो
सजिलो छैन जीवन पढेर बुझ्न ।
गल्ली दोबाटो राजमार्गमा
पल्केका हुन्छन् ढुक्न गिद्धहरू
त्यहि बाटो खतराको साइरन
बजाउदै हिँड्छ जिन्दगी ।
त्यहि बाटोमा भेटिन्छन्
निर्मला पन्तका अभागी आमाहरू
त्यहि बाटोमा निदाएको हुन्छ न्यायलय
त्यतैतिर भेटिन्छन्
असुरक्षित साँझहरू
गोरेटोमा उभिएर अब
कसैलाई पर्खिन सकिँदैन
राजमार्गमा विश्वास साट्न पनि सकिँदैन
न्याय मूच्छाएको देशमा जन्मेर नभन छोरी!
म बीस बर्षकी भएँ ।।
मैले सबै कुरा बुझिसके
आखिर,
तिमीलाई थाहाँ छैन
घर जाने आउने बाटो
र
उखुको झाडीमा लुकेर बसेका राक्षसहरूको बारेमा।।