नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


उषा शेरचन

मैले चुमेको आकाश

‘आज मलाई मेरो जीवन सार्थक भएजस्तै लागिरहेको छ । समयले दिएको घाउलाई समयले नै पुर्दो रहेछ ।
मेरो विगतलाई सम्झेँ भने कलेजी नै नौ चिरा भएर आउँछ । तर आज भने मेरा ती घाउहरू सबै अनायासै पुरिएझैँ लागिरहेको छ ।
मलाई आज विश्वकै प्रसिद्ध एक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्दा मेरो छाती हर्षले गदगद भएको छ भने मेरो शिर गर्वले उठिरहेको छ ।
यो पुरस्कारले मलाई थप ऊर्जा प्रदान गरेको छ । थप काम गर्ने हौसला र जाँगर प्राप्त भएको छ । झन् थप जिम्मेवारी बोध भएको छ ।’
कैलालीजस्तो गाउँका साधारण महिला जसको पुर्खा–दरपुर्खा कमैया अर्थात् बधुँवा मजदुर हामी’ कम्लरी हाम्रो सम्पूर्ण दरसन्तान जमिनदारकै निगाहले बाँच्ने गर्थ्यो ।
प्रायः जमिनदारहरूले मजस्ता कम्लरीलाई उनीहरू जुनजुन ठाउँमा बस्थे त्यहीत्यही ठाउँमा लैजान्थे । तर हाम्रो जमिनदार भने त्यहीँ बस्ने भएकाले हामीलाई गाउँ छाडेर अन्यत्र जानुपरेन ।
जमिनदारसँग अन्यत्र जानुपरेका कम्लरीहरू भने गाउँ फर्किंदा प्रायः सबैले काखमा छोरा वा छोरी बोकेर आउने गर्थे भने बच्चा नल्याउने कम्लरीहरूले आखाँमा अश्रुधाराको कोसेली लिएर फर्कन्थे र भोग्नुपरेका भुक्तमानका रामकहानी सुनाइरहन्थे । कतिपयले दिनदिनभर मालिक्नीलाई रिझाउनुपर्थ्यो भने रातरातभर मालिक वा तिनका छोराहरूलाई ।
मलाई ‘असाध्यै राम्री छ, सुशील पनि, गरिबको घरमा पनि यस्ती साक्षात् लक्ष्मीजस्ती छोरी पाएको’ भनेर सबैले भन्ने गर्थे ।
जसले देखे पनि मलाई नराम्री भनेको थाहै छैन । हुन त हाम्रो समुदायका मान्छेहरूको छाला प्रायः कालो वा गहुँगोरो नै हुन्छ । तर अपवादस्वरुप मेरो गोरो छाला, चिटिक्क परेको अनुहार, ठूलाठूला आँखा र मिलेको जीउडाल देखेरै होला सबैले ‘कस्ती सिनेमाकी हिरोनीजस्ती’ भन्ने गर्थे ।
मलाई प्रायः ठिटाहरूले त हेर्ने नै भए । तर हाम्रा ती जमिनदार बूढाले समेत कस्तो कर्के नजरले खाउँलाझैँ गरी हेर्थे । बूढो भए पनि निकै पात्तिएको थियो ।
उनी मलाई रङ्गीचङ्गी रिवन, चुरा, किलिप र कपडाहरू दिइरहन्थे । ती सामानहरू लगाउँदा म झन् सुन्दरी देखिन्छु रे । कहिलेकाहीँ त चकलेट, बिस्कुट, नरिवल, काजु, किसमिससमेत दिएर पठाउँथे ।
जहिले पनि आमाबुबालाई भनिरहन्थे— ‘तेरी छोरीलाई राम्ररी पढा, धेरै घरको काममा मात्र नलगा, मैले दिएको सामानहरू राम्ररी लगा भन् ।’
म भने मनमनै सोच्ने गर्थें, हैन बूढोलाई के मतलब म पढूँ या नपढूँ ! राम्रो लाऊँ या नलाऊँ !
मेरा सँगीसाथीहरू भन्ने गर्थे,
— ‘तँ त कति भाग्यमानी, तेरो जमिनदार साहेबले तँलाई यस्ता राम्रा–राम्रा सामानहरू दिन्छ । हाम्रा त काममा गोरू जोताएजस्तै जोताइरहन्छन् । दिने बेलामा सिन्को पनि दिँदैनन् । तिम्रो साहेब त कति जाती, कति दयालु । हाम्रा साहेबहरूका त हात काटेर पनि रगत आउँदैन बाबै !’
— ‘तैँलेजस्तो राम्रा कपडा र सामान हामीले पाउने भए हामी कति रमाई–रमाई लगाउँथ्यौँ होला । खै, केही पनि लगाउन्नस् तँ !’
— ‘ए साँच्चै ! अस्ति दियो भनेको त्यो झुम्का खै–खै कस्तो रहेछ, देखा न !’
— ‘झुम्कासँग पाउजु पनि दिएको भन्या होइन ? खै हेरौँ न !’
— ‘यसपल्टको माघीमा लगा है !’
— ‘तँ नलगाउने भए हामीलाई दे न ! हामीले पाए के–के पो गरेर सिँगार्थ्यौं होला आफैलाई ?’
— ‘हुन त तेरो रुपै यस्तो बनाइदिएको छ भगवान्ले कि हामीले सोह्रशृङ्गार गर्दा र तैँले केही नगर्दा पनि तैँले नै हामी सबैलाई पछारिदिन्छेस् ।
यस्ता खालका कुरा साथीहरूले भन्याभन्यै गरेको सुन्दा वाक्कै लागेर आउँथ्यो आफूलाई भने ।
कहिलेकाहीँ त मलाई आफ्नो यो रुपलाई कतै लुकाउन मिल्ने भए पनि लुकाउथेँ होलाजस्तो लाग्थ्यो ।
जहिले पनि हबेलीको ठूलो साहेबले तँलाई पनि सँगै लिएर आइज भनेर भन्नुभएको छ मात्रै भन्नुहुन्थ्यो आमा ।
मालिकको आदेशलाई मैले अटेर गरेर नाघ्न खोजेमा ‘जमिनको धुलो हामी, जति उड्न खोजे पनि आकाश छुन सकिन्छ र छोरी ! उहाँहरूकै आश्रयमा जीवन धानिरहेका छौँ । आम्मै त्यत्रो मालिकले बोलाउनु भएपछि पनि जान्न भन्न मिल्छ र !’ मलाई बारम्बार आमा सम्झाइ रहनुहुन्थ्यो । त्यसैले नगई सुखै पाउँदिनथेँ । आफ्नो मनलाई मारीमारी अल्छी मान्दै जान्थेँ म ।
मलाई देख्नासाथ बूढोले आफ्नो बत्तिसी त देखाउने भइहाले । साथै उनले दिएको कुनै पनि कुरा नलगाएर गएको देखे सोधिहाल्थे, ‘खै ! मैले दिएको कपडा, झुम्का, किलिप, लाली, पाउडर, गाजल केही पनि किन नलगाएको ? हैन, कस्तो तरुनी बरुनीजस्तो पनि नभएको भन्या ? जति भने पनि नहुने यसलाई, के सबै कुहाएरै राख्ने हो र !’
हैन, त्यस्ता महँगा गरगहना लगाएर हामी कम्लरीहरू जाने नै कहाँ हो र ? फेरि देखाउने नै कसलाई हो र ?
मालिक्नीहरू पो गहनाले लादिएर बसे पनि सुहाउँछ । हामीजस्ताले त्यस्ता महँगा गहना लगाएर त झन् कागको बथानमा एक्लो बकुल्लाझैँ पो देखिन्थ्यो त ।
जुन काठको बोक्रा हो त्यही काठलाई पो सुहाउँछ, हामीजस्तालाई यस्ता गहना अर्थ न बर्थमा ल्याइदिएर के काम भन्ने लाग्थ्यो ।
उनी जहिले पनि भन्ने गर्थे, ‘यसपल्टको माघीमा तैँले सोह्रशृङ्गार गर्नुपर्छ है ! गाउँभरिका कम्लरीहरूमा तँ एक नम्बरकी देखिनुपर्छ । तँ अरुका जस्ती कम्लरी होस् र जमिनदारको पनि जमिनदारकी कम्लरी पो त !’
फेरि भन्थे, ‘अर्को माघीमा त झन् घाँटीमा लगाउने चाँदीको हासुली र कम्पनी पैसाको माला हालिदिन्छु ।’
म भने ‘मलाई इच्छै नभएका सामानहरू दिएर बूढालाई के मज्जा होला’ भन्दै भुनभुनाइरहन्थेँ ।
...बूढाले घरदेखि अलि परको फब्लेटोमा फेरि अर्को पक्की घर बनाउन थाले, मलगायत मेरो परिवारलाई राख्ने भनेर । त्यस्तो चुहिएको घरमा बसेर हामीलाई गाह्रो भएको देखेर बूढालाई दया लाग्यो रे ।
अब पक्की घर बनेपछि हामीलाई पनि भुइँमा ओछ्यान लगाएर सुत्ने नभई जमिनदार्नी मालिक्नीहरूका झैँ चारपाई बनाइदिने रे, त्यो सय ठाउँ टालेको डसना र कम्बललाई फ्याँकेर नयाँ किनिदिने रे भनिरहन्थे ।
जमिनदार बूढाले मेरा भाइहरूलाई पनि गाईभैँसीहरू चराउन छुटाएर स्कुल पठाउन थाले । त्यसो त मलाई पनि ‘राम्ररी पढ्, घरको काम त बिस्तारै सिकिहाल्छेस्’ भन्ने गर्थे भने ‘छुट्टीको दिनमा आमासँगै हबेलीमा आउनैपर्छ’ भनेर भन्न भने कहिल्यै भुल्दैनथे ।
जति नै सुख, सुबिधा र भौतिक सामान दिएर मेरो मन जित्न खोजे पनि मलाई भने हबेलीमा गएर बूढाको दर्शन गर्न मन लाग्दैनथ्यो । पहिलो कुरो त बूढाको हेराइ नै मन पर्दैनथ्यो । मलाई देख्नासाथ त्यसैत्यसै र्‍याल काढेझैँ लाग्थ्यो । फूललाई चुस्न आतुर भँमराझैँ लाग्थ्यो ।
त्यसैले होला मलाई बूढालाई भन्दा त पल्लो घरको जमिनदारको कमैयालाई हेरेर बस्न मन लाग्थ्यो । आहा ! उसको बलिष्ठ र मेहनती पाखुरामा बाँधिन पाए ! भन्ने मात्रै लाग्थ्यो । ऊसँग मलाई दिने केही हैसियतै नभए पनि उसको निश्छल मुस्कान नै पर्याप्त लाग्थ्यो ।
हुन पनि बिचराको अवस्था हाम्रोभन्दा गएगुजे्रको थियो । उसको जमिनदार असाध्यै छुच्चो मात्र होइन असाध्यै कडा पनि थियो । दिनभर गोरू जोताएजस्तै जोताइरहने, तर दिने बेलामा एक छाक भरपेट खाने र एक धर गतिलो लगाउनेसम्म पनि नदिने ।
त्यही फाटेको टोपी, दौरा र कछाडमा पनि म उसलाई कुनै राजकुमारभन्दा कम देख्दिनथेँ । उसलाई मात्र हेरुँहेरुँ लाग्ने, यसो कतै देखिहालियो भने पनि मनभित्र कताकता काउकुती लागेझैँ हुने, उसको चौडा छातीमा लुकूँलुकूँजस्तो मात्रै लाग्ने गथ्र्यो ।
उसलाई पनि थाहा भइसकेको थियो सायद म उसलाई लुकीलुकी हेर्ने गर्छु भन्ने कुरा । उसले पनि बेलाबेलामा कर्के आँखाले हेर्ने गर्थ्यो ।
कहिलेकाहीँ झुक्किएर आँखा जुध्न पुग्यो भने ऊ रगतै झर्लाझैँ गरी मुख रातोपिरो पार्दै, मुसुक्क हाँस्दै फेरि आफ्नै काम धन्दातिर लाग्थ्यो । मलाई भने उसको त्यही रुप असाध्यै मन पर्थ्यो । मनभित्र मायाको बाढी नै उर्लेर आउँथ्यो ।
एक दिन, बूढाले बुबालाई गाउँभन्दा बाहिरको काममा पठाए । आफ्ना तीनवटी श्रीमतीहरूको साथमा आमालाई हाटबजार खरिदारीमा पठाए । मलाई भने खाजा बनाउनुपर्छ भन्दै स्कुल जान दिएनन् ।
सबै गइसकेपछि भने बूढाले ‘ल आज म तेरै घरमा खाजा खान आउँछु’ भन्ने उर्दी दिए । मैले बूढाका लागि हाम्रै घरमा चियानास्ता तयार पारेर पर्खिरहेँ ।
बूढा पनि हँसिलो मुहार पार्दै खाजा खान हाम्रो घरमा आए ।
म चियानास्ता किस्तीमा राखेर ल्याउँदै थिएँ । ‘तेरै कोठामा लैजा म त्यहीँ बसेर खान्छु’ भन्न थाले । मैले पनि केही नबोलेर मेरै कोठामा खाजा लगिदिएको त केही सोच्नसमेत नपाउँदै बूढा ढोकाको चुकुल लगाउँदै बाघले झम्टेझैँ गरी झम्टिन पो आए बा !
मलाई बचाउको अवसरै नदिएर मेरो शरीरमाथि मनपरीसँग दाइँ पो हाल्न थाले । उनको बलियो बाहुपासबाट उम्कन लाख प्रयत्न गर्दा पनि विफल भएँ म । बाघको पन्जाभित्र परेको मृगझैँ निरीह भएँ म । मुठ्ठीभित्रको माखोझैँ छटपटाइरहेँ म ।
आफ्नो वासनालाई समेत पुरूषत्व सम्झने भ्रम पाल्ने ब्वाँसाको मुखभरि थुकिदिन मन लागेको थियो, तर शारीरिक र मानसिक पीडाले जिँउदै भुङ्ग्रोमा हालेको माछाजस्तै तड्पिरहेँ मात्र । त्यतिखेर मेरो शरीर मात्र नभएर मेरो आत्मासमेत रक्ताम्मे भएको थियो ।
हुने भए बूढालाई खुकुरीले नै छप्काइदिन्थेँ,
चुलेसीले माछा रेटेझैँ रेटिदिन्थेँ,
सिलौटाले हानेरे टाउकै फुटाइदिन्थेँ,
घाँस काटेझैँ हँसियाले गर्दनै काटिदिन्थेँ ।
बन्चरोले दाउरा चिरेझैँ चिरिदिन्थेँ, भलै जीवनभर जेलभित्रै सडेर मर्न किन नपरोस् !
तर के गर्नू ? म मात्रै भए पो त ! मेरो जीवनसँगै मेरा निर्धन बाबुआमा र मेरा अबोध भाइहरूको जीवन पनि त गाँसिएको थियो । उनीहरूको सिङ्गै जीवन र भविष्यको सबाल थियो मेरासामु ।
हामी त बँधुवा मजदुर रे,
उनलाई हामीमाथि जे गर्न पनि छुट छ रे,
कानुनले पनि उनलाई केही गर्न सक्दैन रे,
म मात्रै के ? मेरो पूरै परिवारमाथि उनको हक लाग्छ रे,
मान्छे भए पनि उनले किनेको सम्पत्ति रे हामी ।
हामी वस्तुजस्तै हो रे ! जतिखेर जसरी प्रयोग गर्न मन लाग्छ त्यसरी नै प्रयोग गर्न हुन्छ रे हामीलाई ! जे गरी भोग्न मन लाग्छ त्यसरी नै भोग्न मिल्छ रे !
हुन पनि कुरो ठिकै हो । एक प्रकारले कानुनको सहारा लिन जाऊँ भने पनि कुनै कानुनै छैन भने पनि भो हाम्रा लागि ।
समाजमा गएर सुनाऊँ भने पनि उल्टै मलाई नै छि.....छि र दूर... दूर गर्ने मात्र हो । बलेको आगो नै त ताप्ने त हुन् सबै । हामीजस्तो निभेको आगो ताप्ने कसले ?
‘हे भगवान् ! हामी निर्धनलाई सुन्दर रुपै नदिनू, यदि रुपै दिने हो भने यसरी निर्धन बनाउँदै नबनाऊ’ भन्दै कति रोएँ म एक्लैएक्लै ।
बूढापाकाले आइमाईको रुपै शत्रु रुपै मित्रु भनेको त साँच्चै हो रहेछ । आज मलाई मेरै रुप शत्रु भएको छ । आफ्नो रुप देखेर खुसी हुनुको साटो यसरी भक्कानिएर रूनुपर्ने रुप पनि के काम भन्दै धिक्कारेँ आफूलाई । तर . . .
यसरी आफूलाई धिक्कार्दै रोएर बस्दैमा समस्याको समाधान हुन सक्छ र ! . . . निकै बेर सोचिरहेँ । सोच्दासोच्दै मनले एउटा ठोस निर्णय लिन पुग्यो ।
मैले जे गुमाउनु परे पनि म मेरो आत्मालाई मारेर मेरो परिवारमाथि कुनै आँच आउन दिने छैन । यही सोचका साथ मेरो शारीरिक र मानसिक पीडालाई शक्तिमा बदल्ने निर्णय गरेँ र मनलाई बलियो गरी बाँधेँ अनि आफैले आफैलाई सम्हाल्दै उठेँ ।
धारामा गएर शिरदेखि पाउसम्म भिज्ने गरी चिसो पानी थापिरहेँ, धेरै बेर । आफ्नो घाइते तनमनबाट बगेको रगत पखालिरहेँ ।
साँच्ची भनूँ भने त्यस दिन मलाई आफूसँग मात्र होइन त्यो कोठासँग पनि घिन लागेर आएको थियो ।
‘हैन, घरमा तीनतीनवटी स्वास्नी रोजी छानी हुँदाहुँदै पनि कस्तो नअघाएको पातकी मोरो ! त्यसलाई हरियो बाँसले तनक्क तन्काएर लैजाने दिन पनि कहिले आउला ?’ भन्दै सरापिरहन्थेँ म ।
एउटा पीडाबाट उम्कन नपाउँदै मनभित्र फेरि अर्को पीडाले जन्म लिइसकेको थियो ।
ओहो, म गर्भवती भएँ भने !
समाजले पनि मैमाथि औँला ठड्याउने छ ।
यो कस्तो नियम हो समाजको ? जसको शून्य प्रतिशत पनि हात हुँदैन, उसले भने जीवनभरि धुनै नसकिने दाग बोकेर समाजमा घृणाको पात्र भएर जीवनभरि बाँच्न अभिशप्त हुनुपर्ने । जसको शत–प्रतिशत हात हुन्छ; उनीहरू भने छाडा साँढेझैँ समाजमा शिर ठाडो पार्दै हिँड्न पाउने र फेरि मजस्ता अवलाको खोजीमा चारो हाल्दै जाल थापिरहन पाउने ।
यसरी अवैध सम्बन्धबाट रहन गएको गर्भलाई जन्माउने हिम्मतै गर्न सक्दैनन् मजस्ता पीडितहरूले वा बच्चा जन्माएर फ्याँक्न बाध्य हुन्छन् मजस्ता कुमारी आमाहरू ।
तपाईंहरू आफै भन्नुहोस्, यसरी बलात्कृत हुनुमा मेरो हात कहाँ छ ?
बिनाकसुर यसरी सजाय भोग्नुपर्ने नियति नै हो त हामीहरूको ?
यस्तो असमान नियम बनाउने समाज के दोषमुक्त छ त ?
लुकाएर लुक्ने कुरा पनि भएन, सबैले केरकार गर्दा मैले त्यो असत्ति बूढो नै हो भनेर पोलेँ भने पनि मेरो आवाज समाजको कानसम्म पुग्ने होइन । कथंकदाचित् पुगिहाले पनि पत्याउने हो कि होइन । मनमनै थाहा भए पनि कसैले मुख खोल्ने छैनन् क्यारे । सबै बूढाको कृपामा बिकिसकेकाहरू मात्रै त थिए त्यो समाजमा पनि ।
मजस्तै कैयन् कम्लरीहरू आ-आफ्ना जमिनदारका सिकार भएर गर्भवती भएकाहरूलाई कुनै न कुनै कमैयासँग भित्रभित्र नगद दिएर टाँसो लगाएर पठाइदिने कुरा समाजमा छिपेको थिएन ।
प्रायः कम्लरीहरूलाई मालिकहरूले पहिलो गाँस बनाउँछन् वा जूठो पार्छन् र पछि त्यही जूठो अरुलाई दिन्छन् भनेर प्रायः सबैलाई थाहा छ । मलाई पनि त्यसै गर्न के बेर ?
यदि म गर्भवती भएर मैले बच्चा जन्माउने निधो गरेको भए पनि यो समाजमा मैले कुमारी आमा हुनुको व्यथा बोकेर जीवनभर घृणाको पात्र भएरै बाँच्नुपर्ने वा अरुसँग टाँसो लाग्नुपर्ने कुरा आफ्नो ठाउँमा थियो भने मेरो कोखबाट जन्मेको बच्चाले पनि बिनाबाबुको झामरे छोराको पदवी बोकेर जीवनभरि मानसिक यातना सहेर बाँच्नुपर्ने वा सौतेनी बाबुको घृणा सहेर बाँच्नुपर्ने कुरा अर्को ठाउँमा थियो ।
यदि छोरी जन्मिछ भने त झन् मजस्तै कम्लरी भई जीवनभर पीडाको पहाड बोकेर बाँच्नुपर्ने कुरा निश्चितै थियो । म अन्यौलमा परेँ, बच्चालाई जन्म दिऊँ कि नदिऊँ ? ... अन्ततः मबाट जन्मने बालकलाई जीवनभर मानसिक यातना दिनुभन्दा आफ्नो कोख बाँझैँ राख्नुमा नै बुद्धिमानी सोचेँ मैले ।
यसै मेसोमा सरकारले हामीजस्ता बँधुवा मजदुर अर्थात् कमैयाहरू मुक्त भएको घोषणा गर्‍यो ।
उक्त घोषणाले मेरो बुबाहरूजस्ता कैयन् कमैयाहरूको समुदायभित्र खुसीको लहर छायो ।
पुस्तौँ देखि आफ्नो पहिचान गुमाएर बाँच्नुको पीडाबाट बल्ल मुक्ति पाइयो भन्दै कतिले त आफूसँग भई–नभई ऋणै काढेर पनि भोज खाएर हर्षोल्लास मनाए ।
खुसीको लहर जसरी उठ्यो उसै गरी बिलायो पनि । प्रशस्त गृहकार्यबिनाको बेमौसमी घोषणाले मुक्त कमैयालाई झन् ‘धोबीको कुकुर घर न घाटको’ बनायो । हचुवाको भरमा घोषणा गरेर ककसले आ-आफ्नो राजनीतिक फाइदा बटुले कुन्नि, तर हामी कमैयाहरू भने उल्टै बिचल्लीमा पर्‍यौँ ।
पल्लो घरको छुच्चो जमिनदारले उसलाई पनि मुक्त गरिदिए । आफ्ना ससाना भाइ–बहिनीसहित खोलाको तीरमा छाप्रो हालेर सरे । उनीहरूजस्ता अन्य थुप्रै कमैयाहरूले पनि त्यही खोलाको किनारमा छाप्रो हाल्दै सर्दै गर्न थाले । कुन दिन बाढी आएर ह्वात्तै बगाएर लैजाने हो, कसैलाई पत्तो छैन ।
एकातिर यो घोषणाले गर्दा कमैयाहरूलाई जमिनदारहरूले पनि आफूहरूकहाँ राख्न डराएर धमाधम निकाल्न थाले भने अर्कोतिर राज्यले न गाँसको व्यवस्था नै गरिदियो न त बासको नै व्यवस्था गरिदियो ।
कमैया हुँदा त कमसेकम चुहिएकै सही सानोसानो शिर ढाक्ने छानो त थियो, मुक्तिको घोषणाले त्यो पनि खोसियो । आधा पेटै सही अन्न त पाइन्थ्यो, त्यो पनि हरायो ।
जाडोमा शीतलहरीसँग जुध, वर्षामा बाढीसँग लड भनेझैँ गरी उल्टै बिचल्लीमा पार्‍यो सरकारले ।
हाम्रो परिवारलाई भने जमिनदारले हामी बसेको घर मेरै बुबाको नाउँमा नामसारी मात्र गरिदिएनन् लालपुर्जासमेत दिलाए । त्यसैले हाम्रो परिवार मात्रै त्यहाँबाट अन्यत्र सर्नु परेन ।
तर मलाई भने त्यो घरले शीतलता दिनुको साटो सधैँसधैँ आरनमा राखेको फलामले झैँ तातोतातो राप मात्र दिइरहन्थ्यो । त्यही रापले पोलिँदै–पोलिँदै कुनै न कुनै दिन कुन्दन बन्नेछु भन्ने अठोट भने मनमनै लिएकी थिएँ ।
हाम्रै भूमि सबै खोसेर उल्टै हामी भूमिपुत्रलाई भूमिहीन पारेर हाम्रो अधिकार सबै खोसेर उल्टै हामीमाथि नै शोषण गर्नेहरूप्रति भित्री मनदेखि प्रतिशोधको ज्वाला पनि दन्किरहेको थियो ।
.......त्यो पक्की घर मेरो लागि धुनै नसकिने दाग भएर अर्थात् पक्की रङ भएर मेरो मन–मष्तिष्कमा बसिरहेको थियो । कहिल्यै निको नहुने घाउ भएर छातीभरि पिपैपिप जमिरहेको थियो ।
मैले मनपराएको त्यो कमैयालाई आफूकहाँ राखेर वा ऊसँग विवाह गरेर बूढालाई इख्याउन मन लागेको थियो ।
जमिनदारकी रखौटी हुनुभन्दा त्यो गरिब कमैयाकी दुलही भएर जीवन बिताउन चाहन्थेँ म ।
मेरा चाहना, सपना, रहर र इच्छा सबैसबै जमिनदारको वासनाको बलिमा चढिसकेका थिए ।
तर मैले साह्रै माया गरेको व्यक्तिसँग विवाह गर्ने मेरो धोकोलाई पूरा गर्न वा आफ्नो स्वार्थपूर्ति गर्न उसैसँग झूठ बोलेर उसैलाई धोका दिन यो मनले मान्दै मानेन । साँचोसाँचो कुरा भनौँ भने मेरो इमानदारीलाई उसले सजिलै पचाउन सक्ने हो वा होइन भन्ने दोधार पनि कायमै थियो ।
मेरो अस्मितामाथि नै आक्रमण गरेर घायल पारेको दिनदेखि मलाई लोग्नेमान्छेको जातैदेखि घृणा लागे पनि त्यो कमैयालाई मात्र किन घृणा गर्न सकिनँ मैले ! जति नै बिर्सने कोसिस गर्छु भन्छु, झन् उतिउति मेरो मन आकाशमा उदाउन आइरहन्थ्यो घरीघरी ।
ऊसँग मात्रै किन पराजित भएँ म ! आफैलाई थाहा भएन ।
उसलाई सबै कुरा खुलस्त भनेर उसले पनि मसँग विवाह गर्न मान्छ नै भन्ने पनि के ग्यारेन्टी भो र ! गरिबै सही आखिर ऊ पनि त लोग्नेमान्छे नै हो भन्ने सोच आएपछि मैले सबै कुरा भुल्ने प्रण गरेँ अझ धेरै पढेर मजस्ता असहायहरूको सेवामा जीवन अर्पण गर्ने अठोट गरेँ । सबैमा चेतना फैलाउने विचार गरेँ ।
मैलेजस्तो अभिशाप मेरा भावी पिँढीहरूले फेरिफेरि भोग्नु नपरोस् । अबउप्रान्त कोही पनि कम्लरीहरू र असहाय महिलाहरूले कुनै पनि जमिनदार वा पुरूषको वासनाको सिकार हुन नपरोस् भन्ने कामना गर्दै उसको माया र सम्झनालाई समेत कसिङ्गर नै सम्झेर मेरो मनको सबै कुनाकाप्चाहरू बढार–कुँढार गरेर मनैबाट निकालेर फ्याँकिदिएँ ।
त्यस दिनदेखि एक मन र एक चित्तले पढ्न थालेँ र पछि मजस्ता असहाय महिला र बालबालिकाहरूको सशक्तीकरणका लागि कटिबद्ध भएर जनचेतना फैलाउँदै तिनीहरूको सीपको विकास गराउँदै आय आर्जनको बाटो देखाउन थालेँ ।
जुन कार्यले मलाई व्यस्त मात्र बनाएन कि मभित्र लागेको चोटसमेत केही हदसम्म बिर्सन मद्दत गर्‍यो । बिनास्वार्थ त्यसरी लाग्दा मलाई असीम सन्तुष्टि मिल्न थाल्यो र म अविश्राम लागिरहेँ ... हिँडिरहेँ ...।
यसरी निःस्वार्थ समाजसेवा गरेबापत कदरस्वरुप आज म यो अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल भएँ ।
मैले मेरो समुदायको मात्र नभएर देशकै इज्जत विश्वसामु राख्न सकेँ । देशको मान विश्वमाझ बढाउन सकेँ । यही नै हो मैले चुमेको आकाश ।






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु