सम्पादन–परिदृश्य
कतै कला–साधकको श्राप नलागोस् देशलाई…!
आज अचानक नेपाली साहित्यका एक तपस्वी साधक प्रा. डा. गोविन्दराज भट्टराईको एक वाक्य “सत्ताधारीलार्इृ साहित्य–कला साधकको श्राप लाग्न सक्छ” भन्ने कलासाहित्य साधकको उपेक्षित स्थितिलाई लक्षित गर्दै दुःखले मन गर्जिँदाको आहतपूर्ण वाक्यको पूर्णविरामसँगै म पनि टक्क रोकिएछु! मुटु नै निचोरेर रगतले लेखेजस्तो अनुभूतिको गहिराइलाई सतहमा बसेर निहुरिएर नियालिरहेँ अनि विचारको गगनभेदी उचाइलाई फेदीबाट शिर उठाएर तेस्रो आँखाले जहाँसम्म सीमा कोर्न सक्यो त्यहीँसम्म पुगेर चेतनाको झन्डा फहराइरहेँ। कतिखेर–कतिखेर आँसु हृदयको बाँध भत्काएर हुङ्कार गर्दै बाढी बगिसकेछ, पत्तै भएन। अनि कतिखेर मेरा आँसुको त्यही भेलबाढी आँखाबाट उँभो उक्लेर मस्तिष्कलाई हायलकायल बनाइसकेछ त्यो पनि पत्तै भएन। तारहरू घाइते होउन्जेल मनभरि समभावको सारङ्गी रेटिइरह्यो…!! रेटिइरह्यो…!!! लखतरान म, श्रद्धाले तपस्वी गुरुका पाउमा आँसुको अर्घ्य बनेर बहिरहेँ…!! बस् बहिरहेँ ...!!!
वास्तवमा सारा सृष्टिकै कुशल महान् योजनाकार प्रकृतिसँग मान्छेले आँखा जुधाएर अस्तित्वको दाबी गर्न सक्ने क्षेत्र भनेको कला–साहित्यसंस्कृति नै हुन् जस्तो लाग्छ; जसलाई प्रतिष्ठानका संरक्षक एवम् कवि बिमल कोइरालाका शब्दमा भन्दा कला–साहित्यसंस्कृति भनेको समाज, राष्ट्र, विश्वजस्ता दृश्य संरचनालाई स्वस्थ र शालीन रूपमा चलायमान बनाउने सफ्ट पावर हो न कि मन लाग्दा लगाइने र मन नलाग्दा थन्क्याइने सोकेशमा सजाइएका गहना । बाहिर नदेखिने यो सफ्ट पावरको शक्तिमाथि अविश्वास गर्नु, अवमूल्यन गर्नु भनेको त देखिने शरीरलाई मात्र सत्य ठानेर शरीरलाई चलायमान् वा जिउँदो राख्ने चेतनशक्तिलाई तिरस्कार गर्नु हो। यसर्थमा कुनै पनि राष्ट्रका साहित्य–कला साधक भनेका त्यस राष्ट्रका आत्मा हुन्। आत्माबिनाको राष्ट्र त ढलेको मुर्दा शरीरबाहेक अरू के नै हुन्छ र!
यहाँ हात्तीका देखाउने दाँतझैं प्रज्ञाप्रतिष्ठानहरू सङ्ख्यात्मक रूपले बढेर अब त वडासम्मै पुग्न लागिसके, तर प्रज्ञा र प्राज्ञिक कर्म बढेनन्। मात्र झोलेहरूको भर्तीकेन्द्र बने। भर्तीकेन्द्र बनाइँदा त्रिभुवन विश्वविद्यालयको हालत जगजाहेर छ। डा. भट्टराईकै भनाइअनुसार सत्ताधारीहरू अधिनायकवादी बन्दुके चेतना र स्वार्थभन्दा माथि नउठेसम्म अनि तिनीहरूका पछि कुद्ने झोलेहरू छीँड नपरेसम्म या कलासाहित्यको बालीमा वनमाराको अवशेष रहेसम्म उपेक्षा खपेर पनि कम्तीमा आजसम्म तपस्यामा लीन तपस्वी साहित्यकला साधकको निस्वार्थ जीवन समाज र राष्ट्रलाई अर्पित गरेको यहाँ कसले देख्ने! वास्तवमा साहित्यकला साधकको रक्षा गर्ने त जहाँ पनि सत्ताधारी सरकारले नै हो। विचार र सिद्धान्त आ–आफ्ना होलान्, तर सत्ता कुनै एक पार्टीको निजी सम्पत्ति नभएर आम जनताको हो। यद्यपि यहाँ यो सम्भव नदेख्दा कतै सत्ताधारीकै कारण साहित्यकला साधकको श्राप नलागोस् देशलाई!
आखिर समाजमा विद्यमान यस्ता अँध्यारा सत्यहरूको उजागर गर्ने फेरि देवत्वको आसन प्राप्त उही कलासाहित्यले नै त हो! यसरी जीवनका यिनै सत्यका संवाहक मानिने कलासाहित्यको सम्मान र उत्थानमा हरतरहले समर्पित संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको विशेष प्रयत्न अनि आत्मजनको सहयोगले कलाश्री नामक छपाइ पत्रिकालगायत नेपाली कला, साहित्य, सङ्गीत सम्बद्ध विशुद्ध वार्षिक ई–पत्रिका केही सम्पादित पुराना प्लस केही नयाँ सुरुचिपूर्ण सामग्रीहरू लिएर पुनः उही अङ्ग्रेजी र नेपाली भर्सनसहित www.nepalikalasahitya.com / www.nepaliartnliterature.com को पन्ध्रौँ अङ्क यहाँहरूमा समर्पण गरिएको छ ।
सत्यमा जीवनको सुगन्धलाई कैद गर्न नसके पनि यथार्थतः जीवनको रङग उतार्ने इन्द्रेणी शब्दलाई सलाम! यो सृष्टिमा जति अँध्यारो छाए पनि उज्यालो सम्भावनालाई साक्षी राखेर अँध्यारोमा शब्दको आतसबाजी उतार्ने स्रष्टालाई सलाम! यिनै उज्यालो सम्भावनायुक्त सम्यक् कर्मको जीवन्त साक्षी बन्न पुगेको छ— कलाश्री साहित्य वार्षिक एवम् यो ई पत्रिका www.nepalikalasahitya.com / www.nepaliartnliterature.com आस्था र विश्वासको जीवन्त स्मारक बन्ने छ भन्ने गर्विलो विश्वास लिएका छौँ। यसमा सत्कर्मयात्राका जीवन्त सारथि नेपाली कलासाहित्य डट कम प्रतिष्ठानलाई एनएलजीको स्नेहिल साथ स्रष्टाजगतमा सदा अविष्मरणीय रहने छ।
यसरी सिर्जनाका माध्यमबाट जीवनको सम्यक् लयको आविष्कारमा साथ दिनुहुने सम्बद्ध सबै आत्मजन एवं सहृदयी स्रष्टाहरूप्रति नेपाली कलासाहित्य डट कम प्रतिष्ठान सम्मानभाव अर्पण गर्दछ । त्यसमा पनि अनुवादजस्तो कठिन कार्यमा सप्रेम साथ दिइरहनुभएका जुझारु स्रष्टाहरू महेश पौड्याल र सुमन पोखरेलप्रति विशेष आभार व्यक्त गर्दछ।
सदा सुन्दर जीवनका लागि सदा साहित्यकला साधक र साधनाकै पक्षमा...
- मोमिला