नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विश्वसाहित्य:


विकास प्रकाश जोशी
(भारत)

मेरो आफ्नै अनुहार, अन्य कसैको होइन (कथा)

दर्शकहरुको स्वास ठ्याम्मै रोकिएको जस्तो र हृदयको स्पन्दन ह्व्वातै बढेको भएको थियो । उनीहरु सुरुदेखि नै यस्तै लोमहर्षक अवस्थाको पर्खाइमा थिए । सेप्टेम्बरको महिना, मिरमिरे बिहानीको बेला थियो, पुणेको खड्की फुटबल मैदान दर्शकहरुले खचाखच भरिएको थियो । चारैतिर भिडी हाल डिस ! रोयल अगाडि बढ ! जस्ता नाराहरुबाट खेल मैदान गुंजयमान थियो । दर्शकहरु उत्तेजित भई कण्ठै फुट्ने गरी कराउँदै थिए ।

असलमा, सो खेल मैदानमा १३ बर्षमुनिका स्कुले बच्चाहरुको फाइनल फुटबल म्याच चल्दै थियो । डायमण्ड इन्टरनेशनल स्कुलको तर्फ गोलकिपर, सिनामन परनजापेले गोलकिपरले लगाउनु पर्ने विशेष खाले पंजा र हरियो जर्सीलाई मिलाउँदै नङ्ग चपाउन थाल्यो । यतिखेर प्यानल्टी किकबाट आफ्नो गोलपोष्टलाई जोगाउन कति जरुरी छ भनेर ऊ राम्ररी बुझेको थियो । डिआईएस एक अंक अग्रस्थानमा अगाडि रहेको कुरो स्क्रिन बोर्डमा देखाउँदै गरेका कुल अंक २:१ बाट प्रष्टै बुझ्न सकिन्थ्यो । एक दसकको समयावधिमा पहिलो पल्ट हो, डिआईएसले आरएनए (रोयल नेशनल एकेडमी) जस्तो च्याम्पियनलाई पछारेर च्याम्पियनसिप आफ्नो हातमा पार्ने सम्भावना बढेको छ ।

खेल मैदानको बायाँपट्टि आरएनए समुहका खेलाडीहरु आफ्नो समुहको प्रतीक, बैगनी रङ्गको सर्ट, मोजा र कट्टुको आवरणमा उभिएका थिए । आर्को पट्टि कक्षा ६ का डिआईएस समुहका खेलाडीहरु गाढा हरियो रंगको स्टाइलिश खेलाडी पोशाकमा मुस्तैद थिए । आफ्नो समुहका समर्थक, हरियो रङ्गले सरोबर अभिभावक तथा साथीहरुलाई एक छिन नियाल्ने मनसायले रोशनले आफ्नो बायाँतिरको दर्शक दिर्घातिर मुण्टो फर्कायो । पानीको बोत्तल, केरा, खेलाडीहरुले पिउने पेय पदार्थ– गाटोरड र इलेक्टोलाइट्स इत्यादिजस्ता सामग्री पनि उनीहरुले आफुसँगै ल्याएका थिए ।

उसका व्यग्र आँखाले हरियो पोलो टि सर्ट तथा जिन्स पैंट लगाएका उसका बाबालाई फेला पारी हाले । उनकै छेउमा सेतो कमिज र हरियो सुरुवालमा आमा पनि बसेकी थिइन्, पुरै जोस जाँगरका साथ निकै उँचो स्वरमा हौस्याउँदै थिइन्, “जाई लाग सिनामन ! भिडी हाल सिनामन !” आफ्ना दाहिने हातका दुई औला मुखभित्र पार्दै उनले ठूलो स्वरमा सिटी बजाइन् । पल्लवी, उसकी सर्वाधिक प्रिय साथी बाबाको छेउमै बसेकी थिई, “इष्ट ओर वेष्ट, डिस द वेष्ट” लेखिएको प्लेकार्ड उत्साहपुर्वक हल्लाउँदै थिई ।

ऊ अगाडितिर हेर्यो । खेल मैदानमा कैप्टेन हरप्रित, छोटा सिद्धु, आफ्नो समुहका सर्वश्रेष्ठ प्रतिरक्षक खेलाडी ओनाम कुट्टी तथा डिआइएस फुटबल समुहका अन्य खेलाडीहरु तैयारी मुद्रामा व्रmमबद्ध उभिएका थिए । कोच सेट्टी पनि उकुसमुकुस बढेर होला, आफ्ना औलाका नंग चपाउँदै थिए । सबैजना ठूलै तनावमा रहेछन् भन्ने कुरो उनीहरुको अनुहारमा प्रष्ट देखियो । सुईई.....लामो स्वास लिँदै उसले मनमनै प्रार्थना गर्यो । आएएनए समुहको सर्वश्रेष्ठ स्ट्राइकर, रिशव केसवानी प्रतिरक्षक खेलाडी समुहतिर प्यानल्टी कर्नर बाँल हान्न तत्पर देखियो । पुरा टुर्नामेण्टमा सर्वाधिक गोल हान्ने एक मात्र खेलाडी रिशब नै हो । “हान दे, रिशब ! ठोक दे रिशब !” उसका समुहका सम्पूर्ण खेलाडीहरु उत्तेजित भएर तिखो स्वरमा चिच्याउँदै थिए । रिशबले कपाललाई औलाले चलायो । समान्यतया उसको कपाल काईयोले सर्लक्क मिलेको हुन्छ, तर यतिखेर पसिना र खेलको धपेडीको कारणले बिग्रेको थियो ।

सिनमनको मानसपटलमा कोच सेट्टी सरले भनेका कुरा बारम्बार दोहरिँदै थिए, “सदैव याद राख्नु, रिशब प्रायःजसो कि त सबैभन्दा माथि, कि सबैभन्दा तल, तर बाँया कुनामा नै पर्ने गरी बाँल हान्ने गरेको छ । उसको बायाँ अर्थात तिम्रो दायाँ हो, हेक्का रहोस् ।” सिनमनले एक लामो स्वास लियो, अगाडितिर अलिगति निहुरिँदै दुबै हातका औलालाई आफ्ना जंघाउपर दरिलो पारामा टिकायो । कौतुहलले ओतप्रोत दर्शकहरु आफ्नो स्थानबाट उभिए ।

थम्प !

बडो आत्मविश्वास एवं तत्परताका साथ ऊ दायाँतिर हाम फाली सकेको थियो । गोलपोष्टको सेतो लठ्ठाको छेउमै ऊ नराम्ररी भुईमा बजारियो । मानौं एक छिनको लागि समय नै रोकिएको थियो ।

भुईबाट उठ्दासम्म रिशबको अनुहार हेरेर ऊ परिणाम बुझिसकेको थियो ।

उसका हातलाई मात्र होइन, सारा शरीरलाई नै रिशबको तिब्र किक र भुईको कठोर चोट खप्नु परेको थियो । उसको चोटबारे टाउको नदुखाउँदै स्कुल क्याप्टेन हरप्रित ऊतिर उफ्रिँदै आयो, “बधाई छ, लम्बु दास !” जोरले चिच्याउँदै ऊमाथि नै जाई लाग्यो र उसलाई जोरले अंकमाल गर्यो ।

“बधाई छ, सिनमन !”

“गोलकिपर कस्तो हुनु पर्यो ? सिनमन जस्तो !”

यस्ता नारा उसका कानको निमित्त कुनै मधुर संगितभन्दा कम्ति थिएनन् । झण्डै एक दसकपछि, डिआईएसले फुटबल च्याम्पनसिप आफ्नो पोल्टोमा तान्न सफल भएको थिया । कोच सेट्टीले उसलाई आफ्नो काँधामा उचालेर बसाले, त्यसपछि पुरै समुहका खेलाडी खेलमैदानमा एक फन्को घुमेर विजयोल्लास प्रकट गरे ।

फोटो सेशन सुरु भयो । काँधासम्म आइपुग्ने मैडल घाँटीमा झुण्ड्याउँदै, आफुहरुको बीचमा विशाल आकारको रोयल गोल्डन ट्रफी राख्दै सबै जनाले समुहगत फोटो खिँचाए । सर्वाधिक गोल स्कोर गर्ने अवार्ड रिशबले पायो भने टुर्नामेण्टको सर्वश्रेष्ठ गोलकिपर अवार्ड सिनमनले पड्कायो ।

लगतै अभिभावकहरु पनि खेलाडीहरुका साथ खेल उपरान्तको अनिवार्य सेल्फी फोटोमा अग्रसर भए ।

एकआर्काको पिठ्यु थपथपाउँदै, हाई फाइब गर्दै उनीहरु स्कुल बसमा बसे । सिनमन आफुलाई सदैव मन पराउने झ्यालवाला सिटमा गएर बस्यो । इकबालको छेउमा बसेर ‘आशाए’ गित सुसाउन थाल्यो ।

असिनपसिन अनुहारमा शितल बतास ठोक्किँदा उसलाई आनन्द लाग्दै थियो ।

“लम्बु काली दास, एउटो कुरो त भन ।”

सिनमनको मुण्टो भन्ने मान्छेतिर फर्कियो । ती मान्छे अरु कोही होइन, अवनिश अर्थात उसका शिक्षक थिए । विद्यार्थीहरुबाट पाएको उपनाम अनुसार नै उनी आफ्नो नाक कोट्याउँदै थिए । मानौं उनी आफ्नो नाकबाट कुनै बहुमुल्य हिरा झिकेर बाहिर ल्याउन खोज्दै होउन् । कुनै गम्भिर कुरोउपर चिन्तन गर्नु पर्यो कि उनी कि त नाक, कि कान कोट्याउन सुरु गरिहाल्छन् ।

“एउटो कुरो मात्र किन सर ? म त दुईटो कुरो भन्न तैयार छु ।”

तिमी यति अग्यो कसरी भयौ रे ? तिम्रा बा आमा त त्यति लाम्चा छैनन् । तिमी उनीहरुभन्दा त नितान्त फरक देखिन्छौ नि ।”

शिक्षकले आफ्नो चश्मा डल्ले नाकमाथि मिलायो । सोध्दै गर्दा उनका बाक्ला गोडा पनि हल्लिँदै थिए ।

सिनमन पनि के कम । उसले सुधो मुख लाउँदै प्रतिप्रश्न गर्यो, “होइन नि सर, तपाईका बा आमा पनि त सार्है दुब्ला पात्ला रहे छन् ।

अनि, तपाई क्या गजबको मोटो मान्छे । यसरी कसरी सम्भव भयो होला ?”

“मलाई सर न भन है ।

“हुन्छ सर, आजदेखि तपाई सर भन्दिन । मोटु भनेर बोलाउँछु ।

वरिपरि हाँसोको फुहरा छुट्यो ।

“चुप लाग, लम्बु काली दास ।

“ओके मोटुज्यू ।”

बसभित्र मोटू ! मोटू ! भनेर शब्द गुञ्जिन थाले । बम्किँदै सरले सिनमनतिर पेन फ्याल्दै हिर्काउन खोजे, ऊ छल्न सफल भयो र पेन हुत्तिँदै झ्यालपारी गयो । सिनमनले पनि आफ्नो कपालमा सदैव लुकाउने गरेको सानो पेन्सिल झिकेर सरतिर हुत्यायो । रिसाएर होइन, खेलाँचीमा । सिनमनको सन्तुष्टीको लागि, पेन्सिल सरको हातमैं पुग्यो । हिर्काई नै हाल्ने मनसाय नभए पनि आफ्नै सरलाई ताकेर कुनै पनि चिज फ्याल्नु असम्भव कुरो थियो, यो त अति नै भयो ।

“अउच !” सरले यति मात्र भन्न भ्याए, पीडा हुनुभन्दा पनि उनी हतप्रभ भएका थिए । बच्चाहरु खित्का छोडेर हाँस्न थाले । घर पुगेर बसबाट ओर्लिँदा उसको आँखा सोसाइटी पार्किंगमा उभिएका रातो स्कोडा ओक्टीवोतिर गयो, पुलकित भएर उसको मुटु उफ्रिन थाल्यो । सात बज्नुभन्दा अगावै आमा आएकी थिएन, लुगासुगा फेर्ने मनसायले ।

बा र आमा, दुबैजना घरभित्र अवस्थित बाको अफिसमा बसेका थिए । आफुले पढ्दै गरेकी कानुनसित सम्बन्धित रातो बाक्लो किताबलाई एकातिर सार्दै उनले उसलाई आफ्नो अंगालोमा लिइन्, करंग नै कर्याककुरुक हुने खालको, अंगालो, भालुको अंकमालको जस्तो ।

“अभिनन्दन !” भन्दै बाले उसलाई हाई फाइब दिए र उसको पिठ्यु थपथापाए । राती खानामा उनीहरुले पुडी, आमरस तथा बटाटा चीज भाजीको आनन्दपुर्वक खाँदै थिए ।

खाँदै गर्दा ऊ खेलबारे कुरो झिक्यो, उसका आँखा उत्साहबस उज्याला थिए । “हामीहरु राम्ररी बुझिसकेका थियौ कि रिशवलाई आफ्नो काबुभित्र राख्नै पर्छ, त्यही भएर हामीहरु ऊमथि कडा निगरानी गरिराखेका थियौ । पहिलो मध्यान्तरमा हरप्रितले दुईटा गोल हान्यो । त्यसपछि रिशबले एउटा । खेलको अन्तसम्म म भित्रभित्रै निकै अतालिएको थिए । जे होस्, प्यानल्टी किक त गजबको थियो हगि !”

“हरप्रितले दुई गोल हान्न भ्याए पनि तिमीले पनि थुप्रै गोल जोगाएकै हौ । एकातिर सरदार, आर्कोतिर असरदार । दुई विजेता सानदार ।” बाले ठट्यौली पारामा भने । “म आफूँ पनि स्कुलको जमानामा राम्रो खेलाडीमा गनिन्थे, सिनमन आाखिर छोरो मेरै त हो ।” उसको कपाल सुमसुम्याउँदै आमाले भनिन् ।

“बसुन्धरा घोषाल परनजापे, तिमी आफ्नो स्कुलमा हरेक बिषयमा सदैव प्रथम नै भएकी थियौ । खेलकुदमा पनि च्याम्पियन थियौ नै । मलाई स्मरण त गराउँ, तिमी कुन स्कुल जाने गर्थियौ ?

बाको प्रतिक्रियालाई बेवास्ता गर्दै आमा पुरीका ससाना चोक्टा मिसिएको सुनौलो आमरसउपर चम्मच घुमाउन थालिन् । तर आमाका पैताला बाका गोडालाई छुन् पुगेका छन् भनेर बाको अनुहारमा प्रष्ट झल्किँदै थियो । आमा, मेरो अनुहार कसमाथि गएको छ ?

हजुरमाथि वा बामाथि ?

एकछिनको मौन पश्चात् आमाले सोधिन्, “क्लासमा तिमीलाई कसैले केही भन्यो कि ?”

आमा सावधानीपुर्वक आफ्नो कपाल सुमसुम्याउन थालिन् । स्टाइलिस पारामा ठाँउ ठाँउबाट छोट्याइएको उनको कालो कपालको बीचबीचमा सिल्वर रङ्ग मिसिएको प्रष्ट देखिन्थ्यो– यही नै थियो उनको कपालको नविनतम स्टाइल । अपेक्षाकृत रुपमा उनी अलि होची हुन्, छाला अलि तैलिय र ताम्र रङ्गको ।

आफ्ना पात्ला, उज्यालो गोडा तन्काउँदै बाले फुर्क्याउन खोजे, उनका खैरा हरिया आँखा पनि उज्येलिएका थिए । “तिमीलाई हामीजस्तै नै किन देखिनु पर्यो ? तिमी जे–जस्तो छौ, त्यस्तै क्या गजब देखिन्छौ ।

ओछ्यानमा पल्टिनु अगाडि ऊ ऐनाअगाडि पुग्यो । थरिथरिका अनौठा भावभंगिमा बनाउँदै ऐना पारीको केटोसित ऊ जिस्किन थाल्यो । ऊ जसोजसो गथ्र्यो, ऐना पारीको केटो ठीक त्यही–त्यही दोहर्याउँदै थियो । ऐना पारीको केटोले यथासक्य चाक्लो हुने गरी आफ्नो मुख खोल्यो, दुबै आँखालाई समेत चाक्ला पार्यो र आफ्ना अगाडि दाँतलाई काँटीकिलाजस्तै देखिने गरी ओठ बाहिर निकाल्यो । आफ्नो जिब्रोलाई बाहिर निकाल्दै उसले दुबै गालालाई बैलुनजस्तै फुलायो, दुबै कानमा औला हुल्यो र आँखाका पुतली चारैतिर घुमाउन थाल्यो । सक्दो बाङ्गोटिङ्गो र उटपट्याङ्ग अनुहार बनाउँदै ऊ त्यो ऐना पारीको केटोसित खेलाँची गरिरह्यो । उसले आफ्नो नाकलाई समेत सुंगुरको नाक जस्तो बनाउन खोज्यो ।

सिनमन नियाली रह्यो । ऐना पारीको केटोसित ऊ पूनः पूनः जिस्की रह्यो । हुन त, हरेक बिहानी ऊ यस्तै ऐना नियाल्ने गरेको छ, यता केही दिनदेखि उसको ऐना नियाल्ने बानी ह्व्वातै बढेको छ । ऐना पारीको केटोका पात्लो लाम्चो अनुहार (तिखा गालाको हाड), ताम्र छाला, चिल्लो कपाल र चकलेटी रंगका चकचके आँखा ऊतिर नै फर्किएका थिए । “हो नि, यो सिनमन अर्थात रोशन रिशिकेष परनजापेको अनुहार उसका बा आमाको अनुहारबाट ठयाम्मै मेल खाँदैन, खास गरि आफ्ना बाबाट ।” यस्ता शब्दहरु बारम्बार उसका कानमा पर्दै आएका छन् । उत्सुक्त, सशंकित, हेलाको भाव, र कहिलेकाँही प्रतिक्रियाको रुपमा कुराहरु आउँछन्, “ओहो ! तिमी त ठयाम्मै फरक देखिन्छौ ।”

“हो पनि । मेरो अनुहार न बासित मेल खाएको छ, न आमासित । मेरो अनुहार आफ्नै किसिमको छ । कुरो यति त हो ।” ऊ मनमनै गम्यो ।

सोच्दासोच्दै ऊ निदायो, सपनीमा ऊ वल्र्ड कप फुटबल म्याचमा गोलकिपर भएर खेल्दै थियो, त्यो पनि ब्राजिलका साथ । खेल मैदानमा प्रधान मन्त्री र अन्य विशिष्ट ब्यक्तित्वहरु, बाँलिउडका नाम चलेका कलाकारहरु, बा र आमा उपस्थित थिए । र निसन्देह, पल्लवी अर्थात पल्ली पनि थिई, बडो जोश जांगरका साथ भारतीय झण्डा फरफराउँदै थिई । उत्साहित दर्शकहरु निरन्तर कोलाहाल मच्चाउँदै थिए । ब्राजिल टिमले सिनमनलाई छलेर एउटा गोल पनि हान्न सकेन, ब्राजिल टिम म्याच हार्यो ।

सबै खेलाडीले स्वर्ण पदक, ट्रफी र जम्बो आकारको चेकहरु पाए । एउटा विशिष्ट पुरस्कार, सिनमनको लागि छुट्टै राखिएको थियो । प्रधान मन्त्रीले सो विशिष्ट पुरस्कार–प्लेयर अफ द म्याच– आफ्नो हातले सिनमनलाई टक्रयाए ।

उनीहरुले सिनमनलाई एउटा विशाल तराजुमा बसालेर उसको तौल हेर्दैमा जिब्रो रसाउने पु्रुट एण्ड नट चकलेट बारसित गरे । अनि, सबै चकलेट उसैलाई स–उपहार दिए । सबै सामान बोकेर घर फर्किन उसलाई एउटा कार नै भाडामा लिनु पर्यो । अनि चकलेटहरु नि, आहा ! क्या गजबका ! यम्मी !

अनुवादः गणेश लाठ






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :