विश्वसाहित्य:
युजिन ओ निल
तेल (एकाङ्की)
(क्याप्टेन किल्नीको कोठा, वाफबाट चल्ने बडेमानको जहाज अट्लान्टिक क्विनभित्र । कोठा सानो, चारपाटा मिलेको छ । भित्ता करिब आठ फुट अग्ला छन् र बीचमा जहाजको अग्रभाग देखिने गरी झुण्डाइएको बत्ती छ । जहाजको बायाँपट्टि सामान्य कुसन राखिएको एउटा फलैँचा बनाइएको छ, भित्तोमा अड्याएको छ । फलैँचाको अगाडिपट्टि एउटा टेबल छ । फलैँचामाथिपट्टि पर्दा लगाएका केही झ्यालहरू छन् ।)
(पछाडिपट्टि, बायाँतिर एउटा ढोका छ, जसबाट क्याप्टेनको सयनकक्षमा प्रवेश गर्न सकिन्छ । ढोकाको दायाँतिर एउटा नयाँजस्तो देखिने सहनाईजस्तो बाजा छ, भित्तोमा ढल्क्याएर राखिएको ।)
(दायाँपट्टि, पछाडितिर, एउटा मार्बलको सतहको भएको बोर्ड छ । यसमाथि, कुनै महिलाको बुनाईका सामान एउटा पेचामा राखिएको छ । अझ अगाडि, ढोका हुँदै अर्को सानो बाटोतिर जाने बाटो छ, र अधिकृतहरूको आवास हुँदै जहाजको मुख्य भागतिर जान्छ ।
(कक्षको मध्य भागमा एउटा स्टोभ छ । सिलिङको बीचबाट एउटा बत्ती झुण्डिएको देखिन्छ । केबिनमा सबै भित्तामा सेतो रङ लगाइएको छ ।)
(जहाज चलिरहेका छैन । आकाशबत्तीबाट आएको उज्यालो निकै मधुरो छ, जसले समुद्र र आकाश दुवै मृतप्राय रहने ती उदास निष्क्रिय दिनहरूको मौसमको सङ्केत गरेको छ । यो सन्नाता केहीले चिदैन, सिवाय केही पाइलाहरू जो माथि तल गरिरहेका छन् जहाजको अग्रभागमा ।)
जब पर्दा खुल्छ, मञ्चमा मूर्दाशान्ति छ । सेवक प्रवेश गर्न र क्याप्टेनको टेबलमा साँझको खाना पश्चात छोडिएका जुठा थालबाटुका टिप्छ । ऊ बूढो छ, सेतै कपाल फुलेको । उसले डाङ्ग्री पाइन्ट, स्वीटर, र कान भएको ऊनीको टोपी लगाएको छ । उसको आचरण सन्काहा र रिसाहाजस्तो लाग्छ । ऊ थालबटुका खप्टन छोडेर एकाचोटि माथि आकाशबत्ती भएतिर हेर्छ । त्यसपछि ऊ सुटुक्क पछाडिपटि बन्द रहेको ठोकासामु जान्छ र भित्ताको प्वामा कान राखेर सुटक्क कुरा सुन्न थाल्छ । उसले जे सुन्छ, त्यसले उसको अनुहार अँध्यारो हुन्छ, र उसले मुर्मुरिँदै केही अपशब्द बोल्छ । दायाँपट्टि, दैलोछेउको गलीबाट केही आवाज आइरहेको सुनिन्छ । त्यो सुन्नासाथ ऊ टेबल भएतिर दुगुर्छ ।
बेनको प्रवेश । ऊ हलक्कै बढेको, कुरूप केटो हो, जसको अनुहार लामो र उत्साहविहीन देखिन्छ । ऊ स्वेटर र पूरा छोप्ने लुगामा छ । उसका दाँत चिसोले किट्किटिइरहेका छन् र ऊ हतार हतार स्टोभ भएतिर जान्छ, जहाँ, ऊ केहीबेर काँप्दै उभिन्छ, हातमा सासले फुक्छ, र आफ्नै गाला सेक्छ । ऊ रोलाजस्तो देखिन्छ ।
सेवकः (को हो देखेपछि ढुक्क हुँदै) ए, तिमी पो? किन यसरी काँपेको? तिम्रो थान्को त्यही स्टोभ हो । त्यहीँ बस ।अनि काँप्नै पर्दैन ।
बेनः आछु, कति जाडो । (किटिएका दाँत दबाउन खोज्दै) को आएजस्तो लाग्याथ्यो तिमीलाई, बूढो?
सेवकः (जाइलागौलाजस्तो गर्दै, बेन पछि हट्छ) चुप् । नत्र किचिपिची पारिदिन्छु । (अलि दयाभावसहित) यसबेलासम्म कहाँ मुन्टेको थिइस, माथि डेकमा?
बेनः म्म ।
सेवकः बूढाले देखोसमात्रै न बाँदरजस्तो माथि चढेको । यस्तो गाली गर्छ नि, तैले कुनै हतारोमा पनि बिर्सदैनस् ।
बेनः उसले देखे पो । (उसको आवाजमा त्रासको केही मात्रा छ । ऊ माथितिर हेर्छ): ऊ केही नदेखेजसो गरेर माथि र तल हिँडिरहन्छ । बरु बाहिर परेको बरफ हेरिबस्छ ।
सेवकः (उसको आवाजमा उस्तै त्रासको भाव) ऊ सधैँ उत्तरतिर फर्केर बरफ नै हेरिरहेको हुन्छ । –एक्कासि, रिसको आवेगमा आकाशतिर मुठ्ठी उचाल्दै) बरफ, बरफ, बरफ । त्यसको र त्यस बरफको सत्यानाश होस् । एकवर्ष भइसक्यो हामीलाई यहाँ थुनेर राखेको । तर बरफबाहेक केही देख्ने होइन त्यसले । बरफमै अल्झेको छ, खुदोमा झिँगा अल्झेजस्तो ।
बेनः शङ्कालु भावमा) चूप । सुन्ला ।
सेवकः (रिसाएर) मार् गोली । यो अर्काटिक सागर र यसको यस गन्धे जहाजलाई पनि मार् गोली । म यस्तो जहाजमा हिँड्ने मजस्तो मूर्खलाई पनि गोली मार् । –आफ्नो आवेगको व्यर्थता थाह पाएजस्तो गरी थामिन्छ, टाउको हल्लाउँछ, र बिस्तारै, गरिहो विश्वासका साथ भन्छ) ऊ कठोर मान्छे हो, आज सम्म जहाज हाँक्नेमध्ये सबैभन्दा कठोर मान्छे ।
बेन: (गम्भीर भावमा) हो ।
सेवकः हामीले सम्झौता गरेको दुई वर्षको समय आज पूरा हुँदैछ । धन्य, भगवान् । यो दुई वर्षको कुकुरको जस्तो समय, र माछा मार्ने काममा शून्य सफलता । खाद्यान्न सकिएर आधा भोकै बसेको अवस्था । ऊ, घिनलाग्दो । ऊ भने घर फर्कने कुरै गर्दैन बा । –दुख मानेर) घर । मलाई त फेरि जमिनमा फर्कने हो होइन भन्नेमा पनि शङ्कै लाग्न थाल्यो । –उत्साहित हुँदै) के गर्छु भनेर सोचिरहको होला? हाम्रो सम्झौताको अवधि सकिएपछि पनि थुनेर यहीँ राख्ने, र हामी सबै भोकमरीले मेरेको हेर्ने? तँ माथि कोसीमा जाँदा केही कुरा गरेको सुनिनस्?
बेनः उसको छेउ गएर साउती गर्दै) विद्रोह? हो, हामीले गर्न सक्ने त्यो एकमात्र उपाय हो । उसले हामीलाई गरेको व्यवहारको बदला लिने एकामात्र उपाय । हामीलाई त कुकुरभन्द भिन्न नभएजस्तो व्यवहार पो गर्यो त, है?
सेवकः उता दक्षिणतिर बरफ हटिसकेको छ । पर परसम्म पानी सफा छ, हेर् त । तर सबै भन्छन्, ऊ अनेक बहाना गरेर घर नफर्कन मात्रै खोज्छ ।
सेवकः (अक्रोशसहित) ऊ उत्तरतिरबाहेक कतै हेर्दैन । त्यता त बरफबाहेक केही पनि देखिँदैन । ऊ सफा पान हेर्नै चाहँदैन । ऊ केवल तेलकै खोजीमा छ र ह्वेल भेटेन भने हाम्रो दुर्भाग्यले नभेटेको भन्ठान्छ । (टाउको हल्लाउँदै) मलाई त लाग्छ, यो बूढाको दिमाग खुस्कियो ।
बेनः अचम्मित हुँदै) ऊ साँच्चै पागल भयो जस्तो लाग्छ तिमीलाई?
सेवकः अँ भन्या । भगवान्ले उसालई दण्ड दिएका हुन् । सद्दे मान्छेले उसले गर्ने गरेका जस्ता क्रियाकलाप गरेको तिमीले कहिल्यै देखेका थियौ? (पछाडिको ढोकातिर देखाउँदै) ऊजस्तो पागलले बाहेक कसबैले एउटा गन्धे जहाजमा हाम्री सुन्दर श्रीमतीलाई राखेर आर्कटिक सागरतिर हिँड्छ र कुहिएको बरफको थुप्रोमा एक वर्षजति फसाउँछ? उसले पनि सदाका लागि सायद दिमागको सन्तुलन गुमाउँछे, किनकि ऊ पहिलाकी जस्तै हुन नसक्ने चाहिँ निश्चित छ ।
बेनः दुखी हुँदै) ऊ मलाई निकै निको मान्थी पहिले पहिले । (उसका आँखा खुला र भयभीत देखिन्छन) ऊ आफूजस्ती थिई, त्यस्तै व्यवहार गर्थी ।
सेवकः हो । ऊ हामी सबैलाई राम्रो गर्थी । ऊ जहाजमा नभएकी भए बोर हुन्थ्यो । ऊ भने कस्तो कठोर मान्छे छ, नाविकहरूमध्यै सबै भन्दा कठोर भने पनि हुने । –विषाद् हाँसोका साथ) मलाई लाग्छ, ऊ अहिले सन्तुष्ट छ — उसलाई मगज बिग्रँदासम्म जहाजमै राखेर हिँडाउन पाउँदा । बूढीको त के दोष? भगवान्को लीला नै भनौँ — हाम्रो जहाज हामीजस्ता पागलहरूले भरिएको छ र सधैँ हामी बरफले नै घेरिएका हुन्छौँ । यहाँको सन्नाटा पनि यति बाक्लो छ कि आफ्नै आवाज सुन्दा पनि डर लागेर आउँछ ।
बेनः भयभीत आँखाले दायाँतिरको ढोकातिर हेर्दै) अचेल ऊ पनि मसँगै बोल्दिनँ । मलाई नजिने जस्तो गरेर हेर्छेमात्रै । बस् ।
सेवकः ऊ आफ्नो लोग्नेलाई बाहेक अरु कसैलाई पनि चिन्दिनँ । बोलिहाली भने उसैसँग बोल्छे, ठिक्क मात्रै ।
बेनः दिनभनेर ऊ अरु केही गर्दिन, बस्नु र बुन्नु बाहेक । र आफैँसँग आवाज ननिकाली रुन्छे । मैले यसो गरेको देखेको छु ।
सेवकः हो । केही समयअगाडि ढोकाको पछाडिबाट मैले पनि सुनेको ।
बेनः (ढोकासम्म पुगेर सुनेको अभिनय गर्दै) अहिले पनि रुँदैछे ।
सेवकः (रिसमा, मुठ्ठी उजाउँदै) भगवान्, उसको पापी स्वभावका लागि उसलाई नर्कमा फाल्देऊ ।
(जोडिएको भर्याङ ओर्लँदै कोही तल झर्दै गरेको आवाज सुनिन्छ । सेवक हतार हतार आफूले खप्टेको थालबटुका भएठाएँ पुग्छ । ऊ डरले यति आत्तिएको छ कि ऊ हड्बडमा सबैभन्दा माथि राखिएको थालमा ठोकिन पुग्छ, जुन भुइँमा खसेर फुट्छ । ऊ आत्तिएर, भयभीत मुद्रामा उभिन्छ । बेन भने आफूले खल्तीबाट निकालेको एउटा टालोले हतार हतार अर्गन बाजा पुछ्छ । उता दायाँपट्टि सँघारमा क्याप्टेन किन्ली देखा पर्छ । ऊ करिब चालीस वर्षको मानिस हो, पाँच फुट दस इन्चजतिको उचाइ भएको, र उसका विशाल पाखुरा र छातीको अनुपातमा ऊ अलि होचो देखिन्छ । उसको अनुहार चौडा छ र आँखा गहिरा र कठोर देखिन्छन् । उसको मुख पातला ओठ भएको, अलि सानो छ । उसको बाक्लो कपाल लामो र कैलो छ । उसले बाक्लो, नीलो जिन्सको ज्याकेट र पाइन्ट लगाएको छ, जसको बाउला उसको खुट्टामा रहेका सामुद्रिक बुटभित्र घुसारिएका छन् ।
ऊ क्याबिनमा पस्दा उसको पछिपछि दोस्रो सहयोगी पनि प्रवेश गर्छ । ऊ अल्गो, छ फुटको मान्छे हो, र उसको अनुहार मौसमको कहरले खाएको, उत्साहविहीन देखिन्छ । उसले पनि क्याप्टेनकै जस्ता पोसाक लगाएको छ । उस तीसको हाराहारीको मान्छे हुँदो हो ।
किनीः अगाडि, सेवक भएतिर आउँछ, अनुहारमा कठोर दृष्टिसहित । सेवक निकै गराएको प्रस्टै देखिन्छ, र उसको हातको स्पर्शले उसले खाप लगाइरहेको भाँडावर्तन ठोक्किइरहेका छन् । किनी आफ्नो मुठ्ठी पछाडि हटाउँछ । सेवक डरले झन् खुम्चिन्छ । मुठ्ठी तर झारेर किनी बोल्न थाल्छ) यो त कीरालाई हिर्काएजस्तो मात्रै हुन्छ । एक बज्न लाग्यो । अहिलेसम्म यो ट्रक सफा गरिएको रहेनछ त ।
सेवकः (भक्भकाउँदै) हो, सर ।
किनीः आफ्नो काम गर्न छोडेर तिमी आइमालेजस्तो खुसुखुसु त्यस केटोसँग कुरा काट्न यहाँ ओर्लियो होइन त? (बेनतिर फर्केर, रिसाउँदै) यहाँबाट भाग् मूला । चार्टरुम सफा गर् । –दोस्रो सहयोगीको छेउबाट बेन बाहिरिन्छ । सेवक, त्यो थाल टिप ।
सेवकः (गाह्रोसँग उक्त काम गर्दै) हजुर, सर ।
किनीः अर्कोपल्ट फेरि थाल फुटायौ भने, तिमीले बियरिङ सागरमा, रस्सीको एक टुप्पोमा बाँधिएर डुब्नुपर्ने छ, बुझ्यौ?
सेवकः बुझेँ, सर ।
(ऊ हतारोसँग बाहिरिन्छ । दोस्रो सहयोगी बिस्तारै क्यापेनको छेउ पुग्छ ।)
सहयोगीः मैले हजुरलाई भनेको कुरा उता चक्कातिर उभिएको मान्छेले नसुनोस् भन्नेमा म चिन्तित थिएँ, सर । त्यसैले मैले हजुरलाई तल बोलाएको हुँ ।
किनी: (अधीर बन्दै) भन, स्लोकम ।
सहयोगी: (अनायासै आवज धिमा गर्दै) सबै कुरा विचार गर्दा मलाई ती हातबाट केही विघ्न हुन सक्ने लाग्छ । केही गरिएन भने त यी सबैले समस्या सिर्जना गर्न सक्छन् सर । आखिर, उनीहरूलाई अनुवन्धित गरिएको दुई वर्षको समय त आजै पूरा भएको छ ।
किनीः र तिमी मलाई नयाँ कुरा सुनाइरहेका छौ जस्तो लाग्छ, सोल्कम? यो कुराको सङ्केत मैले धेरै अघि पाएको हुँ । उनीहरूको भद्दा स्वरूप र गुनासोयुक्त तरिका मैले नदेखेको हुँ र?
(पछाडितिरको ढोका खुल्छ । श्रीमती किनी सँघारमा देखा पर्छिन् । उनी पातली, सुन्दर मुखमण्डल भएकी, सानो कदकी महिला हुन् । उनको पहिरान कालो छ । रोएकोले उनका आँखा राता देखिन्छन्, र अनुहार थकित र मलिन । उनले भयभीत आँखाले कोठालाई हेर्छिन् र कुनै अज्ञात त्रासले जस्तो जहाँको त्यहीँ मूर्तिवत् उभिइरहन्छिन्, विक्षिप्त तरिकाले आफ्ना हात बाँध्दै र खोल्दै । दुई पुरुष फर्केर उनलाई हेर्छन् ।)
किनीः खस्रो संवेदनाका साथ) के छ, एनी?
श्रीमती किनीः (सपनाबाट ब्युँझेजसरी) डेविड, मलाई...(शन्त हुन्छिन् । सहयोगी ढोकातर्फ जान्छ ।
किनीः ऊतिर हेर्दै चर्को स्वरमा) पर्ख ।
सहयोगीः हजुर, सर ।
किनीः तिमीलाई केही चाहिएको छ, एनी?
श्रीमती किनीः लामो विश्रामपछि, आफ्ना हराएको बिचार पुनः सङ्कलन गरेजस्तो भावमा) म माथि डेकमा शुद्ध हावा खान जाऊँ कि जस्तो लाग्यो, डेविड ।
(उनी अनुमतिको प्रतीक्षामा विनीत भावमा उभिन्छिन् । किनी र उनका सहयोगी एकअर्कालाई अर्थपूर्ण तरिकाले हेर्छन् ।)
किनीः एनी, माथि ज्यादै चिसो छ । आज बरु तलै बस । माथिबाट हेर्न मिल्नै खासै केही छैन, बरफबाहेक ।
श्रीमती किनीः आलश्यपूर्ण पाराले) थाह छः बरफ, बरफ, बरफ । र यहाँ तल पनि यी भित्ताबाहेक के छ र हेर्ने? (उनी घृणयुक्त दृष्टि फ्याँक्छिन् ।)
किनीः तिमी अर्गन बजाउन सक्छ्यौ, एनी ।
श्रीमती किनीः –आलश्यपूर्ण तरिकाले) मलाई अर्गन मनै पर्दैन । यसले मलाई घरको सम्झना दिलाउँछ ।
किनीः आवाजमा असमतिको भावसहित) मैले बुझेँ । तिमीलाई मन पर्दैन ।
श्रीमती किनीः (उत्साहविहीन तरिकाले) मलाई थाह छ । –उनीहरूबाट टाढा फलैँचातिर जान्छिन् । एउटा पर्दा उठाएर झ्यालबाट बाहिरतिर हेर्छिन्, र विष्मयका साथ खुसीले बोल्छिन्) आहा, पानी ! कति सफा पानी । आँखाले भ्याउन्जेल पानी । यत्तिका महिना बरफै बरफ देखेपछिको पानी क्या सुन्दर देखिएको । (उनी ती दुई पुरुषतिर फर्किन्छिन्, उल्लासपूर्ण अनुहार लिएर) डेविड, अब त मैले माथि डेकमा गएर हेर्नैपर्छ ।
किनीः आवेशका साथ) आज नजानु बेस, एनी । घाम लागून् । एक दिन अझ पर्ख ।
श्रीमती किनीः (अधैर्यका साथ) तर यस्तो भयानक ठाउँमा कहिल्यै घाम लाग्दैन ।
किनीः आवाजमा आदेशको भावसहित) आइज होइन, एनी ।
श्रीमती किनीः उनको आदेशका अगाडि झुक्दै) ठीक छ, डेविड ।
(उनी आफूँ भएकै ठाउँमा उभिएर अगाडि हेर्छिन्, अचम्मित भएको शैलीमा । दुई पुरुष उनलाई अस्वाभाविक तरिकाले हेर्छन् ।)
किनीः (चर्को स्वरमा) एनी !
श्रीमती किनीः (अनिच्छित तरिकाले) हजुर, डेविड ।
किनीः म र सोल्कमलाई केही कुरा गर्नु छ । यही जहाजको बारेमा ।
श्रीमती किनीः ठीक छ, डेविड ।
(उनी बिस्तारै बाहिर निस्किन्छिन् र पछिल्तिर जान्छिन् । आफै निस्केपछि दैलोलाई तीनचौथाई बन्द छोड्छिन् ।)
किनीः कुनै समस्या हुने भए उनलाई कोसीमा जान नदिनु बेस ।
सहयोगीः हो नि, सर ।
किनीः समस्या त हुने वाला देखिन्छ । मलाई यसको पूर्वाभास भइरहेको छ । –आफ्नो कोटको पकेटबाट रिभोल्भर निकाले नियाल्छ) कुरा बुझ्यौ?
सहयोगीः बुझेँ, सर ।
किनीः यो उनीहरूमाथि प्रयोग गर्न झिकेको होइन । ती कुकरहरूलाई म चिन्दिनँ र? तिनलाई धम्क्याउनमात्रै निकालेको । –विषादपूर्ण) म यसलाई प्रयोग गर्न कहिल्यै बाध्य हुन्नँ । मलाई समस्य त जलमा होस् वा थलमा, सधैँ नै भएकै छ । मलाई राम्रै सम्झना छ । र लाग्छ, म मर्ने दिनसम्म पनि यस्ता समस्या रहिरहने छन् ।
सहयोगी: (अलि अनिच्छुक हुँदै) त्यसो भए तपाईं नफर्कने?
किनीः फर्केने कुरा? सोल्कन, जाबो चार सय ब्यारल तेल लिएर घर जान भन्दै दक्षिण हान्निएको तिमीले कहिल्यै देखेऊ मलाई?
सहयोगीः (हतारमा) छैनँ, सर । तर जहाजमा खाद्यान्न सकिन लाग्यो ।
किनीः अझैँ निकै समय पुग्ने गरी बाँकी छ, उनीहरूले सजगताका साथ प्रयोग गरे भने । र पानी पनि पर्याप्त छ ।
सहयोगीः उनीहरू भन्छन् जो बचेको छ, त्यो खानका लागि योग्य छैन । र उनीहरूले सम्झौता गरेको दुई वर्ष पनि आज पूरा भएको छ । हामी घर फर्केपछि उनीहरूले अदालतमा तपाईंका लागि समस्या जन्माउन सक्छन् ।
किनीः तिनको सत्यानाश होस । जस्तो कानुनी समस्या ल्याउन चाहन्छन्, ल्याऊन् । मलाई पैसाको कुनै पर्वाह छैन । जसरी पनि मलाई तेल भेट्नु छ । (सहयोगीलाई तीखा आँखाले हेर्दै) र तिमी आफू समुद्री वकील बन्ने तर्खरमा त छैनौ नि, स्लोकम?
सहयोगी: (कुरा बडार्दै) कुनै पनि हालतमा छैनँ, सर ।
किनीः यी मूर्खहरू घरचाहिँ किन जान चाहन्छन् कुन्नि? चार सय ब्यारलमा उनीहरूको भागमा पर्न आउने तेलले उनीहरूलाई सुर्ति खान पनि पुग्दैन ।
सहयोगीः बिस्तारै) मलाई लाग्छ उनीहरू आफ्नो परिवार र घरेलु काममा फर्कन चाहन्छन् ।
किनीः (उनलाई प्रश्नसूचक दृष्टिले हेर्दै) र तिमी पनि फर्कन चाहन्छौ । ( उनको तीक्ष्ण हेराइका सामु सहयोगी हतप्रभ भएर भुइँतिर हेर्छ ।) नढाँट, स्लोकम । तिम्रो आँखामा त्यो भाव स्पष्टै देखिन्छ । (तीखो व्यग्ङ्ग्यचेतसहित) स्लोकम, तिमी मेरा विरुद्ध उनीहरूसँग उभिने छैनौ भन्ने मेरो पूर्ण विश्वास छ ।
सहयोगी: (अलि झर्केर) सर, हजुरले त्यस्तो कुरा भन्नु अलि उचित होइन ।
किनीः (सन्तोषका साथ) मलाई त्यस्तै डर थियो र भनेको । तिमी करिब दस वर्षदेखि मसँग छौ । र मैले तिमीलाई ह्वेलको सिकार गर्न सिकाएँ । म खराब शिक्षक हुँ भन्ने कसैले पनि भन्न सक्दैन । म खराबै भएको भए न भन्थे होला नि ।
सहयोगीः म घर फर्कने बारे केही पनि सोचिराको छैनँ, सर । –व्यग्रताका साथ) तर श्रीमती किनीलाई हेर्दा उहाँ उस ठाउँमा त्यति सन्तुष्ट भएजस्तो मलाई लाग्दैन । यहाँको चिसोपन, खराब भाग्य र बरफका कारण अलि बिरामी जस्तो देखिनुहुन्छ ।
किनी उनको अनुहार मलिन । उनी गाली गर्ने मुडमा छन् तर बिस्तारै) त्यो मेरो मामला हो, स्लोकम । तिमीले यो कुरा प्रस्ट बुझे म धन्यवाद भन्ने थिएँ । (रोकिएर) छिटै उत्तरतिको बरफ पनि सफा हुने छ । आजै त्यो सुरु भएको मैले देखेँ । अझ पग्लेपछि घाम पनि लग्छ, र एनी ठीक हुने छिन् । –अर्को विश्राम । र आक्रामक हुँदै) मलाई उत्तरी सागरमा अल्झाइरहेको पैसाले होइन । तर म जाबो चार सय ब्यारल तेल लिएर गृहबन्दगारह फर्कन सक्दिनँ । बरु मर्छु । जहाज पूरा नभरिए त म कुनै पनि हालतमा घर फकिन्नँ । यो सत्य होइन र?
सहयोगीः हो सर । तर यस यात्रामा हजर बरफकै कारण अड्किरहनु पर्यो । र...
किनीः रिसाएर) र तिमी ठान्छऊ, ती मेरो साथीहरूले यो कुरा विश्वास गर्नेछन् । ती नाविक, जसलाई मैले सबै यात्रामा जितेको छु । म त्यसै फर्किएँ भने तिनले मेरो उपहास गर्नेछन् भन्ने कुरा तिमी बुझ्दैनौ? ती टिब्बोटहरू, ह्यारिस र सिमहरू, र अरु पनि, जो हाम्रो होमपोर्टमा मेरो हाँसो उडाउन पर्खि बसेका छन्? डेव किनीसँग हाम्रो होमपोर्टमा भएका ह्वेलर जहाजमध्ये सबैभन्दा अब्बल जहाज जो छ । र त्यो जहाज जाबो चार सय ब्यारल तेल लिएर फर्कदा के हुन्छ, भन त? (यस कुराले ऊ उत्तेजित हुन्छ, र आफ्नो मुठ्डीले मार्बलको साइडबोर्डमा हिर्काउँछ) मरोस् ! बुझिराख, मैले जसरी पनि जहाज तेलले भर्नु छ । यो जबो बरफका अगाडि म कसरी झुक्न सक्छु? म विगत तीस वर्षदेखि यहाँ आइरहेको छु, तर यस्तो कहिल्यै भएको थिएन । र अहिले आएको क्रमभङ्ग भएको छ ।तर अबको एकदुई दिनभित्र यो हट्ने छ । र यहाँ ठूलो मात्रामा ह्वेल भेटिने छन् । मलाई थाहा छ यहाँ ह्वेल छन्, र मेरो विश्वास गलत हुन सक्दैन । मैले जसरी पनि तेल भर्नु छ । जति सुकै कष्ट होस्, अथवा भगवान् ने लागून् । तर म तेल नभरी त घर फर्कने छैनँ ।
(पछाडिको ढोकाबार दबिएको रोदन सुनिन्छ । ती दुई पुरुष केही क्षणका लागि शान्त उभिन्छन् र सुन्छन् । अनि किनी ढोकासम्म पुग्छन् र हेर्छन् । आफू ढोकाबाट भित्र छिर्न खोजेको हो कि जस्तो गरी केहीबेर अल्मलिन्छन् र बन्द गर्छन् । भाला हान्ने मान्छे जो, छ फुटको अग्लो मान्छे, र विक्षत अनुहार भएको, दायाँतिरबाट पस्छ र क्याप्टेनले आफूलाई नदेख्दासम्म उभिइरहन्छ ।
किनीः फर्केर उसलाई हेर्दै) लाटोजस्तो त्यहाँ नउभियौ, जो । केही बोला ।
जोः अल्मल्लिएर) हामी तपाईंसँग कुरा गर्न एउटा प्रतिनिधिमण्डल पठाउनु चाहन्छौँ, सर ।
किनी (रिसाएर) उनीहरूलाई आजौ भन । (आफैँलाई नियाल्छ, र क्रुद्ध पाराले फेरि बोल्छ) यानि कि, आओ भन । म भेट्छु ।
जोः हस, सर ।
(बाहिरिन्छ)
किनीः कुटिल मुस्कानका साथ) हेर, अघि तिमीले भनेको समस्या आयो यहाँनिर, स्लोकम । र हामीले यसलाई दबाउने छौँ । यस्ता कुरालाई अगाडि बढ्न नपाउँदै सुरुमै दबायो भने बेस ।
सहयोगी: (चिन्तित भएर) म पहिलो र चौथोलाई पनि उठाइदिऔँ, सर? उनीहरूको सहयोग पनि चाहिएला ।
किनीः पर्दैन । सुन्त देऊ । म एक्लै काफी छु यिनीहरूको लागि, स्लोकम ।
(बाहिर कोही हिँडेको अवाज सुनिन्छ । एकै छिन्मा जोको नेतृत्वमा पाँच जना जहाज कर्मचारी प्रवेश गर्छन् । सबैको पहिरन उस्तै — स्बिटर, समुद्री बुट, आदि । उनीहरू असहज पाराले क्याप्टेनतिर हेर्छन्, आआफ्ना टोपी आफ्ना हातमा घुमाउँदै ।
किनीः (रोकिएर) अँ, तिमीहरूको तर्फबाट को बोल्ने?
जोः (साहसका साथ अगाडि सर्दै) म ।
किनीः माथिदेखि तलसम्म शङ्कास्पद पाराले हेर्दै) ए, तिमी । त्यसो भए बोल । छिटो भन ।
जोः क्याप्टेनको अगि नझुक्न उसका आँखाको सामु नपर्ने कोशसि गर्दै) हामीले सम्झौता गरेका हदम्याद आज पूरा हुँदैछ ।
किनीः रिसाएर) त्यो मैले नजानेको कुरा हो र?
जोः हामीले बुझेसम्म तपाईं हामीलाई घर पठाउने तयारीमा हुनुहुन्न ।
किनीः पठाउँदिनँ । यो जहाजमा तेर नभरिउञ्जेल पठाउँदिनँ ।
जोः जताततै बरफ रहँदासम्म तपाई अगाडि बढ्नै सक्नुहुन्न ।
किनीः बरफ पग्लँदैछ ।
जोः (रोकिएर, जुन दौरानमा अरु रिसले मुर्मुरिएको आवाज सुनिन्छ) हामीले पाइरहेको खाद्यान्न कुहिएको छ ।
जोः (साथीहरूको साथले होसिएर) हामीलाई घर पठाउनुस् । अब हामी काम गर्दैनौँ ।
किनीः (कडा स्वरमा) काम नगर्ने रे?
जोः न्यायिक अदालत पनि भन्छ हामी सही छौँ ।
किनीः अदालतलाई मार गोली । हामी यसबेला समुद्रमा छौँ र यहाँको कानुन म नै हुँ । –हार्पुनरतिर फर्कंदै) र मेरो आदेश नमान्ने सबैले भाला खानेछ ।
(जहाज कर्मचारीबाट रिसका थप आवाजहरू निस्कन्छन् । उता पछाडिपट्टिको ढोकाको सँघारमा श्रीमती किनीको आगमन । उनी आश्चर्यमिश्रित आँखाले सबैलाई हेर्छिन् । ती पुरुषहरूमध्यै कसैले पनि उनलाई देख्दैन ।)
जोः (साहसका साथ) त्यसो भए हामी विद्रोह गर्छौँ र बूढो जहाजलाई पनि हामीसँगै घर लान्छौँ । कि होइन, केटा हो?
(उसले साथीहरूलाई हेर्न पछाडि फर्कंदा किनलीको मुठ्ठी उसको मुखैमा पर्छ । ऊ रन्थनिएर भैँमा लड्छ । श्रीमती किनली “आ!” गरेर ढोकाको पछाडि लुक्न पुग्छिन् । पुरुषहरू दापबाट तरवार निकालेर लड्न तयार हुन्छन् । तर किनी र उसको सहयोगीले रिभोल्वर ताकेपछि रोकिन्छन् ।)
किनीः (टुटेका आँखा र बोलीमा) त्यहीँ उभ्भिइरहू । (पुरुषहरू चुपचाप उभिइरहन्छन् ।)
किनीः उपहासको स्वरमा) यस जहाजमा बिद्रोह गर्नु सुरक्षित हुन्न भन्ने बुझेऊ, हैन त? अब आआफ्नो थान्कोमा जाओ । र (जोलाई जिउमै पर्नेगरी एउटा बलियो लात्ती हान्छ) र उसलाई पनि घिसारेर आफूसँगै लैजाओ । र याद राख, तिमीहरूमध्यै कसैले होहल्ला गर्यो भने त्यहीँ गोली हानेर मारिदिन्छु । अरुलाई पनि यही कुरा सुनाइदेऊ । भाग, छिटो । –पुरुषहरू जोलाई आफूसँगै लिएर भाग्छन् । किनी फिस्स हास्दै सहयोगीतिर हेर्छ, र आफ्नो रिभोल्वर खल्तीमा हाल्छ ।) स्लोकम, बरु तिमी माथि डेकमा जाऊ र तिनले थप बदमासी गर्छन् कि, हेर । अबदेखि हामीले चनाखो भएर निगरानी राख्नुपर्छ । मैले यिनलाई चिनेको छु ।
सहयोगीः हस सर ।
(ऊ दायाँतिरबाट बाहिरिन्छ । किनी भने आफ्नी श्रीमतीको अविश्रान्त रोदन सुनेर झक्कै पर्दै यताउति हेर्छ र बिस्तारै उनकै समीपमा जान्छ ।)
किनीः (प्रेमपूर्ण पाराले आफ्नो हात उनको कुममा राख्दै) हेर त, एनी । यसरी नडराऊ । अब सबै बित्यो, सकियो ।
श्रीमती किनीः उनीबाट भाग्दै) भो, यो म सहन सक्दिनँ । अब थप म सहन सक्दिनँ ।
किनीः नम्र स्वरमा) के सहन सक्दिनौ, एनी?
श्रीमती किनीः आत्तिँदै) यो डरलाग्दो पाशविकता, र यी पशुतुल्य पुरुष, यो भयानक जहाज, र यो काराकारको कोठरीजस्तो कोठो, र चारैतिर देखिने बरफ, र यो सन्नाटा ।
(यस आवेगपछि उनी शान्त हुन्छिन् र रुमालले आँखा पुछ्छिन् ।
किनीः केही रोकिएर, केही अल्मलिएको आक्रोशसहित उनलाई हेर्दै) याद राख एनी, मैले तिमीलाई यस यात्रामा आउन कर गरेको थिइनँ ।
श्रीमती किनीः म तिमीसँग हुन चाहन्थेँ, डेविड । यति बुझ्दैनौ? म एक्लै घरमा पर्खि बस्न चाहँदैनथेँ — हामीले बिहे गरेपछिका छ वर्षमा जस्तो, केवल पर्खँदै, पर्खँदै र डराउँदै — मन थाम्ने केही पनि नभएरै पनि । डेव किनीकी श्रीमती भएर पनि स्कुलमा पढाउन जानु — त्यो पनि उचित नलागेरै हो हुन त । म त्यसताका, ठूलो, फराक र विशाल समुद्रमा सयर गर्ने सपना देख्थेँ । यसको जोखिपूर्ण र जोशपूर्ण जीवनमा म तिमीसँगै हुन चाहन्थेँ । तिमी होमपोर्ट फर्कंदा कसरी तिमीलाई अरुले नायक ठान्नेछन्, त्यसको साक्षी हुन चाहन्थेँ । तर त्यसको विपरीत –आवाजमा कम्पनसहित) यहाँले केवल बरफ र बर्बतामात्रै पाएँ ।
(गला अवरुद्ध हुन्छ)
किनीः मैले यहाँ कस्तो हुन्छ भनेर तिमीलाई भनेकै थिएँ । ह्वेल मार्न हिँड्ने भनेको महिलाको चिया पर्टीजस्तो हुँदैन भनेर भनेकै थिएँ । एउटा महिलाले पाउने सबै सुविधा भएको घरैमा बसिरहू भनेको थिएँ । (टाउको हल्लाउँदै) तर तिमीले जिद्दी गरेऊ ।
श्रीमती किनीः (थकित भावमा) हो डेविड, यसमा तिम्रो गल्ती छैन । तर हेर न, मैले तिम्रो विश्वास गरिनँ । मैले पुराना पुस्तकमा पढको भाइकिङको कल्पना गरेँ, र तिमी उनीहरूध्येका एक हौ भन्ठानेँ ।
किनीः खण्डन गर्दै) मैले त यहाँ आफूलाई सकेजति न्यानो र आराम बनाउने कोसिस गरेकै हुँ । –उनी क्रोधपूर्ण दृष्टिले उताउति हेर्छिन्) मैले तिमै्र लागि सरहबाट त्यो अर्गन बाजा पनि मगाएँ, यो ठानेर कि शान्ति भएको बेला वा अल्छी लागेको बेला बजाउद्या त्यसले तिमीलाई मनोरञ्जन दिने छ ।
श्रीमती किनीः थकित स्वमा) हो, तिमी ज्यादै दयालु भएका हौ, डेभिड । मलाई त्यो थाह छ । –उनी बायाँतिर जान्छिन्, झ्यालको पर्दा उचाल्छिन् र एक्कासि कराउँछिन्) तर अब म यो सहन्नँ । सहन सक्दिनँ । यी भित्ताभित्र कैदी जस्तो बस्दाबस्दा म अघाएँ । –उनी दौडेर उनको सामु जान्छिन् र रुँदै छाँद हाल्छिन् । उसले पनि बचाउ गरेजस्तो गरेर उसको हात उनको कुममा राख्छ) मलाई यहाँबाट निकाल, डेविड । तिमीले मलाई यस भयानक जहाजबाट निकालेनऊ भने म पागल हुने छु । मलाई घर लैजाऊ, डेविड । म यसबाहेक केही पनि सोच्न सक्दिनँ । मलाई लाग्छ यहाँको चिसो र सन्नाटाले मेरो दिमाग फुटाइरहेका छन् । मलाई डर लागिरहेको छ । मलाई घर लैजाऊ ।
किनीः उनलाई एक हातको दूरीमै स्पर्श गर्दै उनको अनुहारमा तनावपूर्ण दृष्टि दिएर) बरु तिमी सुन, एनी । तिमीलाई सन्चो छैन जस्तो छ । ज्वरो पनि आएजस्तो छ । हेर, तिम्रा आँखा कति अनौठा देखिएका! यसअघि मैले तिमीलाई यस्ती त कहिल्यै देखेको थिइनँ ।
श्रीमती किनीः अनियन्त्रित हाँसो हाँस्दै) यो बरफ, चिसो र सन्नाटाले हो । यिनले कसैलाई पनि अनौठो बनाइदिन सक्छन् ।
किनीः (फकाउँदै) एकदुई, वा हदै भए तीन महिनामा हाम्रो भाग्य फर्कने छ । अनि मैले जहाज पूरै तेलले भर्न सक्ने छु । त्यसपछि उसमा अटेजति सबै सामाग्री हालेर हामी घरतिर लाग्ने छौँ ।
श्रीमती किनीः त्यति लामो त कहाँ पर्खन सकिन्छ र? भो, म त सक्दिनँ । मलाई घर जान मन छ । यी कर्मचारी पनि पर्खनै वाला छैनन् । उनीहरूलाई यहाँ रोकेर राख्नु तिम्रो क्रूरता हो, पाशविकता हो । तिमीले अब घरतिर लाग्नैपर्छ । कुनै बहानाबाजी चल्दैन । उता लक्षिणतिर पानी सफा छ । तिमीसँग कुनै मुटु छ भने अब घर हिँड्नुपर्छ ।
किनीः कडा स्वरमा) म सक्दिनँ, एनी ।
श्रीमती एनीः किन सक्दैनौ?
किनीः एक महिलो मेरो मनस्थिति बुझ्न सक्दिनँ ।
श्रीमती किनीः (आक्रोशका साथ) किनकि त्यो तिम्रो मनस्थिति मूर्खतापूर्ण छ, हठी छ । तिमीले आफ्नो दोस्रो सहयोगीसँग कुरा गरेको पनि मैले सुनेँ । जहाज भनरी फर्कियो भने अरु क्याप्टेनहरूले उपहास गर्छन् भन्ने डर छ तिमीलाई, होइन? आफ्ना कर्मचारीलाई पिटेर वा मलाई बहुलाईतुल्य बनाएर पनि तिमीलाई आफ्नो उही तुच्छ प्रतिष्ठा बचाउनु छ, होइन त?
किनीः हठी अनुहारमा) त्यसो होइन, एनी । ती नाविकहरूले मलाई पटक्कै उपहास गर्न सक्दैनन् । अरुले के भन्छ भन्ने पनि होइन । तर (आफ्नो कुरा भन्न अक्मकिन्छ) हेर न, म पहिलो यात्रामा निस्केदेखि नै जहाज भर्दै आएको छु । म सधैँ पूरा जहार भरेर मात्रै फर्केको छु र नभरी फर्कनु पनि त उचित होइन । र म होमपोर्टमा सधैँ पहिलो ह्वेलर जहाज हुँदै आएको छु । कुरा अझै बुझिनौ, एनी? (उनलाई हेर्छ । उनी भने उसलाई हेर्नुको साटो अगाडितिर हेरिरहन्छिन्, उसले भनेको केही नसुनी) एनी! (झट्काका साथ होसमा आउँदै) बरु भित्र जाऊ, एनी । तिमी त ज्ञानी महिला पो हौ त । तिमीलाई सन्चो पनि छैन ।
श्रीमती किनीः (पछाडिको ढोकातिर डोर्याउने उसको प्रयासको प्रतिकार गर्दै) डेविड ! तिमी घर फर्कन्नौ त?
किनी (प्रेमपूर्ण) म फर्कन सक्दिनँ, एनी । केही समय म फर्कन्नँ । तिमीले मेरो कुरै बुझिनौ । मैले जसरी पनि तेल त भर्नु नै छ ।
श्रीमती किनीः पैसै चाहिएको हो भने त कुरा बेग्लै हो । तर तिमीलाई पैसा चाहिएको पनि होइन । तिमीसँग आवश्यकताभन्दा बढी पैसा छ ।
किनीः (अधीर भएर) मैले खोजेको पैसा हुँदै होइन । म त्यति तुच्छ छु जस्तो लाग्छ तिमीलाई?
श्रीमती किनीः आलश्यपूर्ण तरिकाले) मलाई थाह छैन । म बुझ्दिनँ पनि । –आवेगका साथ) म आफ्नै पुरानो घर फर्कन चाहन्छु, र आफ्नै भान्सा हेर्न चाहन्छु । म पुनः कुनै महिलाले मसँग कुरा गरेको सुन्न चाहन्छु र उनीसँग कुरा गर्न चाहन्छु । दुई वर्ष भयो — तर लाग्छ, वर्षौं भइसक्यो । लाग्छ, अब म मरी सकेँ, र कहिल्यै घर फर्कन सक्ने छैनँ ।
किनीः उनको अनौठो लवजबाट चिन्तित, र सुदूरमा गरेको उनको दृष्टिबाट भयभीत) बरु तिमी सुत्न जाऊ, एनी । तिमीलाई सन्चो छैन ।
श्रीमती किनीः उनलाई नसुने झैँ गर्दै) तिमी टाढा जाँदा म निकै न्यास्रिन्थेँ । म सोच्नेँ, होम्पोर्ट एउटा निकै खराब र दिक्कलाग्दो ठाउँ हो । अनि म समुद्र किनारमा जान्थेँ, विशेष गरी हुरी चलेको बेला, र जहाजहरू गुडेको बेला म सोच्थेँ, समुद्रमा तिम्रो समय कति सुखद होला ।
(आधा सुस्केराकै बीच हाँस्छिन् ।) त्यसबेला मलाई समुद्र खूब मन पथ्र्यो । (रोकिन्छिन्, र बिस्तारै पुनः बोल्छिन्) तर अहिले, मलाई समुद्र हेर्न पनि मन छैन ।
किनीः उनलाई हसाउने उद्देश्यले) यो महिलाका लागि उपयुक्त ठाउँ नै होइन । तिमीलाई लिएर आउने म नै मूर्ख हुँ ।
श्रीमती किनीः (रोकिएर, हात आँखामाथि लगेर, थकित र द्रवित भएको भावमा) हामीले अहिले नै सुर गर्यौँ भने घर पुग्न कति समय लाग्छ होला?
किनी फन्किँदै) दुई महिना जति लाग्ला, मेरो विचारमा, भग्य राम्रो भयो भने ।
श्रीमती किनीः आँेला भाँचेर, भुत्भुताउँदै र केही हाँसेजस्तो गर्दै) अगस्त हुन्छ होला, भनौँ, अगस्तको अन्त्यतिर । हैन? हामीले बिहे गरेको पनि अगस्तको २५ तारिख हो । हो कि होइन, डेविड?
किनीः उनको सम्झनाले उसलाई भावुक बनाएको कुरा लुकाउने खोज्दै, अलि खस्रो आवाजमा) तिमीलाई सम्झना छैन र?
श्रीमती किनीः पुनः हातले आँखा स्पर्श गर्दै, अनायासै) मेरो सम्झनाले मलाई नै छोड्न थालिसक्यो । हिँउ परेको बेला थियो है — धेरै समय अगाडि । (रोकिन्छिन् र पुनः सोचमग्न भएर मुस्कउँछिन् ) अब त घरमा — आँगनतिर — लिलेक फुल्छन् र छेउछेउतिर गुलाव फुल्छन् । किपोला लाग्न थालिसक्यो होला ।
(हातले अनुहार छोप्छिन् र सुक्सुकाउन थाल्छिन् ।)
किनीः विचलित हुँदै) भित्र गएर आराम गर, एनी । यो भनई नहुने कुरामाथि बेकारमा रोएर तिमी कति थाकिसक्यौ ।
श्रीमती किनीः (उनको गलामा छाँद हालेर टाँसिदै) तिमीलाई मलाई माया गर्छौ, गर्दैनौ?
किनीः आफ्नौ आवेगमा आश्यर्चमिश्रित पछुतो मान्दै) माया? यस्तो प्रश्न किन सोधेकी मलाई, एनी?
श्रीमती किनीः उसलाई बलात् हल्लाउँदै) माया गर्छाै नि, गर्दैनौ र डेविड? भन न?
किनीः म तिम्रो श्रीमान् हुँ, एनी । र तिमी मेरी श्रीमती । उत्तिका वर्ष हामबीच प्रेम नभएर के हुन्छ त?
श्रीमती किनीः उनलाई पुनः हल्लाउँदै, र थप तीव्रताका साथ) त्यसो भए तिमी मलाई माया गर्छौ । भन न त ।
किनीः (सहजताका साथ) गर्छु, एनी ।
श्रीमती किनीः (रहतको सास फेर्छिन् । हात छेउतिर झर्छन् । किनी चिन्तित मुद्रामा हेर्छन् । उनी हातले पुनः आँखालाई स्पर्श गर्दै आफैँसँग मुर्मुराउँछिन् ) मलाई कहिलेकाहीँ लाग्छ — हाम्रो बच्चा भइदिएको भए राम्रो हुन्थ्यो कि! –किनी उनीबाट अलि पर हट्छ, निकै भावुक हुँदै । उनी पाखुरामा समातेर तीव्रताका साथ उनलाई आफूतिर फर्काउँछिन्) र मैले, एक श्रीमतिको रूपमा तिमीलाई सधैँ राम्रो गरेँ, गरिनँ डेविड?
किनीः (आजावले उनको भावुकता लुक्दैन) हो । यस्तीश्रीमती अरुले पाउँदैनन् ।
श्रीमती किनीः र मैले तिमीसँग केही पनि मागिनँ, मागेँ त डेविड?
किनीः तिमीले मागेकी भए मसँग भएको सबै चीज पाउन सक्थ्यौ, एनी ।
श्रीमती किनीः (आवेगका साथ) त्यसो भए, अहिले मैले मागेको चीज पूरा गर — मेरो लागि, वा भगवान्को लागि — मलाई घर लैजाऊ । यहाँ म मर्न लागेँ, यस्तो जीवन बाँच्दा । यहाँको क्रूरता, चिसोपन र त्रास । म पागल हुन लागेँ । यो हावामा पनि म यो त्रास अनुभव गर्न थालेँ । दिन प्रतिदिन यो सन्नाटाले मलाई भयभीत पारेको सुनिरहेकी छु, र सधैँ यस्तै छ । म अब सहन सक्दिनँ । (सुक्सुकाउँछिन्) म पागल हुन्छु ।थाह छ, म पागल हुन्छु । तिमीले भनेजस्तो मलाई माया गर्छौ भने मलाई घर लैजाऊ डेविड । मलाई यहाँ ज्यादै डर लागिरहेको छ । भगवान्कै लागि भए पनि मलाई घर लैजाऊ ।
(उनको गलामा हात बेर्छिन्, उनको काँधको आड लागेर रुन्छिन् । किनीभित्र चलिरहेको भावनात्मक आवेग उनको अनुहारमा छताछुल्ल पोखिन्छ । उनलाई एक हातको दूरीमा राख्छ, र दृष्टिलाई अलि प्रेममय बनाउँछ । केही बेरका लागि उसका पाखुरा झर्छन्, र ऊ बूढो देखिन्छ । उसको फलामे अडानका शिथिलता आउँछ, जब ऊ श्रमतीको अश्रुयुक्त अनुहार हेर्छ ।)
किनीः बलजब्फी केही शब्द निकाल्दै) एनी, तिमलाई आश्वयक छ भने म तिम्रो लागि त्यति गर्छु ।
श्रीमती किनीः उल्लासका साथ, उनलाई चुम्दै) डेविड, त्यसका लागि भगावन्ले तिम्रो कल्याण गरून् ।
(किनी उनीबाट अलि टाढिन्छ र छेउको गलीतिर लाग्छ । त्यैलेबेला भर्याङमा कसैका गोडाका आवाज सुनिन्छ । दोस्रो सहयोगीको क्याबिनमा प्रवेश)
सहयोगीः (खुसी हुँदै) उत्तरतिर पनि बरफ हटिसक्यो, सर । हेर्दा पानी पूरै सफा देखिन्छ र बाटोमा कुनै पनि अवरोध छैन ।
(किनी आफूलाई कुनै सुरुङबाट निस्किएको मानिसले जस्तो सोझो पार्छ । श्रीमती किनी भने भयभीत आँखाले सहयोगीलाई हेर्छिन् ।)
किनीः (केही सम्झेजस्तो गर्दै आश्चर्यका साथ) बाटो सफा छ? उत्तरतिर?
सहयोगीः हो, सर ।
किनीः (आवाजमा दृढटाको झलकसहित) त्यसो भए तयारी गर । हामी उतैतिर जान्छौँ ।
सहयोगीः हस, सर ।
श्रीमती किनीः (चकित मुद्रामा) डेविड !
किनीः नसुनेजस्तो गरेर) यी कर्मचारीहरू जान तयार हुन्छन् त? कि तान्नुपर्ने हो?
सहयोगीः मान्छन् । उनीहरूलाई भगावन्को डर देखाउनुपर्छ । उनीहरू भेडाजत्तिकै निरीह छन् ।
किनीः त्यसो भए, हिँड । –दृढताका साथ) यस बरफको ढिस्कोपारि धेरै नै ह्वेल छन् । र हामीले तिनलाई मार्नैपर्छ ।
सहयोगीः हुन्छ, सर ।
(ऊ हतारोसँग बाहिरिन्छ । केहीछिन् पछि बाहिर डेकतिरबाट मानिस हिँडेको आवाज आउँछ — गुडुडु । सहयोगीले चर्को स्वरमा आदेश दिएको सुनिन्छ)
किनीः आफैँसगँ, अलि रिसाएजसरी) धन्न । नत्र त म एउटा भुक्ने कुकुरजस्तै घर फर्कन लागेको ।
श्रीमती किनीः आग्रहपूर्ण) डेविड ।
किनीः कडाइका साथ) एउटी महिला भएर पुरुषहरूको मामलामा हस्तक्षेप गरेर तिमी ठीक गरिरहेकी छैनौ । तिमी मेरो भावना बुझ्दिनौ ।मैले आफूलाई एक सफल पुरुष बनाउनै पर्छ — तिमीले श्रीमान् भन्दा पनि योग्न हुनका लागि । मैले जसरी पनि तेल भर्नैपर्छ । यति कुरा स्पष्ट बुझ ।
श्रीमती किनीः (आग्रहपूर्वक) डेविड, तिमी घर नफर्कने?
किनीः प्रश्नलाई वेवास्ता गर्दै, आदेशको स्वरमा) तिमीलाई सन्चो छैन । भित्र गएर एकैछिन् सुत । (ऊ ढोकातिर जान्छ ।) मलाई माथि कोसीमा जानु छ ।
(ऊ बाहिरिन्छ । उनी उनको पछाडि असन्तुष्टिका साथ कराउँछिन्, “डेविड” । सन्नाटा । हातले आँखा छाम्छिन्, र अनियन्त्रित रूपले हाँस्न थाल्छिन् र अर्गन बाजा भएतिर जान्छिन् । बस्छिन्, र एकसुरमा कुनै पुरानो भजन बजाउन थाल्छिन् । डेकतिर जाने ढोकाबाट किनी पुनः प्रवेश गर्छ र आक्रोशपूर्ण आँखाले उनलाई हेर्न थल्छ । ऊ अगाडि आउँछ र उनलाई पाखुरामा समाउँछ ।)
किनीः यो केके प्रहसन हो, हँ? (उनी वेफ्वाँक हाँस्छिन्, र झस्किन्छिन् ।) एनी, यो के हो? (उत्तर दिन्नन् । किनीको आवाज काँप्छ) मलाई चिन्दिनौ, एनी? (दुवै हात उनको कुममा राख्छ र उनलाई घुमाउँछ, ताकि उनको आँखामा हेर्न सकोस् । उसलाई मूर्खतापूर्ण दृष्लिे हेर्छिन् । उनका ओठमा एउटा फिका हाँसो देखिन्छ । ऊ भने उनीबाट अलि पर हट्छ, र उनी पुनः बिस्तारै अर्गनमा बजाउन थाल्छिन् ।)
किनीः (कर्कश साउतीमा, बोल्नै गाह्रो भएजस्तो) भन्न त भन्थेऊ, तिमी पागल हुन लाग्यौ । हे भगवान् ।
(माथि डेकबाट लामो रोदन — ऐया! ऐया! एकैछिनमा आकाशबत्ती सामु सहयोगीको अनुहार देखिन्छ । उसले श्रीमती किनीलाई भने देख्दैन ।)
सहयोगीः (उत्साहका साथ) ह्वेल, सर । एक हूलै देखिन्छ — पाँच माइलजति पर । कति ठूलठूला !
किनीः (क्रियाशील हुँदै) डुङ्गा खोल्दैछौ, होइन?
सहयोगीः हो, सर ।
किनीः (निर्णायक शैलीमा) म पनि आउँदैछु ।
सहयोगीः हुन्छ, सर । –खुसी हुँदै) अब च चाहिएजति तेल पाउनुहुनेछ ।
(उसको टाउको केही हट्छ । उसले आदेश दिएको सुनिन्छ ।)
किनीः (श्रीमतितिर फर्कंदै)एनी, तिमीले सुन्यौ? तेल भेटिने भयो । –उनले उत्तर दिन्नन् । ऊ त्यहाँ भएको थाहा पाएजस्तो पनि गर्दिनन् । ऊ उँचो हाँसो हास्छ, जुन हाँसो भन्दा पनि कुनै क्रन्दनजस्तो सुनिन्छ) मलाई थाह छ, तिमी मलाई मूर्ख झुक्याउन खोज्दैछ्यौ, एनी । तिमी पागल भएकी होइनौ –चिन्तित भावमा) अब केही छिनमै मैले चाहिएजति तेल भरिसक्ने छु । अनि हामी घर फर्कने छौँ । अहिले नै त म फर्कन सक्दिनँ । यो त तिमीले बुझ्यौ, हैन त? मैले जसरी पनि तेल भर्नु छ । –आक्रोशको आवेगमा) भन । तिमी पागल भएकी छैनौ, छौ त?
उनी अर्गन बजाइरहन्छिन्, तर उत्तर दिन्नन् । आकाशबत्तीमा पुनः सहयोगीको अनुहार देखिन्छ ।)
सहयोगीः सबै तयारी सकियो, सर ।
(किनी आफ्नी श्रीमतीलाई पिठ्यूँ फर्काउँदै ढोकातिर जान्छ । केहीबेर त्यहीँ उभिन्छ, पछि फर्केर उनलाई आक्रोशपूर्ण हेर्छ , आफ्नो आवेगलाई सम्हाल्न खोज्दै)
किनीः सर आउँदै हो?
किनीः उनको अनुहार दृढताले कठोर बनाउँदै) अँ ।
(ऊ एक्कासि पछि फर्कन्छ र बाहिरिन्छ । श्रीमती किनीले उनको प्रस्थान थाह पाउँदिनन् । उनको सम्पूर्ण ध्यान अर्गनतिरै छ । आँखा आधा बन्द गरेर बस्छिन् । अर्गनमा बजिरहेको भगनको धूनसँगै उनको जिउ उता उता हल्लिन्छ । उनका औँला छिटोछिटो चल्छन्, र उनी आवेगका साथ तर बेसुर तरिकाले बजाइरहन्छिन् । पर्दा । )