नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


महेश पौड्याल

एउटा उपहारका लागि तीन अनिदा रातहरू

“अजय? चिन्छु त्यस मूर्खलाई । मान्छेको भाँडो होइन त्यो ।”
“अजय? अँ, चिन्छु । फटाहा ।”
“अजय? सकिन्न भाइ त्यसलाई त । भो ।”
र थप अरू अरू कुरा । कति हो कति !

त्यस स्कुलमा म नयाँ थिएँ । मेरो दोस्रो दिन थियो ।

यी थिए मैले अजयका बारेमा उसका अन्य शिक्षक–शिक्षिकाहरूबाट सुनेका केही टिप्पणीहरू । यो चर्चा कक्षाकोठामा घटेको एउटा सानो घटनालाई लिएर सुरू भएको थियो । अघिल्लो दिनमात्रै त्यस स्कुलका प्रशासकीय अधिकृतले मलाई त्यस कक्षामा लगेर “कक्षा ४ को कक्षाशिक्षक” भनेर परिचय गराएका थिए । बच्चाहरूले मलाई राम्ररी स्वागत गरेका थिए, र मलाई लागेको थियो, मैले सजिलै यस कक्षालाई सम्हाल्न सक्ने छु । तर भोलिपल्टै मलाई एउटा समस्याको आभास भयो ।

मैले उनीहरूको हाजिरी लिइमात्रै के सकेको थिएँ, बिनिशाले आफ्नो झोलाबाट सुकेको गोबरको एउटा गुइँठो निकाली र देखाउँदै भनी, “सर, मैले झोलामा भेटेको ।”
मैले कसले गरेको हो भनेर कक्षालाई सोधेँ । सबैको एउटै उत्तर थियो, “सर, अजयले ।”

मैले अजय भनेको को हो भनेर सोधेँ, किनकि मैले नामले कुनै पनि बच्चा चिन्न थालेकै थिइनँ । उनीहरूले एउटा पातलो केटातिर देखिए । ऊ अन्तिम बेन्चमा बसेको थियो । निकै मैलो र छुच्छो देखिन्थ्यो ऊ । शिक्षकको अनुहारमा हत्तपत्त नहेर्ने । ऊ आफ्नै धुनमा मस्त थियो, र कक्षामा भएको कुनै गतिविधिले नछोइएजस्तो देखिन्थ्यो ।

मैले अजयलाई सोधेँ । तर उसले आफूले गरेको होइन भन्यो । मैले बिनिशालाई भनेँ, म छानबिन गरेर उनलाई भन्ने छु । गल्ती गर्नेलाई सजाय दिलाउँछु भन्ने आश्वासन पनि दिएँ । त्यसपछि मैले पढाउनुपर्ने पाठ पढाएँ र घन्टी लागेपछि कक्षाबाट बाहिरिएँ ।

उता स्टाफरूममा मैले अजयबारे थप कुरा जान्ने जिज्ञासा राखेँ । त्यो बच्चो किन्डर गार्डेनमा भरना भएकै दिनदेखि पढाएका हौँ भनेर दावी गर्ने शिक्षक–शिक्षिककाले उसबारे माथिका टिप्पणी गरेका थिए । उनीहरू सबैका टिप्पणीमा एक प्रकारको नैराश्य–भाव सुनिन्थ्यो ।

एक वा दुईजनाले मात्रै यसो भनेका भए गतल हुन सक्छन् भन्नु । तर सबैले एउटै कुरा भनेपछि मसँग पत्याउने आधार भयो । मेरो मस्तिष्कको खालीपानामा एउटा कुरा अङ्कित भयो — अजयलाई सुधार्नु असंभव कुरा हो ।

दिनहरू बित्दै गए । तर मतहरू बद्लिएनन् । अजय स्कुलमा “बदमास” कै रूपमा हेरिँदै गयो ।

यसैबीच म बच्चाहरू माझ खूब जमेँ । जब जब कक्षामा बिराम हुन्थ्यो, उनीहरू कुदेर म भएको ठाउँमा आइपुग्थे ।अजय पनि अपवाद थिएन । ऊ पनि म सम्म आउन र छेवैमा उभिन र मेरा कुरा सुन्न रुचाउँथ्यो । तर पनि ऊ विक्रम र विजय जति नजिक आउन भने डराउँथ्यो । कसोकसो उसलाई यो विश्वास गराइएको थियो कि ऊ “बदमास” हो र उसले कहिल्यै शिक्षकको नजिक आउनुहुन्न ।

मेरा लागि आश्चर्यको कुरा के थियो भने मैले अजयलाई कहिल्यै पनि बदमास पाइनँ । ऊ सधैँ मेरा कुरा सुन्थ्यो । गृहकार्य गर्थ्यो र एउटा आज्ञाकारी छात्रमा अपेक्षित आचरण अनुरूप अभिवादन गर्थ्यो र मलाई सहज अनुभव गराउँथ्यो । उसले अङ्ग्रेजीको जाँचमा नि राम्रो गर्‍यो । व्याकरणका सूत्र राम्रोसँग सिक्यो र हस्ताक्षरमा पनि धेरै सुधार गर्‍यो । एकपल्ट त हजुरआमालाई भनेछ पनि — उसलाई अङ्ग्रेजी शिक्षक सबैभन्दा मन पर्छ । तरै पनि, अरू जे भन्थे, म त्यो पत्याउन बाध्य थिएँ – “अजय बदमास हो । कलङ्क हो । दागहो ।”

ऊ अङ्ग्रेजीबाहेक अन्य सबै विषयमा फेल भयो ।

दसैँ–तिहारका लागि स्कुल बन्द भयो । हामी अब एक महिनापछि भेट्ने छौँ भन्ने सूचना जारी भयो । बच्चाहरूले एकअर्कामा शुभकामना आदानप्रदान गरे । शिक्षकहरूलाई पनि शुभकामना भन्न बिर्सेनन् । अजयपनि मेरो निकट आयो र भन्यो, “ह्याप्पी दसैँ एण्ड तिहार, सर ।” मैले मुस्कुराएर उसको शुभकामना ग्रहण गरेँ र उसलाई पनि शुभकामना भनेँ । कताकता मेरो मन भित्र पहिरो चल्न थालिसकेको थियो ।

बिदा सकिएपछि हामी पुनः स्कुल पुग्यौँ । म कक्षा चारको कक्षा–शिक्षक भएको हुँदा उक्त कक्षामा पहिलो घन्टीमै पुगेँ म । उनीहरूले चाडबाड कसरी मनाए भनेर सबै विद्यार्थीलाई सोधेँ । सबैले खूब रमाइलो गरेको कुरा सुनाएँ । केहीबेर यस्तै गफगाफ गरेपछि मैले उनीहरूको ध्यान पढाइतिर खिचेँ यद्यपि मलाई थाहा थियो, बिदापछिको पहिलो दिनको पहिलो घन्टीमा उनीहरूलाई पढ्न मन थिएन ।

घन्टी लाग्यो । म कक्षाकोठाबाट निस्कन मात्रै के आँटेको थिएँ, अजयले भन्यो, “सर!”
”अजय ? भन ।”
“मैले हजुरको लागि एउटा उपहार ल्याएको छु ।”
यो कुरा निकै अनौठो सुनियो । अरू विद्यार्थीहरू एकअर्कालाई हेराहेर् गर्न थाले । उनीहरूलाई थाहा थियो — अजयबाट कुनै शिक्षकलाई उपहार आउनु भनेको असंभव कुरा हो । उनीहरू हाँसे, कुनै रमाइलो मजाकको अपेक्षा गरेर ।
“उपहार? मेरा लागि?”
“हो सर । हजुरको लागि ।”
म रोकिएँ । उसले रङ्गीन कागजमा बेरेर केही ल्याएको थियो ।
“सर, नलिनू,” बिनिशाले चेतावनीको भाषामा भनी । “अस्ति उसको टिफिन बक्समा सर्प हालेर ल्याएको थियो अजयले ।”
“हो र?”
“हो । सर बट्टा टाइट भयो, खोल्न सकिनँ भन्यो । अनि गणित पढाउने सरलाई खोल्दिनू भन्यो । सरले बिर्को खोल्दा सर्पले कस्तरी टाउको उठाएको ! सर त त्यहीँ ढल्नुभो । तर धन्न, प्लास्टिकको सर्प रहेछ,” उसले थपी ।
बिनिशाका कुरा विश्वसनीय थिए । यस घटना बारे मैले पहिले पनि सुनेको थिएँ स्टाफरूममा ।

मकक्षाकोठाबाट निस्किएँ ।
“सर ।”
म पछाडि फर्किएँ । त्यहाँ अजय थियो, निराश उभिएको । आँखामा आँसु थिए । मैले उसलाई बेवास्ता गरेको दुःख उसको अनुहारभरि पोतिएको थियो ।
“अजय?”
आँसु बगे । म विश्वस्त भएँ — ठट्टामात्रै गरेको भए आँसु बग्ने थिएनन् यसरी । मैले उसको उपहार स्वीकार गर्ने निधो गरेँ ।
मैले उपहार हातमा लिएँ । उसको अनुहार उज्यालो भयो, यद्यपि धिमा गतिमा । मैले उसलाई पुलुक्क हेरेँ एकचोटि र बाटो लागेँ ।

तर म स्टाफरूममा गइनँ । बरू होस्टलमा मेरो आफ्नै कोठातिर लागेँ । मुटु हत्केलामा राखेर उपहारको खोल च्यातेँ । कुनै निकृष्ट ठट्टा लगायत जस्तै आश्चर्यका लागि पनि म तयार थिएँ ।
तर होइन रहेछ । त्यो ठट्टा थिएन । त्यसभित्र एउटा सुन्दर फूल थियो, काँचको एउटा उत्तिकै सुन्दर बाकसभित्र । मलाई लाग्यो, यसको मूल्य ७५ रूपियाँ भन्दा कम त हुनै सक्दैन ।
अजय र उपहार ! अजय, र पचहत्तर रूपिया ! हैट, यो स्वाभाविक थिएन ।
म कुदेर कक्षाकोठातिर गएँ र अजयलाई बाहिर बोलाएँ । आफूले खेल्दै गरेको खेल स्थगित गरेर ऊ खुरुक्कै आयो ।
“अजय, सुन्दर उपहारका लागि तिमीलाई धेरै धन्यवाद । पचहत्तर रूपियाँभन्दा कम त पक्कै पनि परेन होला ।”
“हैन नि, सर । एक सय पचास रूपियाँ पर्‍यो ।”
यस कुराले मलाई अझै शङ्कास्पद बनायो । मैले मनमनै निचोड निकालेँ — अजयले पैसा चोर्‍यो ।
“यत्रो पैसा कहाँबाट ल्यायौ? चोरेको हो?”
उसको अनुहारभरि कालो बादल छायो । मेरो नजिक आउन पाउँदाको खुसी क्षणभरमै बिलायो । अजय पुनः उसको विगतमा फर्कियो — उही उदासी । उही विरक्ति । उही कलङ्क हुनुको तीतो अनुभूति ।
“सर, मसँग सय रूपियाँ थियो । पचास हजुरआमाले हाल्निुभयो ।”
झुटमा आफ्नै गन्ध हुन्छ । उसको कुरा पत्याउने कुनै आधार मैले भेटिनँ ।
“सय रूपियाँचाहिँ कहाँबाट आयो नि?”
ऊ डरायो । उसका ओठ काँपे र गला अवरुद्ध भयो । तर पनि उसले बोल्नु नै थियो । उसले भन्यो, “सर, देउसी ।”
मेरो टाउको घुम्यो । उसको बोलीमा मैले कुनै अर्थ भेटिनँ ।
“देउसी? कसरी?” मैले सोधेँ ।
“हो सर । म र मेरो काकाका छोरा देउसी खेल्न गयौँ । तीन रातसम्म हामी घरघर गयौँ । म सुत्न पनि सुतिनँ ।”
यो कुराले मेरो मन छोयो । तिहारमा बच्चाहरू घरघर जान्छन्, गाउँछन्, नाच्छन् । घरबेटीहरू तिनलाई एक दुई रूपियाँ दिन्छन् । अजयजस्तो बालकले सय रूपियाँ जम्मा गर्न त कम्तीमा दुई सय घर पुग्नुपर्छ । फेरि साथी पनि थिए । उनलाई पनि भाग लाउनुपर्‍यो, र धेरैजसो अवस्थामा बराबर हुन्छ विभाजन ।
दुई सय घर ! एउटा उपहारका लागि तीन अनिदा रातहरू !
अजय करिब बाह्र वर्षको बालक थियो । तीन रात, नसुती दुःख गरेर जम्मा गरेको पैसाले आइसक्रिम वा आफूलाई मन पर्ने कुनै चक्लेट किन्नुभन्दा आफ्नो शिक्षकको लागि एउटा सुन्दर उपहार किनेको थियो । यो सामान्य कुरा थिएन ।
म बोल्नै सकिनँ । उसलाई कक्षाकोठामा जानभनेँ ।
साँझ उसकी हजुरआमालाई फोन गरेँ ।
“हो नि सर । सत्य कुरा हो । यसले सय रूपियाँ जम्मा पारेछ । मलाई लिएर पसलमा गयो आज बिहानै । त्यो फूल टिपेर हजुरको लागि किन्छु भन्यो । किन भनेर सोध्दा उपहार दिन्छु भन्यो । फूलको दाम रहेछ एक सय पचास । पचास चैँ मैले हाल्दिएँ, सर ।”

अजय त्यो थियो !
एउटा शिक्षकका लागि तीन अनिदा रातहरू !
त्यही अजय, जसलाई सबै एउटा असंभव बालक ठान्थे ।
मैले आफैँलाई सोधेँ, “यसको हृदयको आयतन कसले नापेको छ? असल अजय खराब स्थानमा थियो...”
मेरा आँखामा अजय एउटा महामानवको रूपमा उभियो — मलाई कुनै उपहार दियो भनेर होइन, उभित्रको प्रेम, सम्मान र त्याग थियो भनेर । र ऊभित्र मानव थियो । शिक्षा, आखिर, अरू कुन कुराका लागि हो त?
उसले दिएको उपहार मेरो दराजमा आज पनि छ । जब जब त्यसलाई हेर्छु, मलाई त्यसै बालकको याद आइरहन्छ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :