नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


महेश पौड्याल

अनामिक यात्री

टाढा, हरियो घामलाग्ने देशमा विशाल दिभाङ् नदी सुकेर सानो नालीमा परिणत भएको थियो । जेठको टन्टलापूर घाममा बालुवाको साम्राज्य ङिच्च दाह्रा देखाएर पर–परसम्म फैलिएको थियो । छिन्–छिनमा आफ्नो हराउन लागेको सभ्यताबाट टाउको उठाएर पानीसर्प माथी हेर्थ्यो, केही खतरा छ कि भनेर यसो सूँघेजस्तो गर्थ्यो, र पूनः पानी भित्रै विलिन हुन पुग्थ्यो । नदीको किनारमा कट्टुस, युद्धको बेला सिमानामा खटाइएका सैनिक जस्तै सतर्क उभ्भिएका देखिन्थे । कट्टुसको एउटा बोटबाट अर्को बोटमा उडी–उडी खेल्ने गौथलीहरूलाई हेर्दा लाग्थ्यो मानौं ती गौंथलीहरू त्यस कट्टुसघारीलाई एकताको सूत्रमा बाँध्न तल्ल्नि छन् ।
ती बूढा अनामिक यात्री, आफ्नो बूढो बोरेझोला लिएर थकित मुद्रामा एउटा कट्टुसको छायामा फ्यात्त बसे । लामो सास फेरेर सिसिमा ठाढो घाँटी लगाएर पानी पिए । उनका आँखा थकित देखिन्थे, यद्यपि त्यहाँ किञ्चित जीवित आशाहरूको आभा मधूरो भएपनि स्पष्ट देखिन्थ्यो । ढल्न लागेको शरीरमा ढल्न लागेको जीवन, पराजयको सास्वत कथाजस्तो देखिन्थ्यो । उनी एक्लै थिए, नितान्त एक्लै, त्यस अन्जान वनको अपरिचित बाटोमा, अन्जान गन्तव्यतिर निरन्तर अगि सर्दै ।
“कता जान लाग्नुभो हजुरबा?” पछिबाट आएको यस अपरिचित स्वरले बूढालाई झस्क्यायो । उनले अचम्म मान्दै पछितिर हेरे, उनका आँखामा एक्कासी जीवनका तरङ्गहरू छछल्किन थाले । हुन पनि त्यस निर्जन वनमा मान्छेको आवाज सुन्दा एक अलौकिक आनन्दको अनुभूति किन नहोस? त्यो सानो केटो पनि, लामो र एक्लो यात्रामा बूढै भएपनि सहयात्री पाउँदा दङ्ग देखिन्थ्यो ।
आफ्नोपनले भरिएको एउटा न्यानो मुस्कानसहित बूढाले भने, “मालिगाउँ हिँडेको बाबु, त्यहाँ मेरो आफ्नै घर छ, मेरो पुरानो घर, मेरै हातले बनाएको ।”
यसरी शुरुभायो, गफगाफको सिलसिला । एकले अर्कालाई साथ दिँदै ती दुई यात्री अगि बढे । बाटोमा अब्बर र मिस्मी जातका फटाहा भेटिने खतरा कायमै थियो, र दुईजना भएपछि उनीहरू ढुक्क भए । छोटा–छोटा अन्तरालपछि केटोले बूढालाई केही सोध्थ्यो, र बूढा पनि आफ्नै नातीलाई माया गरेझै मायालु स्वरमा जवाफ दिन्थे । साठी बर्षका अनुभवहरू, पारम्परिक गाउँले शैलीको भाषामा, सिल्सिलेवर रुपमा फूक्दै गए, केटो पनि गफमा आनन्दित् देखिन्थ्यो । कहिले उनीहरू विश्वयुद्ध पछिको समयको बारेमा चर्चा गर्थे भने कहिले बढ्दो बजार भाउको । जीवन कठिन भएको र अझ कठिन हुँदै जाने सम्भावना रहेकोमा उनीहरू दुबै एकमत् थिए । उनीहरूको गफगाफमा धेरै प्रसङ्गहरू उक्किए, र अन्तमा केटाको एउटा प्रश्नले अन्तरवार्तालाई बूढाको घरफर्काइको विषयमा लगेर ठोक्काइदियो ।
“हजुरबा, तपाई किन पुरानो घर फर्किन लाग्नुभा, तेही पनि एक्लै, उस्तो खतरा बाटोबाट ?”
बूढाको जवाफ लामो थियो, कथामा परिणत भयो । केटो एकाग्र भएर सुन्दै गयो ।
“सुन बाबु, कथा लामो छ,” बुढाले शुरु गरे । इतिहासको कुनै प्राचिन कालखण्डबाट प्रतिध्वनित भएर आएको आवाज जस्तो त्यो आवाज काँपेको थियो ।
“सुशीलले मेरो छँदाखाँदाको घर भत्काइदियो, ” कथा शुरु गरे बूढाले, “मेलै त्यो घर नछाडी हुँदै भएन । अब म आफ्नै घर जान लागेको । ”
“को सुशील?”
“मेरो छोरो, मेरो एकमात्र छोरो ।”
केटो अचम्भित देखियो, र उसको चेतनापनि दिग्भ्रमित बन्यो । बूढाको कथा उसको बुझाइको परिधीभन्दा बाहिर भएको अनुभूति भयो उसलाई । उसले केही प्रतिक्रिया जनाउनु अगिनै त्यो दूर्भाग्यको पर्याय बनेको बूढेसकाल बिरहगाथाको अविरल लहरोको रुपमा प्रतिध्वनित हुँदै अगि बढ्यो ।
“चालीस बर्ष अगाडिको कुरा हो, मलाइ हिजोको जस्तो लाग्छ । त्यो घर बनाउँदा मैले ठूलोचहुरबाट एक्लै काठ बोकेको । काँधभरी दाग अझै आलै छन् । हेछौ? इ, लु हेर,” भन्दै बूढाले पाखुरा सुर्किए । साँच्चै, चोटले पाछेका पाखुरा र काँध, दागै–दागले भरिएका, हृदयविदारक देखिन्थे ।
“यी दागले झल्झली सम्झाउँछन, मलाई ती दिन । ढुङ्गा ओसार्दाको कथा छुट्टै छ । मैले त्यसरी बनाएको घर । थुक्क, पापी दैब ! अहिले केही रहेन, सबै स्वाहा पार्यो पाजीले । घर पनि सिद्धियो, म पनि सिद्धिएँ । हे इश्वर !”
यस पल्ट केटोले माथी आकाशतिर हेर्‍यो, दिग्भ्रमित दृष्टिले । फेरि उसले बूढाका काँपीरहेका ओठमा हेर्‍यो, ती कम्पनहरूमा लुकेका कथाहरूलाई बुझ्ने दुःसाहस जस्तो ।
“माथिल्लो तल्लाको भित्री कोठामा मेरो पलङ् थियो । म त्यस कोठालाई मेरो घरको ‘मर्मस्थान’ भन्थें । एउटा कुनामा मैले मेरो भगवानको मूर्ति राखेको थिएँ, इ, यो भगवानको,” भन्दै झोलाबाट पित्तलको शिवको मूर्ति निकालेर केटोलाई देखाए । फेरि मूर्तिलाई झोलामा थन्क्याउँदै भने, “मेरो कोठाको भित्तामा रहेका काठ र ढुङगाहरू मसँग कुरा गर्थे, मलाई माया गर्थे । मलाई सुरक्षाको प्रत्याभूति दिन्थे, र आफ्नोपनको अनुभूति गराउँथे । तिनीहरू मेरा थिए, म तिनीहरूको थिएँ ।
“जब सुशीलकी आमा बितिन्, म तल्लो तल्लामा सरें । माथी असाध्यै एक्लो भएको अनुभव भयो । समय वित्तै गएपछि, क्याम्पसको सुरु भएको मेरो छोरो सुशीलले भन्यो, “बुवा, यो घर बूढो शैलीको भयो । यसको 'मरम्मत' गर्नु पर्‍यो । साथीहरू आउँदा पनि लाजमर्दो भैसक्यो ।”
“मलाई घरको असाध्यै माया थियो, मेरो घर, मैले बनाएको । इ हेरन पाखुरा ! कति सुन्दर थियो मेरो घर, मेरो लागि । मैले आँफैं चित्र कोरेर, योजना बानाएर उभ्याएको घर । त्यसलाई परिवर्तन गर्ने कुरा मलाई जँचेन । म केही बोलिनँ, तर मेरो मौनतालाई प्रोफेसरसाबले बुझ्न सकेन ।
“माघको महिनामा हुनु पर्छ, मेरो मन्दिरका काठ र ढुङ्गा झिकिए, र त्यहाँ नयाँ काठ र ईटा जडान गरियो । त्यसपछि म सुत्ने कोठाको 'मरम्मत' भयो ।
“ती नयाँ काठ र ईटा मेरा लागि अपरिचित थिए । मैले जोहो गरेका सर्दाम होइनन् ती । मलाई मेरो कोठामा तीनीहरूको उपस्थिति जँचेन । तीनीहरूसंग मेरो संवाद सम्भव भएन । म माझकोठामा बसाईं सरें ।
“फागुनमा माझकोठाको पनि मरम्मत भयो । ती भित्तामा मेरा आफन्तहरू देखिन छोडे, मलाई म आफैं कतै हराए जस्तो लाग्यो, मेरो शरीरमाथि कसैले बनचरो प्रहार गरेजस्तो लाग्यो ।
“म त्यसपछि सिकुवामा बसाईं सरें । यो करा प्रोफेसरसाबलाई मन परेनछ कि क्याहो, मसंग आएर कड्कियो, “यो के जात्रा गर्नुभाको बुवा? मैले यो घरको मरम्मत कस्को लागि गरेको ? तपाईलाई यो उमेरमा आराम दिउँ भनेर लागीपरेको म । तपाई बाहेक मैले स्याहार पुर्‍याउनु पर्ने को छ र संसारमा? तपाई एउटा कोठापछि आर्को कोठामा किन यसरी बसार्इं सर्नु हुन्छ? यो त असह्य भो अब त । ”
“मलाई सम्झना छ,” भन्दै बूढा अगाडी बढे, “मैले प्रोफेसरलाई जवाफ दिएको थिएँ, ‘भित्र गर्मी छ, बाहिर यो सिकुवामा कति शीतल हावा आउँछ । मन कति शान्त हुन्छ यहाँ । ’
“यति सुनेपछि ऊ चूप लाग्यो । मूख फर्काएन । एक महिनासम्म मेरो सिकुवाको बास भयो । कति चीसो बतास चल्थ्यो, बाहिर । बेलाबेलामा भँगेराहरू आँपको बोटमा आएर आकाशका जूनतारालाई हेर्दै चिर्बिर गर्थे । पारी दिगन्तबाट शान्त चन्द्रमा मलाई न्यानो साथको अनुभूति दिलाउँथ्यो ।
“त्यो सिकुवा मेरो थियो । यसमा जडान भएका काठ र ढुङ्गा मेरा थिए, मैले जोडेका । दुईतिर छेकेको माटाको गारो, मैले लाएको । कुनाको जाँतो, मैले खारपानीदेखि बोकेर ल्याएको ढुङ्गो कुँदेर बनाएको। त्यो बेला, दिवाङ् बढेर बहुलाएको थियो । मलाई झण्डै बगाएन । मानबीरेले नसमाएको भए म मास छर्न गैसकेको हुने थिएँ । तर त्यो जाँतो देख्दा म सबै दुःख बिर्सन्थें । मेरो जाँतो ।
“र अन्तमा,” भन्दै बूढाले लामो सास फेरे, अनि अगि बढे, “जे नहुनुथियो, त्यही भयो । म पल्लाघर परसाईकाहाँ गएको थिएँ, बूढासंग गफ गर्न । घर फर्केर आउँदा मेरो सिकुवाको पनि हत्या भैसकेको पाएँ । जाँतो भिरबाट उँधो गुल्ट्याइदिएछ मूर्दाले, तल गएर निबारोको ठुटामा अल्झिएको देखें । युद्धमा मरेको सहिदको लासजस्तो त्यो जाँतो, मेरो जाँतो ।”
भक्कानोले बूढाको बाक्य रोक्यो, आँखाभरी आँसु ढल्पलाए । उनी निकैबेर धकार्रिए ।
“अब त्यो घरमा मेरो केही रहेन । मेरो मन थामिएन । त्यसदिन सम्म मैले मेरो भनेको घर एक्कासी बिरानो भो मलाई । ती नयाँ झ्याल–ढोका खोल्न र बन्द गर्न पनि आउँदैनथ्यो मलाई ।
“त्यसैले म हिँडे, आज बिहानै । मेरो छोरो उठेकै थिएन । पर मालिगाउँ छ, त्यो मेरो पूर्खेउली गाउँ हो । मैले मुग्लान पस्नु अगि बनाएर छोडेको मेरो घर अझै छ त्यहाँ । म यतिका वर्ष पछि त्यस घरतिर जाँदैन । आहा, मेरो घर !”
“मैले त्यसको केही लगिन । मैले लिएर हिँडेको यही एउटा झोला हो । हेर यो झोलामा के–के छ ।”
बूढाले बोरेझोला अगि सारे । केटोले मुण्टो निहाराएर झोलाभित्र हेर्‍यो । बूढाका जोडी आँखाबाट टप्प टप्किएका आँसूका थोपा मध्ये एउटा झोलाभित्र खस्यो, र एउटा केटाको सिरमा । झोलाभित्र शिवको मूर्ति थियो, सूर्तिका केही सुकेका पात थिए, र थियो एउटा निकै पुरानो बर्को ।






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :