कथा:
महेश पौड्याल
बिटुलो स्पर्श र निर्दोष माया
उनीहरू अमेरिकाबाट घर फर्कंदा आदित्य चार पुगेर पाँच लागेको थियो । अमेरिकामा हुँदा आदित्यकी आमाले नेपाल घरमा हजुरबा, हजुरआमा र काका–काकी रहनु भएको र हजुरआमा–हजुरबाले चरा, भ्यागुता र बाँदरबारे धेरै कथा भन्ने र घुगुत्ती–बासुत्ती खेलाउने कुरा भन्नुभएको हुँदा आदित्य हजुरबा–हजुरआमालाई भेट्न आतुर थियो । उनीहरूको एल्बममा हजुरबा र हजुरआमाको फोटो थियो, र उसको छिमेकका साथीहरू आउँदा “मेरा हजुरबा–हजुरआमा” भनेर चिनाउँथ्यो ।अमेरिकामै जन्मेको आदित्यलाई नेपालको बारेमा केही थाहा नभए पनि उसका बाआमाले उसलाई नेपाली भाषा बोल्न, बिहानै उठेर घरमै स्थापित गरिएका देउताका अगाडि “ज्यू” गर्न र “सयौँ थुँगा फूलका हामी” भनेर नेपालको राष्ट्रिय गान कण्ठस्थै गाउन सिकाएका थिए । प्रत्येक साँझ–बिहान नेपालमा हजुरबा–हजुरआमासँग खेल्न पाउने सपानाले सधैँ पुलकित हुन्थ्यो ऊ ।
यता नेपाल घरमा बूढाको स्वास्थ्यस्थिति अलि खस्कँदै गएको र डाक्टरले अलि गम्भीर रोग नै लागेको हुन सक्ने बताएकोले उनीहरूलाई नेपाल आउन भनिएको थियो । तदन्त सबै तयारी पूरा गरे, र उनीहरू नेपाल आए ।
नेपाल आदित्यलाई अनौठो लाग्यो । यहाँका सडकमा हरेक प्रकारका गाडी ठेल्मठेल कसरी गुडेका हुन् भन्ने कुराले ऊ अलमल्ल पर्यो । अमेरिकामा कहिलेकाहीँ उनीहरूको डेरामा बाबालाई भेट्न आउने नेपालीबाहेक अरु बेला नेपाली देख्न नपाएको ऊ जताततै नेपाली देख्दा आचम्भित भयो ।
उनीहरूको घर लोकन्थलीमा थियो । एयरपोर्टबाट कोटेश्वर हुँदै, पट्टेर लाग्दा जाम काटेर साँझपख उनीहरू घर पुगे । आठ वर्षपछि छोरा–बुहारी र नाती घर आउँदा बूढा–बूढीको खुसीको सीमा रहेन । फोटोमा देखेका अनुहारलाई आँखाअगाडि पाउँदा आदित्यलाई हजुरबा–हजुरआमा चिन्न कुनै गाह्रो भएन । “हजुरबा” भन्दै ऊ बूढाका काखमा होम्मियो । हर्षले बूढाका आँखा रसाए । फेरि ऊ “हजुरआमा” भन्दै बूढीका काखमा होम्मियो । बूढीका आँखा पनि हर्षले रसाए ।
दिन बित्दै गए । साँझ सुत्ने बेलामा बाहेक आदित्यले आमालाई खोज्नै छोड्यो । ऊ हजुरबाका कथा र हजुरआमाको लाडप्यारमै हरायो ।
बूढाको स्वस्थ्य वास्तवमै क्षीण हुँदै गएको थियो । तैपनि उनको काख आदित्यका लगि सधैँ खुला रह्यो । दिनदिनै रुग्ण हुँदै गरेका गोडामा आदित्यलाई राखेर घुगुत्ती–बासुत्ती खेलाउँदा उनी आफूभित्र नयाँ जीवन संचारित भएको अनुभूति गर्थे । तर जब उनको शरीरले जवाफ दियो, र उनी अस्पतालमा भर्ना भए, आदित्यले एउटा स्वर्ग गुमायो ।
हजुरबा अस्पताल भर्ना भएपछि आदित्य हजुरआमातिर झ्याम्मिन थाल्यो । हजरआमाले कथा भने पनि घुगुत्ती–बासुत्ती खेलाउन नसक्ने हुनाले उसलाई हजुरबाको न्यास्रो लागि नै रह्यो । उसले अमेरिकाको व्यस्त जीवनमा नपाएको एउटा न्यानो स्पर्श पाइरहेको थियो । ऊ पलपल यस्तै मायालु स्पर्शहरूका लागि लालायित रहन्थ्यो । हजुरआमा थकित या व्यस्त भएको बेला ऊ आफ्नी आमाको न्यानो स्पर्श खोज्दथ्यो । आमा व्यस्त हुँदा ऊ आफ्ने बुवाको स्पर्शका लागि भौँतारिन्थ्यो । यी स्पर्शहरू जताततै थिए उसका लागि – न्याना र मायालु स्पर्शहरू । नहुन् पनि कसरी, त्यस कूलको दीपक थियो आदित्य, र सबैको आँखाको तारा । उसलाई काखमा राखेर खेलाउन पाउँदा सबैले चरम आनन्दको अनुभूति गर्थे ।
केही दिनपछि नुवाकोटबाट आदित्यकी सानिमा हजुरबाको स्वास्थ्यको जानकारी लिन र उनीहरूलाई भेट्न लोकन्थली आइन् । एकदुई दिन बसेपछि हजुरबाको स्वास्थ्यमा केही सुधार आयो भन्ने चिकित्सकको भनाई आएपछि उनी पुनः नुवाकोट फर्किइन् । उनीसँगै आएको आदित्यकै उमेरको उनको छोरो पवनसँग आदित्य पनि नुवाकोट गयो ।
यसरी नुवाकोटमा आदित्यका केही दिन बिते । त्यहाँ धेरै माया पाए पनि घरमाजस्तो हजुरबा, हजुरआमा र बुवाआमाका मायालु काख र कोमल स्पर्शको भने अभाव खड्किइरह्यो । वास्तवमा त्यहाँ उसलाई कसैले काखमा राखेन, र कसैले घुगुत्ति–बासुत्ति खेलाएन । ऊ कुनै पनि जुक्तिले यथाशीघ्र लोकन्थली आउन चाहान्थ्यो ।
केहीदिन पछि लोकन्थलीबाट खै के समाचार आयो, सानिमा पवन र उसलाई लिएर, हस्याङ्फस्याङ् गर्दै लोकन्थली जान हतार्रिइन् । उनीहरू माइक्रो चढे, र काठमाडौंतिर हान्निए । आदित्यको मन भित्रभित्रै हर्षित भयो ।
अपराह्न दुई बजेतिर उनीहरू घर पुगे । आँगनमा पाइला टेक्नासाथ सानिमा डाँको छोडेर रुँदै हजुरआमाका छेउ पुगिन् । सबै जना केलाहाल गरेर रुन थाले । अदित्यले पल्याकपुलुक यताउती हेर्यो । आँगनका विभिन्न कुनामा घुम्लुङ्ग सेता कपडा ओढेर, कपाल पनि नकोरी सबैजना एकोहोरो बसिरहेको देख्दा उसलाई उदेक लाग्यो । आँगनको एक छेउमा बुवा र काकालाई कपाल मुडुलै पारी काटेर, सेता लुगामा बेर्रिएर टुक्रुक्क बसेको देख्दा ऊ अवाक भयो । ती सम्वाद र रोदनहरूका बीचबीचमा व्यक्त शब्दहरूबाट उसले हजुरबा नरहेको यथार्थ थाह पायो । सानै भए पनि उसको मनभित्र एउटा विचित्रको चीसो पस्यो । छेउमा केही गाउँलेहरू र केही गुरुपुरोहितहरू पनि दुख साट्दै बसेका थिए ।
धेरै दिनदेखि घरको न्यानो र आफन्तको स्पर्श नपाएको आदित्य वायुवेगले कुद्यो र बुवाका काखमा बस्यो । “हेइ, हुँदैन,” भन्दै बुवा जुरुक्क उठे र टक्टक्किए । चार पुगेर पाँच लागेका र तीभन्दा ठूलाहरूलाई किरियापुत्रीहरूले छुनु हुँदैन भन्ने नियम त्यस गाउँका जान्नेसुन्नेले बनाएका थिए
एकजना गाउँलेले आदित्यलाई समाउन खोजे । ऊ ठूलो बलले तिनको पकडबाट उम्किएर फेरि आमातिर होम्मियो र काखमा बस्यो । “हा, हुँदैन,” भन्दै आमा पनि जिउ टक्टक्याउँदै उठिन् र आदित्य भैँमा लड्यो । फेरि केही गाउँलेहरूले समाउन खोजे । आदित्य तिनीहरूको चङ्गुलबाट फुत्कियो ।
“आऊ बाबु । हेर, हाम्मो घरमा जाने ल? पापा र बुबु खाने नि,” एक जना आइमाईले फकाउन खोजिन् । उसलाई त्यो आवाजले रति तानेन । ऊ उभ्भिएर आमालाई हेरिरह्यो । आमा पनि उसलाई हेरि नै रहेकी थिइन । केवल यो मन र त्यो काखकोबीच अनत्न कोसको एउटा कृत्रिम दूरी थियो ।
उसले आमालाई हेरिरह्यो । तर आमा ले “आऊ बाबु” भन्नु भएन । फेरि उसले बुवालाई हेर्यो । बुवाले पनि उसलाई “आऊ बाबु” भन्नु भएन । अघिदेखि फटफटाइरहेका उसका कलिला ओठ एक्कासि खुले र एउटा गगनभेदी रोदन त्यहाँबाट निस्कियो ।
माथ्लाघरकी माइजू गुन्द्रीबाट उठिन् र आदित्यलाई बोक्न खोजिन । आदित्यले आफ्नो कुहिनोले कसिलो झट्का दियो, र नजीकको पर्खालमा गएर आफ्नो टाउको पर्खालका ढुङ्गामा बजार्दै रुन थाल्यो । निधार फूटेर भल्भली रगत बग्यो । “लौ, लौ, के भयो,” भन्दै सबै जना उठे । सबै भन्दा आघि “के गरिस् नि मेरो बाबु,” भन्दै वायुवेगले कुदेर आफ्नो छोरोलाई आँगालोमा बाँधेर आफूले ओढेको सेतो बर्कोको छेउले रगत पुछिदिने आदित्यकी आमा नै थिइन् ।
किरियापुत्रीलाई छुनुहुँदैन । शास्त्रको निर्देशनलाई एउटा अवोध शिशुको मायाको प्यास, र एउटी आमाको निश्छल ममताले लत्याएको यस दृश्यलाई गुरु पुरोहित, जान्ने बुझ्ने र अग्रज भनाउँदाहरूले मूर्तिवत उभ्भिएर एकोहोरो हेरिरहे । कसैका मुखबाट प्रतिवादको एक शब्द पनि निस्कन सकेन ।