निबन्ध:
डा. हरिप्रसाद पोखरेल
(मानसाग्नि)
कविता
थोपामा समुन्द्र देखाउने कला कविताको सगरमाथा रहेछ । सानो थोपाले जलको विराट चेतना देखाए जस्तै या अँधेरी रातमा जुनकिरीको पिल–पिलले अनादि प्रकाशको वेद बोले जस्तै कविताले अणुमा अनन्त बोल्न सक्ने सामथ्र्य राख्दो रहेछ । शास्त्रार्थ र शब्द संसारको मायाजालबाट धेरै टाढा सत्य भेट्न सत्पथका कोषेढुङ्गा छिचोल्दै बढिरहेका मौन सभ्यतामा मौनी मानवहरूले पनि बीज कविता, सूत्र कविताबाटै जीवनको उत्सव मनाएको पाइन्छ । रुखले पत्र छाडेका भोजपत्रमा होस् या सुकेका पातका हृदयमा कविताले प्रशव उत्सवमा जीवन्त नाच नाचेकै थिए । आज हामीले गौरव गर्ने आदि सन्देशहरू कविता मै त थिए । साहित्य लेखनको आदि विधा केवल कविता नै त रहेछ । समयका साथ कविताका रुप–स्वरुप र अरुपहरूमा परिवर्तन आए होलान् । वारि–किनारा र पारि–किनाराले केही वर्ष आफ्ना गुण आफ्नै शब्दमा गाए होलान् वर्तमानमा छन्द र छन्दमुक्तले गाए जस्तै । फेरि पुलको विचमा बसेर नदचैतन्यमा उत्सव मनाए होलान् ।
कविता कलममा देख्नेहरू पनि धेरै होलान् । संस्था र सम्मानमा कविता लेख्नेहरू पनि धेरै होलान् । भिरमा खर काट्दा काट्दै आफ्नो ओठदेखि गाई–भैँसीका ओठसम्म कविताको सृष्टि र संहार नृत्य नाच्नेहरू पनि त कम छैनन । चराका कविता सुनेर पुतलीसँग रमाउने पनि कम छैनन् ।
नदीको भोजपत्रलाई ढुङ्गाको समतल पिंधले थिचेर गवनाले कविता लेख्ने त्यो झुपडीको कुप्रो ढाड कहिले आफू कविता बन्यो । कहिले अरुका कविता सुन्यो । उत्तर–दक्षिण नदी कविता बन्यो र छालहरूमा छचल्किएर ध्वनि कविता गाइरह्यो । हिमालदेखि समुन्द्रसम्म यात्रा कविताको महाकाव्य किनाराका वस्तीहरूमा छापिरह्यो । समुन्द्रको पिंधमा पुगेर मौन कविता मुगा र मोती बनेर चम्किरह्यो । उत्तर–दक्षिण बगेको नदीसँग पूर्व–पश्चिम बगेको ढुङ्गाले हजारौँ–हजार प्रेमीहरूलाई प्रेमका कविता सुनायो । कैयन मत्स्यगन्धाहरु सुगन्धित कविता भए, कैयन सुगन्धाहरू मत्स्य कविता भए । उत्तर वाहिनी भएर सगरमाथाको कविता लेखे पनि दक्षिण वाहिनी भएर समुन्द्रको कविता लेखे पनि जल चेतनाको मसीविना संसारमा कुन कविता लेखिएको छ र ! जीवको रक्तकणमा लेखिएका कविता हुन् या वनस्पतिको हरेक कणमा, सबै कविताभित्र अनादि कविता मौन महागोष्ठी गरिरहेछ ।
मकैका बोटहरूका जरामा मल–जल र उकेराका कविता लेखिरहेका खेतालासंगै गड्यौला र मकैको बोटले कविगोष्ठीको प्रतिक्षा गरेको दखेको छु । चवर र घुँगाले प्रेम बन्धनमा बाँधिएर शृङ्गारिक कविता एक–अर्कालाई सुनाएर आनन्दले गोष्ठी गरिरहँदा साना नानीहरूले मकै चढाउने दिनमा गाएको कवितादेखि सुगाहरूले गरेका अन्तर्राष्ट्रिय गोष्ठीसम्ममा के कविताको लालित्य छैन र ! भोकमरीले मरणासन्न पेटमा मकैले गरेको कवि गोष्ठीमा पढेका कविता संस्कृतका महाकवि वेदव्यास र कालिदासका भन्दा कम छन् र ! के ग्रन्थलाई मात्र महाकाव्य बन्ने एकल अधिकार छ र ! जीवन महाकाव्य बन्न सक्दैन ! जीवनका हरेक कोष र होसमा कविता जिउन सकिन्न ! जब यस पृथ्वीमा जीव सम्भवकाल आयो तबदेखि नै कण–कणले गाएका कविता र कविताले दिएका रुपान्तरणका कोसेली देख्ने तृतीया नेत्र किन सनातन कवितालाई भोटे ताल्चा लगाएर मस्त निदाएको छ । पूर्व वैदिककालका कविता किन मानव हृदयबाट सुन्न सकिन्न ?
“सबैले बलेकै आगो ताप्छन्” ऊ सुस्केरा कविता चाउरी निधारको खुइले डाँडामा वृतचित्र खिचिरहेको थियो । बेहोस मनभित्र होसलाई थुनेर चन्द्रमा र चोरको खेल कविता गाई रहेछ । हो बलेको आगो ताप्नेहरूको हुलले पुस–माघको कठ्याङ्ग्रिने जाडोमा मात्र होइन वैशाख–जेठको प्रचण्ड गर्मीमा पनि न्यानो मानेर तापिरहन्छन् । भुमरीतर्फ बढ्दै गएको जीवन किनाराका कविता सुनाउन आतुर पौडीवाजहरू पातालतिर गैसक्दा पनि आकाशीय कवितामा रमाइरहन सक्दारहेछन् । बलेको आगो खोज्दै आफू दिनानुदिन निभ्दै गएको ठूलो हूलविच पनि चुपचाप मौन कवितामा कोही समाधिस्थ हुँदोरहेछ निभेको आगो तापेर । हिराको प्रतीक्षामा बसेको कोइला र शिवको प्रतीक्षामा बसेको खरानी देखेर । धैर्यका शब्दहरूले प्रतीक्षाका कविता लेख्दा कर्मयोगका मसीहरू गतिशील भएकै त हुन्छन् । बेलेको आगोमा भन्दा निभेको खरानीमा सनातन सत्य देखेर त होला शिवले खरानी कवितामा ताण्डव लेखेको । चेतनाको चुलीबाट अर्धनारीश्वरको महाविज्ञान शिवका शैव कविता समत्व सगरमाथा गाइरहन्छ । शरीर र श्वास दुवै रोकेर गौरीशङ्करको लय देख्न समाधि कवितामा निष्कम्प दौडिएको नदेख्ने आँखाहरूले निभेको आगो कहाँ देख्दछन् र ! पाहुना बनेर बलिरहेको त्यो न्यानो आगो आफ्नो मूल घर फर्किएको देख्ने आँखाले त कोइलामा हीरा र खरानीको भूतभुतिबीच विभूति पोतेको शिव देख्दोरहेछ ।
बत्तीमुनि अँध्यारो कोही आफ्नो अहङ्कारका कविता आफ्नाहरूलाई सुनाउँदै थिए । कहिलेकाहीँ अग्लो कलात्मक र मूल्यवान् पानसमाथि चढेर बत्तीले पनि अहङ्कारका कविता गाउँदा आफ्नै पैताला अन्धकारमा चिप्लिएको पत्तै पाउँदा रहेनछन् । मोटो र अग्लो मैनबत्ती आज भन्दै थियो । आफ्ना अहङ्कारका कविता पग्लिएर पैतालामा आएपछि सत्यको हजार चन्द्रदर्शनको चौरासी उत्सव उपलब्ध भयो । अहङ्कार पग्लिएर मस्तिष्क हृदयमा विलय भई कोष–कोषमा वग्न थालेपछि दशै दिशा उज्यालो हुँदोरहेछ । पानसको चुरो र पैतालाको कुरो मिलेर बत्तीमुनि उज्यालोमा मानिसले बोधको कविता लेख्दो रहेछ । झोक्राएका आफन्तहरूका विच आफ्नो छायाँ र मायालाई भष्मीभूत गर्दा मसान वैराग्यको कविता पढ्ने कवि देखेर सुनसान/अट्टहासमा ऊ पञ्चतत्वको कविता देखिरहेछ । एक अग्निबिच सुतेर १५५ दिव्य ज्योतिहरूको माला खोजिरहेछ– स्थूल शरीर, सूक्ष्म शरीर, कारण शरीर, समष्टि जगत् र ब्रह्मको सनातन कविताभित्र । सात रङ्गबिच होली मनाइरहेका होलीका कविताहरूलाई आर्यघाटले चिमोट्दो रहेछ बाग्मतीका सिँढीहरूमा ।
अन्धकारलाई गाली गरेर विश्वविख्यात बन्ने महत्वाकाङ्क्षी हूल आफै अन्धकारमा बाटो बिराउँदा, जुनकिरी बन्न खोज्ने सत्पथ कविताले हूल बचाएको र सृष्टि रचाएको पनि देखियो । अरबौँ मानिस सुतिरहे पनि सूर्य एकाविहानै उद्य हुन्छ, पर्खिंदो रहेनछ मान–सम्मान र पूजा गर्ने हूललाई । सत्यको कविगोष्ठीमा एक्लै कोषेढुङ्गाका महाकाव्य पाठ गरिरहेको पनि देखियो । सूर्यको सनातन यात्राजस्तै ।
हिमालय र पहाडालयका मझेरीबाट आँगनमा निस्केर हिमवत्खण्ड र मानसखण्डका कविता देख्नेहरूका सन्तान दैलोको संघार नदेखेर उछिट्टिई बलेनीमा लडेको (लोटेको) पनि देखियो । बलेनीमा पछारिएर गाली गर्दै छानो उप्काएर छिमेकीको रछ्यानमा फाल्दा मझेरीमै पछारिएर ढाड भाँची छिमेकीकै ह्विलचियरमा रमाएको पनि देखियो । हिमाल र पहाड अनादि यौवनमा होसमस्त हुँदा योग, तन्त्र, आर्युविज्ञान, संगीत, प्रकृति विज्ञान आदि अनेकन कविता विश्व विख्यात भए । मौन प्रश्न र मौन उत्तर सुन्ने कानहरू गौरवको गौरीशङ्कर ध्यान कविता दिव्यध्वनि संयोजन समाधि प्रथम भएको देखियो ।
पहाड र हिमालका बन्द आँखा जुधेर प्रेममा लुछुप्दै हुँदा कुण्डलिनी कविताका प्रेम पत्रहरू ईंडा, पिङ्गला र सुषुम्नासँग साउती गर्दै पढेको पनि देखियो । भोजनालयको षड्रस रमाएको जिब्रो फनक्कै आफ्नो मूलमा घुमाएर खेचरालयमा सहस्र स्वादमा भोज र मोजको उत्सव मनाएको पनि देखियो । प्रिय र प्रियसीहरू मूलाधारदेखि सहस्रारसम्मको बाटोका पाटिहरूमा प्रेमालापमा बेरिएर लठ्ठिंदै शृङ्गार रसका कवितामा सुन्दरताको शिखर बनेको पनि देखियो ।