नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


महेश पौड्याल

बिटुलो स्पर्श र निर्दोष माया

उनीहरू अमेरिकाबाट घर फर्कंदा आदित्य चार पुगेर पाँच लागेको थियो । अमेरिकामा हुँदा आदित्यकी आमाले नेपाल घरमा हजुरबा, हजुरआमा र काका–काकी रहनु भएको र हजुरआमा–हजुरबाले चरा, भ्यागुता र बाँदरबारे धेरै कथा भन्ने र घुगुत्ती–बासुत्ती खेलाउने कुरा भन्नुभएको हुँदा आदित्य हजुरबा–हजुरआमालाई भेट्न आतुर थियो । उनीहरूको एल्बममा हजुरबा र हजुरआमाको फोटो थियो, र उसको छिमेकका साथीहरू आउँदा “मेरा हजुरबा–हजुरआमा” भनेर चिनाउँथ्यो ।
अमेरिकामै जन्मेको आदित्यलाई नेपालको बारेमा केही थाहा नभए पनि उसका बाआमाले उसलाई नेपाली भाषा बोल्न, बिहानै उठेर घरमै स्थापित गरिएका देउताका अगाडि “ज्यू” गर्न र “सयौँ थुँगा फूलका हामी” भनेर नेपालको राष्ट्रिय गान कण्ठस्थै गाउन सिकाएका थिए । प्रत्येक साँझ–बिहान नेपालमा हजुरबा–हजुरआमासँग खेल्न पाउने सपानाले सधैँ पुलकित हुन्थ्यो ऊ ।
यता नेपाल घरमा बूढाको स्वास्थ्यस्थिति अलि खस्कँदै गएको र डाक्टरले अलि गम्भीर रोग नै लागेको हुन सक्ने बताएकोले उनीहरूलाई नेपाल आउन भनिएको थियो । तदन्त सबै तयारी पूरा गरे, र उनीहरू नेपाल आए ।
नेपाल आदित्यलाई अनौठो लाग्यो । यहाँका सडकमा हरेक प्रकारका गाडी ठेल्मठेल कसरी गुडेका हुन् भन्ने कुराले ऊ अलमल्ल पर्‍यो । अमेरिकामा कहिलेकाहीँ उनीहरूको डेरामा बाबालाई भेट्न आउने नेपालीबाहेक अरु बेला नेपाली देख्न नपाएको ऊ जताततै नेपाली देख्दा आचम्भित भयो ।
उनीहरूको घर लोकन्थलीमा थियो । एयरपोर्टबाट कोटेश्वर हुँदै, पट्टेर लाग्दा जाम काटेर साँझपख उनीहरू घर पुगे । आठ वर्षपछि छोरा–बुहारी र नाती घर आउँदा बूढा–बूढीको खुसीको सीमा रहेन । फोटोमा देखेका अनुहारलाई आँखाअगाडि पाउँदा आदित्यलाई हजुरबा–हजुरआमा चिन्न कुनै गाह्रो भएन । “हजुरबा” भन्दै ऊ बूढाका काखमा होम्मियो । हर्षले बूढाका आँखा रसाए । फेरि ऊ “हजुरआमा” भन्दै बूढीका काखमा होम्मियो । बूढीका आँखा पनि हर्षले रसाए ।
दिन बित्दै गए । साँझ सुत्ने बेलामा बाहेक आदित्यले आमालाई खोज्नै छोड्यो । ऊ हजुरबाका कथा र हजुरआमाको लाडप्यारमै हरायो ।
बूढाको स्वस्थ्य वास्तवमै क्षीण हुँदै गएको थियो । तैपनि उनको काख आदित्यका लगि सधैँ खुला रह्यो । दिनदिनै रुग्ण हुँदै गरेका गोडामा आदित्यलाई राखेर घुगुत्ती–बासुत्ती खेलाउँदा उनी आफूभित्र नयाँ जीवन संचारित भएको अनुभूति गर्थे । तर जब उनको शरीरले जवाफ दियो, र उनी अस्पतालमा भर्ना भए, आदित्यले एउटा स्वर्ग गुमायो ।
हजुरबा अस्पताल भर्ना भएपछि आदित्य हजुरआमातिर झ्याम्मिन थाल्यो । हजरआमाले कथा भने पनि घुगुत्ती–बासुत्ती खेलाउन नसक्ने हुनाले उसलाई हजुरबाको न्यास्रो लागि नै रह्यो । उसले अमेरिकाको व्यस्त जीवनमा नपाएको एउटा न्यानो स्पर्श पाइरहेको थियो । ऊ पलपल यस्तै मायालु स्पर्शहरूका लागि लालायित रहन्थ्यो । हजुरआमा थकित या व्यस्त भएको बेला ऊ आफ्नी आमाको न्यानो स्पर्श खोज्दथ्यो । आमा व्यस्त हुँदा ऊ आफ्ने बुवाको स्पर्शका लागि भौँतारिन्थ्यो । यी स्पर्शहरू जताततै थिए उसका लागि – न्याना र मायालु स्पर्शहरू । नहुन् पनि कसरी, त्यस कूलको दीपक थियो आदित्य, र सबैको आँखाको तारा । उसलाई काखमा राखेर खेलाउन पाउँदा सबैले चरम आनन्दको अनुभूति गर्थे ।
केही दिनपछि नुवाकोटबाट आदित्यकी सानिमा हजुरबाको स्वास्थ्यको जानकारी लिन र उनीहरूलाई भेट्न लोकन्थली आइन् । एकदुई दिन बसेपछि हजुरबाको स्वास्थ्यमा केही सुधार आयो भन्ने चिकित्सकको भनाई आएपछि उनी पुनः नुवाकोट फर्किइन् । उनीसँगै आएको आदित्यकै उमेरको उनको छोरो पवनसँग आदित्य पनि नुवाकोट गयो ।
यसरी नुवाकोटमा आदित्यका केही दिन बिते । त्यहाँ धेरै माया पाए पनि घरमाजस्तो हजुरबा, हजुरआमा र बुवाआमाका मायालु काख र कोमल स्पर्शको भने अभाव खड्किइरह्यो । वास्तवमा त्यहाँ उसलाई कसैले काखमा राखेन, र कसैले घुगुत्ति–बासुत्ति खेलाएन । ऊ कुनै पनि जुक्तिले यथाशीघ्र लोकन्थली आउन चाहान्थ्यो ।
केहीदिन पछि लोकन्थलीबाट खै के समाचार आयो, सानिमा पवन र उसलाई लिएर, हस्याङ्फस्याङ् गर्दै लोकन्थली जान हतार्रिइन् । उनीहरू माइक्रो चढे, र काठमाडौंतिर हान्निए । आदित्यको मन भित्रभित्रै हर्षित भयो ।
अपराह्न दुई बजेतिर उनीहरू घर पुगे । आँगनमा पाइला टेक्नासाथ सानिमा डाँको छोडेर रुँदै हजुरआमाका छेउ पुगिन् । सबै जना केलाहाल गरेर रुन थाले । अदित्यले पल्याकपुलुक यताउती हेर्‍यो । आँगनका विभिन्न कुनामा घुम्लुङ्ग सेता कपडा ओढेर, कपाल पनि नकोरी सबैजना एकोहोरो बसिरहेको देख्दा उसलाई उदेक लाग्यो । आँगनको एक छेउमा बुवा र काकालाई कपाल मुडुलै पारी काटेर, सेता लुगामा बेर्रिएर टुक्रुक्क बसेको देख्दा ऊ अवाक भयो । ती सम्वाद र रोदनहरूका बीचबीचमा व्यक्त शब्दहरूबाट उसले हजुरबा नरहेको यथार्थ थाह पायो । सानै भए पनि उसको मनभित्र एउटा विचित्रको चीसो पस्यो । छेउमा केही गाउँलेहरू र केही गुरुपुरोहितहरू पनि दुख साट्दै बसेका थिए ।
धेरै दिनदेखि घरको न्यानो र आफन्तको स्पर्श नपाएको आदित्य वायुवेगले कुद्यो र बुवाका काखमा बस्यो । “हेइ, हुँदैन,” भन्दै बुवा जुरुक्क उठे र टक्टक्किए । चार पुगेर पाँच लागेका र तीभन्दा ठूलाहरूलाई किरियापुत्रीहरूले छुनु हुँदैन भन्ने नियम त्यस गाउँका जान्नेसुन्नेले बनाएका थिए
एकजना गाउँलेले आदित्यलाई समाउन खोजे । ऊ ठूलो बलले तिनको पकडबाट उम्किएर फेरि आमातिर होम्मियो र काखमा बस्यो । “हा, हुँदैन,” भन्दै आमा पनि जिउ टक्टक्याउँदै उठिन् र आदित्य भैँमा लड्यो । फेरि केही गाउँलेहरूले समाउन खोजे । आदित्य तिनीहरूको चङ्गुलबाट फुत्कियो ।
“आऊ बाबु । हेर, हाम्मो घरमा जाने ल? पापा र बुबु खाने नि,” एक जना आइमाईले फकाउन खोजिन् । उसलाई त्यो आवाजले रति तानेन । ऊ उभ्भिएर आमालाई हेरिरह्यो । आमा पनि उसलाई हेरि नै रहेकी थिइन । केवल यो मन र त्यो काखकोबीच अनत्न कोसको एउटा कृत्रिम दूरी थियो ।
उसले आमालाई हेरिरह्यो । तर आमा ले “आऊ बाबु” भन्नु भएन । फेरि उसले बुवालाई हेर्‍यो । बुवाले पनि उसलाई “आऊ बाबु” भन्नु भएन । अघिदेखि फटफटाइरहेका उसका कलिला ओठ एक्कासि खुले र एउटा गगनभेदी रोदन त्यहाँबाट निस्कियो ।
माथ्लाघरकी माइजू गुन्द्रीबाट उठिन् र आदित्यलाई बोक्न खोजिन । आदित्यले आफ्नो कुहिनोले कसिलो झट्का दियो, र नजीकको पर्खालमा गएर आफ्नो टाउको पर्खालका ढुङ्गामा बजार्दै रुन थाल्यो । निधार फूटेर भल्भली रगत बग्यो । “लौ, लौ, के भयो,” भन्दै सबै जना उठे । सबै भन्दा आघि “के गरिस् नि मेरो बाबु,” भन्दै वायुवेगले कुदेर आफ्नो छोरोलाई आँगालोमा बाँधेर आफूले ओढेको सेतो बर्कोको छेउले रगत पुछिदिने आदित्यकी आमा नै थिइन् ।
किरियापुत्रीलाई छुनुहुँदैन । शास्त्रको निर्देशनलाई एउटा अवोध शिशुको मायाको प्यास, र एउटी आमाको निश्छल ममताले लत्याएको यस दृश्यलाई गुरु पुरोहित, जान्ने बुझ्ने र अग्रज भनाउँदाहरूले मूर्तिवत उभ्भिएर एकोहोरो हेरिरहे । कसैका मुखबाट प्रतिवादको एक शब्द पनि निस्कन सकेन ।






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :