कविता:

सुरेन्द्र श्रेष्ठ
तिम्रो माया नबुझेर, सायद !
कुनै दिन—
तिम्रो माया नबुझेर, सायद !
तिम्रा प्रेमयाचनाका असङ्ख्य गुलाबहरू
घरको कुनामा डस्टबिनभरिभरि कसिङ्गरझैँ थुपारेछु
तिम्रा प्रेमदूतसरि ती गुलाबहरू, जो—
मबाट टाढा नभए नि अर्थहीन
आँखैअगाडि भए नि सरोकारहीन
आफ्नै परिधिमा भए नि प्रेमहीन
अझ अपमानको रापले डढेर जीवनहीन
आज महसुस गरिहेछु
र तिम्रा प्रेमदूतसरि ती गुलाबका
केवल निरीह आँखा सम्झिरहेछु...
कुनै दिन, तिम्रो माया नबुझेर, सायद !
तिम्रा प्रेमयाचनाका असङ्ख्य गुलाबहरू
पैतालाले कुल्चीकुल्ची
घरको कुनामा डस्टबिनभरि कसिङ्गरझैँ थुपारेछु
त्यतिखेर तिमीले—
डस्टबिनबाट सकसमै टाउको उठाएर गुलाबको आँखाले
मेरो आसक्तिपूर्ण टेलिभिजन–प्रेम हेरिरह्यौ
मेरो क्लााइमेक्सको कम्प्युटरप्रेम हेरिरह्यौ
मेरोे निर्लज्ज मोबाइलप्रेम हेरिरह्यौ
घरभरि वाइफाइको हाइफाइप्रेम पनि हेरिरह्यौ
बदलामा आज—
अदृश्य यमदूतझैँ कोरोना भएर तिमी
त्यही डस्टबिनबाट मसँग हुङ्कार गरिरहेछौ
सायद, मलाई तिमी घुक्र्याइरहेछौ
हो, कुनै दिन
तिम्रो माया नबुझेर, सायद !
तिम्रा प्रेमयाचनाका असङ्ख्य गुलाबहरू
अहङ्कारले कुल्चेर
घरको कुनामा डस्टबिनभरि कसिङ्गरझैँ थुपारेछु
मलाई माफ गर प्रिय !
आज मेरा सारा अहङ्कारहरू पैतालमुनि दबाएर
केवल तिम्रा नाममा सयौँ गुलाबहरू
मेरो छातीमा फुलाएको छु
मलाई विश्वास छ, प्रकृति !
मेरी प्रिया !
तिमी मेरो छातीमा कुल्चनेछैनौ ...
कुनै दिन—
तिम्रो माया नबुझेर, सायद !
तिम्रा प्रेमयाचनाका असङ्ख्य गुलाबहरू
घरको कुनामा डस्टबिनभरिभरि कसिङ्गरझैँ थुपारेछु ...