कविता:
तुलसी दिवस
जिन्दगी र लुगा
जिन्दगी लुगा भए
फुकालेर झुण्ड्याउनु हुन्थ्यो
कोठाको किलामा
र, एकछिन हेरिहरन हुन्थ्यो
आफू झुण्डिएको आफ्नै बोठाको किलामा
जिन्दगी लुगा भए
मिलाएर बेलाअनुसार
सिउनु र सिलाउन हुन्थ्यो
नमिले उधारेर पूरै जिन्दगी
धागो निकालदै सियोले कैँची लिई आफ्नै हातमा
आफैँले काट्नु र छाट्नु पनि हुन्थ्यो
या सूचिकार कहाँ गएर जिन्दगी
केही समय फेरि लुगाकै खातमा
पट्टिई निदाउन पनि हुन्थ्यो
जिन्दगी लुगा भए
फुकालेर झुण्ड्याउनु हुन्थ्यो
जिन्दगी लुगा भए
बुट्टा मिलाएर आफैँले
रंगिनु र रंगाउन हुन्थ्यो
ठाउँठाउँमा प्वाल परे पनि
टाल्नु र टाल्न लगाउन हुन्थ्यो
नमिले पूरै टालेर जिन्दगी
टाल्दा टाल्दै पुरानो छोपेर
नयाँ लाउन र लगाउन पनि हुन्थ्यो
या रफुकारकहाँ गएर जिन्दगी
केही समय फेरि
जिन्दगीकै धागो निकालेर
मिल्दो रफु भर्न र भराउन पनि हुन्थ्यो
जिन्दगी लुगा भए
फुकालेर झुण्ड्याउनु हुन्थ्यो
जिन्दगी लुगा भए
मिलाएर मैलिएको बेला
धुनु र धुलाउन हुन्थ्यो
फुर्सद भए आफैँले साबुन लगाएर जिन्दगी
बाल्टिनमा सफा पानीले फेरि
सुकिलो पखाल्न पनि हुन्थ्यो
या धोबीकहाँ गएर जिन्दगी
केही समय ढुङ्गेधाराको पानीले चोखिँदै
जाडो ढुङ्गाबाटै पल्टिएर चहुरमा
दिनभरि न्यानो घाम ताप्न पनि हुन्थ्यो
या डोरीमा झुण्डिएर चटकीजस्तै जिन्दगी
हावाले उल्टिनु र पल्टिनु पनि हुन्थ्यो
खजमजिएर धेरै खुम्चिए जिन्दगी
टेबलमा राखेर पानी छर्कँदै आफौले
इस्त्री लाउन र लगाउन पनि हुन्थ्यो
सारै भए जिन्दगी एक हप्ताको पूरै छुट्टी लिई
ड्राइ क्लिनमा गई फर्किनु र फर्काउन पनि हुन्थ्यो
जिन्दगी लुगा भए फुकाले झुण्ड्याउन हुन्थ्यो ।
जिन्दगी लुगा भए
फुकालेर आफैँलाई केही समय
टाढाबाट हेर्न र हेराउन पनि हुन्थ्यो
इनारमा हाम फालेर त्यही जिन्दगी
गहिराइ आफैँले स्पर्श गर्न हुन्थ्यो
या सपनाको हुस्सु फाटेर जिन्दगी
विपनाको आकाश खुल्नु पनि हुन्थ्यो
या टाउको छुट्टिएको
सपनाको आफ्नै गीडजस्तो टोपीमा
केही समय टाउको फुकाल्न पनि हुन्थ्यो
नपुगे फेरि दौरा सुरुवाल र कोटमा
हात खुट्टा र जीउ समेत फुकालेर
उन्मुक्त आफैँलाई आफैँबाट छुट्याई
विपनामा पनि
दिउँसै सपना देख्नु र देखाउन पनि हुन्थ्यो
जिन्दगी लुगा भए
फुकालेर झुण्ड्याउन हुन्थ्यो कोठाको कीलामा
र, एकछिन हेरिरहन हुन्थ्यो
आफू झुण्डिएको आफ्नै कोठाको कीलामा
कीला ठोकेर आफैँले आफ्नै कोठाको कीलामा ।