नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

निबन्ध:


भीष्म उप्रेती

जोयल

जोयल – आँखाभरि सपना बोकेको अठ्ठाईस वर्षे किर्गिज ठिटो, मेरी साथी ऐसाल्किन इमानालिएभाको भाइ र मेरो आठ दिने बिस्केक बसाइको अभिन्न मित्र पनि ।

इन्टरनेशनल पेनको अस्सीऔँ सम्मलेनमा भाग लिन बिस्केक जाँदा किर्गिस्तानी साथी ऐसाल्किनको पाहुना भएँ । नेपालबाट सबै तयारी सकेर हिँड्नु ठिक अघिल्लो दिन ऐसाल्किनले लेखिन् – ‘म बिजनेश ट्रिपमा बिस्केक बाहिर जाँदैछु ठिक तिमी आउने बेलामा । मलाई माफ गर है, प्लिज ।’ बिलखबन्दमा परेको मलाई ऐसाल्किनले उनको भाइको जिम्मा लगाइन् । यसरी जोयल २०१४ को २४ सेप्टेम्बरदेखि २ अक्टुबरसम्म मेरो साथी, मेरो गाइड र मेरो निर्देशक समेत भएको थियो ।

एयरपोर्टबाट राति साडे नौ बजे किएभास्काया सडकमा ट्याक्सीबाट ओर्लेपछि जोयलले सोही सडक छेउमा रहेको १६१ नं. घरको ३४ नं. अपार्टमेन्टमा लिएर गयो । मेरो सुटकेश बोकेर ऊ अघिअघि हिँडिरह्यो । सानो हातेब्याग बोकेर चूपचाप म उसको पछिपछि लागेँ । उसले मेरो लागि छुट्याएको कोठामा सुटकेश राख्यो र बाथरूम, भान्छाकोठा तथा इन्टरनेट सम्बन्धी सामान्य जानकारी गरायो बिस्तारैबिस्तारै । मसँग जोयलसँग सोध्ने उत्सुकताहरू थिए तर ऐसाल्किनले जोयल अङ्ग्रेजी जान्दैन भनेकीले उसलाई खासै केही सोधिनँ । तर जति नसोध्ने भनेपनि केही न केही कुरा नगर्दा त फेरि बाक्लो मौनताले हामीलाई छोप्ने डर पनि छँदैथियो ।

जोयलले तातो कफी बनायो दुई कप । यसैगरी, उसले अम्लेट बनायो र पाउरोटी टोस्ट गर्‍यो । मैले उसलाई नियालि मात्र रहेँ यी सबै गरुन्जेल । ऊ स्वचालित यन्त्रझैँ सबै गर्दै गयो । यसपछि ऊ भान्छाबाट निस्कियो र ल्यापटप बोकेर आयो । म सँगैको अर्को कुर्सीमा बसेर गुगल कन्भर्टर खोल्यो । त्यसपछि उसले रूसी भाषामा लेख्यो । मैले त्यसलाई अङ्ग्रेजीमा पढेँ र अङ्ग्रेजीमै जवाफ लेखेँ । जोयलले त्यसलाई रूसी भाषामा पढ्यो । यसरी हामीले एकछिन कुरा गर्‍यौँ । उसले नेपालको बारेमा सामान्य सोध्यो । त्यसपछि भोलिको कार्यक्रम बनायौँ हामीले । बिहान ऊ अलि ढिला उठ्दो रहेछ । त्यो पनि भन्यो । संवादको यो प्रक्रिया निकै झन्झटिलो थियो । यसले सामान्य दोहोरो कुरा गर्न पनि धेरै समय लगाउँथ्यो, तर सम्वाद नै नगर्नुभन्दा त यो तरिका उत्तम थियो ।

त्यसो त जोयल किर्गिज, रूसी, कज्जाक भाषा राम्ररी बोल्ने गर्थ्यो । ऊ कोरियाली भाषा पनि पढिरहेको थियो । कोरियालीमा पनि दोहोरो संवाद गर्न सक्थ्यो । यस बाहेक चिनियाँ भाषा पनि केही जान्दथ्यो । यता म पनि नेपाली, अङ्ग्रेजी र हिन्दी भाषा जान्दथेँ । समस्या कहाँनेर थियो भने उसले जान्ने र मैले जान्ने भाषाको बीचमा मेल थिएन ।

हामी एकअर्कालाई हेर्थ्यौँ आँखाभरि कतिकति उत्सुकता र उत्साह बोकेर तर तिनको समाधान थिएन । हामी दुवै जना लाटाजस्ता भएका थियौँ । इशाराले समेत कुरा गर्थ्यौँ तर सधैँ इशाराले काम चल्नेवाला थिएन ।

बिस्केक शहर हेर्न निस्कियौँ हामी । सफासुग्घर फराकिलो बाटो, रूखैरूखको हरियाली, गाडीहरूको चहलपहल, युवायुवतीदेखि विभिन्न उमेरसमूहको ओहोरदोहोर, ठूलाठूला घरहरू – बाटोमा हिँड्दै गर्दा देखिएको पहिलो तस्वीर यही थियो बिस्केकको । बाटोमा कतै पनि दुर्गन्धको अनुभव भएन, कतै पनि अव्यवस्था एवं बेस्याहारको स्थिति देखिएन । सबै सूचनाहरू, साइनबोर्ड र होर्डिङबोर्डहरू कि त रूसी भाषामा थिए कि त किर्गिज भाषामा । अङ्ग्रेजी त साह्रै कम मात्र देखिन्थ्यो छैन भने पनि हुनेजस्तो ।

कुनै जानकारी वा विषयप्रतिको साह्रै धेरै उत्सुकता बढेपछि म बाटोमा हिँड्नेलाई रोकेर पनि सोध्थेँ । तर अधिकांशले अङ्ग्रेजी जान्दा रहेनछन् । सोचेँ – अक्षरहरूमा हामीले आफ्ना भावना र अनुभूतिहरूले प्राण प्रतिष्ठा गरेनौँ भने ती मृत हुने रहेछन् । मृत शब्दहरू त अर्थहीन हुन्छन् ।

जोयलले मलाई सबैभन्दा पहिले मोबाइलको सिमकार्ड किन्न लगायो, मेरो मोबाइल सेटमा हालिदियो । त्यसपछि उसको, उसकी दिदी ऐसाल्किन र उसका बुबा उजक अङ्कलको मोबाइल नम्बर सेभ गरिदियो । उसले पनि मेरो सिमको नम्बर सेभ गर्‍यो र फोन गरेर ऐसाल्किनलाई पनि त्यो नम्बर टिपायो । म एक किसिमले ढुक्क भएँ । कहीँ कतै अप्ठ्यारो परेमा उनीहरूसँग सम्पर्क गर्न सक्ने भएँ । जोयल बुद्धिमानी रहेछ, सोचेँ र धन्यवाद भनेँ ।

ऊ मुस्कुरायो ।
हामी निकैबेरदेखि चूपचाप थियौँ । उसले एक्कासि भन्यो – ‘मैले चुरोट पिएँ भने तिमी माइन्ड गर्छौ ?’
‘पिऊ, गर्दिनँ ।’ भनेँ ।
जोयल फेरि मुस्कुरायो र खुरुर्र गएर नजिकैको पसलबाट दुई बट्टा चुरोट किन्यो ।

हिँड्दाहिँड्दै हामी अमेरिकन विश्वविद्यालयछेउ पुग्यौँ । जोयलको बुबा यसै विश्वविद्यालयको प्राध्यापक हो । त्यहाँ किशोरकिशोरीदेखि युवाहरूको चहलपहल अत्यधिक थियो । उनीहरूको उन्मुक्त हाँसो र हिँडाइको लचकता एकदम आकर्षक थियो मलाई आफ्नो विद्यार्थी जीवन सम्झाउन पर्याप्त । उनीहरूको भेषभूषा, युवा र युवतीको संयुक्त समूह बनेको, दुईदुई जना भएर हिँडेको, जिस्केको देख्दा झन्डै नब्बे प्रतिशत जनता इस्लाम भएको देशमा आएको सम्झनै हुँदैन थियो । जोयलको बुबाले हरेक साँझ अलिकति भोड्का पिएर सुत्न गएको देख्थेँ । मलाई जोयलसँग हिँड्दा होस् वा उसको घरमा बस्दा होस्, मुसलमानसँग छु भन्ने कहिल्यै लागेन ।

हामी नेशनल लाइब्रेरी आइपुग्यौँ । नेशनल लाइब्रेरीमै त हो २७ तारिकमा इन्टरनेशनल पेनको समितिहरूको बैठक हुने । सोभियतकालीन त्यस विशाल पुस्तकालय भवनलाई नियालेर हेरेँ ।

बिस्केकलाई जति घुम्यो त्यति मभित्रको उत्सुता बढेर आउँथ्यो । मसँग सोध्नलाई अनेक प्रश्नहरू थिए र ती बढ्दै थिए । विभिन्न दृश्यहरूलाई देखाउँदै र घटनाहरूको सम्झना गर्दै जोयल मलाई धेरैभन्दा धेरै जानकारी दिन चाहन्थ्यो । तर ऊ पटकपटक अड्कन्थ्यो । हात झट्कार्थ्यो भन्न नसकेर । घाँटीमा गाँठो पर्थ्यो उसको र अनुहार रातो हुन्थ्यो । मलाई उसको माया लाग्थ्यो यस्तो बेलामा । म आफ्नो उत्सुकतालाई पटकपटक आफूभित्रै दबाउँथेँ ।

ठाउँठाउँमा विशाल मूर्तिहरू थिए । एउटा थियो मानसको । अलिपर चिङ्गिज आइतमाभतको थियो । ती दुवैलाई देखाउँदै उसको राष्ट्रिय हिरो भनेको थियो । यसैगरी, अर्को एउटा मूर्तिलाई देखाएर भन्यो – ‘उनी ओकोमाालिभा हुन् सोभियत संघकी । किन प्रख्यात भइन् मलाई थाहा छैन ।’ यसैगरी अलिपर ओपेरा थिएटर अघिल्तिरको पार्कको ठूलो मूर्तिलाई देखाउँदै भन्यो – ‘माल्दोभा प्रख्यात सङ्गीतकार हुन् ।’ बिस्केक शहर अलिधेरै घुमेपछि मलाई बिस्केक वा किर्गिजहरू कलासाहित्यको उच्च सम्मान गर्दा रहेछन् भन्ने लाग्यो । कलासाहित्यको सम्मान गरिने ठाउँ अवश्य पनि सभ्य हुन्छ, हार्दिक र संवेदनशील हुन्छन् मानिसहरू ।

हामी मरिनस्की ओपेरा एवं ब्याले थियेटरमा थियौं । मलाई रूसी ब्याले एकदम मन पर्छ । हेर्न मन लाग्यो । काउन्टरमा बसेकी महिलालाई त्यहाँ प्रदर्शन भइरहेको कार्यक्रमबारे सोधेँ । उनले बुझिनन् । म जोयलतिर फर्किएँ । उसमा कुनै प्रतिक्रिया थिएन । फेरि भाषाको पर्खाल खडा भयो तर यसैबेला एउटी पुतलीजस्ती युवती आइपुगिन् । अलमलमा परेको मैले उनलाई हेरेँ । उनी मुस्कुराइन् । मैले त्यही मुस्कानको विश्वासमा सोधेँ – ‘तिमी अङ्ग्रेजी बोल्छ्यौ ?’

‘तिमीलाई के सहयोग चाहिन्छ भन ।’ उनले भनिन् ।
मैले आफू अक्टुबर २ सम्म बिस्केकमा रहने हुनाले त्यस बेलासम्ममा कुनै १ दिन ब्याले हेर्न चाहेको कुरा भनेँ । उनले काउन्टरकी महिलासँग कुरा गरिन् र मलाई भनिन् – ‘अहिले ब्याले छैन रे । यही एउटा नाटक मात्र रहेछ ।’

मैले उनलाई धन्यवाद दिँदै त्यहाँ चलिहरको नाटकको पोष्टरमा हेरेँ । त्यो रूसी नाटकको पोष्टर मलाई त्यति आकर्षक लागेन ।

हामी फर्कियौँ । ‘मलाई ब्याले मन पर्दैन ।’ जोयलले भन्यो ।
‘किन ?’ सोधेँ ।
‘यो केटीहरूले हेर्ने विषय हो ।’ भन्यो ।

ब्याले थिएटरको प्राङ्गणमा प्रसिद्ध सङ्गीतकार तोक्तोगको पूर्ण कदको मूर्ति थियो । जोयलले भन्यो – ‘उनीले राष्ट्रिय गानको सङ्गीत निर्माण गरेका हुन् ।’

नजिकै बाटोपारि कला म्यूजियम थियो । मेरो रुचि त्यतातिर बढ्यो । मैले कतिपल्ट पेन्टिङको प्रदर्शनीहरूबाट कविताको विषय लिएको छु । आखिर पेन्टिङ भने पनि कविता भने पनि दुवै अनुभूति र संवेदनाका कलात्मक अभिव्यक्ति नै हुन् । म कला म्यूजियमतिर बढेँ । जोयल मेरो पछि लाग्यो तर म्यूजियमको मूल गेटको छेउमै पुगेपछि भन्यो – ‘मेरो लागि सबैभन्दा दिक्दार लाग्ने विषय हो पेन्टिङ ।’

म ठिङ्ग उभिएँ । जोयललाई हेरेँ । ऊ पनि उभियो रूखजस्तो भएर । वास्तवमा कला, साहित्य र सङ्गीतप्रति युवाहरूको रूचि घट्यो भने समाज रूखो र बिरक्त लाग्ने बन्छ । मलाई जोयलको रूचिमा परिवर्तन चाँडै आइदिए हुन्थ्यो भन्ने लाग्यो ।

कला म्यूजियमभित्र जान टिकट काट्नुपर्ने रहेछ । पैसा तिरेर जोयलका लागि दिक्दारी किन्न मन लागेन ।

साँझ जोयलको बुबा उजक अंकललाई सोधेँ – ‘तपाईंको अङ्ग्रेजी यति राम्रो छ । तपाईंकी छोरीको अङ्ग्रेजी त्यति राम्रो छ । जोयलको चाहिँ के भा’को यो ? उसले किन अङ्ग्रेजी नसिकेको ?’

उहाँ मज्जाले हाँस्नुभयो । एकछिनपछि भन्नुभयो – ‘म उनीहरूलाई आफ्नो कुरा थोपर्दिनँ । उनीहरू आफ्नै इच्छा अनुसार गर्छन् ।’

जोयल चेन स्मोकर रहेछ । एक बट्टा चुरोट त एकैछिनमा पिइसक्ने । मैले उसलाई यति धेरै चुरोट नपिउन भनेँ । ऊ फिस्स हाँस्यो मात्र तर एकछिन हिँडेर एउटा पसलमा गई चुरोटको बट्टा किन्यो ।

‘तिमी खासमा के काम गर्छौ ?’ सोधेँ ।
‘अहिले त कोरियाली भाषा सिक्दैछु ।’ भन्यो ।
‘किन कोरियाली सिकेको ? अङ्ग्रेजी सिक्नु नि ।’ भनेँ ।

‘म अब कोरिया जान्छु । कम्तिमा २ वर्ष त्यहाँ काम गर्छु । पैसा कमाउँछु, बिस्केक फर्कन्छु र बिहे गर्छु ।’ अड्कीअड्की भन्यो ।

यसबेला उसको अनुहारमा एक झुल्को उज्यालो पोखिएको थियो । ऊ धेरै राम्रो देखिएको थियो ।

किर्गिस्तानको अर्थतन्त्रको एउटा आधार रेमिट्यान्स रहेछ । यहाँबाट दसौँ लाख किर्गिजहरू काम गर्न अरू देश जाँदा रहेछन् । खासगरी उनीहरू रूस जाँदा रहेछन् । रूस उनीहरूलाई भिसा नलाग्ने र भाषा पनि जानिने भएकोले सजिलो रहेछ । वैदेशिक रोजगारीकै एउटा हिस्सा बन्न जोयल पनि कोरिया जाने सपना बुन्दै थियो ।

‘कोरियाली केटी नै बिहे गर न त । किर्गिजहरूजस्तै राम्रा हुन्छन् कोरियालीहरू पनि ।’ मैले जिस्काएँ ।

ऊ मज्जाले हाँस्यो यो पालि तर अरू केही भनेन ।

म जोयलसँग इस्सिक कूल गएँ । इस्सिक कूल किर्गिस्तानको पूर्वी भागमा रहेको आकारका दृष्टिले संसारकै दसौँ ठूलो ताल हो भने उच्च भूभागमा रहेको संसारको दोस्रो ठूलो ताल समेत हो । बिस्केकबाट इस्सिक कूलसम्म जान करिव ४ घन्टा लाग्ने रहेछ । बाटोमा गाउँहरू देखिन्थे । खेतका गराहरूमा घोडाहरू, भेडाहरू र गाईवस्तुहरू चरिरहेका देखिन्थे । जति अघि गयो उति नै सुन्दर हिमालहरू देखिन्थे । मलाई मेरा जस्तै लाग्ने ती हिमालहरूको बारेमा जान्न मन लाग्यो । मलाई त्यहाँको ग्रामीण जनजीवन एवं रीतिहरूको बारेमा जान्न मन लाग्यो । जोयलतिर हेरेँ । ऊ यस पटक पनि मुस्कुरायो मात्र । मैले केही सोधिनँ ।

‘मैले ८ वर्ष क्यासिनोमा काम गरेँ ।’ इस्सिक कूलमा तालको किनारमा हिँड्दै गर्दा जोयलले भन्यो कनीकुथी ।

‘क्यासिनोको काम रमाइलो थियो हो ?’ सोधेँ ।
‘हो । मैले त्यहीँ चुरोट पिउन सिकेँ ।’ भन्यो ।
‘काम किन छोडेको त ?’ फेरि सोधेँ ।
‘अब नयाँ काम गर्ने, त्यो पुग्यो ।’ उसले भन्यो ।

सोचेँ, शायद ८ वर्षसम्म राति जागै बस्ने र बिहान अबेलासम्म सुत्ने बानी थियो होला उसको । त्यसैले अहिले पनि राति अबेलासम्म नसुत्ने र बिहान दस बजेतिर मात्रै उठ्ने गरिरहेछ ।

इस्सिक कूलमा जोयलले उसको पुरानो साथी भेट्यो । साथी भेटेपछि ऊ आकासमा उडिरहेको चङ्गाजस्तो भयो, हावाले यताउता हल्लाउँदा देखिने लयमा जस्तो जोयल एकदम हँसिलो र लयमा देखियो । अब ऊ लाटो भइरहनु परेन, त्यति धेरै भाषा जानेर पनि भित्रभित्रै गुम्सिइरहनु परेन । ऊ त कत्ति धेरै बोलक्कड पनि रहेछ । उसले उसको साथीसँग हाँस्दै, हाउभाउ निकालेर मज्जाले कुरा गरेको हेरिरहेँ । कस्तो रमाइलो लाग्यो ।

इस्सिक कूलमा जोयलले बियर पिउने रहर गर्‍यो, मलाई सोध्यो । मैले पिऊ भनेँ । चुरोट र बियर आनन्दसँग पिउँदै ऊ कतै हराएजस्तो पनि भयो, केही सोचेजस्तो गम्भीर पनि भयो । सोचेँ – ऊ उसैको भविष्यको बारेमा, सपनालाई च्याप्प समातेर आफैसँग राख्ने बारेमा सोचेर गम्भीर भएको होला ।

युवाहरू गम्भीर पनि हुनुपर्छ । यसले प्रगतिको ढोका खोल्छ ।
‘मैले वियर पिएको मेरी दिदीलाई नभन्दिनू है ।’ जोयलले आग्रह गर्‍यो ।

मैले ‘हुन्छ’ भनेँ र उसका आँखामा हेरेँ । त्यहाँ दिदी ऐसाल्किनप्रति असीम आदरभाव थियो । जोयल बुबालाई पनि असाध्यै श्रद्धा गर्थ्यो । त्यसो त ऊ दिनमा आठ, दस पटक ऐसाल्किनसँग फोनमा कुरा गर्थ्यो । गर्लफ्रेन्डसँग कुरा गर्नुपर्ने केटो खालि दिदीसँग मात्र बोलिरहेको देखेर सोधेँ – ‘तिम्रो गर्लफ्रेन्ड छैन ?’ सोधेँ ।

ऊ लजायो अलिअलि । एकछिनपछि भन्यो – ‘अहिले छैन ।’ लजाउँदा झनै राम्रो देखिँदो रहेछ ऊ ।

तीन दिनसम्म जोयल अधिकांश समय मसँग थियो । यो तीन दिनमा मानिसले अभिव्यक्ति पाएन भने कस्तो हुँदो रहेछ भन्ने कुरा देखेँ पनि र भोगेँ पनि । अभिव्यक्तिको महत्व ज्यादै धेरै रहेछ जीवनमा । मान्छे स्वस्थ हुन पनि कुनै न कुनै रूपमा पनि ब्यक्त हुनै पर्छ । म त डायरीमा पनि लेख्थेँ कति कुरा तैपनि उकुसमुकुस भएको थिएँ भने जोयलले हालत के थियो होला ।

नेपाल फर्कनु अघिल्लो साँझ फेरि म जोयलसँग हिँड्दै थिएँ । त्यहाँ पनि हामी सँगसँगै भएर पनि एक्लाएक्लै थियौँ । हामीबीचमा मौनता झाँगिदै थियो । शायद यो गाढा मौनताले लपेटेको एक्लोपन असैह्य भयो जोयललाई, शायद मसँग भेटेकै दिनदेखि राम्ररी कुरा गर्न नसकेर निरीह बन्नुपरेको पीडाले असाध्यै पोल्यो होला उसलाई, एक्कासि बोल्यो – ‘अर्कोपल्ट तिमीसँग भेट्दा म अङ्ग्रेजीमै कुरा गर्छु मज्जासँग ।’

मलाई जोयलको यो भनाइले बेस्सरी छोयो जीउ नै सनन्न हुने गरी । मैले उसलाई हेरेँ, उसका आँखामा । ऊ दृढ थियो आफ्नो निर्णयमा । ऊ मुस्कुराएन यसपल्ट । उसको अनुहारको रङ पनि बदलिएन तर विश्वास जागेको थियो निद्राबाट । मलाई जोयलको आत्वविश्वास एकदम मन पर्‍यो । मलाई यो किर्गिज युवाको दृढ निश्चय एकदम मन पर्‍यो । मैले उसलाई हेरिरहेँ निकैबेर ।

जोयल भने कुनै प्रतिक्रिया नजनाई बाटोमा हिँडिरह्यो ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु