नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

निबन्ध:


डोलीन्द्रप्रसाद शर्मा

आँखीझ्याल जहाँबाट नियालिन्छ सिङ्गो देश !

मिर्मिरे बिहानीसँगै जब म यात्रामा निस्कन्छु । मोतीका दानाझैँ शीतका थोपा टल्किरहेका हुन्छन् बोटबिरुवामा । वरिपरिका हिउँचुचुरा र पहाडी टापुमा आगोले सृष्टि थाम्न आफ्नो राप निकाल्दै गरेको भान हुन्छ । सिरसिरे हावाको त्यो मिठो अनुभूति अवर्णनीय लाग्छ । फाट्टफुट्ट मानिस देखिन्छन् । गाडीले सडकको धूलोमा धुवाँलाई मडारेर यात्रुका आँखामा बर्साउन थाल्छन् । प्रश्न गर्न मन लाग्छ , कहाँ छन्, महानगरपालिकाले करोडौँ मूल्यमा किनेका ब्रुमरहरु !

नित्यझैं कसरत गरेर घर फर्केपछि आँखासामु एक राष्ट्रिय दैनिक अखवार देखापर्यो । यादव देवकोटाको‘विवेक विरोधी पाठशाला’शीर्षकमा पुगेर मेरा आँखा टक्क अडिए । लेख पढेपछि चियापानी पिउन मन लागेन :

“देशलाई कमजोर बनाउने, देशका नदीनाला बेच्ने, सत्तामा रहन र टिक्न विदेशीको गुलामी गर्ने, देशको उत्पादन क्षमता कमजोर बनाइ विदेशी सामान भित्र्याउने काम देहातको कुनै झुपडीबाट होइन सिंहदरबारबाटै भइरहेको छ । सिंहदरबारमा आसिनबाट भइरहेको छ । देशका संवेदनशील सूचनाहरू विदेशीलाई हस्तगत गर्ने र आफ्नो स्वार्थसिद्ध गर्ने क्रम तीव्रतर भइरहेको छ । सिंहदरबार पुगेपछि शासकमात्रै होइन प्रशासकका रूपमा सिंहदरबार पुगेका पनि किन बदलिन्छन् ? त्यहाँ पुगेर के छ सिंहदरबारका पाठशालामा जसले कलुषित बनाउँछ आफ्ना चेलाहरूलाई ?”

लेखको विवेचनाबारे मनमनै गन्थन गरिरहेको थिएँ । यही गन्थनले मलाई झ्वाट्ट स्मरण गराउँछ :

“छाडेर काम सारा, एक काम रोजिरहेछु
यो देशमा म एउटा, मानिस खोजिरहेछु
......................... हे राष्ट्रका बटोही
म त्यही नयाँ भविष्यको बीज रोपिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु”

विश्वनाथ प्रेमको रचनामा शिशिर योगीको यो सुमधूर स्वरले मेरो मानसपटललाई जोडसित कम्पन गरायो । मैले आफैलाई धिक्कारेर सिंहदरबारको पर्खालमा एकपटक टाउको ठोकेँ । पूर्वी गेटबाट दक्षिण गेट हुँदै जब पश्चिम गेटमा पुग्छु । मेरो धड्कन टक्क अडिन्छ । आँखाले पृथ्वीनारायण शाहको सालिकलाई फनफनी परिक्रमा गर्छ । गणतन्त्रको उदयपछि केही भिजिलान्तेले जुत्ताको माला लगाएर थुकेको त्यो सालिक अहिले सबै नेपालीको पाठशाला बनेको छ । मूलढोकाबाट जब आँखा सिंहदरबारभित्र छिर्छन्, भित्रको दृष्य देखेपछि थामिन नसकेर आफ्नै बाँया हातले दायाँ गालालाई चड्कन हान्छु । म जन्मनुभन्दा पहिलाका व्यवस्थाहरूलाई मैले इतिहासका पानाहरूमा पढेको थिएँ । कालरात्री भनिने राणा शासनमा बनेको यो भवनलाई यी गणतन्त्रवादीहरूले बिरूप बनाएर फलामका टेकाहरू लगाएको देख्दा राणा र पञ्चलाई गाली गर्दै देशको सुन्दर भविष्य कोर्न मलेसिया र जापानसँग श्रम सम्झौता गरी आत्मारतिमा रमाउँदै युवाहरूलाई मुग्लान पठाउनेहरूलाई झलक्क सम्झिँदै एकपटक धिक्कारें ।

पाइलाहरू पुतलीसडकतिर अगाडि बढ्दै गर्दा राराको छालले तानेर मलाई मुगु पुर्याई भन्न थाल्यो “गत वर्ष राष्ट्रिय झण्डालाई लत्र्याएर प्रधानमन्त्रीले अबको एक वर्षमा कोही पनि विदेश जानुपर्दैन । नेपालमै समृद्धिको मुलबाट सबै नेपालीले सुखी जीवनको प्यास मेटाउनेछन् भनेर खोकेका थिए । अहिले मलाई तालको पवित्र जलले सोधिरहन्छ, गाउँगाउँमा सिंहदरबार भनेर चुनाव जित्नेहरू अहिले त्यो आँखीझ्यालमा बसेर के गर्दैछन् ? सिंहदरबारमै राज गर्नेहरूले नै प्रधानमन्त्री निवास भएको जग्गा आफ्ना नाममा सुइँक्याएर समृद्ध बनेछन् होइन ?। कोही खुलामञ्च बेच्दै खाँदैछन् रे नि ? हाम्रा गाउँमा सिंहदरबार आउला भनेर बाटो हेर्दा हेर्दै आँखा टट्टाइसके , कि सिंहदरबार पनि बेचेर निलिसकेका त छैनन् , नत्र त हाम्रा गाउँमा पनि आउनुपर्ने होइन सिंहदरबार ?”

माफ गर रारा !

म केही बोल्न सक्दिनँ । यहाँका विकृतिले मेरा ओठ कलेटी परेका छन् । मेरा विपना पनि सबै सपनामा अनुवाद भएका छन् । विपना सपनाका दोभानको तुइनमा अल्झिरहेको छु । यता हे¥यो, उता हे¥यो, जता हे¥यो, समस्यै समस्याको पहाड देख्छु । यहाँ युगौंदेखि जुन जोगी आएपनि कानै चिरेका , झोली नै भिरेका देखिरहेको छु । आफू निस्वार्थ बनेर , यो समस्याको चाङ छिचोल्न सक्ने एक हिम्मती नेपाली म खोरिहेको छु । जसले यहाँका बेथितिका कसिंगरहरू सबै आत्मविश्वास र स्वाभिमानका कुचा र खरेटाले बढारेर मेची र महाकालीमा बगाउन सकोस् ।

सबैको पीडा र भावना बुझ्नुपर्ने सिंहदरबारकोपर्खाल हुँदै म पुतलीसडक आइपुग्दा खल्तीको मोबाइल झिकी युट्युब खोलेर स्वरसम्राट नारायणगोपालको यो सुमधूर स्वरबाट प्यारी रारालाई सम्झाउन थाल्छु :

“यो मुटुलाई कसरी सम्झाइ बुझाउँ
पीर यो जिन्दगानीको साहारा एउटै भयो
बिरानो यो रात सम्झाइ दोहोर्याइ जाने हो
दुई मुठी यो सास कहिले छोडी जाने हो ।”

स्वरसम्राटको स्वर र रचनामा पंकज सिग्देलले संगीत भरेको यो गीत देशको आँखीझ्याल सिंहदरबारले न विगतमा सुन्यो न बर्तमानमा सुन्दैछ । मैले खोजेको मान्छे त्यहाँ कुनै दिन आयो भने सुन्ला कि ?

आफू किशोरछँदा रेडियोमा ‘आँखीझ्याल’ कार्यक्रम सुन्ने गरेको सम्झनाका तरेलीमा म बग्नथालें । त्यसबेला मलाई ‘आँखीझ्याल’ को अर्थ राम्रो थाहा थिएन । पछि बुझ्दै जाँदा दुर्बिनले कुनै विषयवस्तुलाई सूक्ष्मरूपमा हेरेझैँ व्यक्ति , समाज र राष्ट्रलाई हेर्ने विहंगम दृष्टि नै आँखीझ्याल रहेछ भन्ने बुझेको पनि लामो समय भएछ ।

आँखै आँखाको झ्याल । एक कला । एक दर्शन ।

मुलुकको डाडुपन्यू लिनेहरूले विदेशी पाहुनाहरूलाई आँखीझ्याल उपहार दिएको कतै सुनेको थिएँ । भक्तपुरमा कुदिएको यो आँखीझ्यालको बाहिरी कला हेर्दा जति सुन्दर छ, भित्रबाट हेरिने दृष्य त्योभन्दा सुन्दर र यथार्थ हुन्छ तर मेरो देश नियाँल्ने आँखीझ्याल किन त्यस्तो हुन सकिरहेको छैन ? किन त्यो आँखीझ्याललाई तुवाँलोले ढाकेको हो ? त्यो पुछ्नसक्ने हिम्मतवाला नभएको हो कि नभेटिएको हो ? मनमा यस्तै नाना तर्कनाले डेरा जमाए ।

आँखीझ्यालको महत्व ऐतिहासिक छ । काठमाडौंको नरदेवीमा देश्या मरू झ्या : (अन्यत्र कतै नभएको झ्याल) छ । भित्र क्यामराको लेन्सजस्तो चिटिक्क यो झ्याः हेर्न देश विदेशबाट आउने गर्छन् । एक दिन संस्कृतिविद् तेजेश्वरबाबु ग्वंङ्गःले आँखीझ्यालको बारेमा कुरा गर्दा त्यहाँ पुगेर हेर्न सुझाउनुभयो । झ्यालमा पर्दा हाल्ने चलन नभएको बेला आँखीझ्यालको परिकल्पना भएको हुनपर्छ तर अहिले यत्रतत्र सर्वत्र पर्दा हाल्न थालिएको छ । अहिले त पर्दा नहालिएको घर देखिएमा भाडामा दिन कोठा खाली रहेको भन्ने बुझिन्छ । तर आँखीझ्यालको अर्नामेन्टल डेकोरेसन अहिलेका पर्दासँग तुलना गर्न मिल्दैन ।

नेपालको इतिहासलाई खोज्दै जाने हो भने प्राचीन सभ्याताभन्दा धेरै पहिलादेखि यो अस्तित्वमा रहेको पाइन्छ । पाँचौ शदाब्दीको लिच्छवीकालीन समयदेखि यो लिपिबद्ध भएको इतिहासका पानाहरूमा हामी पाउन सक्छौँ । पृथ्वीनारायण शाहले बाइसी र चौबीसी राज्यलाई एकीकृत गरेपछि देशलाई नियाल्ने आँखीझ्यालका रूपमा काठमाडौँलाई रोजे । शासकहरूले आफू जहाँ बसेर देश र जनतालाई नियाल्ने गर्छन्, त्यसलाई राज्यको आँखीझ्याल मानिन्छ ।

सन् १९०८ मा चन्द्रशमशेरले निजी आवासका रूपमा सुरू गरेको साधारण आँखीझ्याललाई पछि गएर राज्यले रू. दुई करोडमा किन्यो । सन् १९५० सम्म विश्वकै ध्यान केन्द्रित गर्ने गरी सुसज्जित त्यही आँखीझ्यालबाट देश र जनताका पीरमर्का, उतारचढाव र परिवर्तनका चरणहरू हेर्न थालियो । विभिन्न चरणहरू पार गर्दै सेतो पहिरनमा सेतै ताज, सेतै फरियामा मेचीदेखि महाकाली, हिमाल पहाडदेखि समथर तराईको फाँट हुँदै संसारलाई हेरिरहेको आँखीझ्याल आज आफ्नै आँखाको नानीमा फुलो पर्दा पनि चुप लागेर बसेको छ ।

यो आँखीझ्यालमा सुरूमा ७२० वटा प्वाल रहेको र प्रत्येक प्वालमा तत्कालीन राणा शासकले आफ्नो यौनतृष्णालाई तृप्तीमा परिणत गर्न ती सबै कोठामा केटी राखेका हुन्थे । संस्कृतिविद् ग्वंगः भन्नुहुन्छ, “तिनीहरू एकापसमा काटमार र रासलीला गर्थे । सबै कुरा भित्रै लुकाइन्थ्यो । अहिले विज्ञान र प्रविधिको युग छ ।लोकतन्त्रमा त कुनै कुराहरू लुकाउन खोज्दा खोज्दै पनि त्यो बाहिर आउँछ । कुनै पर्दा वा बारबेरले कामै गर्दैन ।”

यो आँखीझ्यालमा जति आँखा थपिँदै गएपनि ती फगत फुलो परेका भए । विसं. २०३० असारको आगलागीले यसको शारीरिक बनावटमा कुरूपता पोतियो । यसका आँखालाई काला मुस्लाले कुहिराका काग बनाइदियो । त्यो आगो जानीबुझी झोसेको भनी हजुरबा हजुरआमाहरूले चौतारीमा बसेर गरेको कुराकानी पनि नसुनिएको होइन ।

आगाको पीडादायी संवाद हुनुभन्दा पहिला यसमा १७ सय कोठाचोटा थिए ।पुस्तकालय र सामग्री ध्वस्त भए । पानीको घैँटाजस्तो पेट भर्न पुनः निर्माणको नाममा राज्यलाई नै दोहन गरिरहेको यो भीमकाय भवनलाई विसं. २०७२ को विनासकारी भूकम्पले फेरि हल्लायो । तिनै राणा र उनै पञ्चले बनाएको यस आँखीझ्यालको मुटुमा बसेर आँखाका नानीहरूमा खिर्राको चोपभन्दा कडा चोप हालेर यसमा फुलो पारेका हाम्रा नेताहरूलाई हामीले कहिले बुझ्ने ? कसले बुझाउने ? बुझाउनका लागि राज्यको स्थायी सरकार भनिएका कर्मचारीले यसको चस्मा मात्र होइन नानी नै निकालिसके । एकले अर्कालाई दोषारोपण गर्न पल्केका यी राज्यका द्वारपालहरूको उदाङ्गो चरित्रलाई जनतासामु नङ्ग्याउन हामीले कति पटक राजनीतिक परिवर्तनका नाममा कति टायर बाल्ने ? कहिलेसम्म वातावरण प्रदूषित बनाउने ? कहिलेसम्म सडक जाम गर्ने ?

देश र जनताका नाममा सपथ लिएर यहाँभित्र छिर्नेहरूको यथार्थ चरित्रलाई आँखाका लेन्समा कैद भएका दृष्यहरू सम्झँदा जो कोहीलाई पनि कामज्वरो आउँछ ।शरीरका रौँ ठाडा हुन्छन् । दिमागलाई ब्रेन ट्युमरले हाने जस्तो हुन्छ । मुटको धड्कन रोकिन्छ । न संवाद, न मौनता । म कहाँ छु, के गरिरहेको छु ? आफूले आफूलाई भुलेर हराउनुको पीडा मानसिक अस्पतालमा रहेको मानसिक सन्तुलन गुमाएका व्यक्तिको हर्कतभन्दा कम हुँदैन । धिक्कार छ, नेतृत्वगण र स्थायी सरकार भनिने सेवकलाई, जसले लुटमाथि लुट मच्चाएर आँखीझ्यालको सुन्दरतालाई कुरूपतामा परिणत गरिरहेका छन् ।

अणुबलमे खाएको हिरोसिमा र नागासाकीलाई जापानका विकास पिपासुले हराभरा बनाए । तर यहाँका विनास पिपासुले हराभरालाई पनि उजाड बनाए । व्यक्तिगत स्वार्थपूर्तिको कहिले नपुरिने घैला भर्न लुट्नसम्म लुटे । यही व्यथितिलाई सुधार्न भनेर लोक गायक पशुपति शर्माले लुट्न सके लुट अरू देशमा पाइँदैन नेपालमै छ छुट भन्ने मार्मिक गीत गाए तर पनि नेपाली जनताका रगत र पसिनाको होली खेलि नै रहेका छन् ।

चौवालीस डिग्री सेन्टिग्रेडको तातोमा समेत दुबईले वातावरणलाई सन्तुलन बनाएर हराभरा बनाएको छ । सन्तुलित हराभरालाई नष्ट गरेर हाम्राले यसलाई मरुभूमि बनाउँदै छन् । चराचुरुङ्गीहरूले बिस्ट्याएर उम्रेका सुन्दर रूख बिरुवा र सुन्दर फलफूलका पालुवाहरूलाई समेत यिनले छाडेनन् । हाँगाबिँगादेखि पात पतिङ्गर र जरासमेत खोतलेर खान र लान छाडेनन् । त्यसैले धिक्कार भन्न मन लाग्छ ।

‘बुटिक’का नाममा शृङ्गार गर्न खोज्नेहरूले यसको नाममा बिलमाथि बिल बनाएर आफ्ना आसेपासेहरूलाई पृष्ठपोषण गरेको देख्दा झन् दिक्क लागेर आउँछ । अष्ट्रेलियामा चलिरहेको संसद् हेर्न र निस्फिक्री रूपमा घुम्न त्यहाँ कसैलाई पनि रोकावट छैन तर कहीं नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो यसभित्र छिर्न जनतालाई पास चाहिन्छ । गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैँ पासको लागि पनि भनसुन चाहिन्छ ! धिक्कार छ यिनीहरूको कुबुद्धिलाई ।

एकदिन तत्कालीन मुख्य सचिव लीलामणि पौडलसित मैले भनेका कुराहरू स्मरणमा आए :

“यसका फ्रेमहरू भत्काइदिनुपर्छ र खुल्ला प्रवेश गराउनुपर्छ । बाहिरबाट पनि पारदर्शीरूपमा देख्न सक्ने गरी प्रविधि जडान गर्नुपर्छ । कसैले कसैको नाममा यसलाई दोहन गर्न नसक्ने वातावरण बनाउनुपर्दछ । कार्यालयमा आएर आफन्तहरूसँग जोडिन दलका पदुवाचटुवाहरू घन्टौँ टेलिफोनका तारहरूलाई आफ्नो अनुकूल तान्न दिनुहुँदैन भनेर चिल्लाइ चिल्लाइ कुर्लेँ । आज मेरा गलाहरू अवरूद्ध भए । चार वर्षदेखि यसलाई सूक्ष्म रूपमा नियालिरहेको मलाई समेत कोतार्न छाडेनन् । एकजना मन्त्रीले त आर्थिक नाङ्गो नाँच नाचेर आफ्नो फाटेको पेन्टीसमेत देखाउन पछि परेनन् । त्यसपछि मैले धिक्कार मानेर यिनी छउन्जेल यहाँ प्रवेश नगर्ने संकल्पसहित यिनको फाटेको पेन्टीमा राजीनामाको टालोले टालिदिएँ ।”

यस्ता आर्थिक चलखेलका नन्दीभृङ्गी क्रियाकलापहरू यहाँभित्र नहुने हो भने जनताले कति सुख पाउँथे होला । यस्तै यस्तै प्रश्नहरूले टोकिरहँदा आँखाको डिलमा आली लगाउँदै एक दिन घरको छतमा बसेर त्यही आँखीझ्यालाई नियालिरहेको थिएँ । मोबाइलको घन्टीले मेरो एकत्रित आँखालाई भंग गरायो । सुपरिचित एकजना सचिवको तस्बिर मोबाइलमा आयो । त्यस तस्बिरले एकजना हठी बालकले झैँ हठ गरेर “खै, मेरो त ब्रेनड्रेन होला जस्तो छ, आफ्नो अनुभव र अनुकूलको मन्त्रालयको जिम्मेवारी पाइएन ।” भनी उनी अरण्य रोदन गर्दै थिए । “सचिव भएदेखि कहिले कता कहिले कता गरेर दुई वर्ष बित्यो । अब तीन वर्ष बाँकी छ । लौन हो, मेरो सरुवाका लागि लाग्नुपर्यो ।” भन्न थाले । म सोच्न थालेँ, दुई तिहाइको कम्युनिष्ट सरकारले विषयगत र अनुभवका आधारमा कर्मचारीलाई उचित जिम्मेवारी दिन सक्दैन भने समृद्धिको यात्रा कसरी अगाडि बढ्ला ?

सिंहको दरबार अर्थात् सिंह बस्ने ठाउँ । जङ्गलको राजालाई सिंह मानिए जस्तै देशको शासकलाई सिंहदरबारमा राखेर शासन गर्न दिइयो । राणाहरूले आफ्ना भाइ भारद्वारहरूलाई आफू अरूभन्दा उच्च छु भनेर देखाउने नाममा पनि प्रतिस्पर्धा गर्ने चलन अनुसार चन्द्रशमशेरकी कान्छी श्रीमतीले एकदिन छतमा बसेर बागदरबार र अन्य दरबारलाई नियाँल्दै गर्दा सबैभन्दा राम्रो र उच्च शानयुक्त नामका लागि सिंहदरबार नामकरण गरिएको भनेर इतिहास पढ्दा कतै पढेको थिएँ ।

मल्ल, लिच्छवी र राणाकालमा शासनका लागि हनुमानढोका दरबार थियो । पछि बेलायती शैलीमा नारायणहिटी दरबार बन्यो । सिंहदरबार त छँदै छ । त्यहाँको आँखीझ्यालबाट नियालिनुपथ्र्यो नेपाल तर नियालिन्छ उत्तर, दक्षिण र सातसमुद्र पारिबाट । हरिया डलर र अन्तर्राष्ट्रिय शक्ति केन्द्रका दृष्टिबाट ।
यस आँखीझ्यालबाट नियालिनुपथ्र्यो देशको गरिबी, अभाव, पीडा, अशिक्षा, भोक र अनेक दुर्दान्त पीडाहरू तर यी हेर्ने आँखाका पुतली नै झिकिएका छन् ।

नियालिनु पथ्र्यो सुशासन तर नियाल्छ र संरक्षण गर्छ भ्रष्टता, अपराध, अनैतिकता । जहाँबाट राजनीतिको आवरणमा कालोलाई सेतो र सेतोलाई कालो बनाउने अचूक औषधिहरूको कारखाना मात्र देखिन्छ ।

जहाँ भित्र छिर्दा मानिसहरू सियोजस्तै हुन्छन् र भुसुना जस्तै देखिन्छन् तर बाहिर निस्कँदा ती मुसल र हात्ती जस्तै बन्छन् ।
शासकहरूको स्वार्थभन्दा देशको स्वार्थ ठूलो ठानेर देशको अहित नहुने सुझाव दिने, देशको भलाइका लागि प्रयत्न गर्नेहरू दण्डित हुने प्रथा सिंहदरबारका निर्माताले जसरी सुरुवात गरेका थिए, त्यो आज सवा सय वर्ष पुरानो सिंहदरबारमा पुग्नेहरूबाट झन् झन् बढ्दै गएको छ । देशका तन्नेरी विदेशी श्रम बजारमा भाडामा लगाएर आएको पैसा निचोरेर मोटाउने चन्द्र शमशेरका अमूक अनुहारहरूको बढोत्तरी छ, मलाई थुक्क गरेर थुक्न मन लाग्छ । गिलो आची लाग्यो भनेर उपचार गर्न पनि महँगा विदेशी अस्पताल धाउने बेरोजगार महाधनाढ्यहरूको दबदबा बढ्दो छ । जुन दिन एकलव्यहरूले घोषणा गर्नेछन्, म जाली गुरु द्रोणचार्यलाई नाजायज गुरु भेटी चढाउन्न र बफादार शिष्य बन्न तयार छैन । त्यही दिनबाट सुरु हुनेछ नयाँ महाभारतको नयाँ कथा ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी
सामाजिक सञ्जाल :