नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

अन्तर्वार्ता:


अशोक सिलवाल

गीतिगफ

अन्तर्वार्ता / अशोक सिलवाल

‘फूलको आँखामा फूलै संसार’ आनीको अनुहारमा फूलेको फूल -दुर्गालाल श्रेष्ठ

सुरुसुरुका दिन जब ‘फूलको आँखामा फूलै संसार ...’ सुन्थें, मन त्यसै फुरुङ हुन्थ्यो ।
शब्द, स्वर, लय, संगीत अनि टेलिभिजनमा यो गीत बज्दा देखिने दृश्य । यी सबले मलाई गहिरो शान्ति मिल्थ्यो । दुर्गालाल श्रेष्ठलाई त्यसपछि नै हो, मैले अलि बढी नै छाम्न चाहेको । उनले लेखेको यो गीतमा स्वर भरेकी आनी छोइङ डोल्मालाई पनि मैले त्यसपछि झन् बढी छाम्न चाहेको हुँ । डोल्माको जीवन समेटिएको किताब ‘फूलको आँखा’मा पनि दुई पटक पढें ।
यही गीतमा संगीत भरेका न्युहलाई भने म पहिल्यैदेखि चिन्थें । बाँकी थिए, शब्दशिल्पी दुर्गालाल । केही बर्षअघिको एक दिन म दुर्गालालको घरमा पुगें ।

...


दुर्गालाल श्रेष्ठ

१. भृकुटीमन्डपमा केही समयअघि एउटा कविता कार्यक्रम भएको थियो । छोरी अदिती पनि मसँगै कार्यक्रम हेर्न गएकी थिई । तपाईले जुन शैलीमा कविता भन्नु भयो, त्यसपछि मलाई लाग्यो, कविता भनेको शब्दमात्र होइन रहेछ । उच्चारण पनि रहेछ । हाउभाउ पनि रहेछ । त्यसपछि हिजोआज म र छोरी मिलेर तपाईंको शैलीमा कविता भन्छौं, कहिलेकाहीँ ।
- ए ... । होअ होअ ह ह । अँ अँ ।

२. वीररसले ओतप्रोत हुँदै थरथर काम्दै युद्धभुमिमा जान लागेको सिपाही झैं जसरी तपाईंले कविता भन्नु भयो, मीठो लाग्यो । घत लाग्यो ।
- अँ अँ ।

३. त्यसअघि पनि तपाईंलाइ टीभीमा पनि देखिरहेको हो । तर, तपाईंको कविताको प्रत्यक्ष दर्शक भएर कविता सुन्दा आङ सिरिङ भयो । रौंहरु उम्रे ।
- हजुर । हँ हँ ।

४. अहिले तपाईंलाई ‘फूलको आँखामा फूलै संसार ...’ भन्ने चर्चित गीतका गीतकारका रुपमा धेरैले चिन्छन् तर तपाईको कविता वाचन गर्ने जुन शैली छ, त्यो बजोड रहेछ । हामी बाउछोरी आकर्षित भयौं ।
- हजुर ।

५. म तपाईबाट तपाईलाई सबैभन्दा बढी मन परेको कविता चाहन्छु । र, त्यो कविता कसरी जन्म्यो ? त्यो म सुन्न चाहन्छु ।
- मनपरेको सम्म भन्नु स्वाभाविक होला । मैले उत्कृष्ट कवितै लेख्न सक्या’ छु जस्तो लाग्दैन ।

६. त्यो तपाईंले भन्नु तपाईंको महानता र शालीनता हो ।
- जहाँनेर त्यो उत्कृष्ट खाले कविताको दर्शन पाउँछु, त्यो बाटोमा म सायद गइरहेको छु । किनभने, पुरै मात्रामा अहिले पनि नजानिंदो ढंगले इमान्दार हुन सकिरा’ छैन । म इमानदार हुनुपर्छ भनेर हुन खोज्छु । त्यसरी जाँदा त्यो इमानदारीभित्र मैले जति लेखें, त्यसलाई मैले कविता भन्ने गरिराख्या’ छु । मलाई यो कुरो पनि हो जस्तो लाग्दैन । साँच्चै कवितासँगको दर्शन म त्यो बेला पाउँछु, जब मैले कुनै खाले अभिनय नगरीकनै स्वच्छ र इमानदार भएर आफु हराउँदै पाइरहेको अवस्थामा गइरहेको हुन्छु । त्यो बेला मलाई मेरो हरेक सास कविता भइरहेको जस्तो लाग्छ । अब त्यो क्षण यहाँलाई मैले भनें, यो पनि मैले बढाइचढाई गरेर भन्या’ होइन । मसँग अतृप्ति अझै छ । मैले कवितालाई भेट्न अझै केही कन्जुसी गरिरख्या’ छु । यो मैले गर्दा भएको हो कि व्यवस्थाले नै मलाई कन्जुस बन्न बाध्य गराईराख्या छ कि ? जसले गर्दा त्यो शाश्वत कविताको दर्शन मलाइ मिलिराख्या’ छैन ।

मलाई धेरैले कवि भन्छन् । नढाँटी भनुँ, म कवि नै होइन । मलाई आफू मात्र गीतकारजस्तो लाग्छ । पहिलेदेखि नै म गाइजात्रे नाटकको कलाकार थिएँ । त्यहाँ पनि नाटक लेख्थें । बाध्य भएर गीत लेख्न पर्ने पनि भयो । पहिले हिन्दी गीतको लय चोरेर लेख्थें । पछि पनि, संगीतकारहरुले लय बजाएपछि म पनि त्यो लयमा बग्न थालें । पछि आएर थुप्रै संगीतकारहरुसँग बस्दा न्युहसँग पनि धेरै बसियो । ऊसँग बस्दा उसले मलाई धुन सुनाउँछ । सुन्छु । एकाग्र हुन कोशिस गर्छु । भाव फुर्छ । मेरो कमजोरी बुढेशकालले मेरो हातले काम गर्दैनन् । कापी कलम पनि उनीहरुसँगै हुन्छ । म बग्छु । टिप्छन् ।

७. ए ... ।
- त्यो हिसाबले भइराख्या’ । पहिले लेख्न सक्दा पनि त्यस्तै हुन्थ्यो । गीतको धुन मभित्र गुनगुन भइराखेको हुन्छ । त्यो धुनसँगै म आफ्नो भावलाई गीतमा मूर्त गर्ने कोशिस गर्छु ।

८. तपाईंको कविता वा गीतको रचनाभन्दा पहिले संगीत अनि बल्ल शब्द ... ?
- हो । अरुहरु छन्द भयो कि कविता लेख्न सक्छन् होला । म त्यसरी सक्दिन । एउटा केही हुनु पर्छ । त्यसैले त मैले भनिराख्या’, अरुले कविता भन्दा हुन् तर नढाँटी भनुँ त्यो गीत मात्र हुन्छ । मलाई त्यस्तो लाग्छ ।

९. त्यसो त कविता आफैमा गीत हो, यदि त्यसलाई संगीत दिने हो भने । गाउने हो भने । अनि कवितामै पनि संगीत भएन भने त्यो कविता पनि हुँदैन ।
- होइन । होइन । कविता हुँदैन नभनौं । विना लय पनि कविता बन्छ । तर, एउटा कविता गीत बन्न गाह्रो छ ।

१०. तर, तपाईले भृकुटीमन्डपको कविता वाचन कार्यक्रममा कवितै भनेर सुनाउन भएको थियो । केही ।
- ए । शीर्षकै ?

११. शीर्षक त अर्कै थियो । तर, केही कविताहरु भन्छु भनेर ३–४ वटा छोटा कविताहरु तपाईले सुनाउनु भएको थियो ।
- मैले अन्त यत्ति व्याख्या कहाँ गरिरहेको हुन्छु र ? कविता गोष्ठी वा वाचनमा त मेरो कविता भनेर नै सुनाइन्छ ।

१२. अब हामी ‘फूलको आँखामा फूलै संसार ...’ बारे नै छलफल गरौं ।
- त्यो बेला मुलुकमा राजनीतिक संक्रमणको स्थिति थियो । देश परिवर्तनको संघारमा थियो । र, जहाँतहीँ पनि हत्या हिंसाको भयावह स्थिति थियो । त्यो स्थितिमा बाँच्नेहरु जो कोहीसँग पनि भित्र असुरक्षाको भावना थियो । महलमा बसे पनि र झुपडीमा बसे पनि भय थियो । देशैले त्यस्तो स्थिति बेहोरिहेको संक्रमणको घडी थियो । त्यसैबीच मलाई खबरै नगरीकन एक्कासी दुई मान्छे आइपुगे । म साह्रै सस्तो मान्छे । मकहाँ आउन कुनै अदव गर्नु पर्दैन । म छोरासँग पनि साथीसँगै जसरी नै बस्छु । न्युह सरासर मेरो कोठामा आयो । उसको साथमा गितार पनि थियो । अनि संगै एउटी युवती पनि । युवतीले परिचय दिइन्, ‘म आनी छोइङ डोल्मा ।’ ‘एउटा गीत यिनलाई चाहिने भयो । मसँग धुन छ । ट्युनिङ पनि छ’, न्युहले भन्यो ।

१३. त्यसपछि के भयो ?
युवतीतिर मेरा आँखा गाडिए । भेषैबाट पनि बुझियो । आध्यात्मिक लाग्ने चिबरले युवतीको शरिर बेरिएको थियो । न्युह तपाईं बसेको ठाउँमै बसेको थियो । आनी उता । देशले त्यो भयावहता बेहोरिरहेको बेला मैले धुन सुनें । युवतीले नन्नअ नन्नअ गरिन् । मेरो आँखा आनीको अनुहारैमा दौडिरह्यो । आनीको अनुहार बडो सुन्दर । त्यसमा चिबर पनि । त्यो चिबरले के काम गरिरहेको थियो ? मैले बुझ्न सकिन । सायद त्यो पनि आएको हुनु पर्छ कवितामा । एउटी सुन्दरी मात्र भएको भए मेरो कविता श्रृंगारिक हुन्थ्यो । एउटा युवतीको शरीरमा धारण गरिरहेको त्यो चिबर अनि त्यो चिबरयुक्त सौन्दर्य सायद त्यो मेरो कवितामा आयो कि ? त्यस्तो व्याख्या मलाई केही थाहा छैन । पाँचदेखि सात मिनेटको बीचमा कविता पुरा भयो । खासमा मैले त्यो कविता लेखेकै होइन । मानौं, आनीको अनुहार नै त्यस्तो एउटा बोट थियो, जहाँ त्यो भाव शब्द भएर फुरिररहेको थियो ।

१४. आहा !
- साँच्चै मैले त टिप्या’ मात्र हो । मैले लेख्याजस्तो मलाई लागेन । एउटा बोटमा फलिराख्या’ फल टिप्या जस्तो मात्र लाग्यो । ‘फूलको आँखामा फूलै संसार’ आनीको अनुहारमा फूलेको फूल हो ।

१५. त्यहाँ ध्वनि पनि आइरहेको थियो । न्युहले गितार बजाइरहेका थिए । आनीले स्वर भरिरहेकी थिइन् ।
- आनीले गुनगुनाउँदै थिइनन् । सुरुमा जब न्युहले संगीतसहित एसकरो गाए, अनि मात्र उनले फलो गरिन् । उनले गाएकी होइन, आवाज मात्र थपेकी थिइन्, सुरुमा । तर, त्यो गीत त आनीको आवाजमा जीवन्त भइहाल्यो । उनको आवाजले कस्तो छोएको ? ओहो ! त्यस्तो पनि हुँदो रहेछ । संगीतकारले गाएर हुन्छ र ? आवाज त न्युहले पनि दिया’ हो । तर, उसको आवाजमा मैले गीती तत्व देखिनँ । संगीत देखिनँ । आनीले गाउँदा मात्र संगीत छ जस्तो लाग्यो । त्यस्तो भयो । संगीतकारले गाउँदा संगीत थिएन । त्यस्तो अनुभव भयो । अनि त्यो गीतमा यो जम्मैलाई छुन सक्ने त्यो तत्व जुन हो, मैले राख्छु भनेर राख्या’ होइन । मैले सायद नजानिदो ढंगले त्यस्तो भयावह थितीबीच त्रस्त जनतालाई त्रासबाट अलि पर लैजाने प्रयास गरें ।

१६. ज्ञात छैन त्यो कुरा ।
- ज्ञात छैन । तर, त्यो गीतमा यो भावको आभाष पनि छ । मैले यो दायित्व निर्वाह गर्नुपर्छ भनेर बुझेर, जानेर गरेको भने होइन है ।

१७. सामान्यतया तपाईंका सबै गीतहरु यसरी नै बन्छन् ?
- सबै त भन्दिनँ । कुनै कुनै कविता ज्यादै श्रृंगारिक भएर ... ओहो ! त्यस्तो पनि लेखियो । कहिलेकहिले राजनीतिमा लाग्दा ‘म आगो बलिरहेछु’ टाइपको पनि लेखियो । कुनै बेला नाटक खेल्दाको कुरा पनि अनौठो छ । मसँग नाटक खेल्दा दुख पनि पाउनेहरु टन्नै छन् । मैले जमिन्दार भएर खेल्दा मोहीलाई कस्तरी चुट्या ‘भन्या’ ! बानी असल वा खराब के हो ? त्यस्तो बानी नाटक खेल्दा पनि थियो ।

१८. ‘फुलको आँखामा ...’ लेख्दा सुरुको हरफ त त्यसरी आयो । अनि अरु हरफ ?
- सबै त्यसरी न आयो । सलल । त्यसैले भनुँ जस्तो पनि लाग्दैन । किनभने, गीत बन्यो भने मात्र पुग्ने हो । तर, भएको कुरा चाहिं यही हो । दुर्गालाले आत्मप्रशंसाको लागि भन्या’ होइन भनेर बुझिदिनु पर्यो । गीत भनेर मैले खासै मिहनेत ने गर्न पर्या छैन ।
मेरो पहिले–पहिले अलिकति पिउने बानी । मलाई थाहा छ, मसँग केही लिनुपर्यो भने, लौ है त हामी सँगै अलि कति लिउँ है भनेर लिन्छन् । त्यसले त मलाई बाटो खुल्ला पारिदिन्छ । मेरो स्रस्टा मजाले हिंड्छ, त्यहाँ ।

१९. ‘फूलको आँखामा ...’ रचना गर्दा पनि बिहानैदेखि हल्का दिनु भएको थियो कि क्या हो ?
- ह्या ... । त्यस्तो अहिले बिल्कुल लाग्दैन ।

२०. पहिले मात्र ?
- अं । साठी बर्ष जति भयो ।

२१. लेख्न थालेको कि लेख्दा खान थालेको वा खान थालेको ?
- सुरुमा त होइन, त्यसपछि साथी संगतले गर्दा बानी पर्यो । त्यसपछि लेख्दाखेरी चुरोट खाँदा जस्तो हुन्छ ... ओहो पहिले चुरोट खाँदा धुँवा उडेपछि त्यो धुँवा रंगमंगिदै जाँदा त्यसैमा कविता कत्ति लेखियो कति । पछि त चुरोट छाडेर कलम समाउँदा धुँवा नहुँदा आकाशमा आकाशै छैनजस्तो लाग्ने ।

२२. अहिले चाहिं खाएर लेख्नु हुन्न ?
- अहिले छैन ।

२३. ‘फूलको आँखामा ...’ लेख्दा खानु भयो कि भएन ?
- खाइएन ।

२४. एउटा समयखण्ड थियो, त्यति बेला ?
- होइन, कविता लेख्दा त प्राय पदै पर्दैन । भोजसोजबाट फर्किदा ल लेख्नुपर्यो भनेपछि म लेख्न थालिहाल्थें ।

२५. कविता लेख्न कसरी थाल्नु भएछ, तपाईंले ?
- कवि र रकविता थुप्रै छन् । अरु कविहरु भाव आएपछि लेख्छन् होला । मलाई भाव मात्रले कविता लेख्न दिंदैन । संगीत र धुन पनि चाहिन्छ । गुनगुन ... ।

२६. त्यो भनेको चराको चिरबिर वा मान्छेको कोलाहल पनि हुनसक्छ ?
- जे होस् मलाई एउटा लय चाहिन्छ ।

२७. पहिलो कविता याद छ तपाईंलाई ?
- कहाँ हुनु ?

२८. हजारौं लेख्नु भयो ।
- त्यही त । मैले हरेक कुरा गर्दा बढाइचढाई गरेजस्तो हुन्छ । कति लेखें कति ।

२९. हिसाबकिताबभन्दा पनि माथि ?
- नाटक पनि प्रशस्त लेखियो । गीत त कत्ति कत्ति । मेरो अभिलेख अहिले पनि एउटै छैन । म हरेक दिनजस्तो लेख्छु तर अब निकै अप्ठ्यारो लाग्न थालेको छ । तर, मेरो कविताभन्दा अक्षर सुन्दर थिए । मेरो आफ्नै ह्यान्डराइटिङमा कवितासंग्रह पनि प्रकाशित छ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु