नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

समालोचना:


मीन पुन

साहित्यकार सरुभक्तको ‘द पिक’ र नेपाली साहित्यमा हिमाल आरोहण आख्यान

“खतराहरुको श्रृङ्खलाबद्ध चरणहरुमा एउटा खतराले अर्को खतरा निम्त्याउँछ; खतराहरुको श्रृङ्खलाबद्ध चरणहरु यही जीवन हो; यही हिमाल हो । जो हिमाललाई बुझ्दैनन् ती मानिसहरु हिमाललाई शत्रुतापूर्वक हेरिदिन्छन् र जीवनलाई पनि शत्रुतापूर्वक हेरिदिन्छन्”      (सन्दर्भ, ‘द पिक’, पृ. ५७) ।

साहित्यकार सरुभक्तको लघु उपन्यास ‘द पिक’ बुझ्नका लागि सबैभन्दा सजिलो तरिकाहरूमध्ये एउटा तरिका के हो भने यो पुस्तक संगै अमेरिकन उपन्यासकार अर्नेष्ट हेमिङवेको लघु उपन्यास ‘द वल्ड म्यान एण्ड द शी’ को अध्ययन हो । यी दुई पुस्तकहरुबारे एउटा रमाइलो पक्ष के हो भने समय सन्दर्भ एकदमै अलग भएपनि दुबै सरुभक्त र हेमिङ्वेका पुस्तकहरूमा, चाहेर होस् वा बनाएर होस्, एकै खालका कथानक र तत्व रहेको पाईन्छ । दुबै सरुभक्तको पुस्तक र हेमिङ्वेको पुस्तक साहित्यिक क्षेत्रका ख्यातिप्राप्त कृतिहरू हुन्, जसमा मानिस बाँच्नका लागि प्रकृतिसँग संघर्ष गर्छ र त्यसको विरुद्धमा उत्रन्छ । सरुभक्तको पात्र हिमालबाट आफ्नो जीविकोपार्जन गर्छ भने हेमिङ्वेको पात्र समुन्द्रबाट जीविकोपार्जन गर्ने प्रयास गर्छ । दुबै सरुभक्त र हेमिङवेका पात्रहरु एक्लै बाँच्ने प्रयास गर्छन् । दुवैका पात्रहरूको विनास हुन्छ तर लडाइमा हार्दैनन् । दुवैका पात्रहरु आफ्ना व्यवसायमा आएका अप्ठयाराहरुसँग इमान्दारितापूर्वक भिडेर कर्तव्य पूरा गर्दछन् र दुवैका पात्रहरु प्रकृतिलाई साथी बनाउँछन् र शत्रु बनाउन पनि पछि पर्दैनन् । हेमिङवेको सान्तियागो जस्तै, सरुभक्तको पात्र जो मुख–पात्र पनि हो को पनि भाग्य र रोमाञ्चक्ता को कुनै सपना देख्ने गरेको छैन् । ऊ बाँच्नका लागि मात्र सघर्ष गर्छ ।

सरुभक्तको लघु उपन्यास ‘द पिक’ मुलतः नेपाली भाषामा लेखिएको चर्चित पुस्तक हो जुन ‘चुली’ को अनुवादित पुस्तक हो । यो लघु उपन्यास सन् २०१२ सालमा अमेरिकामा बस्दै आएका सुभाष घिमिरेले अनुवाद गरेका हुन् । नेपाली संस्करणको ‘चुली’ नेपालका शैक्षिक पाठ्यक्रममा समेत समावेश गरिएको छ । सरुभक्तले उनका उपन्यास ‘पागल बस्ती’ को लागि सन् १९९१ मा  नेपालको सबैभन्दा सम्मानित मदन पुरस्कार प्राप्त गरेका छन् । यसका साथै नेपाली साहित्य क्षेत्रमा योगदान पु-याएवापत सरुभक्तले अन्य थुप्रै साहित्यिक पुरस्कारहरु प्राप्त गरिसकेका छन् । लेखकका रुपमा प्रसिद्घि कमाएका उनका आफ्ना रचनाहरूमा सरुभक्तले मानव प्रवृति र गतिविधिका अस्पष्टताका बारेमा आफ्नो अनुभव र विचार प्रस्तुत गरेका छन् । उनले मानिसका तुच्छ र घृणित व्यवहारको उनका रचनाहरू मार्फत् खिल्ली उडाइदिएका छन् । उनले यो पनि व्यक्त गरेका छन जुन मानिसहरुले आफ्ना स्वार्थपूर्तिका हेतुले समाज बनाएका छन् र कहिले काँही भत्काएका पनि छन् । यसरी, सरुभक्तले मानव मनोविज्ञानलाई उनमा रचनाहरु मार्फत् सूक्ष्म रुपमा उजागर समेत गरेको पाईन्छ । उनका रचनाहरुले उनको विचारको जीवन्त चित्रण गरिएको पाइन्छ ।

पाठकहरुद्वारा अधिक रुचाइएका सर्वाधिक चर्चित उपन्यासहरु जस्तै ‘पागल बस्ती’ (सन् १९९१), ‘तरुनी खेती’ (सन् १९९६) र ‘समय त्रासदी’ (सन् २००१) पछि सरुभक्तले लेखेका लघु उपन्यास ‘द पिक’ मा मुख्य–पात्र का रुपमा सरुभक्त आफैलाई उभ्याएका छन्, जो हिमालसँग सगरमाथाको नजिक रहेर संघर्षरत छ । यो उपन्यासमा पात्र र हिमालबीचको घमासान लडाई नै यो उपन्यासको कथावस्तु हो, जसलाई सरुभक्तले जीवनको लक्ष्य ठानेका छन् । कथाको पृष्ठभूमिमा मुख–पात्र बेस क्याम्पमा केही दिन, हिमाल चढ्न केही दिन र हिमालबाट ओर्लन केही दिन व्यतित गरेपछि कथाको अन्त्य हुन्छ । आरोहणका सामग्री लिएर पात्र सगरमाथाको उँचाईसम्म एक्लो यात्रा गरिरहेको हुन्छ । दिनरात गरि पात्र यसरी नै संघर्ष गरेर नै समय व्यतित गर्छ । अति जाडो र अक्सिजनको कमिले गर्दा उसका शरीर भयग्रस्त र पीडाले ग्रसित भएपनि संघर्षरत देखाइएको छ । थकित भएतापनि पात्र हिमालको चुचुरोमा पुग्न उकालो चढिनैरहेको हुन्छ र उसको अन्तिम प्रयाससंगै ऊ संसारको सबैभन्दा अग्लो चुचुरोको टुप्पामा पुग्छ । त्यसपछिका घटनाहरू यसरी बढ्छन् कि चुचुरोबाट ओर्लदै गर्दा पात्रले उसको जीवनको सबैभन्दा कडा संघर्ष गर्नुपर्ने हुन्छ । हिउँका आँधिहुरीसंग संघर्ष गर्दागर्दै पात्र हिउँको ढिस्कोसँग ठोक्किन पुग्छ र उसले आफ्नो चेतना गुमाउँछ । उसले मातृभूमिलाई एकपटक चुम्छ र एक अपराजित महान् योद्धाको मुत्यु हुन्छ । मर्ने बेलामा ऊ आफ्नो आस्थामा अडिग रहन्छ र उस्को मृत्युपर्यन्त आउँदो पिँढीले उसले कोरेका डोबहरूलाई पछ्याई रहनेछन् ।

संघर्ष उपन्यासको अविभाज्य शक्ति हो जुन कुनै पनि जीव विशेष यो सत्यबाट भाग्न सक्दैनन् । सरुभक्तका अनुसार संघर्ष कहिलै नटुङ्गिने अन्तर्वस्तु हो । संघर्षमा जीवन्त जीवन हुन्छ । संघर्षको उद्देश्यका बारेमा उपन्यासको अन्तिम पृष्ठहरुमा पात्रद्वारा अभिव्यक्त भनाई यस्तो छ  “जसरी मानिसहरू हिमालमा आइरहन्छन् त्यसरी नै आँघिहुरी पनि जीवनमा आइनै रहन्छन् । ती आँधिहुरीसँग लड्न आवश्यक छ । आँधिहुरीबाट भागेर कोही बाँच्न सक्दैन । यदि सम्पूर्ण सृष्टिको प्रारम्भिक अवस्थामा कुनै आँधिहुरीको अस्तित्व छ भने तीनैसँग त्यसको अर्थ हुनुपर्छ ।” यसैकारण उपन्यासको पात्र कडा संघर्ष गर्छ । यसबाट पात्र आफूमात्र पुनःर्जीवित हुदैन हिमाल पनि त्यसरी नै जीवित रहन्छ । जस्तो पात्र विश्वास गर्छ कि “संघर्ष निरन्तर चलिरहने चीज हो ।” वास्तवमा, जीवन एक पुनःर्जीवनको सम्भाव्यता बोकेको हुन्छ, जसले
लडाईको बाटोनै रोज्छ । हिमालमा खतराहरु रहन्छन् जसरी मानव जीवनमा हुन्छ । सरुभक्त भन्छन्, पृथ्वीमा सबै प्राणीहरु हरेक दिन खतरासँग सामना गर्नुपर्ने हुन्छ ।

त्यसैले “यो नै जीवन हो, यही हिमाल हो ।”

उपन्यासमा एकातिर पात्रको संघर्षले शारीरिक पुनर्ताजगीतिर इंगित गर्छ भने अर्काेतिर संघर्षले जीवनलाई अगाडि डो-याउने काम गर्छ । उपन्यासमा हिमालको चुचुरोलाई बिम्बको रुपमा प्रयोग गरिएको छ, जसले जीवन र संघर्ष, अर्थात् जीवन र मृत्यु बीचको अन्योन्याश्रित सम्बन्घलाई जोड दिइएको पाइन्छ र सरुभक्तको उपन्यासको पात्र हिमालसँग लड्ने दुस्साहस गर्छ । उपन्यासमा पात्रले जीवन र हिमाल आरोहणबारे गरेको टिप्पणी यहाँ राख्न सान्दर्भिक देखिन्छ । “जीवनमा केही मानिस हिमाल चढेर थाक्छन्, केही मानिस हिमाल नचढेर पनि थाक्नेहरु छन् । हिमाल चढेका मानिसहरुको जीवनमा थकान हुन्छ तर थकानमा जीवन हुँदैन ।” यसरी पात्रको हिमाल आरोहणले अरु आरोहीहरु सम्मानले निहुरिन्छन्, जसले कुनै समय उसलाई गिज्याउने गरेका थिए । उसको हिमाल आरोहणले आउने पिँढीका आरोहीहरुसँगको मित्रवत कथा हो जहाँ उ मरेपनि तिनीहरु उसको पाइलाहरु पछ्याउने छन् ।

‘द पिक’ नेपाली साहित्यमा एक सफल हिमाल आरोहण आख्यान हो । अन्य हिमाल आरोहण उपन्यासकारहरुले हिमाललाई कथाको परिवेशको रुपमा प्रयोग गरिएको हुन्छ, जहाँ कथानकलाई दर्शाइएको हुन्छ तर सरुभक्तले हिमाललाई लेखनका लागि एक उत्कृष्ट विषयवस्तु बनाएका छन् । उनले उपन्यासको लागि हिमाललाई एक विशेष परिवेशमा सीमित राखेर कथाको लागि वातावरण सृजना गरिदिएका छन् । यो पनि मानिएको छ कि सरुभक्तको उद्देश्य चाँहि नयाँ विचारको सृजना गराउनु हो भने धेरै मेहनत चाँहि साहसिक हिमाल आरोहणको कार्यमा लगाएका छन् ।

हिमाल आरहोहण साहित्यको एउटा अंग भनेको आख्यान लेखन हो । आरोहणलाई एक रोमाञ्चक खेल मानिएको छ र पाठकहरु हिमाल आरोहण आख्यानमा रोमाञ्चक हुने ठूलो आकांक्षा राखेका हुन्छन् । सरुभक्तले आफ्नो उपन्यासमा साहसिक तृष्णालाई सफलतापूर्वक प्रयोग  गरेका छन्  जुन हिमाल आरोहण आख्यानमा एउटा प्रसिद्ध शैली हो । यो भन्दा महत्त्वपूर्ण पाटो चाँहि अर्को छ । सरुभक्तका पुस्तक हिमाल आरोहणको उपलब्धिसंबन्धि एक विस्तृत विवरण हो जसमा एउटा काल्पनिक पात्रको सेरोफेरोमा यिनै बुनिएका उक्साउने र रोमाञ्चित पार्ने घटना परिघटनाहरुसँग संबन्धित छ । सरुभक्तले घटना परिघटनाहरुको चित्रणलाई आफ्नो कथामा खरो उतारेका छन् र निःसन्देह तथ्यपरक लेखनको उदास लाग्दो प्रवृत्तिबाट पनि आफ्नो उपन्यासलाई स्वतन्त्र राख्न सफल रहेका छन् ।

minpun@gmail.com







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु