नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

निबन्ध:


मोमिला

चित्रालय, असामयिक मृत्युको याद र कलाको आराधना

प्रिय संवेदन !
एक्लो होइन कि भन्थेँ झिलमिल ताराहरूको भीडमा, आखिर एक्लो नै रहेछ मान्छे ! कोही र केही छैनन् साथमा । न त ईश्वर नै ! फेरि पनि आफू हुनका निम्ति केही चेतन शर्तसहित मूल्यग्रसित छु म, यतिखेर । तर यो एक्लोपनमा नै स्वस्थता छ, कुनै प्रदूषणहीन मान्छेत्वसँगै मेरो महसुसमा ईश्वरत्व पनि वास बसेको छ ।

प्रिय, रित्तिनुमा यतिखेर पहाडको हरियो सम्झना चौबन्दी तुनामा बाँधेर दुई हातको स्वतन्त्र पङ्ख फिँजार्दै उचाइको चुम्बनबिना नै निष्पृह बेग मारिरहेका मेरा सम्झनाहरू स्नेहिल छन्, समुद्रसँगै बगिरहेका मेरा तमाम सपनाहरू प्रेमिल छन्, आकाशको नीलोपन भेदन गर्न हिँडेका मेरा कल्पनाहरू सुखद छन्; जसले फर्केर फेरि मलाई असान्दर्भिक झकझकाउने छैनन् । कोलाजमय अनुभूतिहरूमा मात्र बेग मारिरहनु, मात्र बगिरहनु, पछाडि नफर्केरै मात्र हिँडिरहनु, अन्तर्चक्षुको तारो ताकेर उडिरहनु कति रुचिकर छन् ! कति प्रीतिकर छन् !! जहाँ पट्यारलाग्दो सम्पादनको कुनै झन्झट रहने छैन । मन नलागेरै कतै आफूलाई दोहर्‍याइरहनुपर्ने छैन । विल्कुल नौलो प्रयोग र परिणामको सुखद संयोगमा मभित्रका असङ्ख्य प्रश्नोत्तरहरू केवल तिमीलाई बार–बार महसुस गरिरहन्छ....! लाग्छ, तिमी पनि यहाँको प्रदूषणमा धुस्रे फुस्रे भएका छौ र मुक्तिको खोजी गर्दै यतिखेर तिमी पहाडमा होइन पहाडको हरियो उचाइमा छौ, समुद्रमा होइन समुद्रको अनन्त बहाबमा छौ, खुला आकाशमा होइन आकाशको नीलो गहिराइमा छौ ।

प्रिय संचेतन ! मेरा आनन्दबोधी क्षणहरू बिल्कुल अनौठा छन् । नत्र किन बगर, काँडा, भूल, पश्चात्ताप, उदासिनता अनि विसङ्गतिहरूको सङ्गतमा हत्ते हालिरहेको हुन्छु त ! यसैले त म मान्छेका तमाम पागल इच्छा–आकाङ्क्षाहरूको, बौलाहा भोकहरूको विरूद्धमा उभिन्छु र आकाङ्क्षाशून्य, भोकशून्य अपनत्वको पक्षमा वकालत गरिरहेको हुन्छु । त्यही पागल भोक र आकाङ्क्षाहरू नै त हुन्; जो हरपल विषालु सर्प जस्तै नेल बेरिएका सांसारिक विरूपतामा अनुवाद भइरहेका हुन्छन् । बडो अजिब गहन छन् ज्यानमारा यथार्थहरू .....!

उनै ज्यानमारा यथार्थहरूको भीडमा प्रिय, म तिम्रा लागि मेरो आफ्नै चेतन आयतनभरिको एकान्त र अनौठो खाली ठाउँ छोड्न चाहन्छु, जहाँ एक्लो फुर्सदिलो उभिएर मेरो अनुपस्थितिको एकान्तमा तिमी यो दुनियाँको विचित्र संरचना देख्ने छौ । उही भीडमा अनन्त धुनहरूको सम्भावना लिएर बेवारिस झुन्डिएको भ्वायलिनका तारहरू जस्तै तिम्रा नसाहरूमा अदेख्य आत्मीयता व्याप्तिन चाहन्छु, ता कि उपस्थितिको अर्थभन्दा प...र मान्छेका सोचहरूमा प्रेमशक्तिको सम्भावना प्रदीप्त होस्; तिम्रा शरीरका नसाहरू सङ्गीतमय झङ्कृत होऊन् र स्वयम् तिम्रो धड्कन नयाँ सुरतालमा आल्हादित होस् । आखिर कहिल्यै अन्त नहुने अदेख्य अन्तरालमा जीवन गुम हुनु त छँदै छ !

प्रिय अस्तित्व ! मौनतामा म ज–जसलाई सुन्छु, शालीन र सङ्गीतमय अनुभूत गर्छु; उनीहरू नै अँध्यारोमा बलिरहेको महसुस गर्छु । हुन सक्छ उनीहरूकै निगाहमा सुरक्षित छन् आगामी बाटा र यात्राहरू; जहाँ निश्चिन्त टाँगिएका हुने छन् विशिष्ट कलाकृतिहरू.....! त्यहीँ त हो; जहाँ आफ्नै विगतले सिफासि गरेका वर्तमान खुसीहरूको उत्सव मनाइने छ, जीवनका सम्मोहनग्रस्त अस्वीकृत पलहरूका स्वीकृत सम्झनाहरूको आतसबाजी हुने छ । युगौँदेखिको प्रकृतिको उही मधुरम धुन बज्ने छ ।

यथार्थमै मेरो कामना छ कि जीवनको त्यस मादक चित्रालयबाट उद्धृत कलाकृतिको साक्षात्कारमा जोकोहीलाई प्रकृतिनिष्ठ आध्यात्मिक शान्ति मिलोस् !
........र सांसारिक नाट्यशालामा कलाकारको भौतिक अन्त्य मृत्युको अनिवार्यताभन्दा प...र विसङ्गत, बेइमान र बेहद दुःखहरूको गौरवशाली उपसंहार बनोस्; जसलाई गरिमामय आवश्यकतामा इतिहासको रेखाङ्कित सत्य स्वरूप सधैँ अपूरणीय र असामयिक भनेर पुकार्न सकियोस् !!







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु