नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

निबन्ध:


मोमिला

सबभन्दा सुन्दर कविता

प्रिय संवेदन !

मृत्युबद्ध जिन्दगी पनि नबाँचिरहन कहाँ सकियो र ! आगामी पीडाको त्रासमा जिन्दगी जिउनै छाड्न कहाँ सकियो र ! घृणाको आशङ्कामा प्रेमशून्य–शून्य रहन पनि कहाँ सकियो र ! बरु, अनुभूतिको खग्रास बस्तीमा मेरो वैदिक चेतना डुब्नै लागेको घामसँग हाम्रो अलिखित सुन्दर साँझ बन्धकी राखेर अन्धकार रातको जोखिम उठाउन मन्जुरी दिइरहेछ । आखिर घनघोर अन्धकारमा पनि या कसैको निद्रामा पनि दुनियाँ त रोकिँदैन नै । फेरि मौन अन्धकारमा उनै मान्छेबाट षड्यन्त्रको जालमात्र कहाँ बुनिन्छ र ! उज्यालोको कविता पनि त लेखिन्छ ! केही छैन, वसन्तअघिको उजाड फोटोग्राफ नै म यी आँखामा टाँगिदिन्छु, ता कि हरियालीको सपनाअघि म त्यही उजाड याद राख्न सकूँ । यतिखेर यो विह्वल मन बाफिएर बर्सेको मेरो आँखाको नोस्ताल्जिक रिमझिम बर्सात्मा तिमी अधिक प्रिय लागिरहेछौ, र म मेरो सामुन्नेको ऐनामा अँध्यारोको लय मिलाउँदै अन्तिम सुन्दर कविता पढिरहेछु .....!

प्रिय सम्बोधन ! सदीयौँदेखि जागृत पहाडमा निश्चिन्त अडेसा लागेर म तिम्रा नाममा सदा–सदा हिमाल अग्लिन चाहन्छु । निर्बन्ध झरना झर्न चाहन्छु, नदी छचल्किन चाहन्छु, सागर लहरिन चाहन्छु, तरङ्गिन चाहन्छु, गुनगुनाउन चाहन्छु र तिमी आकाशलाई आफैमा समाहित गरेर म सागर मेरो सम्पूर्ण अस्तित्वको दाबी गर्न चाहन्छु, सपनाका सारा सांसारिक रङ्गहरूमा घोलिन चाहन्छु । कति सचित्र सुखद छ सपना, कति तन्मय–मन्मय छ उन्माद ! सपथहीन भएर नै कति प्रिय मधुर छ हाम्रो मिलन ! बुझ्यौ ! यतिखेर भने म सामुन्नेको ऐनामा उज्यालोको लय मिलाउँदै मेरो प्रथम सुन्दर कविता पढिरहेछु ....!!

प्रिय अनादि ! हाम्रो जगजाहेर अन्योन्याश्रित आस्तित्विक भरोसाको प्रतिफलन नै त भनौँ हाम्रा वैचारिक टकराबहरू आरोह–अवरोहमय छन्, सङ्गीतमय छन्, जीवन्त छन् । यसर्थमा नै हामी आफ्नो एकल अस्तित्वका नाममा त्यति दुर्लभ आकाङ्क्षा कदापि हुन सक्ने छैनौँ; जसको प्रतीक्षामा बस्दा–बस्दै कतै यो संसार नै युग–युगसम्म आबाद नबनोस् । यसको अर्थ कुनै भव्य समारोहमा तिम्रो औपचारिक प्रमाणका रूपमा म जाहेर हुन भने चाहन्नँ । विनासम्पादनको यो हाम्रो लगाव नै निर्जन प्रकृतिजस्तो काफी सुन्दर दृश्य हुने छ; सङ्कटको पुकाराजस्तो अनायस श्रद्धामय हुने छ; मौसमको आर्द्र उकुसमुकुसमा हावाको शीतल स्पर्शजस्तो शालीन हुने छ; पहाडको प्रतिध्वनिजस्तो हाम्रो यो हृदयवादन फूलमा, पातमा, काँडामा झङ्कृत हुने छ; सागरको प्रेमिल लहरजस्तो मधुरम तरङ्गिने छ र किनारसम्म पुगेर बिसर्जन हुँदा–नहुँदै अर्को प्रारम्भित हुने छ । विदाइमा पनि कति प्रियतम छ रहस्य ! कस्तो अनादि छ सौन्दर्य ! तिमी कस्तरी प्रदीप्त भइरहेछौ हरेक ‘म’ हुनुको चैतन्यस्वरूप यो रहस्यात्मक सौन्दर्य–आभामा ! सत्यमा मभित्र अनुभूत एकाकारमा तिमी कुनै छेकबारहीन अनादि, अलौकिक परमप्रिय लागिरहेछौ । बुझ्यौ ! यतिखेर म सामुन्नेको ऐनामा उज्यालो र अँध्यारोको फ्युजन लय मिलाउँदै जीवन नामको सृष्टिकै सबभन्दा सुन्दर कविता पढिरहेछु .....!!!

कविता पढ्दापढ्दै यहीँनेर यही जीवनमा मलाई मोक्ष प्राप्त भएको छ । यतिखेर म उपहारप्राप्त ब्रह्मनीबले अर्को सुन्दर कविता लेख्न सक्तिनँ !...!!...!!!







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु