चित्र र कविता:
प्रकृति – एक प्रतिष्ठान

सन्ध्या रेग्मी


सन्ध्या रेग्मी
नेपालका अनमोल चट्टान र हिमालमाथि नृत्यमग्न बादल
बगेर कहिल्यै नथाक्ने खोलाहरूबाट
अविश्रान्त जीवनयात्राको गतिशीलता सिकिराख
उभिएर कहिल्यै नगल्ने पहाडहरूबाट
प्रतीक्षाभित्रको धैर्यको भाव सिकिराख
पग्लिएर कहिल्यै नसिद्धिने हिमचुलीहरूबाट
दानभित्रको नरित्तिने समृद्धिको चैतन्य सिकिराख
सल्लाघारीका सुसाइहरूबाट
परिश्रम र थकानभित्रको मिठास सिकिराख
शिशिरको हिमपातमा उजाडिएका रूखहरूबाट
वसन्तमा पालुवा लागेर झपक्कै हुने नवजीवनको भाव सिकिराख
बगैँचा खुशीयाली मात्र होइन पीडा पनि हो
गुलाब कोमलता मात्र होइन काँडा पनि हो
बगैँचामा मुस्कुराइरहेका ती फूलहरूबाट
जीवनको क्षणिकताको अवबोध सिकिराख
जीवनको उद्देश्य सुनको थाली होइन स्वच्छन्दता हो
हर्षले आल्हादित भएर चिरबिराइरहेका ती चराहरूबाट
सुनको पिँजडाभित्रको चाँदीको कचौराको आहारसमेत लत्याई
उन्मुक्तताको उडान भर्न सिकिराख
आकाश उदारता मात्र होइन आक्रोश पनि हो
बादल सुन्दरता मात्र होइन विद्रोह पनि हो
सिमलका भुवा झैँ आकाशमा छरिएका ती बादलहरूबाट
अन्यायविरुद्ध गर्जन र वर्षिन पनि सिकिराख
असीम सहिष्णुताकी जननी धरतीले आफ्नो गर्भमा
ज्वालामुखी पनि पालेकी हुन्छे
आफूमाथिको अपमानको सीमा नाघ्दा
ज्वालामुखी झैँ विष्फोट हुन पनि सिकिराख ।