कविता:

एस्पी कोइराला
जीवन, जोबन र सगुन
उता सहरको कुना–कुनामा
आन्दोलनको टायर धुमधाम बल्दै छ
यता भरखरै दुलही भित्र्याएको
रामहरिको मनको कुनामा
आँधीबेहरी बेजोड चल्दै छ
एकछिन ऊ घोरियो—
साँच्चीकै घटनाक्रम कसरी नाटकीय भयो
आन्दोलन चल्दाचल्दै
अस्ति केटीको कुरो छिनेर आइयो
हिजो टीकोटालो भ्याइयो
आज बिहा सकिएर दुलही भित्र्याइयो
भरखरै नेताजीको उर्दी पाइयो
अब आन्दोलनमा जानु छ
सधैँजस्तो अश्रुग्याँस, लाठी, बुट त यसै खानु छ
थाहा छैन
आज, प्रहरीको नजरमा पर्छु कि पर्दिनँ
आन्दोलनमा योगदान गर्छु कि गर्दिनँ
भर छैन
यत्रो आन्दोलनको नदी तर्छु कि तर्दिनँ
कतै गोली लागेर आपैm त मर्दिनँ !
यतिखेर,
कुन आन्दोलनमात्र म लडूँ ?
जीवनको आन्दोलन !
या
जोबनको आन्दोलन लडूँ !!
सुहागरात पर्खेर बसेकी मेरी उनलाई भेट्न
भरे अवश्य आइएला
नातिको मुख देख्ने आमाको सपना मेट्न
भरे अवश्य भ्याइएला
सकारात्मक सोचको म्याराथुन दौडेर रामहरि
निधारभरि लगनटीकोसँगै
मृगको गतिमा आन्दोलनतिर हानियो
बेलुकी समाचार आयो—
“आजको आन्दोलन खूब जम्यो !”
राति अबेर अस्पतालबाट खबर आयो—
“रामहरिको होस आयो !”
जतिखेर,
टेलिभिजनको दृश्यमा रामहरि सोध्दै थियो—
“डाक्टर साप ! के म साँच्चै बाँचे !”
डाक्टको जवाफ थियो—
“तिमी त बाँच्यौ !
तर, सरी !.....!!
तिम्रो पुरुषचिह्न बाँचेन !...!!...!!!
छेउमै नवदुलही
जीवन र जोबनको मझधारमा
सगुन लिएर ठिङ्ग उभिएकी थिई ......... !.