कविता:

सुबास सजल
नदीको यात्रा
चिरेर पहाडको छाती
हाम्फाल्दै उचाइहरूबाट
मौन बग्दै समतलहरूमा
बगिरहेका छन् निरन्तर,
यी नदीहरू।
घिसारेर अनगिन्ती
सपनाका ढुङ्गा र बालुवा।
आफ्नै स्व खोजिहिँडेको बटुवा जस्तै,
प्रेमिकाको पुकारमा दौडिरहेको प्रेमी जस्तै,
बगिरहेका छन् निरन्तर,
यी नदीहरू ।
नदी हुनुको परिचयपत्र झुण्ड्याएर घाँटीमा।
टाँसेर छातीमा क्षमताको अनुभवपत्र।
काकाकुल सहरहरूको प्यास मेटाउँदै।
मरूभूमिमा गुराँसहरू फुलाउदै।
बगिरहेका छन् निरन्तर,
यी नदीहरू।
डामेपछि घामको रापले,
उड्नेछन् बाफ बनेर माथिमाथि।
बिलिन हुनसक्छन्,
उतै कतै पानीको फोकाजस्तै।
फर्किनसक्छन्, ठोक्किन
यतैकतै यि पहाडहरूसँग।
यसरी जानी नजानी यि नदीहरू खेल्छन्
सम्भाव्यताको खेल।
र
बगिरहन्छन् निरन्तर, बगिरहन्छन्।
आखिर
किन बुझेनौँ हामीले नदीहरूको बगाइ।
जो हाम्रा सपनाहरू खोज्न
मिसिएका हुन् समुद्रको नुनिलो आँसुमा ।
र
मेट्न तयार भएका हुन्
आफू हुनुको अस्तित्व।
डुब्न तयार भएका हुन्
समुद्रको गहिराइमा
पसिनाको मोती टिप्न।
म सोचिरहेछु
अब छोट्याउनुपर्छ हजार माईल लामो
नदीको यात्रा
बनाउनुपर्छ हाम्रै देशमा
पसिनाले भरिभराउ
विशाल समुन्द्र।



















