नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कविता:


सुमन पोख्रेल

कविता फुरिरहेको छैन – २

यस बेला कविता फुरिरहेको छैन,
तर मलार्इ कवितै लेख्न मन लाग्यो ।

यहाँ संसार बोकेर निदाइरहेका किताब र पत्रिकाहरू छन्‍,
मलार्इ रुँघेर उभिइरहेका भित्ता र झ्यालहरू छन्‍
मनजस्तै पग्लिनै लागेका चिठ्ठी र
कसैलार्इ सम्झिएर टोलाइरहेझैँ लाग्ने तसवीरहरू छन्‍
यसबेला यहाँ, यहाँ नभएका चिजबाहेक सबैथोक छन्‍
तर तिनलार्इ बिथोल्न मन लागेन ।

मलार्इ मैनबत्ती वा रेडियो लेख्न मन लागेन
टेबुल, कलम र कागज लेख्न मन लागेन,
कविता लेख्न मन लाग्यो ।

धर्तीको यस केस्रामा
पढ्‍ने फुर्सद छैन, गिट्टी फुटाउन छोडेर;
सोच्ने जाँगर छैन, भोकलार्इ ओच्छ्याएर;
सुमधुर बोल्ने धैर्य छैन, नारा र जुलुस थन्क्याएर;
केही लगाउने खाँचो छैन, राजनीति फुकालेर;
बाँच्ने फुर्सद छैन, जीवन घिसार्न बिसाएर ।
यस अन्यौलमा,
गिट्टी फुटाउँदाफुटाउँदै आफैँ फुटेका जीवनहरूको कथा लेखिएला,
आजीवन नाङ्गै बितेका समयहरूको निबन्ध लेखिएला
दिनभर जीवन खोजी नभेटेर
राततिर फर्किँदै गरेका लखतरान साँझहरूका उपन्यास लेखिएला,
सौन्दर्यले सिँगारिएको कविता जन्मने छाँट छैन ।

समयले वीभत्सरसको नाटकमा नुहाइरहेको बेला
कसरी जन्मियोस्, सुकोमल युगको कविता !

अविवेकको हन्डी टाउकामा ओढेर
छेक्न सकिँदैन अनियन्त्रित बगेको अव्यवस्थाको बौलाहा बाढीलार्इ,
निर्लज्जता र मुर्ख्याँइँ चपाएजस्तो सजिलो छैन
भत्किएको समयका टुक्राहरू चपाउनलार्इ ।

यस्तोमा फेरि एक विदीर्ण कालखण्डको प्रलाप लेखिएला बरु,
उल्लासको मिठासले भिजेको कविता केही गरी फुरिरहेको छैन ।
मलार्इ,
जीवनमय उमङ्गहरूको धुनमा नाचिरहेको युगको कविता लेख्ने मन छ ।

सृष्टिका सौन्दर्यहरू एकएक गरी पलायन भइरहेको यस धर्तीमा
यस बेला कुनै कविता फुरिरहेको छैन ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु