नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

समालोचना:


सुरेश हाचेकाली

‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ भित्र प्रतिवादी हाँसो

लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् ।

नेपाली साहित्यिक समालोचना परम्पराभित्र सूत्रपरक प्राध्यापकीय शैलीले सिद्धान्तपरक विश्लेषणलाई विकसित हुन दिएन । चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले समालोचनालाई सृजनशील पठन भनेर परिभाषित गरिसकेपछि अब साहित्यिक बृत्तमा एउटा जागरणको सुरुवात भएको छ । कुनै साहित्यिक पाठकृतिको बजारीकरण भइसकेपछि त्यसका बारेमा सैद्धान्तिक स्तरका बहस नगरेर “साहित्यको पर्खालमा एउटा महत्वपूर्ण इँटा थपिएको” भन्नेजस्तो हचुवा अभिव्यक्तिलाई समालोचना भनेर मानिआउने परम्परामाथि अब चाहिँ ठूलो प्रश्नबाचक चिन्ह खडा भइसकेको छ । चक्रव्यूह सञ्चेतना आन्दोलनको सुरुवातसँगै समालोचनामा सिद्धान्तपरक नमुनागत विविधीकरणको कार्यक्रमिक प्रस्तावलाई अगाडि सारेपछि हामी विभिन्न ऐकिक पद्दतिहरूको प्रयोग गर्दै आएका छौँ । उदाहरणका लागि आन्तरिक आप्रबासी चेतना (Internal Diasporic Consciousness), आद्यरूपीय चेतना (Archetypal Consciousness), प्रदोषकालीन चेतना (Twilight Consciousness), बसैँयारी चेतना, उत्प्रवासी चेतना, चक्रीय बसैँयारी चेतना (Rotary Diaspora Consciousness), मिथकविनिर्माण चेतना, ध्वनिमहोत्सव (Heteroglossia), द्वन्द्वात्मक अखिलता (Dialectical Totality), अभिघात चेतना (Trauma Consciousness), आइमाईवाद (Womanism), नारी शरीर र सम्वेदनासँगको सहचार्य, सृजालोचना, प्रतिवादी हासो यसका केही नमुनाहरू हुन् । हामी नमुनागत विविधीकरणको दायरालाई अझै बिस्तारित गर्दै जानेछौँ । हामी चाहन्छौँ कि नेपाली साहित्यिक समालोचनाको समृद्ध विकास धरोहर निर्माण होस् । चक्रव्यूह सञ्चेतनाले प्रस्ताव गरेको समालोचनाको मार्गचित्र नै अबको नयाँ नेपालमा लेखिने नयाँ साहित्यिक विश्लेषणको प्रभावकारी उपाय हो । अबको समालोचनालाई सृजनात्मक पठनको रूपमा सिद्धान्तपरक नबनाइ धरै छैन । कसैले यस बाहेक अर्को बिकल्प प्रस्तुत गर्छ भने हामी त्यसलाई बिना पूर्बाग्रह सुन्न र छलफल गर्न प्रतीक्षारत छौँ । 

यो सन्दर्भबाट विषयान्तर गर्दै साहित्यकार मोमिलाको विचारोत्तेजक निबन्धसङ्ग्रह ईश्वरको अदालतमा आउटसाइडरको बयान तिर लागौँ । आफ्ना पीडाहरूलाई आफैँले प्रेम गर्दै अस्तित्वको यात्रामा अविचलित रहनुमा जीवनको सार्थकता खोज्ने मोमिला आफ्ना निबन्धहरूमा कवित्व, दार्शनिकता र नारीवादी सरोकारहरूको त्रिकोणात्मक सन्धि गराउन सफल देखिन्छिन् । निबन्धसङ्ग्रह ईश्वरको अदालतमा आउटसाइडरको बयानलाई समालोचनाका विभिन्न सैद्धान्तिक औजारहरूले विश्लेषण गर्न सकिन्छ भन्ने परिकल्पनालाई मान्दै यो लेखमा चाहिँ यो सङ्ग्रहमा कसरी नारीवादको प्रतिवादी हाँसो (Antithetical Laughter) कायम भएको छ भनेर प्रमाणित गर्नु हाम्रो सरोकार रहनेछ । यसका अतिरिक्त यो निबन्धसङ्ग्रहमा सहजतापूर्वक अस्तित्ववादी चेतना र उत्तरआधुनिक चेतनाको पनि सिद्धान्तपरक खोजी गर्न सकिन्छ । यसका निम्ति निबन्धकार मोमिलाको चेतनाले पर्याप्त व्यायमभूमि सृजना गरिदिएको छ । सायद प्रतीकात्मक तहमा मोमिलाले पुरुषवादी संरचनालाई ईश्वरको अदालत भनेकी हुन्, जहाँ नारी यौनिकता (Female Sexuality) लाई परचक्री (Other) ठानिन्छ । त्यही अन्यायोचित परम्मरामाथिको बैचारिक हुँकारको रूपमा मोमिलाले यो निबन्धसङ्ग्रह जन्माएकी छिन् । दमनकारी पितृसत्तात्मक राज्यव्यवस्थालाई चुनौति दिन बैचारिक निबन्धहरूको प्रस्तुति सहितको मोमिलाको उपस्थितिले नयाँ साहित्यिक लेखनको परम्परालाई भावी दिनमा अवश्य पनि प्रभाव पार्नेछ । यसको अलावा यस प्रकारको विद्रोही लेखनीले साहित्यिक समालोचनालाई समेत नयाँ विश्लेषणात्मक नमुनाहरूको खोजीमा लाग्न उत्साहित गर्नेछ । 

पाश्चात्य साहित्यमा नारीवादले धेरै ठूला प्रयोगहरू पार गरिसकेको छ । सिद्धान्तपरक विश्लेषणका नवीन गतिशीलताहरू आएका छन् । तर नेपाली साहित्यको सन्दर्भमा यस्ता बैचारिक तरङ्गहरू धेरै सुस्त प्रतीत हुन्छन् । अझ खुलमखुल्ला भन्ने हो भने हाम्रोमा विचारको भन्दा नाराको प्रभुत्व बढी छ । महिलाहरू शोषित र दमित छन्, मूलप्रवाहबाट बाहिर छन्, त्यसैले उनीहरूको सशक्तीकरण जरुरी छ भन्ने सस्ता नाराहरूले मात्र नारीवादी आन्दोलनको सार्थकता र सफलतालाई प्रत्याभूत गर्दैनन् । यसका निम्ति सङ्कथनहरूको विश्लेषण, मनोवैज्ञानिक तहबाटै शासकीय र शासित मानसिकताको समाप्ति, सङ्घर्षका वर्गीय एवम् अन्तरवर्गीय स्वरूपहरू जस्ता कुराको विश्लेषण र उपयुक्त निश्कर्षहरूको व्यावहारिक कार्यान्वयन पनि जरुरी छ । पाश्चात्य साहित्यको नारीवादी समालोचनाले आफ्नै नमुना र प्राबिधिक शव्दाबलीहरूको आवश्यकता महसुस गरेर त्यही अनुरूपको विकासक्रमलाई अगाडि बढाएको छ । नेपाली साहित्यभित्रको नारीवादी लेखनमा चाहिँ या त अहिलेसम्म त्यस्तो आवश्यकता महसुस गरिएको छैन, या त त्यस्तो आवश्यकताको महसुस भए पनि त्यसलाई विकास गर्न सकिएको छैन । यो ऐतिहासिक जिम्मेवारी विशेष रूपले नारी स्रष्टा र समालोचकहरूको काँधमा छ । 

जम्मा १६ वटा निबन्धहरूबाट बनेको यो सङ्ग्रहलाई माथि भनिएझैँ मोमिलाले नारीवादी सैद्धान्तिक व्यासासनबाट प्रतिवादी नमुना (Antithetical Model) को रूपमा प्रक्षेपित गरेकी छिन् । यो सङ्ग्रहले  अझ विशेष रूपमा भन्दा सङ्ग्रह शीर्षक निबन्धले चरम नारीवादी आक्रोसलाई ओकलेको छ । तर बिर्सन नहुने कुरो के छ भने यो आक्रोसमा काव्यिक कलात्मकता बलियोसँग जमेको छ । मोमिलाको प्रतिवादी हाँसो युगौँ पुरानो पुरुषवादी सत्ताले रचना गरेको चेतना र सङ्कथनमाथि परिलक्षित छ । उनी धर्ममाथि आफ्नो हुँकार प्रक्षेपित गर्छिन । उनको प्रतिवादी हासोको निसाना पुरुषहरूमात्र हैन, नारीहरू पनि भएका छन् । स्त्रीलाई देवी ठान्ने तर स्त्रीसँग नै सम्भोग गर्ने तथा पुरुषलाई परमेश्वर मान्ने तर परमेश्वरलाई नै गाली गर्ने यो पुरातन तर निरन्तर प्रचलनमाथि पनि उनको धैर्यता भत्केको पाइन्छ । अन्ततोगत्वा, यो सबै पुरुषसत्तामाथिकै बिद्रोह हो किनकि कृषियुगदेखि लिएर आजसम्मको मानवसभ्यताको यात्रामा व्यवस्था र सङ्कथनको निर्माण र परिचालनमा पुरुषहरूकै एकाधिकार कायम छ । मोमिला लेख्छिन्, — “खै, कस्तो धर्म हो यो ! स्त्रीलाई देवी ठान्ने धार्मिक पुरुषले उसैलाई सम्भोग गर्छ, तथाकथित धार्मिक पतिलाई परमेश्वर ठान्ने स्त्रीले उनै पतिलाई अद्भूत गाली गर्छे ।

मोमिलाको निवन्धकार सम्पूर्ण नीतिशास्त्रमाथि नै हाँसिरहेको छ । अथवा उनको हाँसो पितृसत्तामाथिको उपहास हो । धर्म र नैतिकताका जञ्जिरले सभ्यता विकासको क्रममा आजसम्म पनि महिलालाई देखिने तर नसुनिने प्राणीको रूपमा परिभाषित र व्यवहार गरेको पाइन्छ । कठमुल्लावादी समाजमा महिलालाई नसुनिने रहस्यमय प्राणीको रूपमा  कैद गरेको छ । हाँस्नु त झन् महिला नैतिकताले बर्जित गरेको कुरो भयो । परमेश्वरले स्थापित गरेको ज्ञानमाथिको एकाधिकारबिरुद्ध क्रिस्तानी पुराणशास्त्रकी इभले बिद्रोह गर्न बर्जित फल चाखेर जमिरहेको सभ्यताको प्रवाहलाई इडेनको बगैंचाबाट पृथ्वीतिर प्रवाहित गरेकी थिइन् । निवन्धकार मोमिला पनि त्यही बर्जित हाँसोलाई बिद्रोहको शक्तिशाली हतियारको रूपमा प्रयोग गर्छिन् । इडेनकी इभ र नेपाली निबन्धकार मोमिलाले फरक फरक समय र फरक फरक सन्दर्भमा क्रमशः बर्जित फल र बर्जित हाँसोलाई प्रयोग गरेर मानव सभ्यतालाई नयाँ गतिमा देख्न चाहेको कुरा एउटा सुखद संयोग हो । प्रिल्याप्सेरियन दुनियाँकी इभ र पोस्टल्याप्सेरियन दुनियाँकी मोमिला दुवैको मानसमा जमिरहेको सभ्यता (Stagnated Civilization) लाई गति दिने मोह पाइन्छ । क्रिस्तानी मिथकमा इभलाई फल चाख्न उक्साउने सैतान सम्भवत इभकै बिद्रोही अवचेतन हुनुपर्दछ । मोमिला भन्छिन्, “यसर्थमै मलाई गतिशीलताको गर्वबोध छ । यदि यो गर्वबोध नै अपराध हो भने श्रीमान् ! निश्चय नै म अपराधी हुँ, एउटा काव्यिक अपराधी ।” (७९)

छोरी मान्छे भएकाले पितृसत्ताले आफूलाई अपराधीको रूपमा अदालतमा उभ्याएको स्वीकारोक्ति गर्ने मोमिलाको निबन्धकारले प्राकृतिक अवयवहरू गम्भीर नभएजस्तै आफू पनि गम्भीर नभएको बताएको पाइन्छ । उनको विचारमा गम्भीरता एक किसिमको मानसिक रोग हो । उनी भन्छिन्, “मैले प्रकृतिमा कुनै फूललाई, चरालाई, झर्नालाई, बादललाई, पुतलीलाई कहिल्यै गम्भीर देखेको छैन” (७६) । सामाजिक संस्था र सङ्कथनहरूले नारीको अस्तित्वलाई सीमान्तीकृत गरिदिएका छन् । नारी श्रीमती, प्रेमिका, छोरी, बुहारी वा बहिनी जे जे भए पनि विभिन्न रूपमा छेउ लगाइएकी छिन् । यो नारी अस्तित्वको पीडा हो । निबन्धकार मोमिला अटल विश्वास गर्छिन् कि पीडाबोधपछिको जीवन नै सुखद र प्रभावकारी हुन्छ । आफू पीडालाई माया गर्ने र बिगत देख्ने बताए पनि उनी पचास वर्षपछि अदालतमा बिजयी घोषित हुने सपना देख्छिन् । अथवा भनौं न सुखद भविष्यको ठूलो अपेक्षा छ । महिलाको हाँसोलाई अराजकता र अनुशासनहीनताको परिचायक ठान्ने प्रचलन हिन्दू समाजमा पौराणिककालदेखि नै चलेको हो । महिलाको मुस्कानलाई सौन्दर्यशास्त्रले उच्चकोटीमा राखेर प्रश्ंसा गर्दछ तर हाँसोलाई अराजक, असभ्य र बिध्वङ्सकारी ठान्दछ । द्रौपदीको हाँसोले नै दुर्योधनको अहङ्कारलाई बिच्क्याएका कारण दुर्योधनले पाण्डवहरूका बिरुद्ध षडयन्त्र बुन्न थालेको प्रसङ्ग महाभारत महाकाव्यमा पाइन्छ । निवन्धकार मोमिलाले ईश्वरको अदालतमा आउटसाइडरको बयान निबन्धमा प्रयोग गरेको आउटसाइडर (परचक्री), पागल र अपराधीको विम्ब नेपाली साहित्यमा प्रयोग हुँदै आइरहेको पितृविम्ब परम्परासँग गाँसिएको पाइन्छ । महाकवि देवकोटाले प्रयोग गरेको पागल विम्ब तात्कालीन कुरूप राज्यव्यवस्थाको प्रतिवादी चेतना हो । देवकोटाको पुरुष पागलमा युगान्तकारी बिद्रोही चेतना छ । यसैगरि सरुभक्तको पागल बस्ती उपन्यासमा प्रयोग भएको पागल विम्ब मानवताकेन्द्रित अहङ्कारको प्रतिनिधि हो । कवि श्रवण मुकारुङले बिसे नगर्ची कवितामा प्रयोग गरेको बहुलाहाको विम्ब निरङ्कुशतालाई उपहास गर्ने ग्रामीण पृष्ठभूमिबाट उठेको चेतना हो । उपन्यासकार सञ्जीव उप्रेतीले घनचक्कर मा प्रयोग गरेको पागल युगपरिवर्तनको तीब्र अभिलाषाले छट्पटाइरहेको तथा  निरङ्कुशता र सामाजिक अव्यवस्थाको कुचक्रमा फसेको बौद्धिक चेतना हो । यी विभिन्न श्रृजनाकारका रचनामा देखिने पागल विम्बजस्तै मोमिलाको आउटसाइडर पनि पक्षपाती पुरुषसत्ताको बिपक्षमा उभिएको प्रतिवादी चेतना हो । एउटा अङ्कित गर्नैपर्ने कुरा के छ भने देवकोटा, सरुभक्त, मुकारुङ र उप्रेतीले प्रयोग गरेका पागलहरू सबै पुरुष छन् किनकि ती लेखकहरू पनि पुरुष छन् तर मोमिलाले  प्रयोग गरेको अट्टहास गर्ने स्वघोषित आउटसाइडर, अपराधी र पागल भने महिला छे । ऊ आफ्नो यौनिकताको पहिचानका लागि पुरुषप्रधान न्यायालयलाई अवज्ञा गर्छे र आफ्नो अवश्यंभाबि विजयलाई भविष्यको हातमा सुम्पन्छे । 

भौतिकवादी जीवनदर्शनका प्रणेता कार्ल माक्र्सले समाज परिवर्तनको प्रकृयालाई वाद (Thesis), प्रतिवाद (Antithesis)र संवाद (Synthesis) को सूत्रमा परिभाषित गरेका छन् । यदि माक्र्सवादी प्रस्तावनाका आधारमा विश्लेषण गर्ने हो भने स्थापित सत्ता वाद हो, त्यसको बिरुद्धमा उभिने विचार वा शक्ति त्यसको प्रतिवाद हो । यी दुवै स्थापित र बिरोधीबीचको शक्तिसङ्घर्षबाट निर्माण हुने अर्को तेस्रो विचार, शक्ति वा समाज संवाद हो । मोमिला परम्परादेखि चलिआएको पुरुषवादी सत्ताको वाद बिरुद्ध आफ्नो उन्मुक्त हाँसोलाई प्रतिवाद बनाएर उभिन्छिन् । यो हाँसो जति जति उन्मुक्त, जबर्जस्त र आक्रामक बन्दै जान्छ, पुरुषसत्ताले त्यसमाथि आफ्ना दमनकारी हतियारहरू प्रयोग गर्न थाल्छ । जब बाद र प्रतिबाद दुवै घम्साघम्सी द्वन्द्वमा उत्रन्छन् तव स्वाभाबिक रूपले संवाद (Synthesis) को निर्माण हुन्छ । यो संवाद गुणात्मक हुन्छ । त्यसले परिवर्तनको आकाङ्क्षालाई आत्मसात गर्छ । यो सार्वभौम बैज्ञानिक नियम हो । निबन्धकार मोमिला ठान्दछिन् कि इतिहासको अदालतमा त्यो हाँसोबिरोधी मुद्धाले आज बिजय प्राप्त गरेपनि पचास वर्षपछि त्यो प्रतिवादी हाँसोले बिजय पाउनेछ । त्यो प्रतिवादी हाँसोको महत्वलाई आजभन्दा पचास वर्षपछिको अदालतले स्वीकार गर्नेछ । त्यसैले पचास वर्षसम्म वाद र प्रतिवादको द्वन्द्व आफ्नै वैज्ञानिक नियम अनुसार कहिले सुस्त र कहिले धीमा गतिमा चलिरहनेछ । पचास वर्षपछि संवाद (Synthesis) को निर्माण हुनेछ । 

निवन्धकारले व्यक्त गरेकी छिन् कि पीडाहरूमा रम्यता आविस्कार गरेर जीवनयात्रा अघि बढाउनु उनको नियति र रुचि भएको छ । नियतिलाई रुचिमा परिणत गरेर संघर्षशील हुनुको परिचय दिने निबन्धकार पीडामय र विसङ्गत वर्तमानको सर्वकालिक हावीमथि विश्वास गर्दिनन् । अर्को पाराले भन्दा उनी महिला मुक्तिपछिको सुन्दर भविष्यमाथि विश्वास गर्छिन् । यो सकारात्मक सोचले उनलाई जीवनवादी निवन्धकारको रूपमा स्थापित गराएको छ । ‘अस्तित्वभन्दा पर’ निबन्धमा उनी लेख्छिन्, “धनेकी छोरी स्कुल जाँदा जमिन्दार चिन्तामा हुन्छ भने, धनेकी स्वास्नीले धोती फेर्दा जमिन्दार बेचैन हुन्छ भने, धनेकी बहिनी अफिस जाँदा जमिनदारले उच्छ्वाँस छोड्छ भने, धने हली नबस्दा जमिन्दारको टाउको दुख्छ भने यो सङ्केत आजको रात र भोलिको न्यानो घामको हो, जुन उज्यालोमा डोरीलाई सर्प ठान्नुपर्ने छैन, जुन उज्यालोमा जमिन्दारले सजिलै आफ्नो भित्ते घडीको समय हेर्न सक्नेछ, जुन उज्यालोमा सारा बस्तुका काला छायाँहरू देखिनेछन्, जुन उज्यालोमा युद्धमैदानबाट लाहुरेहरू घर फर्कनेछन्, जुन उज्यालोमा एकसाथ कैयौं कविता लेखिनेछन् । म उही उज्यालोमा सुन्दर कविताहरू पढ्नेछु, फूल फुल्दै गरेको हेर्नेछु र सम्भवतः असमयमै झरेका पत्करहरू पनि सङ्गीतबद्ध हुनेछन् । हुनसक्छ अस्तित्वको एक लयबद्ध प्रारम्भ ! आकाङ्क्षाहरूको सुरबद्ध प्रकाशन !! एउटा गीतको विशिष्ट अन्त्य !!!

अन्त्य पछिको झङ्कार !...!!...!!!
मेरो निबन्ध यहीँबाट प्रारम्भ हुन्छ...(४५)

पाश्चात्य नारीवादी सिद्धान्तकारहरू सान्द्रा गिल्वर्ट र सुसन गुवारले ‘इन्फेक्सन इन द सेन्टेन्स’ मा ह्यारोल्ड ब्लुमको ‘एङ्जाइटी अफ ‘इन्फ्लुएन्स’ (प्रभावको रनाहा) सिद्धान्तलाई पुरुषवादी ठम्याउँदै लेखेका छन्–“पितृसत्तात्मक समाजमा अधिकांश महिलाहरूले जस्तै नारी लेखिकाले पनि आफ्नो ‘जेन्डर’लाई दुःखदायी अवरोधको रूपमा लिन्छिन्.....महिला लेखक तथा कलाकारको एक्लोपनको आभास त्यतिबेला बढ्छ, जतिबेला उनले पुरुष पुर्खाहरू मात्र देख्छिन् । उनले भागिनी अगुवा (Sisterly Precursors) र भगिनी अनुयायी (Sisterly Successors)को आवश्यकता महसुस गर्छिन् ।” (१२३७ : १९९२) कविताको जस्तो काव्यिक भाषामा निबन्ध लेख्ने मोमिला आफ्ना हरफहरूका बीचमा धेरै मात्रामा कलासाहित्य र दर्शनक्षेत्रका पुरुष क्याननहरू र थोरै मात्रामा नारी क्याननहरूको सन्दर्भ उठाउँछिन् । यो उनको बाध्यता पनि हुन सक्छ अथवा उदारता पनि हुन सक्छ । बाध्यता यस अर्थमा कि युगौँदेखि पुरुषकेन्द्रित सत्ताले शासन गरिआएको सन्दर्भमा संख्यात्मक एवम् गुणत्मक हिसाबले क्यानन मान्न सकिने नारी लेखिकाहरूको उपस्थिति कम छ । यसैगरि उदारता यो अर्थमा हुन सक्छ कि उनी प्रत्येक ठाउँमा स्रष्टाहरूको बीचमा पुरुष र नारी भनेर विभेद गर्न चाहन्नन । तर बलियो सम्भावना चाहिँ अघिल्लो कारणको हुनुपर्दछ । जे होस् पुरुष अथवा महिला क्याननको प्रश्न छलफल चलाउनैपर्ने एउटा महत्वपूर्ण विषय हो । आख्यान प्रस्तुतिका मामलामा नारी यौनिकताको प्रस्तुति नगर्नु नियोनीकरण (Desexualization) हो अथवा पुरुषवादी सङ्कथनभित्रै आफूलाई ‘फिट’ गराउनु हो, उत्तर मोमिलासँग हुनुपर्छ । ‘सूर्योदयको दोश्रो अनुरोध कहिल्यै हुने छैन’ निबन्धमा उनी थुप्रै पुरुष क्याननहरूको नाम लिन्छिन् । साथमा एउटी महिलालाई पनि घुसाउँछिन् । उनी लेख्छिन्, “बस्तुतः तीहरू कलाका सुरूचिपूर्ण नमूना हुन्, जहाँ अलिकति अरनिको अनि मनुजबाबुको हार्दिकता, भ्यानगगको पागलपन र फ्रायडको आत्मा छ । अलिकति कामुको आउटसाइडर छ, अलिकति सात्र्रको अस्तित्व छ, अलिकति बिथुवन छ, अलिकति कितारो छ । अलिकति माइकल एञ्जेलो, अलिकति साल्भाडोर, अलिकति पिकासो, अलिकति जङ्गबहादुर, अलिकति मदर टेरेसा, अलिकति देवकोटा प्लस सृष्टिको रहस्यमयता र काव्य छ ।” (२९) 

निबन्धकार मोमिला कहिले पुरुष क्यानन त कहिले महिला क्याननको खोजीमा अल्मलिएकी देखिन्छिन् । तर यो अल्मल्याइ कुनै अपराध होइन । यो उनको मात्र निजी समस्या पनि होइन । ‘मोक्षयात्रामा तिमी र म’ निबन्धमा उनी लेख्छिन्, “त्यो स्निग्ध क्षण भुवन दिज्यूको भावुक बौद्धिकता र काँचुली दिज्यूको बौद्धिक कोमलताको दोभानमा...।” (११) पाश्चात्य साहित्यिक परिवेशमा अहिले आएर क्यानोनिसिटीको सन्दर्भ उठ्दा क्यानोनिसिटीलाई पुनः संरचित गरेर समाबेशी बनाइनुपर्ने आवाज निकै अगाडिदेखि मुखरित हुँदै आएको हो । के महिलाहरूले सधैँ पुरुषवादी सङ्कथन र पुरुषहरूलाई नै क्यानन मानिरहने हो ? विश्वविद्यालयहरू र साहित्य समालोचनाले महिला क्याननहरू पनि चयन गर्नुपर्ने बेला भएन र ? बैचारिक महिला निबन्धकार मोमिलालाई पनि यो प्रश्न हो । मोमिलाको निबन्धकार कतै पुरुष कथयिता (Male Speaker) त कतै महिला कथयिता (Female Speaker) को रूपमा प्रस्तुत भएको भेट्टाइन्छ । ‘हजार पीडाहरूको माया लागेर आउँछ’ निबन्धमा पुरुष कथयिताको दृष्टिबिन्दुबाट उनी लेख्छिन्, “यसैले त म मेरा हजार पीडाहरूको माया गर्दोरहेँछु ।” (७२) सोही निबन्धमा उनी लेख्छिन्, “...मेरो एक आत्मीय मित्रको मृत्यमा मैले रुनका लागि कसैसित अनुमति मागिनँ । मृत्युपछि पो थाहा पाएँ, म उसलाई प्रेम गर्दोरहेँछु...!!” ‘प्रकृत्ति र कलाको रोमान्टिक मूर्च्छना’ निबन्धमा उनी लेख्छिन्, “म रातमा जन्मेकी हुँ । जन्मदा म अधिक रोएकी थिएँ रे ।” (७) यसैगरी ‘विभाजन रेखा’ निबन्धमा उनी लेख्छिन्, “...शरदका बाबाले हाम्रो ढकमक्क शिरीषका हाँगाहरू आधा पाटा काटेर भूइँभरि असरल्ल पारेपछि मा डाँको छोडेर रोएकी थिएँ, अपाङ्ग बेजनी शिरीषलाई हेरेर ।” (५२) उनको ‘रोएकी थिएँ’ वाक्यांशले महिला कथयिताको दृष्टिविन्दुलाई देखाउँछ । यही निबन्धको अर्को ठाउँमा उनी लेख्छिन्, “शिरीष काट्ने बाबाको कारणले म शरदसँग पनि अन्जानमै टाढिदै गइरहेको थिएँ ।” (५२) अझ अगाडि उनी लेख्छिन्, “पाँच वर्षकी बालिकाको त्यो चोट मेरो घरपरिवारले सामान्य नै बुझे होलान्, तर त्यो भावुक चोट नदेखिने गरी मेरो जीवनमा यस्तरी गहिरिदै गयो...र, म आज उभिएको छु, त्यो अपाङ्ग शिरीषजस्तै सीमारेखामा ।” (५२) के महिला लेखिकाहरूले आफ्नै लैङ्गिक पहिचानका लागि नारी शव्दहरू नै प्रयोग गर्नुपर्ने होइन ? मोमिला जो पुरुष सत्तामाथि नारीवादी उपहास गरिरहेकी छिन्, किन आफूलाई पुरुषवादी सङ्कथनहरूभित्रैबाट प्रस्तुत गरिरहेकी छिन् ? फेरि किन कतै कतै यो प्रस्तुतिको क्रमभंग भएको छ ?अथवा, निबन्धात्मक भावप्रवाहको क्रममा उनको यो लैङ्खिक पहिचानको भाषामा द्विबिधा आएको हो ? यस्तो अवस्थामा  महिला लेखिकाहरूको नारीवादी परियोजनामा यसले कस्तो प्रभाव पार्ला ? यो तत्कालै बहस गरिहाल्नुपर्ने विषय हो । 

क्यानोनिसिटी निर्माण र कायम गर्ने कुरा ऐतिहासिकतासँग जोडिएको विषय हो । आफ्नो महिला लैङ्गिकताको चेतनाकै कारण निबन्धकार मोमिलाको अवचेतनले महिला साहित्यिक पूर्वज अथवा महिला साहित्यिक क्याननको खोजी गरिरहेको छ । सायद यो खोजी अवचेतनको तहमा भएकोले होला मोमिला कहिले पुरुष क्यानन त कहिले महिला क्याननको खोजीमा भौंतारिएकी पाइन्छिन् । यो ‘कन्फ्युजन’ उनको कमजोरी होइन । त्यसैगरी समय, समाज र पुरुषसत्ताले दिएको पीडाको मार्ग भएर नै उन्मुक्तिको लक्ष्यमा पुग्ने अठोट गर्ने निबन्धकार मोमिलाको लेखनी यो कन्फ्युजनका कारण कमजोर ठहरिने पनि होइन । यो ‘कन्फ्युजन’ उनी बाँचिरहेको ऐतिहासिकताकै उपज हो । पुरुषवादी सत्ता र सङ्कथनमाथि प्रतिवादी हाँसो (Antithetical Laughter) हाँस्न सक्ने निबन्धकार मोमिलाले साहसपूर्वक महिला साहित्यिक क्याननहरूको स्थापनामा पनि डटेर लाग्नु उपयुक्त हुनेछ । अर्को स्मरणीय कुरा के छ भने क्याननको चयन र स्थापनाको युद्धपुरुषसत्ताप्रतिको शत्रुवत इश्र्या र प्रतिशोधको भावनाले नभएर स्वस्थ प्रतिष्पर्धाको भावनाले प्रेरित हुनुपर्दछ । नेपाली महिला साहित्यकारहरूमध्ये मोमिलाजस्ता सर्जकहरूको भूमिका अरु महिला साहित्यकारहरूको भन्दा फरक छ । मोमिला केवल नारीत्व र नारी अनुभवहरू मात्र लेखिरहेकी छैनन् । उनी त बैचारिक हिसावले पनि पुरुषसत्ता (भालेसत्ता) सँग पौंठेजोरी खेल्दैछिन् । यस अर्थमा अपूर्ण र विभेदकारी भालेसत्तामाथि प्रतिवादी हाँसो हास्ने निबन्धकारले महिला साहित्यिक क्याननहरूको निर्माण गर्ने ऐतिहासिक अवसरको उपयोग पनि गर्न सक्नुपर्दछ । यो परम्पराको सुरुवात भयो भने आजका महिला सर्जक र समालोचकहरू मध्येबाट पनि भोलिको साहित्यिक जमातले क्याननहरूको चयन गर्नेछ । एउटा चरणमा पुरुषसत्तामाथिको प्रतिवादी हाँसो जरुरी छ तर त्यो पुरुषसत्तालाई हाँसोको पात्र बनाइसकेपछि पनि सधैँभरि त्यसलाई नै हेरेर हाँसिराखियो भने आफैं पनि हाँसोको पात्र बन्न सकिन्छ । इतिहासमा सावधानीको महत्व ठूलो हुन्छ । विसङ्गतिको स्वस्थ आलोचनापछि आफ्नो यात्रा सृजनशीलताको बाटोमा हुनुपर्दछ । 

पाठक महोदयहरू ! यो निबन्धसङ्ग्रहका अर्थहरू हामीसँग धेरै क्रुद्ध भइरहेका होलान् । मोमिलाले त आफ्ना सङ्कथनहरू काव्यिक, दार्शनिक र नारीवादी बनाएर छोडिदिइन् । तिनीहरूको अर्थनिरूपण उनको जिम्मेवारी होइन । हामीले समालोचकको हैसियतबाट उनका काव्यकृतिमा पुरुषसत्तामाथि प्रतिवादी हाँसो भनेर यसैलाई यो लेखभरी जिद्दी गरिआयौँ । यो एकाइ त केन्द्रमा आयो तर अरु कैयौँ एकाइहरू त उद्भाषित भएनन् । एक किसिमबाटभन्दा ती उजागर नगरिएका एकाइहरू बिश्लेषित हुने घडी कुरिबसेका छन् । गहिरिएर सोच्ने हो भने साहित्यलाई दीर्घकाल र आमसमुदायसम्म ‘सस्टेन’ गर्न त लेखकहरूको भूमिका पछाडि समालोचकहरूको भूमिका धेरै ठूलो हुँदोरहेछ । जे होस्, अघि भनेकै कुरोलाई हामी पुनः जोड दिन्छौं कि पुरुषसत्ताको एकलौटी क्यानोनिसिटीलाई भत्काउन मोमिला प्रतिवादी हाँसो बोकेर आएकी छिन् । ईश्वरको अदालतमा आउटसाइडर मोमिलाको विनिर्माणवादी हाँसोसहितको बयान सृजनशील नारीवादी अहम्ले भरिएको छ । मोमिला ! तिमी जुन ईश्वरको अदालतमा हाँसिरहेकी छ्यौ त्यो ईश्वर  लैङ्गिक अहङ्कारले ग्रस्त भएर अन्यायोचित भालेसत्ता जोगाइराख्न चाहने पुरुष हो । अब त नारी ईश्वरहरूको पनि खोजी हुनुप-यो नि !

अर्थमहोत्सव–जिन्दावाद !!!
Semantic Carnival - Jindabad !!!

सन्दर्भसूची
Gilbert, Sandra and Susan Gubar."Infection in the Sentence".Critical Theory Since
Plato.ed.Hazard Adams.Rev.ed.Fortworth : HBJC,1992.

मोमिला— ईश्वरको अदालतमा आउटसाइडरको बयान, काठमाडौँ : माउन्टडिजिट पब्लिकेसन, २०६३ ।







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु