नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

निबन्ध:


युवराज नयाँघरे

खरानीका फूल

सल्कन केही बाँकी रहेन ।

धुवाँका चक्कैचक्का । परीपरीका धुवाँ । कुइरीमण्डल धुवाँ । डढेको वर्तमान र खरानी भएको बस्ती ।

खारा ।

आजलाई यै घाउ धुनु छ, पुछ्नु छ र मलमपट्टिमा जुट्नु छ । शताब्दीको पहिलो चोटमा एकछिन खानु छ गम, बुझ्नु छ छटेल अनि पढ्नु छ वञ्चना । उधुम पीडामा, मनका चेपमा ओइलाएका मलिन फूललाई मलजल गर्ने सपनाहरु ओराल्नु छ साँझबाट बिहानतिर । डुबेको घामसँग माग्छ आकाशले शीत । र ब्युँझेको बिहानसँग माग्छ आकाशले झमक्क साँझ ।

नृशंसका बुटले थिथिलिएको बस्तीमा कौलासिएका कम्पित धुकधुकी हेर्दै छु आज म ।

माकुराजाले छलछाम आउँदैन झुपडीबाट । घाइते घृणाका फणा उठ्दैनन् गरीबीका आँगनबाट । अनाचारका उत्पात झर्दैनन् दुःखीका दैलाबाट ।

सहरका सुकिला ओठले आदेश दिएपछि मेरो देशको खारा गाउँ खरानी भयो, भस्म भयो, हुनेहुनाम्मे भयो ।

जाऊँ है खारा हेर्न ।

नारानपाती हातका हातै रहे । हातका हातै रहे ढिँडाका डल्ला । आँखाका आँखै आँसु । ओठका ओठै रहे बोलीवचन ।

र, जलिरह्यो खारा... ।

जलाउनुअघि यहाँ वसन्त छ भन्ठानिएका । सल्काउनुअघि यहाँ वैशाख छ भनिएन । डढाउनुअघि यहाँको बिल्लिबाठ बिचारिएन । अँगार पार्नुअघि यहाँको दुर्लङ्घ्य वेदना आँकिएन । अपराधका ज्वालाले ससल्किएका हातहरुमा मायाले मुसार्ने न रहर थियो न छाती थियो । विवेकको थिएन चिनुबानु पनि ।

जङ्गलमा थियो अमानुषी मन, मुटु र मर्म ।

सल्कियो, सब थोक सल्कियो ।

बारीका डिलमा मसिना मुना चिहाउँदै थे । नाथीका कुइनेटामा अक्कसिँदै थे पिपिरा । कान्लामा मस्किदै थे चिचिला । तर आगाका लप्काले खरानी बनायो । र, थिगार थिग्रियो आततायीहरुको क्रूरता ।

खारामा हिउँद रोयो, बर्खा हाँस्यो बेतोडले ।

खलाँतीजस्ता अनुहारले थेग्न सक्दैनन् घाउ । जीर्ण छातीले खेप्न सक्दैनन् करेप । भुटभुटिएको चेतनाले भोकका अर्थशास्त्रीय गुणा र भागफलतिर दृष्टि हुर्‍याउँदैनन्, कुनै सीमाहीन गहिराइमा बाँधी ।

पुराना दिन थिए र महक थियो अतीतको । बितेका युगीन चित्र थिए र गमक थियो स्मृतिको । गएका याद थिए र भण्डार थियो परम्पराको । तर द्वेषरागको न अनुभूति न शान्त छुवाइ । खोरन्डो गन्थनमा स्थिर हुँदैन चित्त ।

यसरी खरानी भयो खारा ।

एक झमक निदाउनु थियो । एक गाँस खानु थियो । एक घुट्को पिउनु थियो । तर नृशंसको पहिरो र कठोरताको चाँदे कोट्याइमा देशका थुपै खोल्मा खरानी भए... ।

बाटुलो चन्द्रमाको छाया छलपलियो पानीमा । फुक्काफाल बतासको सप्को अल्झियो हाँगामा । प्रच्छन्न ममताको तपतप बर्स्यो बार्दलीमा । तर ती सब खरानी भए... ।

मान्छेले दुई हात, दुई खुट्टा, दुई आँखा समुन्नत जीवनका निम्ति पाएको हो अवश्य पनि । कसैको खती गर्न पाएको होइन यो मति । तर ती माटिए... सकिए... खरानी भए... ।

हत्याको कुनै सिद्धान्त हुँदो रहेनछ । विध्वंसको कुनै प्रक्रिया हुँदो रहेनछ । दूराचारको कुनै सीमा हुँदो रहेनछ । वंश समाप्तिका घृणित कसरमसरले आगो ओकले अनि पोखे खरानी, खारामा ।

डाहिल्नेहरु बाँचेको युगमा अर्थ के ?

तपस्वी बुद्धहरुको ।

बाटो हेर्ने काम पनि त उस्तै–उस्तै हो । औंला चाँचेर नुन–भुटुन वा शिकार खाएको सम्झना गर्या पनि हो । अथवा हाप्सिलो कराएर झिसमिसेमै झकझकाएको पनि हो । तर... ।

तर के थाहा, खारा खरानी हुन्छ भन्ने !!!

मानिसको मन कति निठुरी । रगतको स्वाद चाख्न खोज्ने बन्दुके बामपुड्के र पातकीहरुले सन्जे जगाउँदा नि छर्रै छोडे, आरती उतार्दा नि टोटै पड्काए । कोलाहल, विभत्सता र दुन्दुभिका गरुँगा पाइलामा कति हाँस्नु के हाँस्नु ? हामी मूल्यलाई अवमूल्यन गरिएका मान्छे हौं, खाराका । देशको गणनामा कहिल्यै नपारेपछि अहिले चुकचुकाउनुको नक्कली नाटक किन हामीमाथि ?

विपत्तिले बेस्सरी थिचियो । देशले रमिते हुन जान्यो नि त्यस बेला । अहिले त खरानी बनायो खर्लप्पै । चुमुक्क खुम्चेर खाराका हामीलाई पुरानै खुसामदीमा फुस्ल्याइयो, फकाइयो र फुक्र्याइयो ।

हामीले सोच्यौ– ‘स्वास्नी बिर्सी बुहारी सम्झन्छु ।’

तर के थाहा, खारामा ढिकीच्याउँ गर्ने साइँदुवाको ओइरो आएको कुरा । के थाहा, खारामा खोरन्डाहरु खलिकपुर धुइरिन्छन् भन्ने । के थाहा खारामा खप्परेहरु टुप्लुक्किन्छन् भन्ने ।

हो, खरानी पारियो । घर पोलेपछि के दुःख खरानीको । खाने, लाउने, ओढ्ने, ओछ्याउने सब थोक खरानी । खातैखात खरानी । क्रान्ति खरानी, प्राप्ति खरानी, गर्दागर्दी खरानी ।

हाँगामा बसेको एकान्त

सल्क्यो

सम्झौताविहीन भई सल्कियो ।

मेलापातबाट लखतरान फर्किंदै छन् । घाँस–दाउराबाट गलित फर्किंदै छन् । र, जन्तबाट थकित फर्किंदै छन् ।

यता आगो लाउन बस्नेका चनाखा भए आँखा, कान र ओठ ।

अब खारामा मलामी जाने आँट कतैबाट भएन !!!

भकारी मासेको बर्खैमा हो नि । टौवा रित्तिएको हिउदैमा हो नि । अरु त अरु, चुलो नबलेको हप्तौ भो’ नि ।

यस्तै मुटु लुछ्ने कुरोकन्थो सुन्या हो नि खारामा । ‘धाराकै पानीले भोक मेटाम्ला, तिर्खा मेटाम्ला’ भन्ने छाती छेडिमाग्ने चोखा कुराले किन आगो लाउने अगुवाका कानले नसुनेका ? हँ, कि लबस्तरो भइदिया’ हो ।

हो– खारामा खरानीकै शब्द छ, गनध छ, रस छ, रुप छ ।

नाल तेस्र्याउनेहरु मरेका मान्छेको पनि मोलतोल गर्छन् । तोप पड्काउनेहरु मरेका मान्छेको दरभाउ डाक बढाबढ गर्छन् । तरबार उज्याउनेहरु गिँडिएका लासहरुको खास मूलय नघटोस् भन्ने हुँकार गर्छन् ।

यता खाराका पिँढीमा मानाचामल ल्याउनेको अनुहारले चोलिको बिहान आफ्नै सद्गत आफैं गरी आज स्तब्ध बन्छ ।

‘आमा !’

‘किन ?’

‘किन काकाले बालाई खरानी नपारी काँ छोड्छु भन्या ?’

‘बाबू, वंश सिध्याइदिन्छु भन्या नि ।’

अलिअलि बुझियो । खरानीको अर्थले चर्चेको गम्भीर कुरा ।

खारामा कुन काको सनकले भुइँ छोड्यो नि !

भुतभुते खरानीमा आलु पोली खाने चरित्र मसँगै हिँडिरहेछ । चोखो खरानीले माझेको लोटामा पानी खाने आकृति मसँगै लम्किरहेछ । खरानी निधारमा टाँसेर बोक्सी–डाइनीबाट बच्ने सभ्रान्त स्वभाव पन िबाँचिरहेछ मसँग ।

तर खाराका बस्तीले दीर्घ जीवन पाएनन् । खरानीका थुप्रामा साटिए ती लम्काइ, ती हिँडाइ र ती बँचाइ ।

सय हिउँद मज्जैले काट्नुभएकी मेरी बजैले दिएको वैज्ञानिक अभिमत यस्तो थियो खरानीप्रति– ‘भएभरको आगो खरानीभित्र सुत्छ । त्यसैले खरानीमा धोएका खद्दर वा खाँडीका कपडा जति सुकिला हुन्छन् त्यत्तिकै न्याना र उज्याला हुन्छन् ।’

आज ब्युँझे म ती कुराले ।

तर बजैका तर्क मेरी आमाका निम्ति बन्यो नाइँनाइँ । बरु मेरा नानीहरुको टेलिभिजनबाट दिएको ‘शौचालय गएपछि खरानी–पानीले हात धुनु’ भन्ने विज्ञापनमा घोत्लिएर जीवनका सूक्ष्मताहरु नियाले । पुस्तैपिच्छे खरानीको मूल्यमा फेरबदल भो ।

हो, मैले भने खरानीमा खाराको भयानक अनुहार देखेको छु बारम्बार ।
पनपच्छे स्वभावले फुकिरहेछ कर्नाल । र, नीतिका योजनाकारहरु, नीतिकारहरु, शालीन विज्ञहरु अभिनयमा तल्लीन छन् कर्नालको सङ्गीतमा । देश सिङ्गै भएर त्यो पनपच्छे चर्तिकलाको तरफदारीमा जुटिरहेछ... जुटिरहेछ ... ।

हाँडीका मकै खानेहरु

कसरी योद्धा ?

मकै द्धुटिएका आँगन कसरी युद्ध–मैदान ?

निसोधार छ झरी । नरोकिई परिरहेको । वरिपरिका डाँडामा घाम भाग्छ, भूकम्पका मान्छेजस्तो । खरानीको थुप्रोमा खाराले कस्तो विहानको अपेक्षा गर्ने ? प्रश्न गर्‍यो खाराले मलाई ।

विधवाहरु छन् । अपाङ्गहरु छन् । टुहुराहरु छन् । अनि नृशंसका प्रताडना काँधमा बोक्ने अनगिन्ती नागरिकहरु छन् खारामा ।

डाडू–पन्यूँ हुनेहरुले थुपारे आफ्नै भागमा । अनि त मनमाफिक जिब्रो पड्काए । समयले रुप फेर्‍यो–साँझ बिहान भयो, बिहान साँझ भयो । र त सरक्क गयो खरानीका चुचुराबाट गोधूलिको नमीठो छाया ।

देशमा खाराका सङ्ख्याले नाघिसके समयका बेपत्तै शिखरहरु । नाघ्न रोकिने छैन छनक पनि । अन्ततः बिलौना गर्‍यो, विद्रोह गर्‍यो खाराले । अहँ चटपटाएन काठमाडौं । पटक्कै ब्यूँझेन ।

नब्यूँझेको मुद्रामा मग्न पो हो कि । चारै दिशाका खारा अनुदित हुँदा छन् खरानीमा ।

साँच्ची, कतिवटा खाराले काठमाडौंलाई कोर्रा हान्ने ? कतिले हान्ने, हँ ।

‘यिनै हातले अस्तिजस्तो लाग्छ, सालनाल गाडेको !’

‘यिनै ओठले मीठो म्वाइँ खाएको !’

‘यिनै आँखाले हेरियो, आँगनमा नानीहरु दगुरेको !’

खारामा यसो भन्ने मान्छे पाइन्छ बग्रेल्ती । किनभने खरानी हुनबाट बचेका आँखाले आगो देखे तर देखेनन् पानी । अनि त निभाउनु कसरी ? फेरि पँधेरामा थियो नि पानी तर ल्याउने हात बाँधिएथे सिक्रीले !!!

उहिले आमाका हातमा देख्थें फूल– खरानी र पिउरी । उहाँ विश्वमङ्गलको कामनासहित बत्ती कात्नुहुन्थ्यो । खरानीको पावन महत्तामा पग्लन्थें म ।

आज खाराको खरानी देख्दा जमिरहेछु म !!!







प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपमेन्ट समूह:
शैलेन्द्र अधिकारी
सुधीर श्रेष्ठ


वेबसाइट डिजाईन:
मदन कुमार भुजु