नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

कथा:


महेश पौड्याल

अपहृत भविष्य

“सर, मम्मीले मेरो लागि केही पैसा पठाइदिनुभएको छ । हजुरले राखिदिनू न, ल? मैले हराउन सक्छु ।”
झमक्क साँझ परिसकेको थियो ।आकाशमा ताराहरू टिम्टिमाउन लागिसकेका थिए । मलाई लाग्यो— मबाहेक अरू सबै यहाँ खुसी छन् ।
म त्यस बालकतिर फर्किएँ । उनको अनुहार टिठलाग्दो देखिन्थ्यो र आँखा निर्दोष । मैले उसलाई बोकेँ र आकाशतिर देखाएँ ।
“मेरो राजा, उः त्यो चम्किलो जून देखेऊ?”
“देखेँ नि, सर ।”
“एकदिन तिमीले त्यही जूनजस्तो बनेर चम्कनुपर्छ । म चम्काउँछु तिमीलाई ।”
बालकले धेरैबेर केही भनेन । सायद चन्द्रमामा देखिएको त्यो दाग के हो — त्यही सोचिरह्यो ।
“सर, मेरो पैसा । राखिदिनुहुन्न?”
हुन्छ भन्न सकिनँ । हुन्न पनि भन्न सकिनँ । मसँग जवाफै थिएन ।
“बाबू, आज मङ्गलबार । मङ्गलबारका दिन आफूसँग भएको पैसा कसैलाई दिनु हुँदैन । आजको रात तिमीसँगै राख । भोलि म राखिदिऊँला, है?”
पैसा लिन दिनकालागि मङ्गलबार शुभ हो वा होइन, मलाई केही थाहा थिएन । मलाई एउटा बहाना चाहिएको थियो । त्यही वाक्य फुर्‍यो ।
“सर, धन्यवाद ।”
छात्रावास एउटा ठूलो भवनमा थियो । तल्लो तल्लामा हामी सबैको डोर्मिटरी थियो — बस्ने, सुत्ने ठाउँ । तलामा लहरै विद्यार्थीका खाट थिए । एउटा कुनामा एकजना शिक्षकको र अर्को कुनामा मेरो खाट थियो । माथिल्लो तलामा हातमुख धुने ठाउँ र भण्डार । अझ माथि खुला छत ।
भवनको छत निकै चौडा थियो र त्यहाँ बसेर हामी साँझको हावा खान्थ्यौँ । आजभने ऊ र म दुईजना मात्रै थियौँ छतमा ।
ट्रिङ, ट्रिङ गरेर मेरो फोन बज्यो । हेरेँ— उही बालककी आमाको फोन । कस्तो संयोग — दन्त्यकथाको जस्तो ।
“सर, नमस्कार । छोरो ठिकठाकै आइपुग्यो होला ।”
“हजुर, ठिकठाकै आइपुग्यो । चिन्ता नलिनुहोला है, हजुर । म छु नि यहाँ ।”
“हजुर । बाबूले हजुरको नामलिइरहन्छ यहाँ आउँदा । सरले धेरै माया गर्नुहुन्छ भन्थ्यो ।”
“हजुर...त्यसै भनौँ न !”
“हामी त जन्मदिने बाआमा पर्‍यौँ । कर्मदिने हजुरहरू हो ।”
“हो नि । म फोन बाबूलाई दिऊँ है त ।”
मैले फोन बालकलाई दिएँ र आमा र छोराको प्रेमपूर्ण संवाद सुन्न थालेँ । यस बेला मलाई मेरै आमाको याद आयो । मैले घर छोड्ने दिन भन्नुभएको थियो— मानिसहरूलाई माया गर्नू । यो हाम्रो संस्कृति हो ।” उहाँका आँखामा मैले आँसु पनि देखेको थिएँ, र त्यो दृश्य घन्टौँ लामो मेरो यात्रामा मेरो आँखामा आइरह्यो ।
हुन त छात्रावासमा तीन दर्जन जति बच्चा थिए । तर यस बालकमा एउटा समस्या थियो । राति उसको गोडा दुख्थे । डाक्टरले भनेको थियो रे, ऊ किशोरावास्थामा पुगेपछि आफैँ ठिक हुन्छ । अहिले अप्रेसन गर्न पनि नमिल्ने । बेला बेला दबाइदिनुपर्थ्यो । मालिस गर्दिनुपर्थ्यो । उसको दुखाइले हामीलाई जोडेको थियो । स्वाभाविक रूपले म उसको सबैभन्दा निकटस्थ शिक्षक हुन पुगेँ ।
आमा र छोराले धेरै कुरा गरे । बतासमा उडेर मेरी आमाको याद पनि आइ नै रह्यो ।
उसले फोन पुनः मलाई नै दियो ।
“हामीलाई त सरकै भर छ । छोरोको राम्रो ख्याल राखिदिस्यो है ।”
“हजुर पनि । मेरो पनि त छोरो हो ऊ । हजुर ढुक्क हुनुहोला । उसलाई कुनै प्रकारको कठिनाइ हुन म दिन्नँ।”
“हस सर । बिदा मागेँ त ।”
“हस । नमस्ते ।”
बिस्तारै अँध्यारो बाक्लियो । अब डोर्मिटरीतिर जानु नै बेस होला भन्ने सोच्यौँ ।
हामी भर्‍याङ ओर्लन थाल्यौँ । उसले मेरो हात समात्यो । मैले यसको हृदय समातेको थिएँ । आहा, कस्तो न्यानोपन !
“सर, मेरो घडीको सिसा फुटेको छ । नयाँ लगाइदिनू न, प्लिज । डेड्डीले देख्नुभयो भने मार्नुहुन्छ । उहाँ छिटै आउनुहुन्छ जस्तो लाग्दैछ मलाई ।”
उसको घडी नयाँ थियो भन्ने मलाई थाहा थियो । ऊ सानै बालक त थियो । कसो कसो घडीको सिसा तोड्नु पनि स्वाभाविकै थियौ । तर पनि मैले नयाँ सिसा लगाइदिन्छु भने वाचा गर्न सकिनँ ।
“सर, प्लिज । कस्तो डर लागिराछ ।”
“हुन्छ, बाबू । अहिले त अँध्यारो भयो । भोलि तिमी र म कौशलटार जाने अनि नयाँ सिसा फेर्ने है?” मैले भनेँ ।
“हुन्छ सर ।”
त्यो बेलासम्म हामी डोर्मिटरीको ढोकासम्म पुगिसकेका थियौँ । छेउछाउ कोहीपनि थिएन । साँझको पढाइका लागि सबै आआफ्ना अध्ययन कक्षतिर लागिसकेका थिए ।
“सर, मलाई बायोलजी आउँदैन । जराको बारेमा केहीपनि बुझेको छैनँ । सरले पढाइदिनू न?”
“हुन्छ बाबू, भोलि ।”
ऊ हतार हतार पढाइका लागिअध्ययन कक्षतिर दौडियो । होस्टलको नियम— साँझको खानापछि दुई घन्टा अनिवार्य रूपमा स्वअध्ययनको क्लास लाग्थ्यो । एकजना शिक्षक निगरानी गरेर बस्थे । ढिलो पुग्नेलाई शिक्षकले पस्नै दिँदैनथे । उसलाई यो कुरा थाहा थियो ।
मैले उसका हात समातेँ र “बाबू” भनेँ ।
“तिमीले एसईई पास नगर्दासम्म म तिमीलाई छोड्दिनँ । तिमी एक दिन ठूलो डाक्टर बन्नेछौ । म तिमीलाई सहयोग गर्छु ।”
फेरि भनेँ, “तिमीमा केही समस्या छन् । त्यो मलाई थाहा छ । तर सबै ठिक हुन्छ । म छु नि । तिमी एकदिन अवश्यै चम्कने छौ ।”
उसले केही भनेन । के भनोस्! मेरो भावनात्मक संसारका ज्वारभाटा बुझ्नलाई ऊ अझै धेरै नै कलिलो थियो ।
यसरी नै हामी अध्ययन कक्षमा पुग्यौँ र मैले उसलाई भित्र छिराइदिएँ । मलाई देखेपछि शिक्षकले पनि केही भनेनन् । बालक आफ्नो काममा लाग्यो । म डोर्मिटरीतिर फर्किएँ ।
म मध्यरातमा उठेँ र उसको सिरानीमुनि केही घुसारिदिएँ ।
बिहान पाँच बजे उठेँ । मैले अघिल्लो रात उससँग गरेका सबै बाचा सम्झिएँ । जब उनीहरू सबै उठेर हातमुख धुन उपल्लो तलामा गए, म पनि गएँ । त्यो बालक पनि त्यहीँ थियो— दाँत माझ्न लागेको । फेरि पनि ऊ उस्तै सुन्दर र निर्दोष देखियो । मलाई अघिल्लो साँझजस्तै कुदेर जाऊँ र जुरुक्क उठाऊँ जस्तो लाग्यो, तर मभित्रको कुनै कुराले त्यसो गर्न दिएन ।
मैले छड्के आँखाले हेरेँ उसलाई । तर उसले मलाई देखेन ।
म तल्लो तलामा झरेँ ।
हातमुख धोइसकेर जब ऊ तल आयो, म थिइनँ । मैले पछिल्लो पटक उसलाई देखेको त्यही दाँत माझ्दै गरेको बेला हो । हो, ऊ सुन्दर र निर्दोष देखिएको थियो ।
उसलाई र ऊजस्ता धेरैलाई छोडेर म निस्किसकेको थिएँ । धेरै तलब पाउने अलि टाढाको अर्को स्कुलमा जाने जो निर्णय गरेको थिएँ । सबै वाचा पोको पारेर, आफैँलाई पत्थर बनाएर निस्किएको थिएँ ।
नयाँ, धेरै तलब दिने स्कुलमा प्रथम पन्ध्र दिन कसरी बिते, म भन्न सक्दिनँ । मेरो कल्पनामा आइ बसेको बढी तलबका प्रत्येक नोटमा तिनै बालबालिका आएर आसन जमाएर बस्थे र आँसुको पोखरी जमाएर जान्थे ।
आफैँलाई रोक्न सकिनँ र पन्ध्र दिनपछि म पुनः उनीहरूलाई भेट्न पुगेँ — त्यही पुरानो स्कुल। मलाई गेटबाट छिरेको देख्नासाथ मेरो प्रियबालक दौडेर आयो र भन्यो, “सर, मेरो घडी बनाइदिन्छु भन्नुभएको होइन? इः, लिनू । आजै बनाइदिनू । अनि त्यो पैसा । सरले नै राखिदिनुपर्छ ।”
अरू केही नबोली ऊ घडी र पैसा लिन डोर्मिटरीतिर दौडियो । म अवाक त्यहीँ उभिइरहेँ ।
दिउँसो मलाई कसैले सुनायो — ती पन्ध्र दिनहरूमा उसले एक अक्षर पढेन रे । सधैँ झ्यालबाट बाहिर हेरेर टोलाइ बस्थ्यो रे । सायद, यसले र मैले आकाशको जुन विन्दुमा चन्द्रमा देखेका थियौँ, ऊ त्यहीँ हेरिरहन्थ्यो । सायद मैले देखाएर झुटा सपना पनि सम्झन्थ्यो ।
मैले उसलाई दिएको भोलि कहिल्यै आएन । पैसाको सिरानी लगाएर म बाँचिरहेको छु — हृदयमा असङ्ख्य प्वालहरू बोकेर । ऊ मेरो सपनामा आइरहन्छ र भनिरहन्छ, “सर खुट्टादुख्यो । के गर्ने होला?”






प्रकाशक :
नेपाली कलासाहित्य डट कम प्रतिष्ठान

विशिष्ट सल्लाहकार :
एस्पी कोइराला

सल्लाहकार :
उमेश श्रेष्ठ
मोहनबहादुर कायस्थ
राधेश्याम लेकाली
योगराज गौतम
डा. हरिप्रसाद (मानसाग्नि)
डा. बद्री पोख्रेल
योगेन्द्र कुमार कार्की
राजेन्द्र शलभ
कपिलदेव थापा
समीर जंग शाह
सल्लाहकार सम्पादक :
राजेश्वर कार्की

प्रधान सम्पादक :
मोमिला जोशी

अनुवाद-सिर्जना :
महेश पौड्याल 'प्रारम्भ'
कुमार नगरकोटी
सुरेश हाचेकाली
केशव सिग्देल


वेबसाइट डेभलपर :
शैलेन्द्र अधिकारी

सामाजिक सञ्जाल :