चित्र र कविता:
एउटा मान्छे रोइरहेको छ
चित्र: पाब्लो पिकासो
मौन आवाज
रित्तो घरमा
झ्यालबाट कोठामा अँध्यारो पस्छ
यताउता हेर्छ -
देख्छ -
एउटा मान्छे रोइरहेको छ !
सुनसान सडकमा
खुट्टा खोच्याउँदै समय हिँडिरहेछ
बतासले खबर ल्याउँछ -
जगतको चेतना मृत छ !
दृश्यले देख्छ -
दृश्य अदृश्य छ
ध्वनीले सुन्छ -
ध्वनि ध्वनिहिन छ
- आउँछ - जान्छ
- जान्छ - आउँछ
एउटा प्रक्रिया छ
एउटा क्रिया छ
हरेक गतिले आफैलाई फन्को मार्छ
थाक्छ - चुरचुर हुन्छ !
चिटचिट पसिना बग्छ
रात छट्पटीमा छ -
अँध्यारोले देख्छ -
उही मान्छे रोइरहेको छ !
अनिद्राले देख्छ -
उही मान्छे रोइरहेको छ !
भित्ताले छाम्छ -
उही मान्छे रोइरहेको छ !
दलिन - भुइँ -
ओछ्यान - जताततै
स्मृति - विस्मृति
जागृति - जताततै
- उही मान्छे रोइरहेको छ !
छातीमा यातनाको निलडाम छ
प्रष्ट छ -
घाउ छ !
हस्तरेखा मेटिएको छ
कीचिमिचि पारिएको छ
प्रष्ट छ -
प्रहार छ !
आँखामा बालुवा थुपारिएको छ
घाँटीमा नेल छ
हात बतारिएको छ
अनुहार कोतारिएको छ
टाउको मुन्तिर छ !
निशब्द -
एउटा मान्छे रोइरहेको छ !
नजाने कहिलेदेखि -
कति लामो अन्तरालदेखि -
त्यो मान्छे रोइरहेको छ -
- सुन्यौ ?
तिमीभित्र एउटा मान्छे रोइरहेको छ !