कविता:
मौन आवाज
ऐना हेरिरहेकी केटी
त्यो तिमी नै हौ
अरू कसैले झुक्याएर यस्तो भएको होइन !
तिम्रै कपाल हो यो
तिम्रै क्लिप हो
तिम्रै औँला हुन्
स्पर्श तिम्रै हो !
हाँसो तिम्रै हो
आँसु तिम्रै हो
तिम्रै हो यो धड्कन
मुटु तिम्रै हो !
यो गोरेटो तिम्रै हो
यो यात्रा तिम्रै हो
पाइताला तिम्रै हो
तिम्रै हो तिमीले टेकिरहेको धर्ती !
यहाँबाट कहीँ पनि तिमी जान सक्दैनौ
यही तिम्रो परिचय हो !
यो पर्खाल तिम्रै हो
यो गजबार तिम्रै हो ।
घुमिरहेको टाउको तिम्रै हो
पृथ्वी तिम्रै हो
तिम्रै हो यो ब्रह्माण्ड !
यो सृष्टि तिम्रै हो
सृजना तिम्रै हो
तिम्रै हो यो सम्पूर्ण जगत !
तिम्रै हो यो खेलौना
यो खेल तिम्रै हो
नियम तिम्रै हो
तिम्रै हो यो डरलाग्दो सपना !
शरीर तिम्रै हो
काउकुती तिम्रै हो
तिम्रै हो छट्पटी !
दरबार तिम्रै हो
युवराज तिम्रै हो
तिम्रै हो यो राज्यसत्ता !
जहाँसम्म फैलिन्छ प्रेमको भूगोल त्यो तिम्रै हो ।
ए , ऐना हेरिरहेकी केटी !
म त तिम्रो झ्यालमा तिमीलाई हेरिरहने
एउटा चरा मात्र हुँ !