कविता:
मौन आवाज
मृत चरा
वर्षातको कुनै एक बिहान
जब म जिउँदै उठेको थिएँ
मैले त्यो मृत चरा देखेको थिएँ !
हुरिले झारेका पातहरु त्यहिं थिए
शीत जमेर पग्लनें बेलामा
मैले त्यो मृत चरा देखेको थिएँ !
बितेका धेरै वर्षहरु मैले व्यर्थै बिताएको थिएँ
कहिले भट्टी पसलहरुमा बसेर गीत गाएको थिएँ
कहिले मध्यरातहरुमा प्रेमीका सम्झेर बर्बराएको थिएँ
कहिले गाउँघर थर्कने गरी बेहोशीमा चिच्याएको थिएँ !
मैले खोलाको पानीमा अनुहार हेरेर
धेरै समय कटाएको थिएँ !
जून / तारा / घाम र बतास मात्रै नहुँदो रहेछ जीवन
कहिलेकाहिँ खसेको पहिरोमा जीवन खस्दो रहेछ
कहिलेकाहिँ बगेको आँसुमा जीवन बग्दो रहेछ !
रुख ढलेको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
गुँड भत्केको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
पखेटा झरेको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
कुनै अन्जान देशमा बम खसेको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
निर्जन जंगल
उजाड बस्ती
भग्न शहर
र / उदास मान्छेहरुको अध्याँरो हृदयमा
मैले त्यो मृत चरा देखेको थिएँ !
न कुनै परिचय
न अस्तित्वको कुनै ठेगाना
दुर्घटित सपनाबाट ब्युँझिएको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
आँखा चिम्लेर आफैलाई खोजेको बेला
मैले त्यो मृत चरा देखेको थिएँ !
बर्षातको कुनै एक बिहान
जब म जिउँदै उठेको थिएँ
मैले त्यो मृत चरा देखेको थिएँ !