निबन्ध:
मोमिला
प्रश्नहरू त बाँकी नै रहन्छन्......!
आहा ! जीवनको निख्खुर नेगेटिभमा यो आफन्त र यो पराई भनेर खुट्याउनु या निष्पट्ट अँध्यारो परिचित ठाउँमा अड्कलेर हिँड्नु र कहीँ नठोक्किनु या जीवनका ती पुराना किरिङमिरिङ अटोग्राफहरूमा बेहिसाब रुमल्लिनु अर्थात् आफैभित्रको पुरातात्विक दुनियाँमा जिन्दगीको क्युरियो खोज्दै फिरन्ते बन्नु या पढ्दै गरेको सुरुचिपूर्ण पुस्तकको नायक नायिकामा आफैलाई अनुवाद गर्नु र विरेचित हुनु कम्ती रोमाञ्चकारी लाग्दैन !...!! ( आँसु लुकाई परेलीमा खुसी मुस्कुराइरहेँ......यो मेरो मोबाइलको रिङटोन ....)
= हेलो...! नमस्कार ! म धरतीवासी
— हेलो...! नमस्कार ! म स्वर्गबाट बोल्दै छु ।
= ओहो ! नमस्कार ! नमस्कार !!
— होइन, तपाईँ त स्वर्गबाट त्यो नरकमा निर्वासन भएदेखि झन् बढी रमाउनु भएजस्तो छ नि !
= हजुर, वास्तवमै रमाएको छु; अन्तिम उत्तरविहीन अनन्त रोमाञ्चक प्रश्नहरूमा रमाएको छु ।
— तपाईँ त साँच्चै नै प्रश्नहरूविना त रमाउनै नसक्ने मान्छे....
= हो, यस्तो लाग्छ कि प्रश्नबिना कहाँ रोमाञ्चकता ! जसरी कारणविना कार्य हुँदैन, त्यसरी नै कार्यको
परिणति पनि प्रश्नविनाको हुनै सक्दैन । किनकि मैले भन्दै आएको मेरो नजरमा ब्रह्माण्डकै अति सुन्दर
नरक मेरो धरतीको रङ्गमञ्चमा हेर त !.....!!
कसैको विशेष प्रभावशाली अनि घनत्वशाली जीवनको आत्मकथामा सम्पूर्ण आत्मकथाभन्दा बाहिर एउटा पाठकपात्रद्वारा केही विशेष नै भेटिनु तर सोही जीवनका नायकद्वारा भने स्वयम्कै जीवनमा केही नभेटिनुजस्तै चेतनामा भेटिनु र नभेटिनुको दूरीमै सायद मानवजीवनको सिलसिला चलिरहन्छ र यही सिलसिला स्वयम् नै प्रश्नहरूको पहाड बनेर अग्लिरहन्छ । लाग्छ, यही पहाड चढ्नुको रङ्गमञ्चीय सिलसिला नै गतिशीलता ठानेर तिम्रा नजरमा कठैबरा नरकवासीहरू यानकि मानिसहरू जिन्दगी बाँचेको महसुस गर्छन्; आफू हुनुको महसुस गर्छन् किनकि यहाँ पात्रहरू रङ्गमञ्चमा मात्र होइन रङगमञ्चबाट बाहिर दर्शकदीर्घामा हामफाल्न सक्छन् र चल्मलाउँछन्, स्पर्श गर्छन्, प्रेम गर्छन्, घृणा गर्छन्, कति आफ्नै निजी अर्थमा आँसुले यथार्थ र आदर्शको सीमाङ्कन गर्छन् । किनकि यो केवल स्थिर फोटोकारिता होइन, चित्रकारिता पनि होइन र फ्रेमबद्ध चलचित्र पनि होइन; जसमा पात्रहरू फ्रेमबाट कदापि मुक्त हुन सक्दैनन् ।
हुन पनि फ्रेमबद्ध हुनुको एकरसताभन्दा फ्रेमबाहिर हुनुको महसुसमै वृद्ध हुने झन्झट या दिक्दारीबाट मुक्तिका लागि युवावस्थामै आत्महत्या गरेर सारा सम्भावनाहरूमा पूर्णविराम लगाउनुजस्तै या आँगनबाट आफ्नै जीवनको ढोकाभित्र पस्न लागेको अजिङ्गर देखेपछि आँगन र जीवनको दूरी बिर्सेर त्यसपछिको त्रासदीबाट मुक्तिका लागि आँखा चिम्लेर सोभैm अजिङ्गरकै आहारा बन्नुजस्तै या लोग्नेको मृत्युपश्चात्को बल्दो यौवनको दुःखबाट मुक्तिका लागि आत्महत्या गरेर अन्जानमै कसैको प्रतीक्षाको इन्कार गरिनुजस्तै अर्थात् भोकमरीले मर्न लागेको बालक अनि कहिले मर्ला र खाउँला भनेर एकटकले हेरिरहेको गिद्धको फोटोकलाका फोटोकार उत्कृष्ट फोटोकलाका लागि पुरस्कृत भए पनि मृत्युको पुरस्कार ग्रहण गर्न गइरहेका त्यस तस्बिरका बालकको पीडाले ग्लानिबोधबाट मुक्तिका लागि आत्महत्या गरेर उनको पश्चात्तापका सुन्दर पहेलीहरूबाट हजारौँ त्यस्ता बालकहरूको कल्याणको सम्भावना समाप्त हुनुजस्तै यतिखेर म सत्य र असत्य, ठीक र बेठीक, हो र होइनको बीचको दूरीमा अग्लिएको पहिरो जानै लागेको प्रश्नहरूको पहाडमुन्तिर जोखिममै हिँडिरहेछु । हुन सक्छ, यतिखेर म तिम्रो सहानुभूतिको उही कठैबरा पात्र ! तर ममा कुनै रचनाकार, निर्देशक या दर्शक बन्ने धुन सवार छैन । बरु, म तिमीले सिर्जना गरेको भ्रमलाई केवल भ्रम नै ठानेर प्रेमपूर्ण हृदयले मस्तसँग मात्र भूमिका निर्वाह गरिरहेछु । ...र म विश्वस्त छु— तिमी पनि यो प्रेमिल रङ्गमञ्चीय रोमाञ्चकताले दर्शकदीर्घामा मस्त छौ ।
यतिखेर यहाँ मानिसहरू अर्थात् तिम्रा नजरका निरीह पात्रहरू चाहे बौद्धिक प्रदूषण सिर्जना गर्न स्थापित पुस्तकालय होस् या शिक्षालय होस् वा केवल पाप पखाल्न स्थापित देवालय या जनतालाई केवल दुःख दिन स्थापित सेवालय अर्थात् न्याय छुपाउन स्थापित न्यायालयबाट मुक्त एक प्रदूषणहीन आदिम स्वप्नप्रदेशमा विचरण गर्न चाहन्छन् । दुःख या अन्धकारको उत्कर्षविन्दुबाट सुख या उज्यालोतिरको प्राकृतिक प्रस्थानजस्तै अर्थात् अनायास जिन्दगी जिउनुजस्तै, सास फेर्नुजस्तै, बर्सात् हुनुजस्तै, नदी बग्नुजस्तै, फूल फुल्नुजस्तै, बालक हाँस्नुजस्तै, बालक रुनुजस्तै अझ भनौँ उज्यालो हुनु या रात पर्नुजस्तै अब यहाँ रङ्गमञ्चको पर्दा झर्नु पनि नवीनताको इमान्दार प्रारम्भ ठानिन्छ । अब त तिमीले सिर्जना गरेको भ्रम पनि प्रिय आदत बनिसकेको छ, मनोरञ्जनको उत्कृष्ट पहेली बनेको छ । यसैले यतिखेर तिमी मेरो हालखबर बुझ्नुभन्दा बढी जरुर लोभलाग्दो प्रिय ईष्र्यामा छौ ।
हो, यहाँ अनगिन्ती बाटाहरू लामबद्ध छन् र अनगिन्ती गन्तव्यहरू पनि सँगसँगै नत्थी गरिएका छन् । बाटामा घामजून पनि सँगसँगै हिँड्छन् र बाटामा जताततै रहस्य र प्रश्नहरू पनि साथै हिँड्छन् । मानौँ रहस्यमा उब्जिएका प्रश्नहरू मधुर ताराहरूको क्याराभानझैँ कहिले पूर्वबाट पश्चिमतिर कहिले पश्चिमबाट पूर्वतिर लाग्छन् । तिम्रा लागि भ्रान्ति लागेका यहाँका वृक्षहरू, झरनाहरू, नदीहरू, प्रसन्नतामा नाचिएका नृत्यहरू, संवेदनासँग सिँगौरी खेल्ने नवै रसका गीतगजल अनि कविता र सङ्गीतहरू, संस्कृतिहरू सबै सबैको जीवन्ततामा सायद तिमी नै रुमल्लिरहेका छौ अर्थात् आफूले सिर्जना गरेको सुन्दर भ्रान्तिमा आफै फसेका छौ । र तिमी यिनै रोमाञ्चक क्षणहरूसित विशेष विहीनता र अनुपस्थितिबाटै मुग्ध भएर मलाई निहालिरहेछौ । साँच्चै भन्ने हो भने यही धरतीमा अहल्याको प्रस्तर हुनुको पीडासँगै प्रस्तरबाट स्वतन्त्र हुने इच्छाको वेदना खप्न बाध्य गराउने पनि तिमी नै त हौ । फेरि पनि अनेकौँ यामसँगै निरन्तर म सहिरहेछु, विरोधहरूबीचबाटै अनवरत हिँडिरहेछु । तर मलाई थाहा छ— यिनै टकराबका झिल्काझिल्की दृश्यहरूमा तिमी रमाइरहेका छौ । बरु, कतै तिमीलाई मेरो धरतीसँग स्वर्ग साट्ने रहर नजागून् भन्ने कामना गरिरहेछु किनकि मलाई कर्मबिना नै पूजामा बलि चढेर पाएको बरदानको इतिहास मञ्जुर छैन ।
मलाई लाग्छ, नदीझैँ लयात्मक धरतीको व्यक्तित्व अनि तिमीले सोचेभन्दा पनि उत्कृष्ट मान्छेको कलात्मक जीवनबाट पनि तिमी अब त सोह्रैआना मोहित छौ । यहाँ धरतीको एउटा सुदूर कुनामा नदीकिनारको झ्यालमा बसेर आइबाजोब्स्की नदीकै विभिन्न मोसनहरूका चित्र कोरिरहेछन् । भ्यानगग बारीमै गएर सर्यूमुखी फूलका चित्र कोरिरहेछन् । मनुजबाबु कल्पनाको वायुपङ्खी घोडामा बसेर कोठाकै आकाशबाट सबै लोकको कुरूपता बटुलेर स्वर्गलाई चुनौती दिँदै सुन्दर कुरूप चित्र कोरिरहेछन् । तिमी एक टक लगाएर बहुलरङ्गी ग्यालरीजस्तो सुरुचिपूर्ण धरती अवलोकन गरिरहेछौ । हेर्दाहेर्दै नदीमात्र होइन नदीका चित्रहरूमा पनि तिम्रो प्रेम बस्दै गएको मैले थाहा पाएँ । बारीका सूर्यमूखी फूलमात्र होइन सूर्यमुखी चित्रहरूले पनि तिमीलाई झनै मोहित पारेको मैले थाहा पाएँ । मनुजबाबुका चित्रहरूले त झन् स्वर्गको सुखद् अनुभूतिभन्दा पनि पर स्वर्गको सतह नै हल्लिएको तिमीले महसुस गरिरहेको मैले थाहा पाएँ । जरुर यतिखेर तिमी आफ्नो कमजोरीमा मसित लज्जित छौ ।
फेरि जीवनको भ्रम दिएर मृत्युदण्डको श्राप दिने तिमीलाई के थाहा ? मृत्यु निश्चित भइसकेको व्यक्तिका महङ्गा ग्लेमरस पलहरू...! तिमी धर्तीको जुनै कुना जाऊ— जताततै जीवन्त ग्लेमरहरू छरिएका छन्; कतै घृणाको वशमा पनि प्रेमका आतुरताहरू मौलाएका छन् । घृणाकै जगमा सृजित विश्वकै उत्कृष्ट महाकाव्यजस्तो युद्धमा दुवै हात गुमाएपछि पनि उनको फराकिलो छातीको पूर्ण अँगालोमा उनकी प्रेमिका कति आल्लिादित हुन्छिन् ! त्यो तिम्रो कल्पनाभन्दा बाहिरको रोमाञ्चकता हो । किनकि प्रेमको आतङ्कबाट न त तिमी अवसादित छौ न त आल्हादित नै छौ । त्यसैले मलाई थाहा छ— यतिखेर तिमीभित्र फ्रिज भएको स्वर्ग, जरुर धरतीप्रतिको प्रश्निल इन्द्रेणी जिज्ञासाले भित्रभित्रै पग्लिरहेछ । के थाहा ! सायद, हिमनदीझैँ बिस्तारै बिस्तारै स्वर्ग त धरतीतिरै बगिरहेछ कि !
आखिर खस्ने त माथि आकाशमा रहने नै हो । किनकि धरतीसँग गुरुत्वाकर्षण शक्ति छ, तर स्वर्गसँग कुनै त्यस्तो जादूमय आकर्षण छैन; जसले धरतीलाई आकर्षित गर्न सकोस् र आफ्नो छातीमा प्रेमले टाँस्न सकोस् । फेरि यसै धरतीकी पारिजातकी मुडुली सकम्बरीको सुन्दरता, उनका निकोटिनले पहेँलिएका औँलाहरूको सुन्दरता सधैँ सकम्बरीकै सपना देख्ने सुयोगवीरले भन्दा बढ्ता अरू कसैले त महसुुस गर्न सक्दैन भने तिमी के महसुस गर्न सकौला ! आखिर तिम्रो शून्यमा सपनाको यथार्थ जग नै कहाँ रहन्छ र !
सत्यतः धरतीका लागि पानी बोक्न असमर्थ ती पराजित बादलको झुप्पालाई अस्वीकृत गरेर आकाशको बुट्टेदार सौन्दर्य गुमाउन नचाहने धरतीवासीको मौन हिस्सीबाट तिमी अनभिज्ञ नै छौ । किनकि धरतीको अन द स्पट रौनकताबाट बेखबर तिमी कोलाहलले छाडेपछि एकान्त स्वयम् पनि कति नियास्रिन्छ ! चञ्चल बादलले छाडेपछि आकाश पनि कति उदासिन्छ ! निरस निरस ! रूपविहीन !! सङ्गीतविहीन !!! के तिमीले महसुस गरेका छौ ? हुन सक्छ बरु, धरतीलाई भौतिक ठानी तिमी अहम्ले प्रथमतः धरती नै अस्वीकृत गर्छौ, तर धरती अस्वीकृत गर्दा धरतीको सुन्दरता या आध्यात्मिकता नै अस्वीकृत हुने सत्यबाट पनि तिमी अनभिज्ञ नै छौ, सायद ! फेरि मैले गुनगुनाएको धरतीको सङ्गीत आध्यात्मिक ठानी सहज स्वीकृत गर्छौ, सायद ! तर त्यसो गर्दा पनि अप्रत्यक्षतः धरतीकै भौतिकता स्वीकृत हुने सत्यबाट पनि त तिमी अनभिज्ञ नै छौ । यथार्थमा तिमी परमानन्दको पक्षमा वकालत गर्ने शक्ति हौ, तर यतिखेर तिम्रो अनभिज्ञतामा उर्लेका दयाका पङ्क्तिबद्ध अमुक लहरहरू तिमी मेरा आँखामा पढ्न सक्छौ ।
बरु, छाड यी सब कुराहरू ! विचार र तर्कहरू छाड, तर्कका सारा सञ्जालहरू छाड ! जहाँ कुनै प्रीतिकर पहेलीहरू छैनन्, आनन्दका कुनै रुचिकर रङ्गहरू छैनन् । यसैले केवल महसुस गर, मात्र महसुस गर । आखिर धरतीसँग बढेको तिम्रो लगाव कुनै पाठकहरूबाट छिपेको छैन ।
=हेलो ! के मलाई सुन्दै छौ तिमी !
—जरुर ! सुन्नु मात्र होइन, तिमी र तिम्रो धरतीप्रति सम्पूर्ण मुग्ध छु, विह्वल छु ।
=त्यसो हो भने दिन र रात अर्थात् उज्यालो र अँध्यारोको लुकामारीमै रोमाञ्चित मेरो प्रिय धरतीमा
तिमीलाई सप्रेम निमन्त्रणा गरिरहेछु...!
—त्यसो होइन जी ! बरु, सबैभन्दा राम्रो समाधान मेरो स्वर्ग र तिम्रो धरती नै साटासाट गरौँ ।
=तर, मलाई कुनै स्वर्ग चाहिएन; मलाई तिमीले मानेको नरक रूपी आफ्नै धरतीकै दुःख प्यारो छ । फेरि म
नारी हुँ । नारी त धरतीकै रूप हो भन्छन् । मानौँ तिमी पुरुष र तिम्रो स्वर्ग पुरुषसुखको सङ्केत नै किन
नहोस्, तिमीलाई तिमी र तिम्रो स्वर्गको सट्टामा म र मेरो धरती मिले पनि या मलाई म र मेरो सट्टामा
तिमी र तिम्रो स्वर्ग नै मिले पनि यो ब्रह्माण्डमा हामी दुवै अधुरो रहनेछौँ; स्वर्ग र नरक दुवै अधुरो रहने छ
किनकि स्वर्ग र नरक अर्थात् स्वर्ग र नरकसम्बद्ध सारा सत्यहरू कुनै रङ्ग, धर्म या पार्टीगत परिचय
नभएर दुवै नारी र पुरुषझैँ एकअर्काका पूरक हुन्— चाहे घटित यथार्थ होस् या मान्यता होस् ! फेरि
आत्महत्या गर्ने मान्छेले पनि मृत्युको मुखमा पस्नै लाग्दा पुनः जिन्दगीको सीमान्त प्रयत्न गरेजस्तै हामी
पनि उही पहिरो जानै लागेको प्रश्नहरूको पहाडमुन्तिर भए नि आ–आफ्नै मौलिक अस्तित्वको प्रयत्न गरौँ
! सम्पूर्णोन्मुख होऔँ !! आखिर बिरोधी सत्यहरूको पनि एकै परिधीय सहअस्तित्वबिना सारा सारा असम्भव
र अधुरो छन् । लाग्छ, प्रेमघृणा या विश्वास अविश्वासपूर्ण अस्तित्वमा रहनका लागि केवल आफैप्रतिको
स्वीकृति र एकअर्काप्रतिको लगाव नै काफी हुनेछ । यसर्थमा नै प्राप्तिभन्दा पनि प...र पर हाम्रो प्रेमको
सुवास सबैतिर फैलिऊन् !
उपसंहारमा—
रहस्यमै सारा सारा अन्तिम पटक महसुस गर्दै आजको हाम्रो अस्तित्व र सत्यको खोज यहीँ टुङ्गिन्छ । तर छाता ओढेर पनि भिजेजस्तै या सागर स्वयम् सदा प्यासी रहेजस्तै प्रश्नहरू त बाँकी नै रहन्छन्.....!......!!