कविता:
राजेश्वर कार्की
पागल र कानुन
एक समय
तिम्रै आँसु मिसिएको मेरो पसिनाको आत्मीय गन्ध
आज दुर्गन्ध बनेर कठै
खाडीबाट कतै तिम्रो भान्सामा पुग्यो कि !
तिमी भान्साबाटै भागेर बारमा पो पुगिछौ !!
हिजो राती तिमीले
मेरो भिडियो कल पटक्कै स्वीकार गरिनौ
कतै मेरो पसिनाको दुर्गन्ध
खाडीबाट तिम्रो ओछ्यानमा पनि पुग्यो कि !
आफ्नो ओछ्यानबाट भागेर तिमी
अर्कै पराई ओछ्यानमा पो पुगिछौ !!
आज,
यी खाली खुट्टा, जिङ्ग्रिङ्ग कपाल मेरो हुलिया
जेब्राक्रसिङ्निर फुटपाथमा बत्ती पर्खिरहेको, म
पर्खँदा–पर्खँदैको मलाई
समयविपरीत चल्ने पागल ठानी उछिनेर हिँड्नेहरू
हिजोआज देश हाँक्ने कुर्सीमा देख्छु
कतै शब्दमा देशको भविष्य बोलिरहेको
र कतै कानुनी राज्यको अर्थ सिकाइरहेको देख्छु
हिजो, म हँसिया र नाम्लो बोकेर जङ्गल जाँदा
देशै छाडेर भाग्नेहरू आज
आफूलाई नै
देशको अर्थतन्त्रको निर्णायक घोषणा गरिरहेको देख्छु
र कतै आँखै अगाडि सवारी नियम ठाडै उल्लङ्घन गरेर
हतारमा कहिल्यै नजितिने दौड सवार गरिरहेको देख्छु
म भने आजसम्म सडक पार गर्न भनी
जेब्राक्रसिङ्निर फुटपाथमा एक्लो बरझैँ
कहिल्यै नबल्ने हरियो बत्ती पर्खिरहेकै छु
यहाँ—
पर्खँदा–पर्खँदै मबाहेक सबैसबै बदलिए...!!
यतिखेर...
मेरो पसिनाको गन्धले भागेकी तिमीले
जिङ्ग्रिङ्ग मलाई चिन्ने कुरै भएन
क्राइटेरिया बदलेको देशले झनै
अनागरिक मलाई चिन्ने सम्भावना नै रहेन
सज्जनलाई पागल र पागललाई सज्जन बनाउने
शक्तिशाली समयले झन्
कमजोर मलाई चिन्ने कुनै प्रश्नै भएन
आज मलाई कुनै आश्चर्य लागेको छैन
कि सेल्फीमा मैले मलाई नै चिन्न सकिनँ !
फेरि कसैले कसैलाई नचिन्ने देशमा
आफैले आफैलाई नचिन्नु पनि कुनै अनौठो भएन !
सुन्छु— पागललाई त कुनै कानुन नै लाग्दैन !!