चित्र र कविता:
उज्यालोको उज्यालो

साम्ब ढकाल

अध्याँरोमा उकुसमुकुस हिँडेर थाकेका के थियौं
टाढाबाट नजिक हुँदै उज्यालो
हामी नजिक अझै नजिक आउँदै थियो ।
सद्भावको गुराँस फुलेको,फक्रेको हेरेर मर्ने
मेरा असीम चाहना झन उर्वराएकोछ
मानौं, मेरो यो ध्यानस्थ मुद्रामा सद्भावै सद्भाव छ ।
लामो यात्राको शुरुवात पाइतालामा घुसारेर
यात्रामा निस्क्यौं र त
गन्तव्य नजिक झन् नजिक लाग्दैछ ।
हामी बाँचेकै उज्यालोको भाइचारा हृदयमा हुर्काएर हो
हामी हाँसेकै उज्यालोको भाइचारा मस्तिष्कमा खेलाएर हो
हामी नाचेकै उज्यालोको भाइचारा शरीरभरि दगुराएर हो ।
मभित्रको मान्छे आजकल
नराम्रा कुरा नबोल्न
नराम्रा कुरा नहेर्न
नराम्रा कुरा नसुन्न
अभ्यस्त हुने कोसिसमा छ ।
रिसका घोडाहरू नहिनहिनाउन
उत्साहका मृगहरूले बुर्कुसी मारिरहन
व्युँझदा हरेक बिहान अमयचैनका चराहरूको कलरव गुन्जाउन
हरेक मान्छेमा स्थितप्रज्ञको अनुभूति अनुभूत गराउन
मेरा उच्चाकाङ्क्षाका हिमाल अग्लिएको सुनाउन
मेरा मनका पोतिन बाँकी फराकिला क्यानभासहरू रङ्गिन तयार छन्
आऊ समय चिनेका ए कुचिकार अझै रङ्ग्याऊ
मन लागुञ्जेल उज्यालोको अर्को दृश्य !